Showing posts with label हास्य व्यङ्ग्य. Show all posts
Showing posts with label हास्य व्यङ्ग्य. Show all posts

25 March, 2013

होली मुक्तक !!!

Fagu

-१-

एकोहोरो हेरीरहेँ,
उनको मुहार लाल भयो ।
बिना लोला, बिना अबिर
मेरो होली कमाल भयो ! ।

-२-

उनी भन्छिन्, उनको प्रेममा
धेरै कवि पागल भए ।
म त सोच्छु, ती कवि भए,
पागल त ती पहिल्यै थिए ।

16 February, 2013

साढे चार मुक्तक !

पीठो भनि बिकेको चोकर निक्लियो ।
हिरो हुँ भनि चम्केको जोकर निक्लियो ।
भन्न त भन्थ्यो सधैं, सबलाई मालिक बनाउँछु,
रहँदै गर्दा उ स्वयं पल्ला घरको नोकर निक्लियो ।

जो आदर्श नि छाँटछ, कुरा पनि ढाँट्छ, त्यो नेपाली नेता हुन्छ ।
जो सपना पनि बाँड्छ, नैतिकता नि छाड्छ, त्यो नेपाली नेता हुन्छ।
तीनका कुरा चमत्कारी, गौरवशाली हुन्छन् तर,
जो सम्मान पनि माग्छ, रछान पनि चाट्छ, त्यो नेपाली नेता हुन्छ ।

आफ्नै छानो डडाएर, आगो ताप्छौ तिमी ।
मुखले मात्रै हुने भए, आकाश पाताल नाप्छौ तिमी
नगर देशभक्तिका कुरा, नदेखाउ ढोगं इमानको,
देशै बेचेर नै सही, नोटै नोट छाप्छौ तिमी ।

08 May, 2012

राजनैतीक रङ्गमञ्च, ‘१० लाख दे !’ र अन्य मुक्तहरू

राजनैतीक रङ्गमञ्च

खलनायकको खलनायक सँगै घमासान छ।
छैन सम्बादको खेस्रा, सूत्रधार अन्तर्ध्यान छ ।
नायक विहीन रङ्गमञ्च झैँ चल्दैछ राजनीति,
सिंहासनमा जोकर विराजमान छ ।

बन्दैन संविधान

भत्ता बाँडेर मात्रै बन्दैन संविधान ।
सत्ता बाँडेर मात्रै बन्दैन संविधान ।
तिम्रा कलम अझै बन्द नै देख्छु म।
हाई काढेर मात्रै बन्दैन संविधान । 

13 March, 2012

पत्रिकाको समाचार र मनको भाव !

Advertisements... contain the only truths to be relied on in a newspaper. :~Thomas Jefferson

त्यसो त “पत्रिकामा विश्वास योग्य कुरा विज्ञापन मात्रै हुन्छन्” भनेर धेरै पहिले नै भनिए पनि  आजको समयमा पुग्दा यो वाक्य झन् झन् समसामयिक र सटीक भएका छन् । पत्रिकाहरूमा समाचार हैन। प्राय: हावा गफ, अडकल र हौवा छापिन्छन् । अनि अर्को उदेक लाग्ने कुरा के भने तीनै हावा गफ र हौवाहरू पनि बारम्बार दोहरिन्छन्, तेहरिन्छन्, चौरिन्छन् । र सायद विज्ञापन मात्रै विश्वास योग्य होलान् ।

यस्ता सम्म समाचार वा खबर पत्रिकामा छापिन्छन् कि तीनको विषयवस्तु वा सारको त कुरै छाडौं, शीर्षक मात्रै पढ्दा समेत सामान्य मानिसको अडकलले यो हावा गफ भनेर थाहा पाउँछ, भने किन यस्ता कुराले पत्रिकाको पन्ना भरिन्छन् भन्ने सोच समेत सबैमा पलाउँछ । यस बारेमा यो भन्दा पहिलेको अर्को पोस्टमा लेखि सकेकोले आज यसकै विस्तारमा नजाउँ । आजको पोस्टमा समाचार सार वा समाचार विस्तार हैन् , खबरको शीर्षक मात्रै पढ्दा पनि सामान्य अवस्थामा कस्तो सोच आउँछ भन्नेतिर लाग्दैछु ।

