हामीहरू समाजमा रहेर भिन्न भिन्न पेशा वा काममा लागेका हुन्छौँ र प्राय: सबैलाई आ-आफ्नो पेशा भन्दा अर्कोको पेशा सहज, राम्रो र आकर्षक लागेको हुन्छ । कुनै एउटा काम वा पेशामा आबद्ध भएपछि लामो समयसम्म एउटै र एकोहोरो समान काममा लाग्नुपर्ने र उही प्रकृति र प्रक्रियाको उपक्रम बारम्बार पुनरुक्त हुँदा मानिसहरूमा आफ्नो काम प्रति वितृष्णा समेत जाग्ने रहेछ ।
हुन त विषय र प्रसङ्ग भिन्नै थियो, तर महान वैज्ञानिक अल्बर्ट अनस्टाइनले समेत एक पटक “If I had only known, I would have been a locksmith.” भनेर आफू वैज्ञानिक भएको प्रति पश्चाताप व्यक्त गरेका छन् । जीवनको कुनै मोडमा पुग्दा उनलाई आफू वैज्ञानिक भएकोमा भन्दा ताल्चा साँचो बनाउने (कतै कतै घडी बनाउने भन्ने उल्लेख गरिएको छ) साधारण मेकानिक भएको भए सन्तुष्टि मिल्ने सोच आयो ।
के त, हामी आ-आफ्नो पेशा प्रति यस्तै सोच राख्छौं त ? । के कुनैपनि पेशा मानिसलाई लामो समयसम्म सन्तुष्टि दिन असफल हुन्छ त ? । वा के कुनै पनि पैसा, प्रतिष्ठा र लोकप्रियता दिने पेशा सधैंको लागि आकर्षक वा निरन्तरको आबद्धतामा पनि रुचिपूर्ण रहि रहन सक्छ त ? ।
आजको पोस्टमा म, मेरो आफ्नो वृत्तभित्र रहेका वा मैले प्रतक्ष्य रूपमा चिनेका केही विविध पेशागत चरित्रहरूको अनुभूति राख्दैछु । यसमा रहेका सबै चरित्र, भनाइ र अनुभवहरू सत्य घटना हुन। कसैको वास्तविक जीवनसँग मेल नखाएमा मात्रै यो संयोग हुनेछ ।
राष्ट्रपति कि डक्टर: एकजना नेपालीको हिसाबले हेर्दा, जनताको छोराले प्राप्त गर्नसक्ने सबैभन्दा उच्च ओहदा भनेको हालको लागि नेपालको सम्मानित र गरिमामय राष्ट्रपतिको पद हो । यहाँको राजनैतिक सोच र त्यो पद प्रतिको लालसा हेर्दा त्यो पद पाउन यहाँ देशका ‘प्रकाण्ड’ मानिएका नेताहरूले पनि गजब गजब तमासा र तिकड्म गरेका थिए । तर गणतान्त्रिक नेपालमा प्रथम राष्ट्रपति रामवरण यादवले भने त्यो पदमा बहाली भएको केही समयपछि नै वितृष्णा जागेर “राष्ट्रपति भन्दा डाक्टरI पेशा नै राम्रो” भनेको धेरै भएको छैन् । त्यो भनाइ आउनुमा धेरै कारक तत्वहरू होलान्, तर कुरा भने प्रष्टै भएको हो । जतिसुकै गरिमामय, सम्मानित र उच्च ओहदा भएपनि त्यो काम पनि सधैंको लागि रूचिपूर्ण नहुने रै’छ ।
अनि के डक्टरी पेशा साँच्चै त्यस्तो हो त: राष्ट्रपतिले राष्ट्रपति भन्दा डाक्टरी पेशा राम्रो भने पनि अधिकांश डाक्टरहरू भने त्यस्तो सोच्दैनन् । कमसेकम मैले चिनेका मध्ये ८०% आफ्नो पेशासँग सन्तुष्ट छैनन् । नाम र दाम कमाउन सकिने भए पनि मैले चिनेका अधीकाशं डाक्टरहरू आ-आफ्ना सन्ततीलाई भने यो विषय नपढ्न र यो पेशा नअगाल्न सल्लाह दिँदा रै’छन् ।
