Showing posts with label अनौपचारिक गफ. Show all posts
Showing posts with label अनौपचारिक गफ. Show all posts

20 May, 2013

के चिकित्सकहरू कमिसनकै लागि यस्तो गर्छन् त ?

पहिलो घटना: करिब १५ वर्ष जत्ति भयो होला । केही दिनदेखि पेट दुखेकोले म त्यति बेला रामशाह पथ नेर रहेको मेडिकेयर हस्पिटलमा गएँ । समस्या ठूलो थिएन तर ४-५ दिन देखि असजिलो भएकोले सिधै त्यहाका एकजना यादव थर भएका gastroenterologist लाई भेटें । उनले मसँग सामान्य सोधपुछ गरेपछि सिधै भिडियो एक्सरे, स्टुल र अन्य २-३ थरी टेस्ट गर्नु पर्ने पर्चा थमाइ दिए ।

ती टेस्टहरू सबै गर्नुपर्ने झमेला एकातीर थपियो भने अर्कोतर्फ ती सबै टेस्ट नसक्केसम्म कुनै ठूलै रोग लाग्यो कि भन्ने शङ्का पनि मनमा गडी रहयो । ३-४ दिनमा सबै प्याथोलोजीको रिपोर्ट आयो । हालजस्तो इन्टरनेट र गुगल बाबाको ज्ञान दृष्टि सुलभ भइसकेको थिएन तर रिफरेन्स रेन्जमा झ्वाट्ट नजर पार्दा कुनै हाइलाइट गरिएको प्यारामिटर थिएनन् । रिपोर्ट लिएर म फेरि तीनै स्पेसलिष्टकहाँ पुगेँ । उनले सर्रर रिपोर्ट हेरे अनि “खासै केही समस्या देखिएन ...’यो’, ‘यो’ र ‘यो’ औषधी ५ दिन खानुस..” भनेर हातमा पर्चा थमाइदिए ।

फोक्कडमा ३-४ दिन टेस्ट गराउने हैरानी, र २-४ हजारको खर्च पछि ‘केही पो भएछ कि ?’ भन्ने गहन चिन्ता बोक्नु परेको थियो । अब त्यो रहेन तर पनि तिनले दिएका ती ‘यो’, ‘यो’ र ‘यो’ औषधिले मलाई केही फाइदा भएन । फाइदा नभएपछि फेरि घरेलु र अन्य वैकल्पिक उपचार विधि भने जारी राखियो । त्यस्तैमा एकदिन मेरै घरमा बस्ने एकजना डक्टरसँग कुरै कुरामा आफ्नो समस्या बताएँ (स्मरण रहोस ती gastroenterologist वा पेट सम्बन्धी रोगका विशेषज्ञ भने थिएनन्, त्यसैले आफ्नै घरमा बसेपनि मैले उनीसँग सल्लाह लिएको थिइन) । उनले आफ्नो हातले मेरो कम्मर र पेटको बिचको भागमा पर्ने गरी बिस्तारै दबाए र भने “भाइ!, तपाईलाई त अमिबाले दु:ख दिएको रहेछ ... ल यो औषधी ५ दिन खानुस्, ठीक हुन्छ ....” । तुरुन्तै उनले दिएको औषधी किनेर खान शुरु गरेँ ....दोस्रो दिन देखी नै मेरो पेट दुख्न कम भयो र तेस्रो दिन साँझ सम्ममा मलाई पेट दुखेको थियो भन्ने समेत याद रहेन् ।

26 October, 2012

दसैँ ‘ह्याङगओभर’ - - केही गफ केही मुक्तक - -

दसैँ आयो र गयो पनि (करिब करिब गयो नै) । विस्तारै नेपालीहरूका जन जीवन पुन: सामान्य अवस्थामा फर्कदैँ छ। वर्ष दिनको धर्म यही केही दिनमा गर्नु पर्ने, वर्ष दिनको मस्ती पनि यही एक हप्तामै सक्नु पर्ने र वर्ष दिनका प्रेम-सदभाव र भाइचारा पनि यही केही निश्चित समय सीमामै प्रस्तुत र प्रदर्शन गर्नु पर्ने गज्जवको अन्तर अवस्थाका कारण हाम्रो समाज यो केही दिनमा एकै चोटि मस्त, अस्तव्यस्त र र अलमस्त हुने गर्छ ।

जानु पर्ने ठाउँमा जसरी नि जानै पर्ने, लानु पर्ने कुरा ऋणै गरेर भए पनि लानै पर्ने अनि खानु पर्ने कुरा कोचेरै भए पनि खानै पर्ने अनौठो स्थिति पनि यसैसँग पैदा हुने गर्छ । यसरी कहिले व्यस्त, कहिले अस्त अनि कहिले अस्तव्यस्त मात्रै हैन्, कहिले हर्षोल्लासमै कष्ट त कहिले परम्परामै धर्म नष्ट समेत हुन्छ यो चाडमा । वैदिक मान्यता र परम्परा भन्दा थपिएर आएका ‘लहै लहै’ र आडम्बरले यो चाडलाई रमाउने बाट थकाउने पनि बनाउँदै छ ।

जे होस यसपाला पनि आयो र गयो । जाँदा जाँदै सबैलाई एक प्रकारको आलस्य, प्रमाद र सुस्तता दिएर गएको छ यसले। जसलाई आजकलको भाषामा ‘ह्याङ्गओभर’ भन्दा बढि प्रष्ट हुन्छ सायद । सबैलाई लागेको यो ह्याङ्गओभरले मलाई पनि छाडेको छैन् । कार्यालयको काममा व्यस्त हुनुपर्ने दिन आइसक्दा पनि अझै २—३ दिन छुट्टि भए’नि हुन्थ्यो भन्ने भाव मनमा आइरहेको छ त्यसैले आजको पोस्टमा यही ह्याङ्गओभरका केही मुक्तहरू राख्दैछु:

आखाँ चिम्लदा पनि पञ्जा, सत्ता एक्का देख्दैछु म।
सुकेको खल्तीलाई ऋण सापटले थेग्दैछु म ।
छोडेको छैन, दसैँको ह्याङ्गओभरले अझै,
अफिसको पत्रमा नि ‘आयु द्रोणसुते...’ लेख्दैछु म ।

17 August, 2012

व्यस्त डाक्टर र फुर्सदिला बिरामी ?