माथि नै लेखिसके, बकम्फुसे गफ पनि हामीले एक पटक दुई दुईपटक हैन्, एउटै पत्रिकामा समेत पटक पटक पढने गर्छौँ। लेखिनु पर्ने हुनाले वा छापिनु पर्ने हुनाले ती गफहरू लेखिएलान् र छापिएलान । तर यस्ता बारम्बार पुनरुक्त खबर वा गफको शीर्षक देख्दा पाठकको मनमा सुरुमै कस्तो भावना जन्मेलान त ? । अर्काको ठेक्का निलिउँ, मेरो मनमा भने प्राय: यस्ता खबर पढ्दा निम्न भावहरू उठ्छन् । त्यसैले आजको पोस्टमा केही दिन यता छापिएका समाचार शीर्षक र ती शिर्षक पढ्दा मेरो मनमा उठेको भाव जस्ताको त्यस्तै :

19 February, 2012

चार मुक्तक !

रामले चला’को देश

पेट्रोल नपाउँदा नि सडक सधैँ जाम छ ।
ग्यासै नभए पनि थाल-थालमा माम छ ।
भो विश्वास ईशमा, माने अब मैले पनि,
यो देश चलाउने स्वयं भगवान राम छ ।

सवाल भत्ताको

हरेक बैठक निष्कर्ष विहीन भा’छ ।
हरेक गोष्ठी बेकार मै गा’छ ।
तैपनि निरन्तर चली रहने रै’छन यी सब,
किनकी जे भए’नि भत्ता चैँ आ’ छ ।

06 February, 2012

ब्लगरले किन ढिला लेख्छन् ?

ब्लग लेख्न थालेको चार वर्ष पुरा भइसकेको छ र मेरो आफ्नो ब्लग पाँचौं वर्षमा हिँड्दै छ । यस बीचमा कहिले हप्तामा ३-४ वटा त कहिले ३-४ हप्तामा एउटा पोस्ट समेत लेखियो । लेख्न थाले पछि विषय वा सामाग्रीको अभाव भने प्राय: खट्किएको छैन । तर पनि विविध कारणवश बेला बेलामा ब्लग लेख्न ढिला हुने गर्छ ।

मेरो मात्रै हैन्, मैले देखेको नेपाली ब्लग जगतमा रहेका मेरा सहयात्री पुराना ब्लगरहरू र नयाँ ब्लगरहरूमा समेत यो ‘नियम’ लागु हुन्छ । नियमित लेख्ने ब्लगरहरू पनि कहिलेकाहीँ ‘अनियमित’ हुन्छन् र ढिला लेख्छन् । त्यसैले आज म ब्लगरहरू किन ढिला लेख्छन् भन्ने बारेमा नै ब्लग लेख्दैछु । केही आफ्नै अनुभव, केही सहयात्री ब्लगरहरूको सोच अनि केही ठट्टा ... मेरो विचारमा ब्लगरहरूले ढिला लेख्नुमा यीनै कारणहरू नै प्रमुख छन् । केही छुटेको वा नपुग भएको भए तपाइहरू पनि थप्नुस है !

यो लेखौं कि त्यो लेखौँ: कहिलेकाहीँ ब्लगरसँग यत्ति विषय वा सर्जाम हुन्छन् कि ऊ ‘यो लेखौं कि त्यो लेखौँ ‘ भन्नेमा नै निधो गर्न सक्दैन् । कम्प्युटरमा रहेका आधा-अधुरा गजल पुरा गर्ने कि, देशको जल्दो बल्दो विषयमा आलेख तयार गर्ने । आउँदै गरेको कुनै चाडको वारेमा लेख्ने कि दिमागमा रहेको नयाँ कथालाई उतार्ने । उ सोचमा नै व्यस्त हुन्छ र कुनै निधो गर्न सक्दैन् । त्यत्तिकैमा समय बित्छ यता उसको गजल पनि पुरा हुँदैन भने उता जल्दो बल्दो विषय पनि बासी भइसक्छ । सोच्दा सोच्दै आउँदै गरेको चाड बिति सक्छ र दिमागमा तयार कथाको प्लट पनि दिमागमै पुरानो हुन्छ । अनि ब्लगर ब्लग लेख्न ढिला हुन्छ ।

06 January, 2012

६००% कपि, चडकनको इजाजत र भविष्यको मान्छेको कुरा !

