Showing posts with label अनौपचारिक गफ. Show all posts
Showing posts with label अनौपचारिक गफ. Show all posts

22 October, 2010

केही सुभाषितहरु !

दसैँको लामो बिदा र व्यस्तता पछि तुरुन्तै सुरु भएको कामको चापले गर्दा ब्लग लेख्न समेत राम्रो समयको तालमेल मिल्न सकेको छैन । यसै बीच ब्लग अपडेट नभएको केही समय भएकोले यो अन्तरालमा बिट मार्न मैले विभिन्न पुस्तकहरुमा पढेका र मलाई रोचक लागेका केही संस्कृतका सुभाषितहरु राख्दैछु आजको पोस्टमा ।

संस्कृत भाषाको कुनै ज्ञान नभएपनि अंग्रेजी, हिन्दी वा कुनै कुनै नेपालीमै पढेका सुभाषिताहरुको सामान्य अर्थ नेपालीमा सरलतम शब्दमा दिने प्रयास गरेको छु । त्यसै पनि संस्कृतका श्लोकहरुको भिन्न भिन्न वा बहुआयामिक अर्थहरु हुन सक्छन् र प्रयोगात्मक हिसाबमा पनि पृथक-पृथक अवस्थामा यीनका भिन्न भिन्न अर्थहरु लगाउन सकिन्छ । त्यसैले यीनका अन्य वा अझ रोचक अर्थहरु पनि निस्कन सक्छन् ।


काक: कृष्णो पिक: कृष्णो को भेदो पिककाकयो :।
वसंतकाले संप्राप्ते काक: काक: पिक: पिक ।।

काग कालो हुन्छ, त्यस्तै गरि कोइली पनि कालो नै हुन्छ । तब काग र कोइलीको भिन्नता के हो त ? । जव वसंत ऋतु आउँछ (र कोइलीले गाउन थाल्छ) तब काग र कोइलीको भिन्नता प्रष्ट हुन्छ । बाहिरि आवरण र समान रप-रंगले कसैलाइ समान बनाउँदैन्। गुणबत्ता भनेको आबरण भन्दा पृथक कुरा हो ।

सर्पदुर्जनयोर्मध्ये वरं सर्पो न दुर्जन: ।
सर्पो दशती कालेन दुर्जनस्तु पदे पदे ।।

सर्प र दुर्जनको बीचमा चयन गर्नु पर्‍यो भने सर्पलाई नै छान्नु बेस हुन्छ । किनकी सर्पले कहिलेकाहीँ मात्रै डस्छ तर दुर्जनले भने पाइला पाइलामा दुःख दिन्छ ।


अन्नदानं परं दानं विद्यादानमत: परम् ।
अन्नेन क्षणिका तृप्ति: यावज्जीवम च विद्यया ।।

30 September, 2010

तीन कक्षाको किताब र हाम्रो अपरिपक्व प्रौढता !

सात पुगेर आठ लागेकी र भर्खरै तीन कक्षामा पढ्दै गरेकी आफ्नै छोरीलाई पढाउन आजकल बडो मुस्किल पर्न थालेको छ मलाई । भित्तामा मास्टर्स डिग्रीको प्रमाणपत्र झुण्याउने तर तीन कक्षाको बच्चालाई बुझाउन नसक्ने म जस्ता अरूपनि धेरैजना बाबु-आमा होलान् सायद। यदि तपाइँका घरमा  पनि तीन कक्षामा पढ्ने केटाकेटी छन् भने सायद बुझ्नुहुनेछ । हैन, तपाई अविवाहित हुनुहुन्छ वा घरमा तीन कक्षामा पढ्ने केटाकेटी छैनन् भने प्राय: सबैको सोच त्यो भित्तामा झुन्डाइएको प्रमाणपत्र किनेर ल्याइएको त हैन भन्नेमा पनि जान सक्छ Smile। तर नआत्तिनुहोस्, प्रमाणपत्र सत प्रतिशत सक्कली नै हो र विद्यालय वा विश्व विद्यालयमा तिरिने शुल्कलाई प्रमाणपत्र किन्ने दस्तुरको रुपमा नलिने हो भने मेरो प्रमाणपत्र खरिद गरेर हैन, प्राप्त गरेरै ल्याइएको हो ।

