मानिस प्रौढ हुँदै गएको वा कसैको उमेर ढल्कँदै गएको कसरी थाहा पाउने? । हुनसक्छ तपाइलाई यो प्रश्न बेतुक लाग्न सक्छ । उमेर ढल्कँदै गएको वा बुढा-बुढी हुँदै गएको कुरा अनुहारमा देखिने चाउरी, फुलेको कपाल, कमजोर आँखा, फुस्केको दाँतले इङ्गित गर्छ भन्ने तपाई सोच्दै हुनुहुन्छ भने त्यो गलत हुनसक्छ । भनिन्छ नि, तन बूढो भएपनि मन कहिल्यै बूढो हुँदैन....त्यसैले शरीरमा आएका परिवर्तनका कुराहरू शरीरी स्वयंलाई भने कहिल्यै पत्ता हुँदैन । हो .... त्यसैले मानिसले आफू प्रौढ हुँदै गएको कुरा आफैलाई हेरेर भन्दा पनि अरूले आफूलाई कसरी हेर्छन् भन्नेबाट पहिला थाहा पाउँछन् रे ।
पत्याउनुहुन्न ? । अझ सिधै भन्ने हो भने तपाई प्रौढ हुनु भयो कि भएन भन्ने कसरी थाहा पाउने त ? । यो थाहा पाउने विभिन्न तरिकाहरू छन् । अझ तिनमा पनि चरण बद्ध भेदहरू छन् । नपत्याए हेर्नुस, कोही मानिसले आफ्नो उमेर ढल्कदैँ गएको कुरा कसरी अनुभूति वा वोध गर्छ त :
पहिलो चरण: उमेर ढल्कदै गएको कुराको पहिलो बोध यसरी हुनसक्छ:
- धेरैपछि तपाईको पुरानो साथीसँग जम्काभेट हुन्छ, साथी तपाईको बारेमा हैन, सिधै तपाईको छोरा-छोरीको बारेमा सोध्न थाल्छ ।
- तपाई कुनै अनलाईन आइडि बनाउँदै हुनुहुन्छ जन्म मितिको ठाउँमा आएपछि तपाईलाई धेरैबेर माउस स्क्रोल गर्नु पर्छ ।
- छोराले तपाईलाई एउटा ल्यापटप किन्दिन भन्छ,...तपाई छोरालाई हाम्रा पालामा घराँ’ टाइप राइटर पनि थे’न भनेर हप्काउनु हुन्छ ।
- तपाईलाई तपाईको मनपर्ने हिरोको नाम सोधिन्छ तपाईँ भुवन के.सी, शिव श्रेष्ठ, आमोल पालेकर र शत्रुहन सिन्हाको नाम लिन थाल्नुहुन्छ
।
- तपाइको कपाल प्राकृतिक रूपमै कालो छ । तर तपाईका आफ्नै नातेदार समेत तपाईँलाई ‘हैन कुन चाहिँ कालो हाल्छौ हो कपालमा...?" भनेर सोध्छन् ।