प्रविधिले बेला-बेलामा गर्ने ठट्टाको बारेमा मैले अघिल्लो पोस्टमा पनि केही कुरा लेखेको थिएँ । त्यो पोस्टमा कम्प्युटर अनि कम्प्युटर सफ्टवेयर वा एप्लीकेसनले गर्ने मजाकको बारेमा केही कुरा र स्क्रिनशटहरू राखेको थिएँ ।

वास्तवमै कम्प्युटर सफ्टवेयर वा एप्लीकेसनले समय समयमा रमाइलै मजाक गर्छन् ( म आफू कम्प्युटर सँग बढि चल्ने भएकोले मलाई मात्रै यस्तो गर्छ कि, त्यो चाहीँ भन्न गाह्रै छ) । यो पोस्टमा पनि म विभिन्न समयमा कम्प्युटर चलाउँदा भेटिएका-देखिएका र लिइएका त्यस्तै केही स्क्रिनशटहरू राख्दै छु :

ल हेर्नुस्, मलाई मेरो कम्प्युटरले गरेको यस पटकको पहिलो ठट्टा । एकदिन काम गर्दे गर्दा एउटा ठूलो साइजको फाइल हार्डडिस्कबाट पेन ड्राइवमा कपि गर्नु थियो । तर निकै समय भइसक्दा पनि यो कपि गर्ने काम नसक्केकोले, के भए छ त भनि Task Manager खोलेर हेर्दा यस्तो देखियो :

600% Copying..

06 December, 2011

....र अनि नदौडेको कथा !

Sleeping (अघिल्लो पोस्टको बाँकी)

...भोलिपल्ट बिहान मस्त निन्द्रामा थिएँ । घर बाहिर एकोहोरो सिट्ठी बजेपछि यसो घडि हेरेको बल्ल सवा पाँच भएको थियो । ‘ह्या ! साँच्चिकै पो आए त !’ भन्ने भाव लिएर जबरजस्ती उठेँ । घरमुनि ‘नयाँ जोगीको बाक्लो खरानी’ भने जस्तै स्पोर्ट्स सुज, ट्र्याकसुट र टिसर्ट आदिमा सज्जिएका ५-७ जना जम्मा भैसकेका रहेछन् । ‘लौ ... अब दौडिनै पर्‍यो’ भनेर बाँकी २-४ जनालाई पनि बटुलेर करिब दर्जनको सङ्ख्यामा हामीहरू “हे !” “हो !” गर्दै टोलको चक्कर काट्न थाल्यौँ ।

जाडो महिना कटि सकेको हुनाले खलखली पसिना आयो । करिब ४० मिनेट जत्ति कहिले हिँड्दै, कहिले दौड्दै र कहिले रोकिदैं गरेपछि उनै ‘स्काउटे साथी’ ले ‘आज यत्ति मात्रै गरौँ’ भनेपछि सबै घर घर लाग्यौँ । घर पुग्दा जिउमा खलखली पसिना आएकोले पहिला त नुहाउने काम भयो । त्यसपछि कोठामा आएर घडी हेर्दा ६ पनि बजेको रहेनछ । अहिले जस्तो टि भी, कम्प्युटर केही थिएन अब के गरेर टाइमपास गर्ने त ? । सोच्दै गर्दा चिसो पानीले नुहाएको जिउले ‘जाडो भयो!’ भन्ने सन्देश दियो । अगाडि, बिहान हत्तार-हत्तार उठ्दाको नपट्याइएको सिरकले पनि ‘च्यालेन्ज’ नै दिइरहेको थियो । तब त के चाहिन्थ्यो । फेरि दोस्रो सीफ्ट सुत्ने बाहेर अर्को कुनै विकल्प पनि रहेन र मज्जाले सिरक ओढेर सुतियो ।