SONY DSCस्थान: काठमाण्डौको कुनै एक गैह्र सरकारी अस्पताल
समय: साँझको ४ बजे
पात्रहरू: १०-१२ जना रोगी र करिब करिब त्यत्ति नै रोगीका सहयोगीहरू

यो एकाङ्की हैन्, तर करिब करिब स्थिति त्यस्तै थियो त्यहाँ । पर्दा, स्टेज र दर्शक नभएको जिन्दगीको असली नाटक । जहाँ पात्रहरू स्वयं दर्शक वा अझ् ‘मूकदर्शक’ भएर बसेका थिए। म एकजना बिरामी आफन्तको सहयोगीको रूपमा त्यस मूकदर्शकको भिडमा समावेश थिए ।

हुन त यस्तो र यस्तै खाले स्थिति-परिस्थितिमा यो भन्दा पहिला पनि १-२ पटक परेको थिए । जहाँ विवश बिरामीहरू कुनै चिकित्सकको पर्खाइमा अनन्त समय कुर्न बाध्य भएका हुन्छन र डाक्टर साहेबको भने कति बेला सवारी हुने हो पत्तो हुदैँन्, तर आज भने अझै एक कदम अगाडिको स्थिति थियो ।

  • मैले लिएर गएको बिरामीलाई सवा चार- साढे चार बजे आउन भनिएको थियो र म उनलाई लिएर ठीक साढे चार बजे तिनको क्याबिन अगाडि पुगेको थिएँ । म त्यहाँ पुग्दा ती डक्टरको ढोका अगाडि भिड जम्मा भइसकेको थियो ।
  • एकजना बुढी आमालाई के-के हो जाँच्नु पर्ने भनेर दिउसो देखि खाना नखाई ४ बजे आउनु भनिएको रहेछ।
  • अर्को एकजना झापाका दाइ, साँझको गाडीमा झापा फर्कनु पर्ने भएकोले सवा चारको समय लिएर पर्खि रहेका रहेछन् ।
  • अर्को एकजना बुढा बा, दुई जनाले समातेर बल्ल बल्ल ल्याई पुर्‍याएका थिए, उनलाई पनि साढे चार कै समय दिइएको रहेछ ।
  • आखिर अस्पताल नै त हो । अर्को एकजना दिउसो देखि उल्टी गर्दै कमजोर भएको महिला पनि तीनै डाक्टरको प्रतिक्षामा थिइन् ।
  • मैले लगेको बिरामी अरू बिरामी जस्ता ‘सिरीयस’ केशका नभए पनि आखिर ती पनि त बिरामी त बिरामी नै थिए । उनलाई पनि वास्तवमा ती डाक्टरले अघील्लो दिनकै समय दिएका रहेछन् । तर हिँजोको दिनमा तीनले बोलाएकै समयमा पुग्दा ती डाक्टर भने अन्त कतै निस्की सकेका कारण आज फेरि ‘रिपोर्ट देखाउन’ जानु परेको रहेछ ।
  • बिरामीकै लहरमा एकजना लाई चार बजे देखि पाँच बजेभित्र बोलाइएको रहेछ । समयमा नपुगिएला र डक्टर भेट नहोला भनेर तीनले अडाई सयको ट्याक्सी खर्चेर तोकिएको समयमा त्यहाँ उपस्थिति जनाएका रहेछन् ।

22 July, 2012

चर्केको बाल्टिन, फुटेको टुटी र हाम्रो ‘हरिब’ व्यवस्थापन !

हामी गरिब छौं, तर गरिब मात्रै हैन् हामी हरिब पनि छौं । अझ साँच्चिकै भन्ने हो भने हामी गरिब भन्दा हरिब बढी छौं । त्यसो त स्रोत र संसाधन हुँदा हुँदै पनि गरिब हुनु पर्नु पनि एउटा लज्जास्पद कुरो नै हो । तर मलाई लाग्छ, गरिब हुनु मात्रै त्यति लज्जास्पद हुँदैन जत्ति हरिब हुँदा इज्जत लिलाम हुन्छ ।

प्रसङ्ग हाम्रा इज्जतको प्रतिनिधित्व गर्ने देशका २ मुख्य विमानस्थलका हुन् । काम विशेषले बेला-बेलामा बाहिर निस्कनु पर्दा यी दुई विमानस्थलमा केही समय रहनु पर्छ मलाई । पहिलो हो देशको राजधानी र सान रहेको शहर काठमाण्डौ र दोस्रो देशको प्रमुख पर्यटकिय गन्तव्य वा देशको पर्यटकिय राजधानी पोखराको ।

यी दुई राजधानीका विमानस्थलका कमी कमजोरीका कुराको फेहरिस्त लगाएर लेख्ने हो भने एउटा सानो पोस्टमा ती कुराहरू अटाउने सम्भावना नै छैन् र कुनै पनि यात्रु विमान स्थलमा छिरिसकेपछि ‘किन मैले विमान चढेर यात्रा गर्नु पर्छ’ भनेर पक्कै पछुताउँछन् होला । कामको चटारो, हतार र अन्य विविध कारणवश बाटोबाट हिँड्न नभ्याई आकाशमार्गबाट यात्रा गर्नु पर्ने मजबूरीमा विमानस्थल छिरेका जो कोहीलाई पनि त्यहाँको बेहाल व्यवस्थापनका कारण आफ्नो देशको इज्जत लिलाम भइ रहेकोमा चिन्ता लाग्छ होला ।

दैनिक सैयौको सङ्ख्यामा यात्रुको ओहोर-दोहोर हुने यी दुबै विमानस्थलका शौचालय छिर्नु परेमा जो कोहीलाई पनि माथी मैले सुरूमै लेखेको वाक्य याद आउँछ :- “हामी गरिब भन्दा हरिब बढी छौं”

ल हेर्नुस, हामी किन र कसरी हरिब रहेछौं त !:-

13 July, 2012

कमेन्ट डिलिट गर्ने ‘योगी’को कथा !