भूमिका धेरै नलम्याएर सिधै विषयमा प्रवेश गर्दा कुरा यस्तो छ । केही हप्ता अगाडि मेरी छोरीले मलाई अचानक सोधिन “बाबा, दलित भनेको के हो ?” ।  “...तिमी आफ्नो होमवर्क गर....” मैले उसलाई हेर्दै नहेरी विषयलाई पन्छाउने उदेश्यले जबाफ दिएँ “...यो तिमीलाई चाहिने कुरा हैन”। तर मैले त्यसो भनेर विषय पन्छेन, उसले आफ्नो स्कूलको किताब मेरो अगाडि तेर्स्याई र मलाई सोध्न थाली “ हाम्रो सोसलको बुकमा एउटा लेसनमा छ ....मैले बुझिन ...” । अब भने उसलाई त्यत्तिकै पन्छाउन मिलेन र किताब उठाएर पुरै पाठ पढेँ । “Integrated Social Studies” भन्ने उसको एउटा किताबमा गज्जबले दलित- अदलित आदिका बारेमा बयान गरिएको रहेछ ।

05 September, 2010

पारम्परिक सोच र सम्यक दृष्टि

clip_image001[6]

केही वर्ष अगाडिको कुरा हो, मसँगै एउटै प्रोजेक्टमा काम गर्ने सहकर्मी इन्जिनियर साथी, अफिस टाइम पछि ‘वास्तु’ को क्लास लिन जान्थे। मैले उनलाई समयमै त्यो चक्करमा नपर्न सल्लाह दिएको थिएँ तर घरको नक्शा बनाउन आउने ग्राहकहरुले वास्तु अनुसार डिजाइन गरिँदिन भन्न थालेपछि उनलाई त्यो नसिकी नहुने लागेको रहेछ ।

वास्तुको केही महिने कोर्स सकेपछि केही समयसम्म उनको निजी अफिसमा ‘वास्तु अनुसार नक्शा बनाइने’ भन्ने खालको वोर्ड झुन्डिएको थियो। तर त्यो वोर्ड धेरै दिन झुन्डिन पाएन ।

उसै पनि काठमाण्डौका २ आना २ पैसाका ‘ल्याण्डलर्ड’ का लागि नक्शा बनाउन गाह्रो हुन्थ्यो रे। कसैको तीन कुने जग्गा, कसैको पाँच कुने , कसैको खाल्डोको जग्गा त कसैको ढिस्को माथि, त्यसमा पनि सबैलाई दक्षिण मोहडाको, उत्तरमा भान्छा र दक्षिण पश्चिममा वेडरुम अनि त्यस्तै गरी उत्तरमा वाथरुम भएको घरको नक्शा बनाइदिनु परेपछी उसले आफ्नो ‘वास्तु-वोर्ड’ लाई झिकेर फ्याँक्यो । मान्छे ढाँटन र छक्का-पञ्जा नजाजेको कारण उसले काठमाण्डौंका अपार र अनौठा आकार-प्रकारको जग्गा धनीलाई उनीहरूका जग्गामा वास्तु अनुसारका डिजाइनको घर बनाउन नमिल्ने सिधै बताउँथ्यो । साँचो बोलेका कारण उसलाई धन्यवाद दिनुको बदला, उसका ग्राहकहरु सँगैको अर्को कन्स्लटेन्सीमा धाउन थाले ।

सँगैको कन्सलटेन्सीमा अर्का एकजना ‘चतुर’ इन्जिनियर थिए। जो वास्तु अनुसार नक्शा बनाउने हैन, बरु जग्गाको आकार-प्रकार र ढाँचा अनुसार जस्तो नक्शा बन्थ्यो त्यसैलाई वास्तु अनुसार भएको बताउँथे।

04 November, 2009

को हो त मर्द ?