दौडेर आएर थाकेको जिउ, दोस्रो सिफ्ट सुते पछि ठ्याक्कै साढे आठतिर मात्रै बिउँझिएँ (सायद सबैले त्यसै गरे होलान) । यस पटकको कसरत पनि यस्तै रह्यो.... बिहान एक छीन दौडियो अनि दिनभर कसरतको ‘क’ पनि नगर्ने ।

29 November, 2011

मेरो ‘एगसरसाइज’को कुरा …

Eggsercise

(अघिल्लो पोस्टको बाँकी…)

…एक्सरसाइज गर्दा दुईसरसाइज भएर लडेको साथी एक हप्तामै तङ्ग्रियो, तर त्यसको एक महिनासम्म पनि हामीले फेरि कसरत गर्ने कुरो समेत निकालेनौं । हुन पनि करिब हप्ता- दस दिन गरेको कसरतले एक महिनासम्म पनि खुब मस्त निन्द्रा लाग्ने बनाएको थियो शरीरलाई ।

करिब डेढ महिना जत्तिपछि एकदिन फेरि कुरै कुरामा अर्को एकजना स्कुलमा पढ्दा ‘स्काउट’ मा लागेको साथीले ४-५ जना जम्मा भएर व्यवस्थित कसरत गर्ने कुरो निकाल्यो । वास्तवमा त्यो कसरतको लागि भन्दा पनि पट्यार लाग्दो लामो बिदाको ‘टाइमपास’ गर्ने मेसो थियो त्यति बेला । हामी दुई भुक्तभोगीले अघिल्लो पटकको आफ्नो कथा बताएपछि उसले यो सब अव्यवस्थित तरिका अपनाएकोले भएको बताएर सुरुमा हप्तामा ३ दिन, अनि चार दिन गर्दै बढीमा पनि हप्तामा ५ दिन भन्दा बढि शरीरलाई श्रममा लगाउन नहुने बतायो । त्यस बीचमा ‘डाइट’ ले पनि पेल्नु पर्ने र यो सबै मिलेमा मात्रै जिउ बन्ने बतायो । कुरो सुन्दा ‘स्काउट साथी’ को कुरो चित्त बुझ्ने नै लाग्यो र फेरि ४-५ जना मिलेर एकदिन बिराएर सुरुमा हप्तामा ३ फलाम उचाल्ने सहमति भयो ।

हामी दुई सुरुमै आ-आफ्नो घरमा झन्डै-झन्डै ठूलै खप्की खानबाट बचेकाले अर्कै साथीको घरमा सबैले आ-आफ्नो घरमा भएको फलाम, स्प्रिङग, बालुवा भरेको बोरा र ‘नाइनचक्कु’ समेत पुर्‍याएर राख्यौँ । सबै मिलेर २-४ सय पनि उठाएर डाइटको पनि व्यवस्था गरियो । अनि सुरु भयो व्यवस्थित कसरत ! । सुरूमा आइतवार, मङ्गलवार र शुक्रवार मात्रै पसिना बगाउने निर्णय पनि सर्वसम्मतिबाट पारित भयो ।

08 November, 2011

मैले नगरेका कसरतहरू !

Me and he

(यस पोस्टमा लेखिएका सबै घटना र पात्रहरू वास्तविक हुन्। यी घटनाहरू अरू कसैको जिन्दगीसँग मिल्न गएमा सामान्य कुरा र न मिलेमा भने संयोग हुने छ ! Winking smile)

