मन्त्री मन्त्रालयमा हैन,
उद्घाटनमा हुन्छ ।
नेता नेतृत्वमा नगरी,
जलपानमा हुन्छ ।
मसाज पार्लरमा भेटिन्छन सभासद,
सभामा गणपुरक संख्या घटेको हुन्छ ।
जाँचीदैँ गर्दा वटुवाको झोला,
पुलीस अपराधी बचाउन खटेको हुन्छ ।
Keep moving !, keep moving on !!
बेइमान उवाच
उस्तै उस्तै भनेर के गर्नु यहाँ,
पित्तलको सट्टा सुन दिन कहाँ पो सकिन्छ र ?
मायाँ बस्यो भनेर के गर्नु साथी,
प्रेम पो गरेको, बिहेको ठेक्का लिन कहाँ सकिन्छ र !
तथ्य र कारण
आफू कालो भएर हो कि किन हो
केटी पनि मलाइ काली नै मन पर्छ
आफैंले सजाउन चाहेकोले होला सायद
सिउँदो पनि मलाइ उनको खाली नै मन पर्छ ।
व्यापारी प्रेमी
तिमी आमाकी एक्ली छोरी,
मेरो पनि करोडपति बाऊ छ ।
तिमी दश लाखको दाईजो ल्याउ,
आजकल त मेरो यही भाऊ छ ।
कातर प्रेमी
भीडमा तिमी नचिनेझैं गर्छ्यौ,
एकान्तमा लजाइ दिन्छ्यौ ।
विपनामा म बोल्न सक्दिन,
सपनामा तिमी हराई दिन्छ्यौ ।
झक्की प्रेमी
तिम्रो मेरो माया बसे,
मुटु तिम्रो तोड्ने छैन ।
व्याइफ्रेण्ड भएर के भयो तिम्रो,
लोग्ने नै भए पनि छोड्ने छैन ।
नयाँ वर्ष सुरु हुने केही दिन अगाडि देखि नै सायद हामी सबैको इमेल इनबक्स र मोबाईको मेसेजबक्समा थरि-थरिका सन्देशहरुको बाढी आउन थाल्छन । ती मध्य केही साधारण। केही गहकिला त केही भने रमाइला पनि हुन्छन । आजको पोस्टमा म, यसपाला मलाई प्राप्त भएका केही रमाईला सन्देशहरु बाँड्दै छु ।
प्राय: डिसेम्बर ३० देखि सुरु हुने यो बाढी धान्न म २८-२९ मा नै मोबाईलको मेसेज बक्स खाली पार्ने गर्छु (ता कि नयाँ आउने मेसेजलाई प्रशस्त ठाउँ होस) । तर यसपाला भने बाढी पैह्रो रोकथामको मेरो कार्य सुरुवात हुनु अगाडि नै एकजना भारतीय साथीको मेसेज आईसकेको थियो ।
उनको मेसेज मलाई डिसेम्बर २७ मा आएको थियो, त्यो जस्ताको त्यस्तै तल दिएको छु :
*Happy new year*
@#$%^&*!....??
सोच रहे हो... क्यूँ ...ईतना जल्दी?
............
................
अब Don को सीखाओगे कि कब wish करना है,Don जब चाहता है तब wish करता है
Happy New Year !
एउटा पोष्ट तयार गर्ने मात्र उस्को सोच हुन्छ ।
हरेक दृश्य, हर घटनामा ‘मसला’कै खोज हुन्छ ।
न खानाको स्वाद, न काममा मन छ आजकल,
बल्गमा नै तृप्ती अनि पोष्ट नै उस्को भोज हुन्छ ।
विरामी छ शरिर, औषधिको होस छैन,
टाँसोका हरेक कमेण्ट उपचारको डोज हुन्छ ।
न दान, न सेवा न पिउनुमै खुशी रह्यो,
ब्लग-ब्लग चहारेर खुट्टा तान्नै मोज हुन्छ ।
एउटा टाँसो नबनुन्जेल कान्तिक्षय भए पनि
एउटै पोस्ट तयार हुँदा अनुहारमा ओज हुन्छ ।
धेरै पहिले भारतीय टेलिभिजनमा एउटा हास्य कार्यक्रम हेरेथें । एकजना कविले सुरुमा निक्कै रंगीन कविता पाठ गरेपछि अन्तमा एउटा मन छुने कविता पाठ गरे।
बाँदर नचाएर गुजारा गर्ने एकजना 'मदारी' पात्रको जीवन र चरित्रलाई कविले आफ्नो कवितामा व्यक्त गरेका थिए । कविताको पुरै अंश मलाई याद रहेन, (नेटमा सामान्य खोजी गर्दा पनि भेटिएन), तर उनको सुरुका दुई लाईन कहिल्यै नभुल्ने गरी मेरो मनमा बस्यो ।
मेरा एक बन्दर जैसा बेटा
और एक बेटा जैसा बन्दर है !