Jhola यो कुनै काल्पनिक कथा नभै पूर्ण रुपमा वास्तविक घटना हो । कोही- कसैसंग पहिला मिलेको भए, हाल मिलिरहेको भए र भविश्यमा पनि मिल्न गएमा पनि त्यो संयोग नभै सामान्य घटना हुनसक्छ ।

जबाफदेयीता वा अजबाफदेयीतका यति कुरा लेखिसकेपछि अब मेरो कुरा सुरु गर्दै छु ।

कुरा के भने, म हाल दक्षिण तर्फको छिमेकी देशमा उत्तरतर्फका छिमेकीहरु संग बराबर सम्पर्क हुने काममा छु । तर यो कुरा, कामको नभै काम नभएको बेलाको हो

अघिल्लो साता २ दिन बिदा परेको थियो यता, त्यसैले एक दिन अलिक परको स्थानमा घुम्ने निधो भयो । माथी लेखे जस्तै त्यतीबेला उत्तर र दक्षिण दुबैतर्फका एक-एक जोडी पनि हामीसंगै घुम्न जान तम्से ।

कुरा घुम्नेसंग पनि सम्बन्धित नभएकोले र यो नियात्रा पनि नभएकोले, यहाँ म कता घुमेको र कसरी घुमेको बारेमा पनि लेख्ने तरखरमा छैन । अँ त, दिनभर घुमेर निवासमा फर्कने क्रममा हामी सबैजना हप्ता दिनको रासनको बन्दोबस्त गर्न भनेर एउटा डिपार्टमेण्ट स्टोरमा छिर्‍यौं ।

07 October, 2009

नयाँ नेपाल- केही अनुभव, केही अनुभूति

केही समय अगाडि दसैं मनाउन घर गैएको थियो, करिब २ हप्ता जति बसेर फेरि कामको ठाममा फर्केको छु । दुई हप्ताको बिदाका कारण आलस्यले अझै झ्याप्पै छोपेको छ। फेरि दुई हप्ता बिदामा बसेर फर्कदा काम गर्ने ठाउँमा भने २ महिनामा नसकिने जस्तो काम थुप्रिएको छ त्यसैले ब्लगमा लेख्‍ने धेरै कुराहरु हुँदाहुदैं पनि यो पेजमा धेरै दिन देखी केही पनि कोरिएको छैन ।

हुन त यो दुई हप्ताको बीचमा धेरै साथीहरुको ब्लग पनि मेरो जस्तै आराम फर्माएर बसेको थियो, तर अब भने आलस्यलाई तोड्दै ब्लगमा आफ्नो उपस्थिति जनाउन पनि केही लेख्‍नु पर्ने बेला भैसकेको छ । त्यसैले आज यस पटकको दसैं बिदामा भएका केही अनौपचारिक गन्थन गर्नु पर्‍यो ।

गणतन्त्र र नयाँ नेपाल

करिब तीन बर्ष देखि बाहिर रहेकोले पत्र पत्रिका र विशेषगरी हाम्रा दिग्गज नेताहरुबाट प्रयुक्त हुने उपर्युक्त वाक्याशंको शाब्दिक अर्थको साधारण भेउ पाए पनि वास्तविक अर्थ भने बुझेको थिईन । यसपाला त्यसको पनि केही अनुभव भयो ।

‘गणतन्त्र’ माने जनताको तन्त्र वा जनताको राज। अझ कुरा प्रष्ट गर्दा जनता आफैले शासन गर्ने व्यबस्था । यसपाला घरपुग्दा जनताले आफ्नो शासन नभए पनि व्यबस्था आफैं गरेको टडकारो प्रमाण मिल्यो मलाई ।

15 September, 2009

खै, तिनी पनि जाँड खाएरै सपथ लिन गा’थे कि !

(म हाल दक्षिण भारतमा छु र यो लेखमा भएका घटनाहरु दक्षीण भारतकै भएका कुरा हुन, कसैमा भ्रम  सृजना नहोस )

हिजो केही कामको सिलसिलामा म आफू बस्ने शहरको एउटा सरकारी कार्यालयमा पुगेको थिएँ। त्यहाँ निकै ताम-झाम र उल्लासको वातावरण देखीयो । प्राय: पुगी रहने र शुन्य रहने ठाउँ र त्यो पनि सरकारी कार्यालयमा यो मनोरञ्जनको माहौल देख्दा अचम्म लाग्यो । अनि सधैं भेटीने मानिसहरुले पनि मसंग हिन्दीमा अभिवादन र कुरा गर्ने प्रयास गर्दै थिए, जुन यो ठाउँकोलागी अनौठो नै थियो। तर पछि सोधेपछि थाहा भयो हिजोको दिन यहाँ “हिन्दी दिवस” रहेछ ।