कुरो आजभन्दा धेरै वर्ष अगाडिको हो । एस.एल.सि. सकेर रिजल्ट पर्खने बेलामा समय कटाउन दिनभरि गफ चुटेर बसिन्थ्यो । आजकल जस्तो फलानो, ढिस्कानो कोर्सको बाढी नआइ सकेको हुनाले त्यो समय कसै-कसैले कुनै “भाषा प्रशिक्षण” मा बिताउथे भने अरूहरूको भने अधिकांश समय गफ्फिन मै व्यतीत हुन्थ्यो तिन ताका । एकदिन कुरै करामा घर सँगैको एउटा साथीले यो बीचमा 'जिउ बनाउने' कुरो निकाल्यो । हुन त मन मनमा मलाई आफ्नो दुब्लो पातलो ज्यान केही गरे पनि बन्दैन जस्तो लाग्थ्यो, तर साथीले ‘केही गरे पो बन्छ, गर्दै नगरे के बन्छ र?’ भने पछि लौ त नि, के गर्ने भनेर कुरो बढाइयो । उसले भोलिपल्ट देखि बिहान बिहान ‘एक्सरसाइज’ गर्ने र जिउ बनाउने आइडिया निकाल्यो ।

मेरो घरको पुरानो भँडारमा खानतलासी गर्दा कतै पुरानो एक जोडि डमबेल (Dumbbell) फेला परे भने साथीले एउटा छाती चौडा पार्ने स्प्रिङको बन्दोबस्त गर्‍यो । अनि सबेरै उठेर ताजा अक्सिजन लीन दौडने र साँझमा घरैमा बसेर फलाम उचालेर मसल बनाउने निर्णय भयो । एक मनले त बल्ल बल्ल जाँच सक्केर केही आरामले सुत्न पाइएको छ, कहाँ फेरि बिहान बिहानै उठ्ने जस्तो लागेको थियो । तर फेरि उसको ‘४-५ महिना अलिकता समय बिताए कलेज जाने बेलामा हिरो जस्तो जीउडाल बन्ने’ भन्ने आकर्षक प्रलोभनले पनि उक्साइ रहेको थियो ।

11 September, 2011

प्रविधिका मजाकहरू !

प्रविधिले पनि कहिलेकाहीँ ठट्टा गर्छ । वा कुरालाई अझ सरल बनाउने हो भने कम्प्युटर अनि कम्प्युटर सफ्टवेयर वा एप्लीकेसनले कहिलेकहीँ गज्जबको मजाक गर्छ भन्दा सही हुन्छ ।

मान्छेले नै बनाएको भएर सायद यो पनि कहिलेकाहीँ झुकिन्छ, कहिलेकाहीँ मात्तिन्छ र कहिलेकाहीँ यसले प्रयोगकर्तालाई समेत झुक्याउँछ । पत्याउनुहुन्न ? । आजको पोस्टमा भएको मैले जम्मा पारेका केही स्क्रिनशट हेर्नुस्: (यी सबै स्क्रीनशटहरू मैले कम्प्युटर चलाउँदा बेला-बखतमा जम्मा गरेको हो र यसमा कुनै चलाखी गरिएको छैन, मतलब सबै तस्बिरहरू वास्तविक हुन र यसलाई कुने इमेज इडिटरले म्यानुपुलेट गरिएको छैन ).

यो हेर्नुस मलाई मेरो कम्प्युटरले गरेको पहिलो मजाक:

Computer Fun

बुझिएन ? । यो धेरै अगाडि लिईएको एउटा स्क्रिनशट हो । मेरो घरमा त्यतिबेला १२८ केबिपिएस को इन्टरनेट स्पिड थियो । तर यहाँ 64.3 MB/sec देखिन्छ । अर्को मजाक त्यत्रो स्पिडमा १० एमबी डाउनलोड गर्न केही सेकेन्ड लाग्छ त Hot smile

18 June, 2011

फेरि केही मुक्तकहरू !

