31 March, 2023

“ती सबै चोर हुन !”

Corrupt Nepalese Politicians

भाग्यले भनौं वा दुर्भाग्यले हो, गएको एक महिनाको अवधिमा काम, भेटघाट र अन्य कार्यक्रमहरूको सिलसिलामा देशका स्थानीय, प्रदेशस्तरीय र केन्द्रिय नेताहरूसँग भेट्ने तालमेल जुर्‍यो ।

आम जनमानसले नेता भन्ने बित्तिकै कुन नजरले हेर्छन् भन्ने बारेमा मैले यहाँ चर्चा गरिरहनु परोइन। नेता याने फटाहा, नेता माने भ्रष्ट, नेता मतलब ....। समष्टिमा बदनाम राजनीतिमा सही व्यक्तित्व भेटिँदैन् भन्ने कुरामा नेपाली नजमानस करिब करिब निश्चित नै भइसकेको छ ।

तर आम नागरिकले यसरी सोच्छन् भने, एकजना नेताले नै चाहिँ अर्का नेतालाई कसरी हेर्छन् त?। के राजनीतिको प्रतिस्पर्धामा लाग्ने र सँगसँगै हिँड्ने एउटा नेताले अर्को नेतालाई सही नै देख्छन्, सोच्छन् र स्विकार्छन त ?। बेला-बेलामा यस्तो प्रश्न मनमा आउँथ्यो, तर राजनीतिसँगको लगाव र नेतासँग हिँडे ठूलो भइन्छ भन्ने लघुताभास कहिल्यै नरहेकोले कहिले पनि तिनका वरिपरि बसेर यो कुरा बुझ्ने इच्छा नै भएन। नेता भन्नेका गतिछाडाका बोलीमा ताली बजाउने त कुरै छाडौं, तिनका दुई पैसे बोलीको चिरोधमा शब्द खर्चिनु समेत समयको सत्यानाश सम्झने मान्छेले तिनका बारेमा अध्ययन वा अनुसन्धान गर्नु असम्भव नै हुन्थ्यो । तर माथि नै भनिसकेँ भाग्य वा दुर्भाग्यले तिनका संगत नगरी नहुने परिस्थितिमा देशका सबै स्तरका नेतासँग भेटघाट गर्नुपर्ने बाध्यता आइलाग्यो ।

अँ त, अव अस्विकरणतिर लागौं: “ यस लेखौटमा उल्लेख गरिएका सबै पात्रहरू वास्तविक हुन र तिनका उद्दरणहरू पनि यथार्थ नै, तर म आफू कुनै पनि दलसँग आबद्ध नभएको र मेरो उदेश्य पनि कुनै दल वा व्यक्ति विशेषलाई जुठ्याउने वा चोख्याउने नभएकोले यहाँ कुनै पनि व्यक्ति वा दलको नाम उल्लेख गर्दिनँ”।

अब लागौं कुरोको चुरो तर्फ:

पात्र नं १—ती सबै चोर हुन् ।

करिब एक महिना अगाडि नेपाल देशकै कुनै वडाबाट अघिल्लो पटकको चुनावमा झिनो मतले जितेर एक पदावधी सक्केका तर यस पटक टिकट नपाएर थन्केका ‘युवा नेता’ सँग भेट भयो। यस पटकको चुनावमा उनको स्थानमा प्रतिस्पर्धी अर्कै दलकाले जिते र ती ‘बेरोजगार’ भएका थिए । कुनै जमघटमा अन्य केही व्यक्तिहरूसँग भेट हुँदा, नेपालीको सबैभन्दा सस्तो र लोकप्रिय विषय राजनीतितिर कुरा तन्क्यो। उपस्थित एकजनाले तिनलाई फ्याट्टै सोधिदिए :” हैन्, तपाईँको वडामा त राम्रै थियो क्यार, किन यस पटक उठ्नु भएन?” । “के गर्नु सब चोरै चोर छन्...” तिनले सिधै अति नकारात्मक टिप्पणीका साथ जबाफ फर्काए “...म उठेको भए यस पटक पनि जित्थैँ ... तर चोरहरूले अर्कैलाई टिकट दिए। मलाई उठ्न पनि दिएनन्, पार्टिले नि हार्‍यो” ।