वास्तवमा १४ सेप्टेम्बर १९४९ मा भारतको संविधान सभाले हिन्दी भारतको राजभाषा हुने निर्णय गरेको रहेछ र सोहि दिनको सम्झनामा १९५३ देखी सम्पूर्ण भारतमा १४ सेप्टेम्बरको दिनलाई हिन्दी-दिवसको रुपमा मनाउन थालिएको रहेछ ।

चिनजानको ठाउँ भएकोले म पनि केही छिन त्यहा घुलमिल भएँ । सो कार्यालयले यो पुरै हप्तालाई “हिन्दी सप्ताह” को रुपमा मनाउने निर्णय गरेको रहेछ र कार्यालयको भित्ता-भित्तामा ‘हिन्दी बोलौं’, ‘हिन्दी हाम्रो भाषा हो’ भन्ने जस्ता नाराहरु लेखीएका थिए ।

तर, उही हामीकहाँ शहिद दिवसको दिनमा शहिद र बाल दिवस, अपांग दिवस वा त्यस्तै कुनै खेमा वा वर्गको दिवसमा तिनका नाम याद गरे जस्तै भोलि देखी यहाँ पनि कसैले फेरि एक बर्षसम्म हिन्दी बोल्ने छैनन ।

12 August, 2009

लौ चिन्नुस, अमेरिकामा बस्ने नेपाली चोर !

केही दिन अगाडि ईन्टरनेट चहार्दै हिँड्दा अचानक एउटा साईटमा मेरा आधा दर्जन जती रचनाहरु बिना सूचना र मेरो नाम र पूर्व प्रकाशित मेरो ब्लको व्याकलिन्क समेत नदिई छापिएको भेटें । ति मध्य केही कथाहरु धेरै अगाडी गोरखापत्रमा प्रकाशित र एउटा भने राष्ट्रव्यापी लघुकथा सम्मेलनमा पुरस्कृत समेत थियो । आफ्नो रचना सिधै चोरेर व्यवसायीक प्रयोजनकासाथ अर्काको साईटमा राखेको देखेपछि रिस उठ्नु स्वाभाविक नै हो, तैपनि भुलवस भएको पनि हुनसक्ने अनुमान गरेर सभ्य ढंगले सो साईटको कमेण्ट बक्स, च्याट बक्स र त्यसका एडमिनलाई पनि सो रचनाहरु आफ्नो भएको जानकारी गराएँ ।

तर, न त मेरा कमेण्ट प्रकाशित भए न त मेरो ईमेलको नै जबाफ आए । सुरु देखी नै अरुहरुको लेख-रचना र सामाग्रीहरु चोर्दै पस्कदैँ गरेका त्यस साईटका कसैले पनि सामान्य ‘रेस्पोन्स’ समेत गरेनन्।

त्यसपछि अरु केही उपाए नलागेर सो साईट होस्टीङ गर्ने कम्पनी र यस्ता गलत कार्य भएमा भन्न मिल्ने ठाउँमा पनि सो बारेमा जानकारी पठाएँ । तुरुन्तै एकठाउँबाट रेस्पोन्स त आयो तर दुबै साईटमा भएका सामाग्रीहरु “Unknown language” मा भएकाले यस कार्यमा विलम्ब हुन सक्ने जानकारी पनि प्राप्त भयो । तर एउटा सकारात्मक कुरा के भयो भने त्यस साईटका हर्ताकर्ता रहेर यो सबै कामलाई ‘अन्जाम’ दिने व्यक्ति ह्युस्टन, टेक्ससमा रहने साकार भुसाल रहेको जानाकरी र निजको फोन नम्बर, ईमेल ठेगाना र घर-कार्यालयको ठेगाना समेत मलाई उपलब्ध गराईयो ।

02 August, 2009

बल्गर भेला, नेपाली ब्लग जगतमा नयाँ आयाम

हिजो शनिवार दौँतरीमा ब्लगर भेला थियो । दौँतरीका एडमीन नेपालियनजीले फेसबुकमा त्यसै कुरा हुँदा भेलामा स्वागत भाषण दिन भन्नु भयो । म, अर्काको भाषणमा व्यङ्ग्य गर्न मात्रै जान्ने तर आफैं बोल्न परेमा अनुभवहिन बिषय भएकोले खासै बेमेल व्यक्ति भएको कुरा त उहाँलाई अबगत गराएको हो, तर सात समुद्रपारी बस्नुहुने वहासंग व्यक्तिगत चिनजान नभएपनि आत्मियता भने भरपुर भएकोले पछि वहाले आग्रह गर्दा “नाँई” भन्न पनि सकिन ।