सुशासनको रङ्ग

अस्ति ७ घर लुटेर फरार,
आज इज्जतसाथ सार्वजनिक भा’छ ।
हिजो छुरी धसेर भाग्नेले भोलि,
सरकार सँग वार्ता गर्न ला’ छ   ।
बाँचे देखिन्छ भन्थे, हो रै’छ
सुशासनमा यस्तै यस्तै धेरै देख्न पा’ छ ।

फेसबुकको साथी

मलाई देख्दा टाढै देखि हाँसी रै’थीन तिनी ।
चिनिन मैले, तर सोचेँ जाती रै’छिन तिनी।
घर पुगी नेट जोडी हेर्दा पो त था’ भो,
फेसबुकमा मेरो पनि साथी रै’छीन तिनी ।

नेताका कुरा

कर्णालीमा जहाज र पहाडमा रेलको कुरा गर्छौ तिमी ।
गफैमा त पाँच वर्षे योजना, तीन महिना मै पुरा गर्छौ तिमी ।
भो, नबोल अरु बढी, सुन्नेलाई लाज लाग्छ,
संवीधान बनाउन सक्या छैनौ, देश बनाउने के कुरा गर्छौ तिमी ? ।

08 May, 2011

थपौं म्याद ! खाऔँ भत्ता !!

अस्ति तिमी शाही शासनले लखेट्दा
मेरै घरमा लुकेका थ्यौ ।
साँदेको आलु र फुक्को चिउरा दिँदा नि
आँङ तन्कने गरी धोकेका थ्यौ ।
न तिम्रा केही काम हुन्थ्यो,
न खल्तीमा चुनदाम हुन्थ्यो ।
फाटेको कमिजको भित्र बरु
ढाडमा नीलडाम हुन्थ्यो ।
तिमी मैले दिएका भात नपचुन्जेल
देशप्रेम र सुधारका कुरा गर्थ्यौ ।
लाग्थ्यो अब जिम्मा पाए,
देश निर्माण पुरा गर्थ्यौ ।

20 March, 2011

म, उनी र …

Dark Beautyधेरै भयो देखादेख नभएको
बिर्सेँ पनि कैले 'थ्यो भेटेको
म घराँ हुँदा तिमी आउँदिनौ
तिमी आउँदा म बस्न पाउँदिन।

सुने थेँ, अस्ति म नहुँदा
तिमी दिनभर आ’थ्यौ रे
कुरे थेँ , हिजो रातभर तर
तिमी अन्तै गा’ थ्यौ रे ।

लुकामारीको खेल जस्तै भा’ छ
घाम-छायाँको मेल जस्तै भा’ छ
लाग्छ तिम्रो मेरो भेट नगराउने
कुनै जाल-झेल नै भा’ छ ।

हर दिन हर रात सधैँ
प्रतिक्षा नगरेको हैन 
नभेट्दा नि तिम्लाई
भुल्न सक्या छैन ।

 

29 January, 2011

लोडसेडिङ एक - फाइदा अनेक !

Laltin"गरिब आदमी अगर मजबुरी को मजाक न बनाए तो जीए कैसै !" कुनै एउटा हिन्दी कमेडी फिल्ममा सुनेको यो एक लाइन आजकल आफैँमा लागू हुन थालेको छ । बिहान उठ्ने बित्तिकै टुथपेस्ट र ब्रस भन्दा पहिला त्यस दिनको लोडसेडीङको तालीका हेर्नु पर्ने नियति र बत्ती जाने र आउने समयको निर्धारण गरेर मात्रै अन्य दैनिक योजना बनाउन पर्ने मजबुरीका बीच अभ्यस्त हुँदाहुँदा आजकल मैले पनि भाँडभैलोको राजनीतिमा रम्ने महान् नेताहरहको योग्यताका कारण विरासतमै पाएको लोडसेडीङका मजबुरी भित्र धेरै 'मजाक' भेट्न थालेको छु ।

हो, लोडसेडीङ खाली खराब मात्रै छैन्, यसका धेरै फाइदाहरू पनि छन् । मेरै कुरा गर्ने हो भने त आजकल मलाई यसका बेफाइदा भन्दा फाइदाहरू नै बढी लाग्न थालेका छन् । पत्याउनु हुन्न ?, ल हेर्नुस त लोडसेडिङका कत्ति फाइदाहरू छन् ।