“बिहान देखि ड्युटीमा बस्यो ....एकजना हँसिलो अनुहारको मानिस भेट हुँदैनन्... सबैजना कुनै न कुनै समस्याले पीडित भएर अँध्यारो मुख लिएर आएका हुन्छन् ..यो त बढो सिरियस पेशा छानिएछ” धेरै अगाडि एकजना साथीले भनेका थिए । अझ अर्को एकजना अलिक खुलेर कुरा गर्ने साथीले भनेको कुरा म कहिल्यै बिर्सिन्न । बिरामी एउटा रोग लिएर आउँछ रे । ...सिम्प्टम हेरेर ठ्याक्कै निदान गर्न सकिन्न। “३ दिन ‘यो’ औषधि खाएर हेर्नुस, ठीक भएन भने अरू टेष्ट गरौँला” भनेर पठायो रे। “हैन्....मलाई त ठिकै भएन के भा हो?” भन्दै बिरामी भोलिपल्ट बिहानै फेरि आइपुग्छन रे । रूनु न हास्नुको स्थिति हुन्छ रे त्यस्तो बेलामा । उनले भनेका थिए, सुरूमै विविध टेष्ट गर्न लगायो भने बिरामीले नकारात्मक हिसाबले हेर्छन रे। तर टेष्ट नगरी ठ्याक्कै यसै भा’ हो भन्न सक्ने स्थिति पनि सधैं हुँदैन रे । अनि मान्छेलाई ३ दिन औषधि खानुस भन्यो भने ३ दिन कुर्ने धैर्य पनि हुँदैन रे । उमेरले म भन्दा धेरै पाका ती डक्टर भन्ने गर्छन् । बरू एम बि बि एसको सट्टा एम.एस्सी गरेर कुनै कलेजमा साइन्स पढाउन बसेको भए राम्रो हुन्थ्यो (कलेजमा साइन्स पइढाउनेका पीडा फेरि तीनलाई के थाहा) वा कुनै विषयमा इन्जिनियरिङ्ग गरेको भए नि लाईफ राम्रो हुन्थ्यो रे।
ईन्जिनियरको आफ्नै कथा: डाक्टरले इन्जिनियरको ‘लाइफ कूल’ देखे पनि मेरो सर्कलका इन्जिनियरहरूको भने फेरि आफ्नै कथा छ । र इन्जिनियरहरूको बारेमा धेरै जोकहरू पनि प्रसिध्द छन् । मेरा सर्कलका प्राय: इन्जिनियरहरू आफ्नो पेशालाई ‘दैव दु:ख नदे आफैं दु:ख दे’ बाट परिभाषित गर्छन् । मेरा एकजना ‘दाइ-साथी’ इन्जिनियरले सुनाएको एउटा कथा पनि निक्कै रमाइलो छ।
एकजना कुनै प्रोजेक्टमा काम गर्ने इन्जिनियरले एकदिन आफ्ना बुढा बाउलाई पनि आफ्नो साइट देखाउन लगेछन् । दिनभर साइट घुमेर रातमा फर्कदाँ बाबुले ‘छोरा विदेश गएर इन्जिनियर बन्यो भनेको त कुल्लीको नाइके पो भएछ’ भनेपछि इन्जिनियर छोरालाई आफ्नो बाउलाइ सम्झाउन हम्मे हम्मे परेछ । उसै पनि “Real Engineers have a non-technical vocabulary of 800 words” भन्ने मजाक प्रसिद्ध छ । ‘साथी दाइ’का अनुसार ‘टेक्निकल भाषामा भन्दा बाबुले नबुझ्ने र नन् टेक्निकल भाषामा भने जसरी बुझाउँदा पनि आफ्नो काम भनेको ‘कुल्लीकै नाइके’ हुने रहेछ’ रे ।
आफूले गरेको काम अरूले नदेख्ने र अरूले देख्ने काम आफूले गर्न नमिल्ने हुनाले इन्जिनियरहरू सधैँ बदनाम हुन्छन् रे । समष्टिमा मैले भेटेका आधा भन्दा बढि ईन्जिनियरहरू आफूले गलत प्रोफेशन चुनेको बताउन चुक्दैनन् ।