दौँतरीमै केही समय अगाडि नेपालीहरुले लण्डनमा गरेको यस्तै एउटा भेलामा भएको जात्राको बारेमा भिडियो पनि हेरेको थिएँ, तर यो भेला भने अनलाईन भएकोले ‘जे पर्ला !’ भनेर सुर्रीएँ । अब अफ लाईन भेला भएपो कोट–टाई च्यात्तीने वा ढुंगा मुढा हुने डर हुन्छ, ‘अनलाईनमा त हद्द भए २-४ जनाले गाली गर्लान त्यत्ती हो’ भनेर तोकिएको समयमा कामबाट बहाना बनाएर घरको कम्प्युटरमा सोझीएँ ।

४० जना जत्ती ब्लगरहरु र केही ‘पर्यव्यक्षक’ को उपस्थितिमा भेला अघिको गाँईगुई हुँदै थियो म सो मित्थ्यालोकको भेलास्थलमा प्रवेश गर्दा । जे भए पनि तोकिएको समयमा भेला सुरु भयो र तोकिएकै फर्म्याट अनुसार निश्चित समयमै समापन पनि । संसारभरी छरिएर रहेका नेपाली ब्लगरहरुलाई ‘एकै छाना’ मुनि बसाल्ने प्रयास एकातर्फ एकदमै सह्रानिय थीयो भने अर्कोतर्फ समयको भिन्नता र सबैको आ-आफ्नै व्यस्तताका कारण बढि भन्दा बढि ब्लगरहरुको उपस्थीति हुन नसकेकोमा सबैमा खल्लोपनको अनुभव पनि रह्यो ।

26 June, 2009

जो जसलाई दरोकार पर्छ

बोधार्थ तथा कार्यार्थ:

मेरो धेरै अघि मधुपर्कमा पनि छापीइसकेको एउटा कथा आफ्नो नाममा छाप्ने सारक महोदय----१

प्रथम नेपाल खुल्ला लघुकथा प्रतियोगीतामा पुरस्कृत मेरो कथा आफ्नो नाममा छाप्ने अर्का सारक महोदय--------------------------------------------------------------------१

मेरो गोर्खापत्रमै पूर्व प्रकाशीत अर्को तीन सुत्र कथा विना सूचना (कथा पुरै सार्न सक्ने लेखकको नाम भने सार्न नसक्ने) एकदमै नीच मारेर “मैले लेखेको हैन” भनेर आफ्नो ब्लगमा हाल्ने सारक महोदय--१

मेरो गजलमा तखल्लुस परिवर्तन गरी आफ्नो नाम राखी आफ्नो ब्लगमा हाल्ने सारक महोदय-१

मेरो कान्तिपुरमा प्रकाशित कविता, गोर्खापत्रमा प्रकाशीत व्यङ्ग्य लगाएत अन्य केहि टाँसोहरु होलसेलमै विना सूचना आफ्नो ब्लगमा छाप्ने सारक महोदय --------------------------१

र अन्य ज्ञात, अज्ञात सारक महोदयहरु

महोदयहरु,

पत्रिकाहरुमा, प्राय:लेख्‍ने र पढ्ने कार्य सक्कीए पश्चात, करिव करिव त्यो लेख वा खवरको औपचारिकता पनि सक्किने कुरा त यहाँहरुमा बिधितै होला। पत्र–पत्रीकामा, साधारण अबस्थामा त्यो लेखौटको बारेमा टिका-टिप्पणी, मत‍-मतान्तर र समर्थन अनि बिरोधका उपक्रमहरुको सुलभ पाटाहरु नहुनाले, न लेखकको खास सोचसंग पाठक परीचित हुन सक्छन, न त आफ्नो लेख-रचनाका बारेमा पाठकको तटस्थ धारणा बुझ्न नै लेखकले अवसर पाउँछन ।