मदारीको एम. ए. पास बेरोजगार छोरा दिनभर बाँदर जस्तो यता-उता गरेर समय बिताउने, तर उसैको बाँदरले दिनभर शहर- बजारमा खेल देखाएर र नाचेर पैसा कमाएर पुरै परिवारको पेट पाल्ने कुरा उनले जादूमय शब्दद्वारा कवितामा उतारेका थिए । स्टेजका दर्शक सब उनको कवितामा स्तब्ध भए भने उनको शब्दले सबैलाई भावुक बनायो ।
कवितामा मदारी पात्रको घरमा, छोरा बेकम्मा बाँदर जस्तो र बाँदर भने जिम्मेवार छोराको रुपमा देखीन्थ्यो ।
केही दिन देखी म पनि यो यो बाँदरको खोजमा लागेको थिएँ -- देश चलाउने बाँदर-- किनकी दलहरुले भनेजस्तै व्यबस्था र संबिधान सभाको चुनाव पछि पनि देश स्थायीत्व, शान्ति र समुन्नतीको दिशामा नगाएर झन् झन् नयाँ नयाँ विवाद, समस्या र आपसी खिचातानीमा बल्झीदैँ गएपछि नेताहरु बाँदर भएकोमा शंका गर्नु पर्ने त कुनै स्थान रहेन । सायद यस्तै बाँदरहरुबाट देशको संबिधान नबन्ने देखेर होला नेपाली जनताले केही समय अगाडि समयमै संविधान बनोस भने र देवी देवतालाई पनि पुकार्नु पर्यो ।
अंग्रेजीमा एउटा भनाई छ “Too many chefs spoil the broth” । यसरी धेरैजना जान्ने मिलेर पाकाईएको सुप त कस्तो हुन्छ थाहा भएन, तर यस्तै माहिर-माहिर जान्नेहरु मीलेर हाम्रो देशको संविधान बनाउन लागीएको छ भन्ने खबरसम्म भने पाएको हुँ । यहाँनेर खबर-सम्म-पाएको कुरामा जोड दिनु पर्ने कारण भने संविधान सभाको चुनाव पछि यो सभा संविधान बनाउन भन्दा सरकार बनाउने र बिगार्ने कार्यमा बढि प्रयोग भएकोले नै हो ।
दुई वर्षभित्र बनाइने भनिएको नयाँ संविधानको कार्यतालिका एक वर्षमै पाँचौं पटक पर सरेको समाचार पढिरहँदा मलाई बारम्बार माथीको अंग्रेजी भनाई याद आईरहेको छ । बेहोस आशाबादको कुरा नगर्ने हो भने, अब यो ‘दुई बर्ष’ को बाँकी रहेको केहि महिनामा संविधान बन्ने कुरा गाह्रो मात्रै हैन असम्भव नै छ ।
जव, संविधान निर्माणकोलागि बनाईएका ११ समितिहरुमा आधाले पनि आफ्नो बिषयमा छलफल समेत सकेका छैनन भने अब आउने केहि महिनामा ‘संविधान बन्छ’ भन्नु माओवादीका चमत्कारका कुरा जस्तै मात्रै हुन । मतलब, एकै वाक्यमा कुरा सक्दा यो दुईबर्षे म्याद भित्र कुनै चमत्कार घटेनन् भने ‘नयाँ नेपाल’को संविधान नबन्ने र हामीहरु यो अलौकिक नयाँ नेपालमा प्रवेश गरी सकेर पनि उही पुरानो नेपालको संविधानमै भर पर्नु पर्ने निश्चित छ।
आईतवार:
बिहानको कार्यक्रम: शाकाहार र स्वस्थ जीवन बिषयक तीन दिने शिविरको उद्घाटन ।
