दसैँ आयो र गयो पनि (करिब करिब गयो नै) । विस्तारै नेपालीहरूका जन जीवन पुन: सामान्य अवस्थामा फर्कदैँ छ। वर्ष दिनको धर्म यही केही दिनमा गर्नु पर्ने, वर्ष दिनको मस्ती पनि यही एक हप्तामै सक्नु पर्ने र वर्ष दिनका प्रेम-सदभाव र भाइचारा पनि यही केही निश्चित समय सीमामै प्रस्तुत र प्रदर्शन गर्नु पर्ने गज्जवको अन्तर अवस्थाका कारण हाम्रो समाज यो केही दिनमा एकै चोटि मस्त, अस्तव्यस्त र र अलमस्त हुने गर्छ ।
जानु पर्ने ठाउँमा जसरी नि जानै पर्ने, लानु पर्ने कुरा ऋणै गरेर भए पनि लानै पर्ने अनि खानु पर्ने कुरा कोचेरै भए पनि खानै पर्ने अनौठो स्थिति पनि यसैसँग पैदा हुने गर्छ । यसरी कहिले व्यस्त, कहिले अस्त अनि कहिले अस्तव्यस्त मात्रै हैन्, कहिले हर्षोल्लासमै कष्ट त कहिले परम्परामै धर्म नष्ट समेत हुन्छ यो चाडमा । वैदिक मान्यता र परम्परा भन्दा थपिएर आएका ‘लहै लहै’ र आडम्बरले यो चाडलाई रमाउने बाट थकाउने पनि बनाउँदै छ ।
जे होस यसपाला पनि आयो र गयो । जाँदा जाँदै सबैलाई एक प्रकारको आलस्य, प्रमाद र सुस्तता दिएर गएको छ यसले। जसलाई आजकलको भाषामा ‘ह्याङ्गओभर’ भन्दा बढि प्रष्ट हुन्छ सायद । सबैलाई लागेको यो ह्याङ्गओभरले मलाई पनि छाडेको छैन् । कार्यालयको काममा व्यस्त हुनुपर्ने दिन आइसक्दा पनि अझै २—३ दिन छुट्टि भए’नि हुन्थ्यो भन्ने भाव मनमा आइरहेको छ त्यसैले आजको पोस्टमा यही ह्याङ्गओभरका केही मुक्तहरू राख्दैछु:
१
आखाँ चिम्लदा पनि पञ्जा, सत्ता एक्का देख्दैछु म।
सुकेको खल्तीलाई ऋण सापटले थेग्दैछु म ।
छोडेको छैन, दसैँको ह्याङ्गओभरले अझै,
अफिसको पत्रमा नि ‘आयु द्रोणसुते...’ लेख्दैछु म ।