"Let's Change Ourselves to Change the World." भन्ने नाराका साथ संसार बदल्ने हिम्मत लिएर अघि बढेका एक योगी छन् । स्वदेश र विदेशमा समेत प्रशस्त चेला-चेली र प्रशंसकहरू रहेका ती योगी डाक्टर विकासानन्दको फेसबुक पेज बेला बेलामा हेर्ने गर्थेँ । कुनै कुरा चित्त बुझ्थ्यो ‘लाइक’ गर्थेँ त कुनै कुरा चित्त बुझेन भने आफ्नो विचार राख्थेँ। सामाजिक सञ्जालमा रहेको पेज सबैको लागि खुला हुने र उनैको पेजमा ‘पब्लिक फिगर’ भन्ने लेखिएकोले अरू पेजमा जस्तै सो पेजमा पनि मेरो ‘पब्लिक उपस्थिति’ रहन्थ्यो । तर बीचमा केही समय यता आफूले मन पराएको र विमतिका शब्दहरू लेखको ‘स्टाटस’ मा के-के अन्तरक्रिया भएछन् त भन्ने जिज्ञासा जागेर हेर्दा आफूले लेखेको कमेन्ट डिलिट गरिएको देखेपछि अचम्म लाग्यो ।

नेपालको परिप्रेक्षमा हेर्दा नाम कमाएका भन्न मिल्ने यी ‘पब्लिक फिगरले’ म जस्तो सामान्य मानिसको कमेन्ट डिलिट गर्लान् भन्नेमा सुरुमा त विश्वास समेत गर्न मुस्किल भयो । तर पछि भने जब जब उनले लेखको कुरामा विमति गरेर ‘तपाईले लेखेको कुरा ठीक छैन’ भन्ने खालको तर्क गरिन्थ्यो ती तर्कहरू डिलिट हुँदा रहेछन् भन्ने थाहा लाग्यो ।

धेरै अगाडिको कुरा नलेखौँ । भर्खरैको कुरा गर्दा एकदिन उनले आफ्नो वालमा यस्तो लेखेका थिए:

Education without affection brings frustration.
So , our neen is not education but the vocation.
Dear cyber friends ! what is your assuption?

मैले हेर्दा, त्यो स्टाटसमा ५० भन्दा बढीले ‘लाइक’ ठोकी सकेका थिए र १४ जनाले ‘वाह!, वाह!! टाइपको’ कमेन्ट लेखि सकेका थिए । मैले धेरै चोटि हेरेँ, तर कुरा बुझिन् । अनि फेसबुकजस्तो खुला पेजमा रहेको योगगुरु र त्यसमाथी पनि ‘पब्लिक फिगर’ सँग सिकाई माग्नु पर्‍यो भनेर त्यसको तल कमेन्ट छाँडेँ:

07 July, 2012

प्रोफेशनको पीडा !!!

हामीहरू समाजमा रहेर भिन्न भिन्न पेशा वा काममा लागेका हुन्छौँ र प्राय: सबैलाई आ-आफ्नो पेशा भन्दा अर्कोको पेशा सहज, राम्रो र आकर्षक लागेको हुन्छ । कुनै एउटा काम वा पेशामा आबद्ध भएपछि लामो समयसम्म एउटै र एकोहोरो समान काममा लाग्नुपर्ने र उही प्रकृति र प्रक्रियाको उपक्रम बारम्बार पुनरुक्त हुँदा मानिसहरूमा आफ्नो काम प्रति वितृष्णा समेत जाग्ने रहेछ ।

हुन त विषय र प्रसङ्ग भिन्नै थियो, तर महान वैज्ञानिक अल्बर्ट अनस्टाइनले समेत एक पटक “If I had only known, I would have been a locksmith.” भनेर आफू वैज्ञानिक भएको प्रति पश्चाताप व्यक्त गरेका छन् । जीवनको कुनै मोडमा पुग्दा उनलाई आफू वैज्ञानिक भएकोमा भन्दा ताल्चा साँचो बनाउने (कतै कतै घडी बनाउने भन्ने उल्लेख गरिएको छ) साधारण मेकानिक भएको भए सन्तुष्टि मिल्ने सोच आयो ।

के त, हामी आ-आफ्नो पेशा प्रति यस्तै सोच राख्छौं त ? । के कुनैपनि पेशा मानिसलाई लामो समयसम्म सन्तुष्टि दिन असफल हुन्छ त ? । वा के कुनै पनि पैसा, प्रतिष्ठा र लोकप्रियता दिने पेशा सधैंको लागि आकर्षक वा निरन्तरको आबद्धतामा पनि रुचिपूर्ण रहि रहन सक्छ त ? ।

आजको पोस्टमा म, मेरो आफ्नो वृत्तभित्र रहेका वा मैले प्रतक्ष्य रूपमा चिनेका केही विविध पेशागत चरित्रहरूको अनुभूति राख्दैछु । यसमा रहेका सबै चरित्र, भनाइ र अनुभवहरू सत्य घटना हुन। कसैको वास्तविक जीवनसँग मेल नखाएमा मात्रै यो संयोग हुनेछ ।

25 May, 2012

…लाग्छ राजनीति गर्नेहरू संसारमै बदनाम छन् ।

यता केही समय देखि देशको स्थिति एकदमै अनुमानै गर्नै नसकिने मोडमा पुगेको छ । लेख्ने कुरा धेरै भएर पनि अन्य कुरा लेख्न सकिरहेको छैन्। सोच्ने कुरा अनेक हुँदा हुँदै पनि छिन –छिनमा ध्यान देशको राजनीतितर्फ मात्रै खिचिन्छ । अनि हेर्न पर्ने र चाख लाग्दा धेरै कुरा भएपनि नजर पट्यार लाग्दो खल पात्रहरू मात्रै भएको राजनैतिक नाटकका मात्रै मोडिएको छ । अहिले यो पोस्ट लेख्दा सम्मको समयमा भर पर्न सकिने कुनै आशाको किरण कतैबाट देखिएको छैन् । स्वदेशमै लिलाममा रहेका र विदेशमै बिकी सकेकाहरूको झुन्डमा बचेका केही चरित्रहरू पनि कतै दानवीय हुन्डरी भित्र विलुप्त भएका छन् । यस्तो अवस्थामा मन नचाहँदा नचाहँदै पनि बारम्बार फेरि पनि ती नालायक खलपात्रका अघिल्ला कदम के होला भन्नेमा जाँदैछ ।

केही समय अगाडि यसै ब्लगमा मैले केही प्रसिद्ध व्यक्तिहरूका रमाइला भनाइहरू राखेको थिएँ । यस पटक भने राजनीति वा राजनीतिज्ञ सम्बन्धी मैले पढेका केही भनाइहरू राख्दैछु ।

“Mankind will never see an end of trouble until... lovers of wisdom come to hold political power, or the holders of power... become lovers of wisdom.” :- Plato, The Republic


“I have come to the conclusion that politics is too serious a matter to be left to the politicians.” :- Charles de Gaulle


“Politics is the gentle art of getting votes from the poor and campaign funds from the rich, by promising to protect each from the other.” :- Oscar Ameringer


“Politics is the art of looking for trouble, finding it whether it exists or not, diagnosing it incorrectly, and applying the wrong remedy.” :- Ernest Benn


17 May, 2012

मेरा ‘बन्द’ अनुभवहरु !