अपरान्ह: मद्यपान विरुध्द सचेतना र्यालीमा सरिक हुने ।
साँझको कार्यक्रम: पाँच तारे होटेलमा ककटेल डिनर ।
सोमवार
बिहान: ‘भौगोलिक जटिलता र सीमा सुरक्षा’ बिषयक अन्तरक्रिया कार्यक्रममा प्रवचन ।
अपरान्ह: नेपाली भू-भागमा विदेशी हस्तक्षपको विरोधमा सडक नाटकको उद्घाटन ।
रातको कार्यक्रम: छिमेकी राजदूताबासमा जलपानमा सरिक ।
मंगलवार
बिहान: भ्रष्टाचार विरुद्ध युवा कार्यक्रममा आतित्थ ग्रहण ।
मध्यान्न: निष्पक्ष न्याय संपादन र घुस-विहीन समाज नामक अन्तरक्रियामा सहभागी हुने।
राती: बिदेशी ठेकेदार र व्यापारीसंग निजी भेट ।
बुधवार
बिहान: नागरिक अधिकार र सभ्य समाजको सृजना नामक बिचार गोष्ठिमा मन्तव्य ।
अपरान्ह: न्यायीक सर्बोच्चता र शान्ति बिषयमा नागरिक समजसंग छलफल।
साझ: दोश्रो दिन आयोजना गरीएको बन्द सफल पार्न रातमा मशाल जुलुश निकाल्न कार्यकर्तालाई निर्देशन ।
बिहीवार
बिहान: बुद्ध जयन्तीको उपलक्षमा भगवान बुद्धको मूर्तिमा माल्यार्पण ।
मध्यान्न: ७ दिने विश्वशान्ति महायज्ञको समापन समारोहमा सरीक ।
साँझ: द्वन्दात्मक भौतिकवाद र ईश्वरको अन्धविश्वास नामक बिचारगोष्ठीमा मन्तव्य ।
शुक्रवार
बिहान: ‘सुलभ चिकित्सा जनताको अधिकार’ बिषयक छलफल कार्यक्रममा सरकारी कार्यपत्र प्रस्तुत
मध्यान्न: महंगो उपचार खर्च घटाउने माग सहितका जन-प्रतिनिधिहरु संग बिचार विमर्श
अपरान्ह: निजी क्षेत्रबाट सञ्चालन हुने नव निर्मित नर्सीङ होमको रिबन काटेर उद्घाटन ।
शनिवार
बिहान: मितव्ययीता र खर्च कटौती सम्बन्धित गोष्ठीको पानस बालेर शुभारम्भ ।
अपराह्न: सादा जीवन उच्च बिचार बिषयक प्रवचन कार्यक्रममा मन्तव्य ।
राती: ७ दिने विदेश भ्रमणको सिलसिलामा सपरिवार विमानस्थल प्रस्थान ।
स्कुल पढ्ने बेलामा एकदिन अंग्रेजीको शिक्षकले एउटा अंग्रेजी भनाईको माने सम्झाउँदै भन्नु भएको थियो “ … महान मान्छेबाट पनि गल्ती हुन्छन्” । मैले भने त्यतिबेला त्यो भनाईको अर्थ अर्कै निकालेको थिए : “गल्ती गर्ने मात्रै महान बन्छन” । शिक्षकले शब्दार्थ देखाएर तर्क प्रस्तुत गरे, मैले सत्यार्थ दर्शाएर बुझ्न ईन्कार गरें । उनले आफ्नो शिक्षकवादको हैकम देखाएर मलाई हप्काए, मैले आफ्नो विद्यार्थी जोश देखाएर उनलाई रन्काएँ । कक्षामा निकै वेर चर्काचर्की भयो। त्यतिबेला मलाई आफ्नै तर्क शतप्रतिशत ठीक लागेको थियो, तर स्थितिको गाम्भीर्यलाई ध्यानमा राखेर म नै चुप बसें (कारण त्यतिबेलाका शिक्षकका हातमा एउटा लठ्ठी पनि हुने गर्थ्यो :)