जनताले नेतालाई चोर देख्न्नु वा भन्नु मेरो लागि नौलो कुरा थिएन, तर एकजना स्थानीय स्तरका नेताले आफ्नै दलका उपल्लो तहका नेतालाई ‘चोर’ जस्तो आलङ्कारिक शब्द प्रयोग गरेर सम्बोधन गर्छन् भन्ने मलाई चाहिँ साँच्चै थाहा थिएन ।

राजनीति जस्तो घटिया विषयमा वार्तालाप धेरैबेससम्म लम्बियो र तिनले उठ्न नपाएको झोकमा होस वा तितो पोख्न पाएको अवसरको सदुपयोगमा होस, निक्कै बेरसम्म आफ्नो पहुँच भएका आफ्ना दलका सबै नेताहरूको बदख्वाईँ गरेर समय बिताए ।

पात्र नं २ – यिनले काम गर्नेलाई दिन्छन् र ?

दोस्रो पात्र, एकजना प्रदेशस्तरीय नेता, मेरो सिधै चिनजान नभए पनि एकजना आफन्तको बिहेको भोजमा ती ‘महामानव’ सँग एउटै टेबुलमा परियो । भर्खरै चुनाव जितेका र हाउभाउ हेर्दा पाए एक्लैले सिँगै देशै चलाउँछु गर्ने, गज्जबको ‘आत्मभ्रम’ पर्दशन गर्दैथे तिनी। ३ जना चिया खान बस्दा त राजनीतिको कुरा गर्ने नेपालीले पहिलो पटक चुनाव जितेका नेता भेटे’सि के गर्थे र ?, कुरा फेरि उही फोहरी खेलतिरै फर्क्यो । कुरैकुरामा एकजनाले “हैन्, तपाईँ जस्तो युवा र योग्य मानिस त मन्त्री हुनु पर्ने नि, किन मन्त्री बन्नु भएन?” भनेर सोधे ।

प्रश्न के निस्केको थियो तिनले उकुसमुकुस भएको कुण्ठा छताछुल्ल पार्दै विषवमन गर्न थाले “बेइमानहरूले के दिन्थे मन्त्री बन्न?, काम गर्नेलाई कसले मौका दिन्छ र... पद त सबै आफ्नो मान्छेलाई मात्रै दिने त हो नि !” उनले त्यसपछि के के भने मैले सुनिनँ... खाना लिने बहानमा म त्यो टेबलबाट उठेँ। तर एउटा कुरा चैँ ‘क्लिएर’ भइसकेको थियो..आम जनताको मात्रै हेन्, आ-आफ्ना दलका नेताको पनि आफूभन्दा माथिका नेताप्रति गज्जबको ‘श्रद्धा’ र ‘आदर’ हुँदो रहेछ ।

पात्र नं ३—यो देश यसै बिग्र्या छ र?

एक हप्ता अगाडि एकजना अघिल्ला दुई भन्दा पनि उपल्लो तहका र अघिल्लो कार्यकालमा १-२ वटा ठुलै पद ‘ओगटी सकेका’ व्यक्तित्वसँग एउटै कोठामा ‘मिटिङ’मा परियो । पात्र चर्तित थिए, हक्की पनि हुन् तर यस पटक भने के ‘गणित’ नमिलेर मिल्काइएका थिए। हरेक वाक्यमा असन्तोष र अप्रसन्नताले बिना कारण पनि आफूभन्दा माथिका ‘लाउके’हरूलाई प्रहार गरिरहेका उनलाई एकजना सहभागीले ‘हैन् ...अब तपाईँ यो प्रदेशको राजनीति छाडेर केन्द्रमा आउनु पर्‍यो..” मात्रै के भन्या थे ती विष्फोटै भए :” आउन दिन्छन् र ?... काम गर्नेलाई कसले अगाडि बढ्न दिन्छ? उनकै भरौटेहरूले मात्रै हो हो अघि बढ्ने मौका पाउने..” तिनको बोलीमा असन्तोष त थियो नै तर करा सुन्दा यथार्थता पनि त्यत्तिकै थियो । देश यसै बिग्र्या  छ र?…” भन्दै तिनले के के भने र कसलाई कसलाई भने भनेर लेखाजोखा गरे यहाँ इमान्दार चैँ तिनै एकजना मात्रै रहेछन् जस्तो देखिन्थ्यो ।