नेपाल बन्द हुनु अब कुनै ठुलो घटना रहेन, न त यसमा कुनै ठूलो दलको समर्थन हुनु नै जरूरी रह्‍यो अब । आफू सत्तामा बस्दा मात्रै यसको विरोध गर्ने र सत्ताबाट सडकमा पुग्ने बित्तिकै यसैको सहारा लिएर फेरि सत्ता हत्याउने खेलमा लाग्ने हाम्रा महान नेताहरूका गौरवमय परम्पराका कारण हुनै नहुने बन्द हाम्रो राजनैतिक कुसंस्कारको एउटा अभिन्न पाटो वा महानतम नेतहाहरूका माग पुरा गराउन गरिने पहिलो हथकण्डाको रूपमा स्थापित भइसकेको छ ।

कुर्सी हत्याउन बन्द, कुर्सी जोगाउन बन्द, हाकिमलाई निकाल्न बन्द, जागिर जोगाउन बन्द। हुँदा-हुँदा चौकी सारिँदा र कुखुरा मारिँदा सम्म बन्द । अनि कमजोर प्रशासन र गतिछाडा सरकारको छत्रछायाँमा बन्दमा मर्का पर्नेलाई भन्दा बन्द गराउनेलाई संरक्षण दिने परम्पराले गर्दा यो बन्दको हथकण्डा झन् झन् मजबूत हुँदै गएको छ । आज पनि यस्तै कुनै तथाकथित माग वा योजना अन्तर्गत कसैले बन्दको आयोजना गरेको रहेछ ( आजकल साँच्चै किन र कसले बन्द गरेछ भने र पनि बुझ्न छाडिएको छ:)।

आजको बन्दमा मैले बिगतमा भोगेका केही बन्द अनुभव लेख्दैछु ।

बन्दकर्तालाई संरक्षण, जनतालाई मार !

तिथिमिति लेखेर राखेको छैन ...तर कुरा केही वर्ष अगाडिको हो । त्यति बेला सायद कुनै नेताको गार्डसँग झडप गर्दा एकजना मार्सल आर्टसका खेलाडी गोलीको शीकार भएको कारणले तनाव बनेको थियो । म काम विशेषले अफिसको गाडीमा कालोपुल तर्फबाट चाबहिल जान लागेको थिएँ । कालोपुल पुग्नु भन्दा करिव २००-३०० मिटर परैबाट मैले देखेँ , केही १५-१६ का अल्लारे केटाहरू सडक छेउका ईँटा र ढुङ्गाका टुक्राहरू बोकेर बाटोको बीचमा ल्याइ बाटो बन्द गर्ने तयारी गर्दै थिए । अगाडि ३-४ जना मात्रै ‘फुच्चे’हरू रहेकोले मैले कुने ठूलो समस्या देखिन र गाडी अगाडि बढाउन भने । त्यत्तिकैमा झन अगाडि ५-७ जना पुलिसहरू झुल्किए । मैले झन निश्चिन्त हुँदै अगाडि बढ्ने उपक्रम गरेँ ।

27 April, 2012

केही प्रसिद्ध व्यक्तिका रमाइला भनाइहरू !

प्रसिद्ध व्यक्तित्वहरूका कृति वा भनाइहरू पढ्नु आफैँमा एउटा ज्ञानप्रद र रमाइलो अनुभूति हुनसक्छ । त्यसमा पनि यदि ती भनाइहरू व्यङ्ग्यात्मक, हास्यरसले भरिएका वा तर्कबाट अतर्क तिर गएका छन् भने त्यसको मिठास अर्कै हुन्छ ।

विगतमा कुनै पुस्तक वा पत्र-त्रिका पढ्दा र इन्टरनेटका पेजहरू भ्रमण गर्दा भेटिएका यस्ता केही भनाइहरूलाई सारेर राखेको थिएँ । आजको पोस्टमा यस्तै केही प्रसिद्ध व्यक्तिका केही रमाइला र उटपट्याङ भनाइहरू राख्दै छु ।

सुरूमा Samuel Langhorne Clemens अर्थात् उपनाम Mark Twin का नामले लेख्ने प्रसिद्ध अमेरिकी व्यङ्ग्य लेखकका केही भनाइहरू

“Cauliflower is nothing but cabbage with a college education.”

“Censorship is telling a man he can't have a steak just because a baby can't chew it"

“A man's character may be learned from the adjectives which he habitually uses in conversation.”

“Age is an issue of mind over matter. If you don't mind, it doesn't matter.”

"Never put off till tomorrow what you can do the day after tomorrow."

“Be careful about reading health books. You may die of a misprint.”

13 April, 2012

१० वर्षे छोरीको ब्लगको कुरा !

“बाबा !, मलाई पनि ब्लग चाहियो”। “बाबा !, मेरो पनि ब्लग बनाइदिनस् न” । चार कक्षा पढ्दै गरेकी छोरीले २-४ पटक यस्तै कुरा गर्दा मैले कहिल्यै गम्भीरतापूर्वक लिइनँ । ब्लग भनेको के हो थाहा नभएर वा ब्लगलाई पनि फेसबुक जस्तै सोचेर साथीहरूसँग कुरा गर्न र फोटो हाल्ने सोचेर उसले यस्तो कुरा गरेकी भनेर मैले उसको कुरा कहिल्यै ध्यान दिएर सुनिन पनि । उसले भन्थी र म पनि मतलब नै गर्दिन थेँ । यस पाला परीक्षापछिको छुट्टीमा उसले फेरि कराउन थाली “मलाई पनि ब्लग बनाइ दिनु न !” ।

“छोरी ब्लग भनेको स्टाटस राख्ने र फोटो अपलोड गर्ने ठाउँ हैन..” यस पटक भने सम्झाउनै पर्ने भएकोले मैले उसलाई बुझाउन खोजेँ “....यसमा आफ्नो फोटो, जोक वा स्टाटस राख्ने हैन्, आफैँले केही लेख्नुपर्छ” । अरूले लेखेको कपि-पेस्ट गरेर पनि हुँदैन (हुन त नेपाली ब्लग जगतमा यस्ता ब्लगकै बिगबिगी छ Angry smile ) । “... हुन्छ त... म पनि आफैँ लेख्छु !” । छोरीको यस पटकको कुरो र उसको आत्मविश्वास देखेर लाग्यो उसलाई पनि ब्लग बनाइ दिए हुन्छ ।

सुरुमा उसको पढाइ र अन्य विविध कार्यमा ब्लग एउटा ‘भार’ नबनोस् भन्ने सोच पनि थियो र पनि उसलाई यसबाट टाढा राख्न खोजेथेँ । तर भन्छन् नि तीन ओटा हठको अगाडि कसैको जोर चल्दैन रे । बाल हठ, स्त्री हठ र राज हठ । उमेर न पुगेकोले बालक हो नै, छोरी भएकोले ‘स्त्री’ नै हो र घरमा उसैको राज चल्ने भएकोले राजा पनि हो नै । अतः: सबै हठ एकठाउँमा एकत्रित र घनीभूत भएकोले उसको हठको अगाडि केही लागेन र उसको लागि ब्लगरमा एउटा ब्लग बनाइ दिएँ ।

13 March, 2012

पत्रिकाको समाचार र मनको भाव !