बीचमा केहि समय शिक्षकको तर्क ठीक लाग्यो, तर वरिपरिको वातावरण र अहिलेको स्थिति हेर्दा लाग्छ स्कुल समयको मेरै तर्क सहि रहेछ । तपाई आफैं हेर्नुस न, यहाँ गल्ती नै नगर्ने ठूलो मान्छे को नै छ?।
कुर्सी पाएपछि भोट हाल्ने जनता भुल्ने नेता, प्रसिद्धि पाएपछि सुटीङमा ढिला आउने अभिनेता, आँखा अगाडि घटेको घटना नदेख्ने तर हावा खबर लेख्ने पत्रकार, आफ्नै घर्रामा भएको फाईल नभेट्ने र कामवालालाई पुरै कार्यालय घुमाउने कर्मचारी , सबै नै आ-आफ्ना क्षेत्रमा अगाडि बढ्दैछन। यी सबलाई तपाईले बदमासी गर्दा गर्दै समात्नु भयो भने सबैले एउटै जबाफ दिनेछन : “के गर्ने गल्ती त मान्छेबाट भैहाल्छ नि …” । तर मेरो बिचारमा यो वास्तबमा भुल हैन, माथी माथी चढ्ने पुल हो । किनकि अहिलेको जमनामा भुल नगरिकन ठूलो मान्छे बन्नु असम्भव नै छ। पत्याउनु हुन्न ?, हेर्नस त :
सानै हुँदा सुनिन्थ्यो नेपालको राजनीतिको पहिलो तरंग नया सडकको पीपलबोटबाट शुरु हुन्छ । त्यसताका राजधानीबाट नीसक्ने सबै पत्रीकाको ‘मण्डी’ त्यहि भएकोले त्यो कुरा धेरै हदसम्म साँचो पनि थियो ।
अहिले समय बदलीएको छ, कागजका छापामा एकदमै नयाँ वा तात्तातो खबर अबका दिनमा भेटिन्न भन्दा पनि हुन्छ । हरेक नयाँ घटना कुनै न कुनै रुपमा ‘अफलाईन-कागजे पत्रीका’ मा छापीनु पुर्व नै भिन्न भिन्न अनलाईन माध्यमद्वारा सार्बजनिक भैसकेका हुन्छन आजकल । कुरा अझ प्रष्ट गर्दा अनलाईन पत्रीकामा छापीनु पूर्व पनि धेरै जसो ‘ब्रकिङ न्यून’ फेसबुकमा टाँसीईसकेका हुन्छन ।
फेसबुक अब ईण्टरनेटको पाना भन्दा पनि अलिकता ‘एक्टिभ’ हुनेकोलागी ईमेल ठेगाना जस्तै आधारभूत आवश्यक्ता भैसक्यो भन्दा अत्युक्ति नहोला सायद । अनी त्यहि हिसाबमा हेर्दा यो सामाजिक सञ्जालको माध्यम सशक्त सुचनाको माध्यम पनि भैसकेको छ। तर कहिलेकाहि यो सञ्जाले तपाईसंग ठट्टा पनि गर्छ । कहिले नाम नै नसुनेको मान्छे तपाईको मित्र वा परिवार सदश्य बन्छ भने कहिले भिन्न भिन्न बिचार राख्नेरुको बिचमा राजनैतीक वा अन्य कुनै बहसमा दोहोरी खेल्ने मञ्च पनि।
दिदी पनि बहिनी पनि,
दुबै च्वाँक च्वाँक देख्छु ।
कार्वन राखी एउटै चिठ्ठि
दुबै मोरीलाई लेख्छु ।
डिस्को प्रेम
डिस्को हलमा माया बस्यो
हेर्न लागें यता उता ।
नाच्दा नाच्दै वियरले छाड्यो
तिमी कता, म कता कता !