कलाकारको पीडा: अरू पेशाकर्मीहरू सँग बराबर भेट भइरहे पनि कलाकार साथीहरू भने छैन भन्दा नि हुन्छ । त्यसैले लाग्थ्यो सायद कलाकारहरू भने मस्तीमा हुन्छन् । म सोच्ने गर्थें, रङ्गीन दुनियाँमा बस्ने र सङ्गीत र सुरमा रम्ने गायक र सङ्गीतकारहरू भने सायद आफ्नो काम र पेशाप्रति सन्तुष्ट हुन्छन् होला । तर... । हो ‘तर’... । एक दिन नेपालका लोकप्रिय कलाकारहरूसँग भेट भयो । त्यस भेट पछी मेरो सो सोच पनि रहेन ।
कुनै कार्यक्रम सञ्चालार्थ एक दिन नाचघर पुगेको थिएँ । हाम्रो कार्यक्रम सुरु हुनु अगाडि त्यहाँ कुनै ‘साङ्गीतिक कार्यक्रम’ चलिरहेको थियो । एकैछिन ‘व्याकस्टेज’ मा रहँदा आफ्नो पालो सकेर एक हुल कलाकारहरू बाहिरिए । एकैछिन सामान्य भलाकुसारी भयो र मैले ती ‘प्रसिद्ध’ कलाकारलाई सोधेको थिएँ: “तपाईहरूको त मस्ती हुन्छ है !” । “कहाँको मस्ती हुनु...सास्ती पो हुन्छ त!...” ती कलाकारले मलाई भने: “सधैँ स्टेजमा उत्रियो एउटै गीत गायो...” । “..... ला ला ....” उनले आफ्नो एउटा लोकप्रिय गीतको भाका हाल्दै भने “...यो गीत मैले हजार पटक जत्ती गाइसकेँ होला...” “...कत्ति गाउनु ...दिक्कै लाग्छ...” उनी भन्दै थिए “...त्यसमाथी कहिलेकाहीँ त बल्ल बल्ल गाइसक्दा श्रोताबाट ‘वन्समोर’ आउँछ.. फेरि उही र्याईँ र्याईँ पार्यो ...हामीत थकित पो हुन्छौँ त ...” । उनको पीडा सुनेपछि भने मलाई लाग्यो सायद यस्तै होला ।...स्टेजको झिलिमिली र चकाचौँध देखेर स्टेजमा उत्रने पनि त्यत्तिकै मस्त हुन्छन भनेर सोच्नु पनि गल्ती हुने रै’छ ।
यस बाहेकका पनि मैले अरू धेरै पेशामा आबद्ध व्यक्ति र व्यक्तित्वहरूलाई भेटेको छु तर पेशामा सन्तुष्टको खोजी भने जारी नै छ । समष्टिमा आफूले गरेको कामबाट जत्तिसुकै नाम र दाम मिले पनि मानिसमा अर्काको काम वा पेशाप्रति नजाँनिदो किसिमको आकर्षण हुने रहेछ । त्यसैले त संसारभरका अभिनेताहरू नेता र नेताहरू व्यापारी बन्छन् । डक्टर साहित्य लेख्छन्, पाइलट कलाक्षेत्र रोज्छन् । सरकारी कर्मचारी व्यापारमा मोज देख्छन्, व्यापारीहरू राजनीतिमा ओज देख्छन् । सबैजना आफ्नोकाममा तिक्तता र अर्काकोमा भोजै भोज देख्छन् ।
के तपाई भने आफ्नो काममा सन्तुष्टै हो त ???
सारै नै मन परेको लेख....आफु पनि engineering को स्टुडेन्ट भयको ले होला...
ReplyDeleteमलाई त लाग्छ कोही पनि आफ्नो पेशा प्रति सन्तुष्ट हुँदैन, यो काम चै गर्न पाए हुन्थयो भनो त्यो काम पाएपछी फेरि उस्ताको उस्तै ! लेख राम्रो छ दिलिप दाई!!