Advertisements... contain the only truths to be relied on in a newspaper. :~Thomas Jefferson

त्यसो त “पत्रिकामा विश्वास योग्य कुरा विज्ञापन मात्रै हुन्छन्” भनेर धेरै पहिले नै भनिए पनि  आजको समयमा पुग्दा यो वाक्य झन् झन् समसामयिक र सटीक भएका छन् । पत्रिकाहरूमा समाचार हैन। प्राय: हावा गफ, अडकल र हौवा छापिन्छन् । अनि अर्को उदेक लाग्ने कुरा के भने तीनै हावा गफ र हौवाहरू पनि बारम्बार दोहरिन्छन्, तेहरिन्छन्, चौरिन्छन् । र सायद विज्ञापन मात्रै विश्वास योग्य होलान् ।

यस्ता सम्म समाचार वा खबर पत्रिकामा छापिन्छन् कि तीनको विषयवस्तु वा सारको त कुरै छाडौं, शीर्षक मात्रै पढ्दा समेत सामान्य मानिसको अडकलले यो हावा गफ भनेर थाहा पाउँछ, भने किन यस्ता कुराले पत्रिकाको पन्ना भरिन्छन् भन्ने सोच समेत सबैमा पलाउँछ । यस बारेमा यो भन्दा पहिलेको अर्को पोस्टमा लेखि सकेकोले आज यसकै विस्तारमा नजाउँ । आजको पोस्टमा समाचार सार वा समाचार विस्तार हैन् , खबरको शीर्षक मात्रै पढ्दा पनि सामान्य अवस्थामा कस्तो सोच आउँछ भन्नेतिर लाग्दैछु ।

माथि नै लेखिसके, बकम्फुसे गफ पनि हामीले एक पटक दुई दुईपटक हैन्, एउटै पत्रिकामा समेत पटक पटक पढने गर्छौँ। लेखिनु पर्ने हुनाले वा छापिनु पर्ने हुनाले ती गफहरू लेखिएलान् र छापिएलान । तर यस्ता बारम्बार पुनरुक्त खबर वा गफको शीर्षक देख्दा पाठकको मनमा सुरुमै कस्तो भावना जन्मेलान त ? । अर्काको ठेक्का निलिउँ, मेरो मनमा भने प्राय: यस्ता खबर पढ्दा निम्न भावहरू उठ्छन् । त्यसैले आजको पोस्टमा केही दिन यता छापिएका समाचार शीर्षक र ती शिर्षक पढ्दा मेरो मनमा उठेको भाव जस्ताको त्यस्तै :

27 February, 2012

कोठेगफ, हल्ला र हावागफ

Chatterत्यसो त गफ, काठमाण्डौले मात्रै हैन, संसारका सबै सहर र सो सहरका बासिन्दाले गर्छन् । तैपनि काठमाण्डौको गफ भने भिन्दै हुन्छन् । यहाँ कहिले कुनै हल्लाले बजार तात्छ त कहिले भने बजार तातिसकेपछि मात्र हल्ला चल्छ । अचम्मको छ यहाँको गफ र हल्ला । कहिले कसैले आयोजन नै नगरेको बेलामा हल्लाकै भरमा नेपाल बन्द हुन्छ त कहिले भने ‘नेपाल बन्द’ गर्ने प्रायोजक समेत पछि लाग्दा समेत काठमाण्डौ बासीले ‘हल्ला मात्रै हो’ भनेर हिँडी दिँदा बन्द असफल बन्छ । कहिले आन्दोलन गर्ने हल्ला त कहिले हल्ला गर्ने आन्दोलन समेत चलेका छन् यहाँ ।

सरकार फेरिने हल्ला, पेट्रोलको भाउ बढ्ने हल्ला, संविधान बन्ने हल्ला र हुँदा हुँदा नेपालको संविधान विदेशमै तयार भइसकेको हल्ला समेत बेला बेलामा चल्छन् यहाँ । हल्लाकै पछि लागेर हल्लिने मात्रै नगरी हल्लाको तहसम्म पुग्ने कोसिस गर्दा हरेक हल्लाका स्रोत ‘गफ’ हुने गर्छन् । चार जना पत्रकार र १०० जनाको भिड देख्ने बित्तिकै उत्तेजित विपक्षी दलका नेताले ४ दिनमा सरकार हल्लाइदिने ‘गफ’ दिन्छ । उसको गफ उपस्थित समूहको प्रचार-प्रसारको सहयोगमा ‘हल्ला’ बन्छ । अनि टोल टोलको चिया पसलमा मात्रै हैन्, चार पन्ने ‘हावा’ छाप्ने देखि २४ पन्ने विज्ञापन राख्ने पत्रिका सम्ममा विशेष सूत्रको हवाला दिएर नयाँ सरकार बन्ने चर्चा चल्छ । आखिर गफ त गफ नै हुन्छ... २-४ दिनको ‘हल्ला’ बनेपछि सो ‘गफ’ ‘हावागफ’ मा परिणत हुन्छ ।

फेरि कुनै दिन, साँझको भट्टी बसाईमा कुनै भातमाराले आफ्नो उचाइ बढाउन आफूले सबैसँग गम्भीर सल्लाह गरि रहेको र ‘कुराकानी मिले’ ३ हप्तामै संविधान बन्ने गफ दिन्छ । भट्टीवाली माइली, साइली र दायाँ-वायाँ टेबुलमा बसेका हर्के विर्खे मात्रै हैन्, थकाइ मेट्न पुगेका खोयाबिर्के मिडियाकर्मीको कानमा समेत सो गफ पुग्छ । मान्छे भातमारा नै भएपनि पदमा पुगेको भातमारा भएकाले सबै जना उसको गफमा एकछिन झुकिन्छन् (त्यसमा सँगै बसेर खाएको बिजुलीपानीले पनि मद्दत गर्छ) र भोलिपल्ट बजारमा ३ हप्तामा नयाँ संविधान बन्ने हल्ला गरम हुन्छ । हल्ला सँगै फेरि अडकलबाजी र सन्देहको पनि बजार बढ्छ ।

06 February, 2012

ब्लगरले किन ढिला लेख्छन् ?