आज पनि ऊ १० बज्नु अगाडि नै कार्यालयमा उपस्थित भैसकेको थियो। आफ्नो सानो कामकोलागी उसले यो कार्यालय धाउन थालेको करीब हप्तादिन नाघिसकेको छ। तर उसको सम्बन्धित फाइल भने अझै ‘खर्साब’ को टेबुलबाट पास हुन सकेको छैन ।
वास्तबमा उसको काम एकदमै साधारण र नियम कानुनको दायरा भित्रै पर्ने कुरा हो, तर पनि किन हो उसको काम हुन सकेको छैन । आज त जुनसुकै हालतमा आफ्नो काम पूरा गराएर मात्रै छाड्ने निश्चय लिएर ऊ फेरी खर्साबको कोठामा पस्यो:“मेरो काम भयो होला ?”, “अँ …… ” खर्साब कुनै साप्ताहिक पत्रिकाको राजनैतिक परिचर्चा पढ्नमा व्यस्त थिए । “…… अँ, तपाईको काम भैहाल्छ नि …… ” हप्तौसम्म आफ्नो कोठामा धाईरहेका ती आगन्तुकको आवाजसंगै उनी परिचित भैसकेका थिए त्यसैले खर्साबले आगन्तुकतर्फ हेर्नु जरुरी सम्झेनन र पत्रिकाको त्यो महत्वपूर्ण खबरबाट आफ्नो टाउको नउठाईकनै जबाफ दिए ।
“तपाईको काम भैहाल्छ नि” – हो, उसले सधैं यस्तै खाले जबाफ पाउने गरेको छ। तर काम भने कहिल्यै भएको छैन । दिन दिनैको एउटै जबाफबाट वाक्क भएको उसको मुखबाट निस्कीयो “हैन, सधैं त्यसै भन्नुहुन्छ, सात–सात दिन भैसक्यो आखिर मेरो काम किन हुँदैन त?” यस पटक उसको आबाजमा अलिकता आक्रोश पनि थियो । “…… यसो चुरोट-सुरोट ख्वाउने व्यबस्था गर्नुस न, काम गर्ने त म छदैंछु नि …… ” आज भने खर्साब अलि खुलेर बेग्लै जबाफ दिए ।
अंग्रेजीमा ब्लगोमेनिया र नेपालिमा यदाकदा ‘अन्तर्भावोन्माद’ भनिने यो यौटा नया नशा हो । विकिपेडीया, गुगल वा तपाईको शब्दकोषले जे सुकै भने पनि ब्लग लेखन शुरु गरेर निरन्तरता दिंदै जाँदा ढिलो चाडो सबैजना संक्रमित हुन सक्ने यो यौटा रोग नै हो ।
अरु रोगका जस्तै यो रोगका पनि लक्षण, कारण र निदान सबै छन। यो पोष्टमा यिनै लक्षणहरु र निदानका बारेमा चर्चा गरिने छ।
कारण: दिमागमा अलिकता साहित्यिक कीरा हुनु, स्वतन्त्रतामा रमाउनु र आफुलाई मनमा लगेको कुरा शब्दमा उतार्ने जस्ता बानीहरु यसका कारण हुन सक्छन । यस्ता व्यक्तिहरुसंग ईण्टरनेटको सुबीधा उपलब्ध भएमा कुनै पनि बेला यसले संक्रमण गर्न सक्छ ।
लक्षण: यो रोगका शुरुवाती लक्षणहरु नदेखिन पनि सक्छन । तैपनि शुरुवाती, हल्का र अन्तिम चरणका गरी यसका तीन थरिका लक्षणहरु छन ।
शुरुवाती लक्षण: शुरु शुरुमा अनलाईन फोरम चाहर्ने, अरु साथीभाईको ब्लग हेर्ने, त्यसमा कमेण्ट लेख्ने गर्दा गर्दै यो रोगका भाईरसहरु स्वस्थ व्यक्तिमा सरिसकेको हुन्छन । तर बिस्तारै दोस्रो स्टेजमा नपुगेसम्म यसको पक्का पहिचान गर्न निक्कै मुश्किल हुन्छ ।
पहिलो स्टेजको आखीरि तिर पुग्दा संक्रमित व्यक्ति केवल ब्लगपेजमा प्रयोग हुने स्क्रिप्ट, कोड र ले-आउट आदिका हाउगुजिका कारण केहि भ्रमित हुन्छ र ब्लग शुरु गरीहालेमा निरन्तरता दिन नसकिने हो की भन्ने भयले अलिकता हच्केको हुन्छ ।
यहि भ्रम र हाउगुजीको डरका कारण कोहि पछाडी फर्केमा मात्रै त्यो व्यक्ति बच्न सक्छ, हैन भने तुरुन्तै संक्रमित व्यक्ति यसको दोस्रो स्टेजमा प्रवेश गर्छ ।
विज्ञान र प्रविधिले निक्कै उन्नति गरिसकेको छ र त्यसको प्रभाव र प्रतक्ष असर हामी नेपालीहरुको दैनिक जिवनमा पनि देखा परिसकेको छ । आज त्यस्तै उन्नति र प्रगतिले ल्याएका र ल्याउने केहि सम्भावित ठट्टा गरौं।
एक: ईमेल र ईण्टरनेटको व्यापक प्रयोग अनि च्याटिङको कमाल कुनै दिन नेपाली जन जिवनमा यसरी देखीने छ:
(बाबु- छोरा कुनै मेसेन्जर प्रयोग गरेर च्याट गर्दैछन् । )
बाबु: हेलो छोरा! के गर्दै छौ?
छोरा: पढ्दै छु ड्याड!
बाबु: पढ्दै की कम्प्युटर चलाउँदैं ?