स्मरण सहोस्, माथिका तीनै पात्र देशका भिन्दाभिन्दै दललाई प्रतिनिधित्व गर्ने पात्र थिए र तिनका कुरा सुनेपछि देशको राजनीति धमिलो मात्रै हैन्, लेदो नै भइसकेकोमा कुनै शङ्का रहेन् ...धन्न त्यसपछि ती भन्दा माथिका ‘राजनेताहरू’सँग भेट भएन र मात्रै नत्र तिनेर’ले कस्लाई दोष थोपार्दा हुन् र कोमाथि विषवमन गर्दा हुन् ? ।

    

(*चित्र Ai द्वारा--https://stablediffusionweb.com/#demo)

19 August, 2022

दुई सुत्रकथा

१. ‘कमर्सियल’ बाबा

trans 2

सहरमा एक जना प्रसिद्ध सन्त आएका थिए। “परमात्मा प्राप्ति नै जीवनको लक्ष हुनुपर्छ र पैसा भनेको केही पनि हैन” भन्ने नै उनको एक मात्र जीवन दर्शन थियो।

उनको आगमन अगाडि नै देशका नाम चलेका पत्रिकाहरूमा मुख्य पातामै ठुला-ठूला महँगा विज्ञापन छापियो। आयोजकले सहरकै एक महँगो होटेलमा उनको प्रवचनको आयोजना गरे। उनले प्रवचन दिने स्थलमा पानी जस्तै गरेर पैसा खर्च गरियो र स्टेजलाई फ्लिमी शैलीमा सिँगारियो। “पैसा केही पनि हैन” भन्ने विषयमा उनले दिने प्रवचन सुन्न हजार हजारको टिकट राखियो ।

धान्न नसकिने भिडको बिचमा उनले मानिसले आफ्नो अमूल्य जिन्दगी पैसाको पछि लागेर खेर फाल्नु हुँदैन र परमात्मा प्राप्ति बाहेक जीवनमा अर्को लक्ष बनाउन नहुने बारेमा धुवाँदार र गहकिलो प्रवचन दिए।

15 July, 2022

चरैवेति ! चरैवेति !!

Capture

न्नलाई पाठककोलागि लेख्ने भनिएपनि लेखन वास्तवमा प्रथमत: आफ्नै लागि नै हो । कुनै एउटा विषय वा प्रसङ्गको बारेमा मनमा उथुलपुथुल भएपछि यो लेखेको लेख फलाना फलाना पाठक वा ‘टार्गेटेड ग्रुप’ले पढलान वा नपढलान भन्दा पनि, पहिला त आफैं त्यो मनमा चलेका तरङ्ग र विचारको भारीलाई कतै सेफल्याण्डिङ गर्नको लागि लेखिन्छ । लेखक इमानदार छ भने, आफ्नो मनको भाव, विचार वा मानसपटलमा तयार कुनै बिम्बलाई लेखौटमा नउतारेसम्म उसलाई चित्त बुझ्दैन् र यो तरङ्ग एउटा बोझ बनेर मथिङ्गलमा बसीरहन्छ । भलै त्यो विचार कुनै विधामा प्रकट भएपछि त्यसका आफ्नै पाठक, प्रशंसक वा त्यसको समर्थन व विरोधमा छुट्टाछुट्टै जमात नै जम्मा हुन सक्छन्, तर त्यो भन्दा पहिला लेखक स्वयं नै सो विचारको एकल मालिक हुन्छ।

03 July, 2015

के भएको थियो ९० सालको भूकम्पमा ?