ब्लग लेख्न थालेको चार वर्ष पुरा भइसकेको छ र मेरो आफ्नो ब्लग पाँचौं वर्षमा हिँड्दै छ । यस बीचमा कहिले हप्तामा ३-४ वटा त कहिले ३-४ हप्तामा एउटा पोस्ट समेत लेखियो । लेख्न थाले पछि विषय वा सामाग्रीको अभाव भने प्राय: खट्किएको छैन । तर पनि विविध कारणवश बेला बेलामा ब्लग लेख्न ढिला हुने गर्छ ।

मेरो मात्रै हैन्, मैले देखेको नेपाली ब्लग जगतमा रहेका मेरा सहयात्री पुराना ब्लगरहरू र नयाँ ब्लगरहरूमा समेत यो ‘नियम’ लागु हुन्छ । नियमित लेख्ने ब्लगरहरू पनि कहिलेकाहीँ ‘अनियमित’ हुन्छन् र ढिला लेख्छन् । त्यसैले आज म ब्लगरहरू किन ढिला लेख्छन् भन्ने बारेमा नै ब्लग लेख्दैछु । केही आफ्नै अनुभव, केही सहयात्री ब्लगरहरूको सोच अनि केही ठट्टा ... मेरो विचारमा ब्लगरहरूले ढिला लेख्नुमा यीनै कारणहरू नै प्रमुख छन् । केही छुटेको वा नपुग भएको भए तपाइहरू पनि थप्नुस है !

यो लेखौं कि त्यो लेखौँ: कहिलेकाहीँ ब्लगरसँग यत्ति विषय वा सर्जाम हुन्छन् कि ऊ ‘यो लेखौं कि त्यो लेखौँ ‘ भन्नेमा नै निधो गर्न सक्दैन् । कम्प्युटरमा रहेका आधा-अधुरा गजल पुरा गर्ने कि, देशको जल्दो बल्दो विषयमा आलेख तयार गर्ने । आउँदै गरेको कुनै चाडको वारेमा लेख्ने कि दिमागमा रहेको नयाँ कथालाई उतार्ने । उ सोचमा नै व्यस्त हुन्छ र कुनै निधो गर्न सक्दैन् । त्यत्तिकैमा समय बित्छ यता उसको गजल पनि पुरा हुँदैन भने उता जल्दो बल्दो विषय पनि बासी भइसक्छ । सोच्दा सोच्दै आउँदै गरेको चाड बिति सक्छ र दिमागमा तयार कथाको प्लट पनि दिमागमै पुरानो हुन्छ । अनि ब्लगर ब्लग लेख्न ढिला हुन्छ ।

06 January, 2012

६००% कपि, चडकनको इजाजत र भविष्यको मान्छेको कुरा !

प्रविधिले बेला-बेलामा गर्ने ठट्टाको बारेमा मैले अघिल्लो पोस्टमा पनि केही कुरा लेखेको थिएँ । त्यो पोस्टमा कम्प्युटर अनि कम्प्युटर सफ्टवेयर वा एप्लीकेसनले गर्ने मजाकको बारेमा केही कुरा र स्क्रिनशटहरू राखेको थिएँ ।

वास्तवमै कम्प्युटर सफ्टवेयर वा एप्लीकेसनले समय समयमा रमाइलै मजाक गर्छन् ( म आफू कम्प्युटर सँग बढि चल्ने भएकोले मलाई मात्रै यस्तो गर्छ कि, त्यो चाहीँ भन्न गाह्रै छ) । यो पोस्टमा पनि म विभिन्न समयमा कम्प्युटर चलाउँदा भेटिएका-देखिएका र लिइएका त्यस्तै केही स्क्रिनशटहरू राख्दै छु :

ल हेर्नुस्, मलाई मेरो कम्प्युटरले गरेको यस पटकको पहिलो ठट्टा । एकदिन काम गर्दे गर्दा एउटा ठूलो साइजको फाइल हार्डडिस्कबाट पेन ड्राइवमा कपि गर्नु थियो । तर निकै समय भइसक्दा पनि यो कपि गर्ने काम नसक्केकोले, के भए छ त भनि Task Manager खोलेर हेर्दा यस्तो देखियो :

600% Copying..

15 November, 2011

इन्टरनेट चैँ चलेकै छ है....

लेखक: रमेश बान्तवा

Internets

इन्टरनेट आजको जमानामा विलासीताको वस्तु हैन, अत्यावश्यक सेवा भइ सकेको छ । मनोरञ्जन वा अद्ययनको लागि मात्रै हैन, सामान्य दैनिक जीवनमा पनि हरेक क्षेत्र र हरेक समयमा यसको उपयोग जरुरी जस्तै नै भइ सकेको छ ।

तर यही इन्टरनेट पनि जोड्न र चलाउनको लागि कहिलेकाहिँ पहाड चढ्ने जत्ति नै मेहनत गर्नु पर्दो रहेछ । यस पटक पुन: अतिथि कलम अन्तर्गत श्री रमेश बान्तवा जीको वास्तविक जीवनमा घटेको एउटा समसामयीक तर रोचक घटना प्रस्तुत गर्दैछु । पोस्ट उपलब्ध गराइदिनु भएकोमा वान्तबाजीलाई धेरे धेरै धन्यावाद् ।

इन्टरनेट चैँ चलेकै छ है....

यो कथा वास्तविक हो । कुरा मैले इन्टरनेट जोड्दाको हो। छोरी विदेशमा भएकोले कुरा गर्न सजिलो हुन्छ भन्ने लागेर, यस बारे बुझ्दा सस्तो र तुरुन्तै उपलब्ध हुनेमा युटिएल पर्‍यो र त्यही नै लिएँ ।

लिँदा खेरिनै “यो अलि ढिलो छ, तर पछि छिटो हुन्छ” भनेकोले म ढुक्क भै उनीहरूले भनेको मोडियम लिएर घर आएँ । सबै गर्दा चार हजार भन्दा बढी पर्‍यो । बल्ल तल्ल जोडियो तर काम चैँ रकेट युगमा गोरु गाडाको गतिमा चल्ने पो भयो! । कारण चार जनालाई पुग्ने सेवा चालीस जनालाई बाँडेको रहेछ, त्यसपछि त दूधमा जत्ति पानी हाले पनि सेतै देखिए जस्तै ‘चलेन’ भन्न नि नमिल्ने तर राम्ररी चलाउन नि नमिल्ने थियो कनेक्शन।

17 October, 2011

के सामाजिक सञ्जालले हाम्रो दूरी झनै बढाउँदै छ ?