ReplyDeleteआफ्नु भन्दा अर्का'कै पेशा कुल देखिन्छ भन्छन् । तर अहिलेसम्मको हिसाबमा आफ्नो पेशा अहिले सम्म कुल नै लागिरा'को छ । मुख्य कुरा काममा सन्तुष्टि भयो भने, सबै कुल देखिन्छ । :)
ReplyDeleteम चाँही 'सन्तुष्टै' हो दिलिप ब्रो.. असन्तुस्ट हुने बित्तिकै म कामै छोड्दिन्छु..बाल मतलब.. एक्लो ज्यान त जसरी नि बाचिन्छ नि.. हाहाहा
ReplyDeleteहावा ब्रो र मेरो एउटा बानी चाहीँ करिब करिब एउटै परेजस्तो छ । आफ्नो पनि सन्तुष्टि कम हुने बित्तिकै सन्तुष्टि बढी दिने काम खोज्ने बानी छ . .... भलै ज्यान एक्लो भने छैन :)
ReplyDeleteएकदम हो दिलीप दाइ... मलाई नि मेकानिकल ईञ्जिनियर भन्दा थोत्रे ट्याम्पो बनाउने पढिछस् भन्छन्... :P
ReplyDeleteहा हा हा! वास्तवमै कोहि पनि आफ्नो पेशाबाट सन्तुष्ट देखिँदैन। धेरैजसोले आफ्नो रुचिभन्दा पनि 'जागिर'को संभावनालाई हेरेर पेशा रोज्नाले यस्तो भएको होला। कतिपय आफ्नो चाहनाभन्दा पनि बाऊआमाको दबाबले लतारिएर पेशामा 'पसेका' पनि हुन्छन्। यस्तोमा आफ्नो पेशामा रमाउन गाह्रै हुन्छ। फेरि, जति राम्रो स्थितिमा पनि असन्तुष्टनै रहनु मान्छेको स्वभाव पनि हो।
ReplyDeletesarai sahi kura uthaunu bhayo dada, tara malai chai khoi kina ho aile sama testo lageko chaina, bholi ko kura ta pakkai pani thaha chaina huna sakcha ni haina ra..
ReplyDeleteसाँच्चै सबै पेशा बोरिङ्ग नै हुँदो रहेछ कि के हो? यो रमाईलो लेख पढेर कसै कसैलाई आ बरु म त बेरोजगार नै बस्छु भन्ने आउला दिमागमा । धन्न आफ्नो चैं कुनै ठोस पेशा छैन । तरल छ, कैले के कैले के स्वाट्ट पिएझैं मजा छ ।
ReplyDeleteकुल्लीको नाइके नै सहि मलाई त "सन्तोषम् परम् सुखम्" भा'छ । प्रोजेक्ट सकिएर अर्को ठाउँमा सर्नु चैं बरु झन्झटिलो हो । पेशा नै फेर्ने विचार चैं आको छैन है ।
ReplyDeleteकुरो मिलो डेरा र पेशा चित्त बुझेनकि छोद्द्यो !!
ReplyDeleteमैले भेटेका प्रायः मानिसहरु पनि तपाईँले भनेझैँ आफ्ना पेसाप्रति असन्तुष्ट नै भेटिएका छन् । त्यसैले तपाईँको पर्यवेक्षणको आधिकारिकता छ भन्नु पर्ने देखिन्छ । तर, मेरो निजी अनुभव र अनुभूतिचाहिँ यस्तो छैन । आफ्नो पेसा बाट आजका मितिसम्म चाहिँ सन्तुष्ट छु रमाइरहेको छु । हो विगतमा राजनीति, पत्रकारिता, एनजीओको जागीर आदि गर्दाको बेलामा चाहिँ यस्तो सन्तुष्टिको अनुभूति हुँदैनथ्यो । आफ्ना उपर्युक्त दुईखाले अनुभव र अनुभूतिबाट मलाई के लाग्छ भने व्यक्तिको पात्रता र प्रकृति अनुरुपको पेसा भयो भनेचाहिँ त्यसले सुख दिने रहेछ !
ReplyDeleteपत्रकार-अलपत्रकारको चाहिँ कुरै आएनछ । म सन्तुष्ट छु कि असन्तुष्ट छु, यस कुरामा कन्फ्युज छु । कन्फ्युज हुनु पनि अलमलिने मेलो रहेछ जस्तो लाग्छ ।
ReplyDelete