फाइदा नम्बर एक-- धार्मिक क्रियाकलापमा वृद्धि:- तपाईँलाई लाग्ला सायद अयोग्यतम् नेताका योजना विहीन सोच र नालायकीपनका कारण विद्यमान लोडसेडीङ र धार्मिकता बीच के सम्बन्ध छ भनेर । तर नआत्तिनुस, म यसको सम्बन्ध पनि प्रमाणित गर्छु र यसका कारण भएको धार्मिक क्रियाकलापको वृद्धिलाई पनि सिद्ध गर्ने छु ।

मेरो आफ्नै कुरा गर्ने हो भने पनि बिहान उठेर नित्य कर्म पश्चात् कम्प्युटरमा झुम्मिने र इन्टरनेट वा टेलिभिजनका च्यानलहरू चहार्ने काम मजबुरीमा रोकिएकोले अचेल बिहानको बचेको समयमा मन ध्यान-धारणातिर जान थालेको छ । घर नजिकैको मन्दिरमा पनि लोडसेडीङ सुरु भएपछि घण्टी बढ्ने क्रम बढ्दै गएको प्रस्ट महसुस भएको छ भने, अनौपचारिक आँकडाले पशुपति-गुह्येश्वरीमा मात्रै हैन्, लोडसेडीङ जत्ति जत्ति बढ्छ बुढानिलकण्ठ र दक्षिणकालीमा समेत त्यही अनुपातमा दर्शनार्थीको लाम बढ्ने कुरा दर्शाउँदै छ ।

21 January, 2011

केही मुक्तक--केही झट्का !!

भाँडहरु यता नाच्ने, उता आदेशको कमान छ ।
काम हैन ठूलो स्वर गर्ने मात्रै यहाँ महान छ ।
शिवरात्री जस्तै भा'छ देशको राजनीति अचेल,
जो जत्ति नाङ्गियो, उसको उत्ति नै सम्मान छ ।

दाँत फुक्लेकोलाई कसार छ जिन्दगी ।
छत नहुलेलाई असार छ जिन्दगी ।
कतै मधुमेहलाई लालमोहन त,
कतै टन्सील माथि अचार छ जिन्दगी ।

18 November, 2010

पाँच उटपट्याङ मुक्तकहरु

प्रश्न

न सृजनशील न दृढ-सङ्कल्प,
न कोही योग्य नायक आए ।
छानी छानी ल्याएको पनि
कसरी सबै नालायक आए ? ।

पछुतो

तिमी हाँस्यौ, म हाँसे,
माया बस्यो घरबार भो ।
अहिले सोच्छु सायद त्यो सब,
बिना सोच हतार-हतार भो ।

पहिचान

विवेक र पहिचान हुन्छ भन्थे,
पशुमा नि अपनत्वको ।
खातेलाई घुक्ने कुकुर, भुक्दैन नेताकन,
सायद गर्छ ख्याल स्व-भाव र समत्वको ।

11 September, 2010

भूतवक्ताका कुरा ।

Precasterशीर्षक देखेर लेख्ने मान्छेले झुक्किएर लेखेको हो कि भनेर सोच्नु भएको हो भने यो झुक्किएर राखेको शीर्षक हैन। हो, शब्दकोषमा खोज्नु भयो भने यो ‘भूतवक्ता’ भन्ने शब्द कतै भेटिने छैन। तर शब्दकोषमा नभेटिएर के भयो त ? समाजमा भने खोज्नै नपर्ने गरी भूतवक्ताहरू प्रशस्तै पाइन्छन् । जति जना भविष्यवक्ता छन् कम्तिमा पनि त्यसको दोब्बरको सङ्ख्यामा समाजमा भूत वक्ताहरु हुन्छन् नै ।