“Congratulations!”, “विजया दशमीको शुभकामना!”, “Happy Birthday !!!” वा यस्तै-यस्तै धेरै शुभकामना र सुवेक्षाले तपाईँ हाम्रो सामाजिक सञ्जालको पेजहरू बराबर भरिने गर्छन् । मौसमी वा बेमौसमी यस्ता शुभकामना र सन्देशहरूको बर्षातको बीचमा कहिलेकाहीँ लाग्नसक्छ फेसबुक, ट्वीटर, गुगलप्लस वा यस्तै अन्य केही सामाजिक सञ्जालले हामीहरुलाई एक-अर्कासँग नजिकिन कत्ति सहज बनाएको छ । हाम्रो हरेक सानो ठूलो समाचार, सन्देश र सुख-दु:ख बाँडने एउटा मजबुत माध्यम बनेको छ यो सामाजिक सञ्जाल । तर सामाजिक सञ्जालले हामीलाई के साँच्चै नजिक्याएका हो त ? ।

पश्चिममा धेरै अध्ययन र अभिमतको सूचकाङ्कको माध्यमबाट माथिको प्रश्नको जवाफ खोज्ने वा सामाजिक सञ्जालको सार्थकता सिद्ध गर्ने प्रयास गरिएको छ । तर यसको नतिजा भने बढो अचम्म लाग्दो देखिएको छ । वास्तवमा सामाजिक सञ्जालले हामीलाई नजिक्याउने भन्दा पनि टाडा बनाउने काम गरिरहेको छ । हो तपाईँले ठीकै पढनु भएको छ सामजिक सञ्जालले हामीलाई एक आपसमा नजिक्याउने हैन् हामी-हामी बीचको भौतिक दूरी लाई झनै बढाइदिएको छ । झ्वाट्ट सुन्दा अलिक बेमेल लाग्छ यो कुरा तर वास्तविकता यही नै हो ।

कतिपय अवस्थामा पुराना, छुटेका वा विछडिएका साथी सँगातीसँग पुनर्मिलन गराउने काम सामाजिक सञ्जालले नगरेको हैन्, तर सामजिक सञ्जालको सम्बन्ध धेरै अवस्थामा केवल इन्टरनेटको संसार वा अवास्तविक दुनियाँमा मात्रै रहने गरेको छ । केही समय अगाडि मैले पढेको एउटा अनलाइन रिपोर्टमा त यत्ति सम्म पनि लेखिएको थियो कि मानिसहरू एक-आपसमा हेलमेल हुन हैन, बरू एक-अर्कासँग लुकेर बस्नको लागि सामाजिक सञ्जालको बढी प्रयोग गर्छन् । कुरो एकदम सहि हो, एकजना साथीको जन्मदिन छ, तपाईँ समयले भ्याए पनि वा हिँडने बाटोमै परे पनि उसको घरमा गएर जन्मदिनको शुभकामना दिन जानुहुन्न । तपाइँ केही लज्जा, केहि असहजपन र केही सामाजिक परिवेशको तानाबानाले सिधैँ साथीको घरमा गएर ‘बर्थडे विस’ गर्न, चाडबाडको शुभकामना दिन वा परीक्षामा सफल भएकोमा लड्डु लैजान सक्नुहुन्न । तर फेसबुकको वालमा गएर ‘जन्मदिनको शुभकामना’ लेख्न वा ट्विटरबाट ‘Congratulations!’ लेख्न तपाईँलाई सहज लाग्छ । तपाई ब्राउजर खोलेर उसको पेजमा जानुहुन्छ र वास्तवमा भेट हुँदा औपचारिकता कामय गर्न भन्न अलिक सरम लाग्ने शुभकामना र प्रगतिको सुवेक्षा निर्धक्क दिनुहुन्छ ।

25 August, 2011

चीन यात्रा - केही संस्मरण, केही सम्झना -

करिब तीन हप्ताको चीन यात्रा सकेर भर्खरै घर फर्केको छु । तीन हप्ताको समयमा धेरै कुराहरूको अनुभव र अनुभूति भयो र प्रसङ्ग मिलाएर लेख्ने हो भने यी यात्रानुभूतिको निकै लामो खाका तयार होलान् । अघिल्लो पोस्टमा केही तस्विरहरू बाँडेको थिए भने पछिका कुनै पोस्टमा अरू तस्विरहरू राख्नेछु । आजको पोस्टमा भने केही क्रम रहित र अनौपचारिक संस्मरणहरू राख्दै छु :

चीनको विकास र हाम्रो दुर्भाग्य !

हुन त अध्ययन र कामको सिलसिलामा धेरै वर्ष रहेको र धेरै पटक गएकोले चीन मेरो लागि नौलो नहुनु पर्ने हो । तर अविश्वसनीय रफ्तारका साथ विकासमा लागेकोले केही महिनाकै फरकमा गए पनि मैले सधैँ त्यहाँ नयाँपन र परिवर्तनको आभास पाउने गरेको छु । फराकिला सडक र गगनचुम्बी घरहरूले मात्रै हैन, चिनियाँ जनताको जीवनशैली र वैचारिक परिवर्तनले पनि चीन विकासको लामै फड्को मार्दैछ भन्ने प्रष्टै महसुस हुन्छ । माओले बाधेको अनुशासनमा तङ स्वाउ फिङले खोलेको वैदेशिक द्वार र विकासको नीतिले खुल्दै गएको चीन आजको दिनमा आइपुग्दा साँच्चै ‘नयाँ चीन’ भइसकेको छ ।

पुरानो चीन कस्तो थियो भन्ने राम्रो नदेखे पनि कस्तो हुँदै यस्तो भयो भन्ने चाही आफैले देखेकोले चीनको यो परिवर्तन साँच्चै अनुकरणीय छ । बेला बखत चिनिँया साथीहरूसँग कुरा गर्दा म उनीहरूलाई यो परिवर्तनको कारक तत्वको बारेमा सोध्ने गर्छु। शब्द वा भाषागत स्वरूपमा केही भिन्नता भए पनि प्रायः सबैले दिने जबाफ निम्न अनुसार हुने गर्छन :

15 August, 2011

चीन यात्राका केही दृश्यहरू !