छोरा: कम्प्युटर चलाएर पढ्दै छु ।
बाबु: अनी अरु सब ठीक छ?
छोरा: सब ठिक छ ड्याड ।
बाबु: कुनै जरुरी र छाडनै नमिल्ने काम त छैन नि अहिले?
छोरा: छैन ड्याड।
बाबु: त्यसो भए तुरुन्तै तल आउ त ! तिम्री आमाले खाना पस्केर तिमिलाई कुर्दै छिन ।
कहि नभएको जात्रा हाडिगाउँमा भनेजस्तै सुन्दा खेरि नै उदेक लाग्ने यौटा खबर सुनीयो:- नेपालमा फेरि आर्को यौटा महान क्रान्ति हुदैंछ रे !
हैन! तीन तीन चोटी प्रजातन्त्र र अब त गणतन्त्र नै आईसकेको देशमा अब फेरी के को क्रान्ति भन्नु होला, त्यो एकदमै महत्वपूर्ण र नगरी नहुने महान बैचारीक क्रान्ति हो।
कुरा के भने, नेपालको हालको अन्तरीमा संबिधानमा राष्ट्रपतिको व्यबस्था भएको छ. तर यसरी स्वतन्त्र देशको लैगिंक समानतामा आधारित राजनैतिक प्रणालीमा देशका प्रमुखलाई ठाडै ‘पति’ भनेर पुलिङ्गी शब्दले सुशोभित गरेपछि त्यसले नारी अस्मितामा ठुलो चोट पुर्याएको ठहर गरेर केहि लाल ‘बुझक्की’ हरु सो शब्दको पछि लागेका रहेछन । कम्ता ठुलो कुरो रै’च त ? भविश्यमा कुनै दिन नेपालमा महिला सो पदमा पुग्न सक्ने हुनाले लैगिंक समानताको मर्यादा राख्दै सो शब्द परिवर्तन गरी अन्य कुनै नाम राख्नु पर्दैन त? ।
पहिला च्याटमा बस्दा एकजना मित्रले यो कुरा बताएका थिए, उनले सो महान क्रान्तिमा होमीने एकजना सभासदको नाम पनि मलाई दिए, पछि १-२ अनलाईन मिडियामा पनि देखे पछि बैचारिक दरिद्रताको कुनै हद हुदैन रहेछ भनेर मलाई ज्ञान भयो ।
त्यसो त चेतावनी र धम्की करिव करिव एउटै बाऊका दुई जुम्ल्याहा छोरा जस्तै हुन, तैपनि विषय र प्रसंगको भिन्नता अनुशार कहिलेकाही कूटनैतिक भाषामा धम्किलाई अली लचिलो र कर्ण प्रिय बनाएर 'चेतावनी' भन्ने शब्द प्रयोग गरिन्छ । यदाकदा यो धम्की शब्दलाई साह्रै बिनम्र पार्दा कहिले काहि त्यो 'आग्रह' पनि बन्छ ।
हुन त यी 'आग्रह','चेतावनी' अनि 'धम्की' नेपाली समाज र राजनीतिमा कुनै नौलो कुरा भने पक्कै होईनन् । पहिला आफ्नो कुरा सुन्न आग्रह, नसुने चुप लागेर नबस्ने चेतावनि र त्यसले पनि नपुगे दूर्घटना हुनसक्ने धम्कीहरु हाम्रो समाज र खास गरी राजनीतिका विशेषता वा दाल-भात नै हुन ।
यति सम्मकी एकै चोटी एउटै विषयलाई लिएर पनि भिन्न भिन्न गुट वा दलले यी तिनवटै शब्द पनि फरक फरक अर्थकोलागी प्रयोग गरेका छन ।
केहि समय अगाडिसम्म नेपालमा संबिधान सभाको चुनाव हुने कि नहुने मा शंका थियो र त्यहि बेला एक पक्ष समयमा चुनाव गराउन आग्रह गर्दै थियो, आर्को पक्ष अहिले पनि चुनाव नगराएमा सत्ता कव्जा गर्ने ' चेतावनि ' दिदैं थियो भने तेस्रो पक्ष कुनै पनि हालतमा चुनाव हुन नदिने ' धम्की ', जे होस यो आग्रह, चेतावनि धम्कीहरुको बिचमा पनि चुनाव भयो र कमसेकम अब नया संबिधान बन्ने प्रक्रिया सुरु भएको छ ।