Nepal-temple-1934-BLOGयही वैशाख १२, १३ र २९ का ठूला भूकम्प र त्यस बीचमा गएका सयौं का परकम्प र ‘धक्का’ सँगै नेपालमा घटेका विगतका ठूला भूकम्पको बारेका खोज र कौतूहल पनि बढेको छ । भूकम्प मूलतः प्राकृतिक घटना भएपनि ठूला भूकम्पहरू एउटा “अविस्मरणीय खाटा”का रूपमा देशको इतिहासमा रहन्छन् । अहिलेको विनाशकारी भूकम्पभन्दा अगाडिको कुरा गर्ने हो भने ९० साल अर्थात् सन १९३४ को भूकम्प नै नेपालको लागि सबैभन्दा दु:खद घटना थियो ।

अनि ९० सालको भूकम्पमा के भएको थियो त ? , भूकम्प पछि तत्कालीन शासक-प्रशासक, सेना र प्रहरीको भूमिका के कस्तो रहेको थियो त ? । भूकम्पको क्षति र त्यसपछिको जीर्णदारको कामको कस्तो योजना भनेको थियो त ? । कौतूहल हुनु स्वाभाविक हो ।

यसै प्रसङ्गमा केही समय अगाडि आफ्नै दिदीको घरमा एउटा हस्त लिखित पुरानो लेखोट भेटियो । त्यो कुनै किताबको अंश, कुनै पत्रिकामा छापिएको खबर वा कसैले सङ्ग्रह गरेको सूचना जे पनि हुनसक्छ । लेखोट धेरै पुरानो भएको र कति ठाउँमा अक्षर पनि बुझ्न मुस्किल भएकोले सो कुराको निर्क्योल गर्न सकिएन । तर ठूलो भूकम्पपछि आउने परकम्पहरू ‘सामान्य’ भएको कुरा सो लेखौटबाट पनि थाहा हुन्छ। त्यति बेला नेपाली सेना र प्रहरीले बहादुरी र इमानदारीका साथ गरेको सराहनीय कामको वर्णनले नेपाली सेना र प्रहरी ऐतिहासिक कालदेखि नै नेपाली जनताका दु:ख सुखका साथी रहेको गौरवशाली इतिहासको पनि ज्ञात हुन्छ । अत: सबैको जानकारीमा आओस् भनेर सो लिखतलाई यहाँ जस्ताको त्यस्तै प्रस्तुत गरिएको छ । :

21 August, 2013

यात्रा लुम्बिनीको !

म धेरै पटक पुगेको, तर जत्ति पटक पुगे पनि मलाई फेरि-फेरि जान मनलाग्ने नेपालको कुनै ठाउँ छ भने त्यो लुम्बिनी हो । सुरूमा भगवान बुद्धको जन्मस्थल अर्थात मायादेवी मन्दिर नै त्यस क्षेत्रको मुख्य आकर्षण हुन्थ्यो भने हाल भने करिब ६ किलोमिटर लम्बाइ र २ किलोमिटर चौडाइको विशाल क्षेत्रलाई छुट्याएर त्यहाँ विभिन्न देशले आ-आफ्नै शैलीमा मन्दिर, चैत्य आदि निर्माण गरेपछि लुम्बिनीको सुन्दरतामा नयाँ आयाम थपिएको छ।

कामको व्यस्तताको बीच अगिल्लो हप्ता फेरि मलाई सो पवित्र क्षेत्रको भ्रमण गर्ने मौका मिल्यो । सीमित समय भएकोले सोचे जत्ति मन्दिरहरू हेर्ने मौका मिलेन तर पनि आजको पोस्टमा दर्शन गरेका मध्येका केही मन्दिर र लुम्बिनीको तस्विरहरू बाँड्दै छु । (तस्विर ठूलो आकारमा हेर्न कुनै पनि तस्विरमा क्लिक गर्नुहोला । सो तस्विर आफैँ अर्को पेजमा ठूलो आकारमा खुल्ने छ )

Lumbini (20)

(मायादेवी मन्दिर—जहाँ भगवान बुद्धको जन्म भएको मानिन्छ)