कामको सिलसिलामा केही दिन देखि चीनमा छु र त्यसैको कारणले ब्लग पनि अपडेट गर्न भ्याएको छैन ।

त्यसो त चीनको विकासको गति देखेर विदेशीहरू मात्रै हैन, स्वयं चीनियाँ जनताहरू पनि आफैँ छक्क पर्ने गर्छन् र केही चीनियाँहरू विकासको यो गतिलाई ‘आश्चर्य’ भनि भन्ने गर्छन् । आर्थिक सुधार र भौतिक विकासका कारण एउटा शक्तिशाली राष्ट्रको लहरमा उभिन सफल चीनको विकासको मुक्त कण्ठले प्रशंसा गर्नै पर्छ । केही वर्षको फरकमा मात्रै हैन् केही महिनाको अन्तराल पछि आउँदा पनि केही न केही सुधार वा परिवर्तन देखिन्छ यहाँ ।

यसपाला काठमाण्डौबाट छङ्गतुको लागि उड्ने बेलामा मेरो सिटको छेउमा एकजना अधवैसे अमेरिकन महिला थिइन् । उनि आफ्नो चीनमा पढ्दै गरेको छोरालाई भेट्ने बहानामा नेपाल घुमेर चीन जाँदै थिइन् । उडानको क्रममा भलाकुसारी गर्दा तीनले मलाई “तिमी अमेरिका गएका छौ ?” भनेर सोधिन । मैले आफू अमेरिका नगएको तर त्यहाँको तामझाम र चहल-पहलको बारेमा भने निक्कै सुनेको बताएँ । त्यसपछि उनले मलाई चीनको कुन कुन सहरमा गएको छ भनेर सोधिन। मैले उनलाई आफू पुगेको केही सहरहरूको नाम बताएपछि उनले मलाई भनिन ‘तिमी ती सहरहरूमा गएका छौ भने अमेरिका जानु पर्दैन... “ आफूलाई फ्लोरिडाको बताउने ती महिलाले भनिन् “...अब चीनको सहरलाई अमेरिकी सहर सँग हैन, अमेरिकाका नगरहरूलाई चिनियाँ सहरहरू सँग दाँज्ने बेला भइसकेको छ ”

29 January, 2011

लोडसेडिङ एक - फाइदा अनेक !

Laltin"गरिब आदमी अगर मजबुरी को मजाक न बनाए तो जीए कैसै !" कुनै एउटा हिन्दी कमेडी फिल्ममा सुनेको यो एक लाइन आजकल आफैँमा लागू हुन थालेको छ । बिहान उठ्ने बित्तिकै टुथपेस्ट र ब्रस भन्दा पहिला त्यस दिनको लोडसेडीङको तालीका हेर्नु पर्ने नियति र बत्ती जाने र आउने समयको निर्धारण गरेर मात्रै अन्य दैनिक योजना बनाउन पर्ने मजबुरीका बीच अभ्यस्त हुँदाहुँदा आजकल मैले पनि भाँडभैलोको राजनीतिमा रम्ने महान् नेताहरहको योग्यताका कारण विरासतमै पाएको लोडसेडीङका मजबुरी भित्र धेरै 'मजाक' भेट्न थालेको छु ।

हो, लोडसेडीङ खाली खराब मात्रै छैन्, यसका धेरै फाइदाहरू पनि छन् । मेरै कुरा गर्ने हो भने त आजकल मलाई यसका बेफाइदा भन्दा फाइदाहरू नै बढी लाग्न थालेका छन् । पत्याउनु हुन्न ?, ल हेर्नुस त लोडसेडिङका कत्ति फाइदाहरू छन् ।

फाइदा नम्बर एक-- धार्मिक क्रियाकलापमा वृद्धि:- तपाईँलाई लाग्ला सायद अयोग्यतम् नेताका योजना विहीन सोच र नालायकीपनका कारण विद्यमान लोडसेडीङ र धार्मिकता बीच के सम्बन्ध छ भनेर । तर नआत्तिनुस, म यसको सम्बन्ध पनि प्रमाणित गर्छु र यसका कारण भएको धार्मिक क्रियाकलापको वृद्धिलाई पनि सिद्ध गर्ने छु ।

मेरो आफ्नै कुरा गर्ने हो भने पनि बिहान उठेर नित्य कर्म पश्चात् कम्प्युटरमा झुम्मिने र इन्टरनेट वा टेलिभिजनका च्यानलहरू चहार्ने काम मजबुरीमा रोकिएकोले अचेल बिहानको बचेको समयमा मन ध्यान-धारणातिर जान थालेको छ । घर नजिकैको मन्दिरमा पनि लोडसेडीङ सुरु भएपछि घण्टी बढ्ने क्रम बढ्दै गएको प्रस्ट महसुस भएको छ भने, अनौपचारिक आँकडाले पशुपति-गुह्येश्वरीमा मात्रै हैन्, लोडसेडीङ जत्ति जत्ति बढ्छ बुढानिलकण्ठ र दक्षिणकालीमा समेत त्यही अनुपातमा दर्शनार्थीको लाम बढ्ने कुरा दर्शाउँदै छ ।

05 November, 2010

ब्लगर भेला- एक अनुभव

त्यसो त नेपाली ब्लगरहरुको भेला भएको यो पहिलो पटक थिएन । विगतका समयमा काठमाण्डौमै ४ पटक सम्म र अन्तरराष्ट्रिय स्तरमा दौँतरी द्वारा ३ पटक “अनलाईन ब्लगर भेला” को आयोजना भैसकेको छ । पहिलो र दोस्रो अनलाईन भेलामा ‘सहभागी’ हुने मौका मिले पनि पुराना तथा नयाँ ब्लगरहरुसँग प्रत्यक्ष भेट-घाट हुने यस पटकको भेलाको भने व्यग्रताका साथ प्रतिक्षा रहेको थियो मलाइ ।

फेसबुक, ईमेल ग्रुप र केही व्यक्तिगत इमेल समेतको सम्पर्क बाट सकेसम्म बढि संख्यामा ब्लगरहरु भेला गराउने चाहना भए पनि भेला आयोजना गरेको सूचना राखेको केही दिनसम्म भेलामा सहभागी हुनेको संख्या निक्कै कम देखिएको थियो । पछि विस्तारै यो ‘वेवलेन्थ’ ले काम गर्न थालेपछि करिव ४० जनासम्मको उत्साहजनक सहभागीता हुने देखियो ।

Nepali Bloggers

तर तिहारको सँगारमा परेको समय, सबैका आ-आफ्ना व्यस्तता र विविध कारणले गर्दा हिजोँ अर्थात ४ नोभेम्बर २०१० का दिन काठमाण्डौ बानेश्वरको थापा गाउँमा स्थित क्यापिटल एफ. एम. मा करिब २०-२२ जनाको उपस्थितिका बीच समापन भयो यो ब्लगर भेला ।