03 May, 2009

समाचार छाप्ने होड, हतारको खबर र पत्रिकाको विश्वसनीयता

Advertisements contain the only truths to be relied on in a newspaper. Mark Twain

मलाई थाहा छ Mark Twain र नेपाली मिडीयाको बीच गोरु बेचेको पनि साईनो थिएन र छैन पनि, तर जब जब मलाई उनको माथिको भनाई याद आउँछ, मलाई लाग्छ यो व्यङ्य हाम्रै मिडियालाई लक्षीत गरेर गरीएको हो ।

मानिस स्वभावैले बिचारवान प्राणी हो र बिचार भए पछि कुनै बाद वा कुनै समुहसंग नजिकिनु वा कुनै सोचको समर्थन वा बिरोध गर्नुलाई पनि केहि हदसम्म सामान्य रुपमा लिन सकिन्छ । तर यत केहि समय देखी हाम्रा अनलाईन र अफलाईनका समाचार माध्यमहरु यथार्थ भन्दा अडकालबाजी, समाचार भन्दा भ्रम र विश्वास भन्दा भय बाँडि रहेकाछन ।

केहि समय पहिला देशका प्रमुख मानिएका छापाहरुमा विश्व्स्त सुत्रको हवाला दिदैं छापिएका ‘कु’ का कूप्रचार, देखी ‘कुनै पनि बेला केहि पनि हुनसक्ने’ त्राश र भयको मनगढन्ते सूचना प्रबाहले यहि देखाउँछ, हामिकहाँ पत्रीकामा छापीने कुरामा केवल विज्ञापन मात्रै भरोसायोग्य छन ।

लेखीएको कुरामा जबाफदेहि हुनु नपर्ने छुट र छापीएका समाचार गलत भएमा पनि जिम्मेबारी बहन गर्नु नपर्ने सुबिधाका कारण बढि भन्दा बढि पत्रीकाहरु अहिले चमत्कारी ‘त्रिशुल बाबा’का अनुयायी भएका छन र आफ्ना अडकलबाजीलाई समाचारको नाममा व्यापार गर्न व्यस्त र सफल भएका छन् । अनी पत्रीकामा दिनहुँ जस्तो धूँवादार, विष्फोटक र सनसनिखेज समाचार छापीने क्रम पनि जारी छ: “सरकार आजै ढल्ने”, “गठबन्दन टुक्रीने”, “पदमुक्त गरीए ‘कु’ हुने” आदि आदि ।

26 March, 2009

ब्लग बास्तु- एक अनुभव

ब्लग चलाउन थालेको करिव दुई बर्ष जत्ती भयो । हुन त अलिअलि लेख्‍ने बानी भने ब्लग चलाउनु पूर्व नै थियो, तैपनि, पुराना सबै (प्रकाशीत र अप्रकाशीत) रचनाहरुलाई एकै ठाँउमा राख्‍ने र आफ्नो मनमा लागेको कुरालाई तुरुन्तै सबैसंग बाँडने सकिने सजिलो माध्यम उपलब्ध भएकोले दायाँ-बायाँ केहि नसोचि ब्लगमा हाम्फालीयो ।

ब्लग चलाउन थालेपछि मलाई लाग्छ प्राय: सबैलाई दुईवटा कुराले बेला-बेलामा घच्घच्याई रहन्छ। पहिलो, कम्तिमा पनि हप्तामा यौटा टाँसो राख्‍नु पर्ने ‘कर्तव्यबोध’ र दोस्रो भनेको ब्लगको ‘लिपपोत’ ।

शायद ब्लगरहरु कसैलाई पनि आफ्नो सेटिङ र टेम्पलेटसंग पुरै चित्त कहिल्यै बुझ्दैन क्यार। त्यसैले सबैजसो फूर्सद हुनासाथ केहि न केहि रंग-रोगन, ‘पार्टिसन’ र साज‍ज्जामा लाग्छन । हाम्रै सर्कलमा भएका ब्लगरहरुकै कुरा गर्ने हो भने पनि बितको एक बर्षको अबधिमा कायाकल्प पुरै परिवर्तन भएका ब्लगहरुमा कैलासको कुटी, आकारपोष्ट, उजेलीको गफगाफ छन भने भर्खरै क्याफे मंगलमस्वागत छ तपाईलाई मेरो संसारको पनि कायापलट भएको छ ।