अनि कहाँ हुन्छन् त यी भूतवक्ता भन्ने लाग्या छ भने नेपालमा मात्रै हैन्, अमेरिका देखि मलेसियासम्म र चिन देखि रसियासम्म सबै ठाउँमा हुन्छन् । भविष्यवक्ता भन्ने मात्रै सुनेको तर भूतवक्ता भन्ने शब्द सुन्नु नै भएको छैन भने यीनिहरु तीनै व्यक्तिहरू हुन्, जो कुनै घटना, दुर्घटना वा संयोग घटित हुने बित्तिकै ‘मैले त पहिले नै भनेको थिएँ’, ‘यस्तै हुन्छ भनेर मलाई थाहा थियो’ वा ‘मैले यस्तो हुन्छ भनेर पहिल्यै चेतावनी दिएको थीएँ’ भनेर निस्कन्छन् । मुखले यस्तै यस्तै नानाथरी भूत लक्षित तर्क गरे पनि वास्तवमा तिनले वर्तमानमा घटित भएको कुनै घटनाको वारेमा न त पहिलै कतै बोलेका हुन्छन्, न सोचेका हुन्छन् र न त आभास नै सम्म पनि पाएका हुन्छन् ।

01 June, 2010

...अनि ब्लगर अवाक् हुन्छ !

नेपाली ब्लगको दायरा दिन प्रतिदिन बढ्दै छ । ईण्टरनेट माथिको सहज पहुँच र नेपाली युनिकोडको सरलताले गर्दा प्रत्येक दिन जसो नयाँ नयाँ ब्लगहरु खुल्दैछन् । यो सब विस्तार र विकास सँगै ब्लग जगतमा केही यस्ता रमाईला घटनाका संयोगको अनुभव तपाईले पनि पक्कै गर्नु भएको होला । हेर्नुस र केही छुट-पुट भएको भए तपाई पनि थप्नुस; के कति कारणले ब्लगरहरु अवाक हुँदा रहेछन । सोच्नुस त, यस्तो अबस्थामा तपाई के गर्नुहुन्छ ?

१) सहयात्री ब्लगरले लगातार तेस्रो पटक तपाइलाई थोप्पै  मन नपर्ने विषयमा लेखेको छ । कमेण्ट गर्न पटक्कै इच्छा छैन, तर उसले तपाईको एउटै पोस्टमा २ पटक कमेण्ट लेखि सकेको छ ।

२) तपाईले एउटा सामान्य विषयमा टाँसो लेख्नु भएको छ। तर एउटा बेनामी पाठकले पोस्टमा उठाउँदै नउठाएको विषयलाई लिएर कमेण्ट बक्समा भारी-भरकम शब्दका साथ तपाईको विचार गलत भएको तर्क प्रस्तुत गर्दै पोस्ट भन्दा लामो कमेण्ट लेखेको छ ।

३) अघिल्लो दिन, दिनभर तपाइलाई फुर्सद भएन, राती घरमा बत्ती निभ्यो। बिहान उठेर हत्तपत्त तयार पारेको एउटा तात्तातो विषयको टाँसो पोस्ट गर्न खोजेको त अर्को सहयात्री साथीले त्यही विषयमा दुरुस्तै टाँसो टाँसेर ४-५ वटा कमेण्ट पनि कमाईसकेको रहेछ ।

४) तपाईले २ दिन लगाएर १० ओटा किताब पल्टाएर अनि गुगल र विकिपेडीया सक्दो खोजी गरेर "यो चाहीँ गज्जब लेखेँ है" भन्ने खालको पोस्ट टाँसेको ३ दिन भैसक्यो । एउटा कमेण्ट समेत आएको छैन ।

५) अर्को पटक, त्यस्तो दु:ख गरेर लेखेको पोस्टको त कसैले प्रशंसा गरेनन् 'ल ज्जा आज यही हालिदिन्छु' भनेर सोच्दै नसोची तपाई एउटा पोस्ट ठेल्नुहुन्छ । एक घण्टा भित्रै पन्ध्र कमेण्ट र सत्र "लाइक" वर्षी सकेको हुन्छ ।

11 May, 2010

नयाँ नेपाल !, नयाँ परिभाषा !!


एक बोरा चामल,
दुई धार्नी आलु,
एक घ्याम्पो ग्यास ।
आगामी आन्दोलनको तयारी !


म नै ठीक,
म नै राम्रो,
म नै योग्य ।
नेपाली नेता !


सुकिलो लुगा लाउने,
वसन्तपुर धाउने,
शान्ति गीत गाउने ।
वेईमान जनता !