Showing posts with label कथा-लघुकथा. Show all posts
Showing posts with label कथा-लघुकथा. Show all posts

22 November, 2009

आयातीत संस्कृति (लघुकथा)

-एक-

सानो छोरालाई आमाको काखमा खेल्नै पुगेको थिएन। बाबुको काँधमा घोडा चढ्ने रहरै पुगेको थिएन । अलिकता छोराको भविष्यलाई सोचेर, अनि अलकता भने फुर्सद खोजेर बाबुआमा दुबैले आपसी सहमतिमा सानो छोरालाई छात्रावासमा नै बस्ने गरी आवासीय स्कुलमा हालिदिए ।

-दुई-

छोराले पढाई सक्काई सकेको थियो। व्यस्त हुने काममा लागी सकेको थियो । अलिकता छोराको गृहस्थीको लागि सोचेर, अनि अलिकता भने व्यबहार सक्काउन खोजेर बाबुआमा दुबैले पढे गुनेको परिवारबाट जागीरवाला केटी खोजेर घरमा बुहारी पनि भीत्राईदिए

27 September, 2009

विशेषता (लघुकथा)

vishes Aaina(यो लघुकथा यही ब्लगमा पनि धेरै अघी अंग्रेजीमा लेखेर हालेको थिएँ, तर धेरै दिन ब्लग अपडेट गर्ने मेसो नमिलेकोले हाललाई फेरि नेपाली भाषामा लेखेर टाँस्दैछु)

देशका एकजना प्रतिष्ठित वैज्ञानिकले एउटा बिशेष प्रकारको ऐनाको आविष्कार गरेको समाचारलले सवैतीर चर्चा पायो । सो ऐना, झ्वाट्ट साधारण ऐना जस्तै देखिए पनि मानिसरुले त्यसमा हेर्दा अनुहारको प्रतिबिम्बको साटो अरुनै भिन्न भिन्न कुराहरु देख्दथे।

यसरी अनुहार नदेखिने विशेष ऐनाको खास विशेषता भने पछि मात्रै खुलाउने वताएर ती वैज्ञानिकले आफ्नो आविष्कारको सार्वजनिक प्रदर्शनको आयोजन गरे ।

धेरै दर्शकहरुले प्रदर्शनीमा गएर त्यो विशेष ऐना हेरे, तर ऐनामा आ-आफ्नो अनुहारको साटो सवैले भिन्न भिन्न रंगको संयोजन र प्रकाश पुञ्ज अनी अकल्पनीय विम्बहरु मात्रै देखे ।

02 September, 2009

पर्खाल (लघुकथा)

पर्खाल केही समयअघि उसको घरसंगैको एकजना छिमेकीले घर अगाडिको बाटो र घरको बीचमा रहेको केही जग्गा मिचेर पर्खाल लगाएको थियो । यसरी सार्वजनिक जग्गा मिचेर छिमेकीले आफ्नो कम्पाउण्ड बढाएको कुरा उसलाई चित्त बुझेन । उसले विरोध गर्नु पर्ने ठाउँमा गएर विरोध गर्‍यो, उजूर हाल्नु पर्ने ठाउँमा गएर उजूर हाल्यो । तर उजूर कमजोर भएर हो वा छिमेकी बलियो भएर हो कुन्नि, न त कसैले अनुसन्धान नै गर्‍यो, न त छिमेकी नै कारवाहीमा पर्‍यो । लगाएको पर्खाल लगाएकै भयो ।

त्यसको केही समयपछि उसको अर्को छिमेकीले पनि विस्तारै आफ्‍नो पर्खाल मर्मत गर्ने बहानामा पुरानो पर्खाल भत्काई दुई-तीन फिट बाटो च्यापी नयाँ पर्खाल लगायो । उसले पुन: निवेदन दिनुपर्ने ठाउँमा गएर निवेदन दियो, नालिस हाल्नु पर्ने ठाउँमा गएर नालिस पनि हाल्यो । तर नालिस लेखेको नमिलेर हो वा सम्बन्धित हाकिम छिमेकीसंग मिलेर हो, न त कसैले छिमेकीलाई हप्कायो, न त कसैले पर्खालै भत्कायो । ठड्याएको फर्खाल ठाडै रह्यो ।

27 July, 2009

एकादेशको कथा (लघुकथा)

स्थिति: संसारको कुनै कुनामा एउटा यस्तो देश थीयो, जहाँ- प्रशासकहरु योजना बनाउँथे, प्राविधिकहरु प्रशासन चलाउँथे । व्यापार गर्नलाई विद्यालय खोलिन्थ्यो, चुनाव जित्नलाई असत्य बोलिन्थ्यो । समाचारको नाममा दलद्वारा एकपक्षीय पत्रिका चलाइन्थ्यो, सत्याग्रहको नाममा नेताद्वारा राष्ट्रिय सम्पत्ति जलाइन्थ्यो । हाकिमहरु इमान्दारिको नारा दिएर कराउँथे, दस्तुर बुझाउन नसक्नेका फाईलहरु अफिसबाटै हराउँथे ।

प्रगति: चाकडिवाजहरु पोसिन थाले, इमान्दार कर्मचारीहरु खोसिन थाले । नेताहरु देश भुली, कुर्सीमै रमाउन थाले, शिक्षकहरुले चक डस्टर छाडी झण्डा समाउन थाले । पार्टीका अयोग्यले पनि उच्च पद पाउन थाले, बुद्धिजिवी र शिक्षितहरु विदेश धाउन थाले। शहरमा उपचार महँगो भएर बिरामी मर्न थाले, जिल्लाका अस्पतालमा पिउन पालेले अप्रेशन गर्न थाले ।

परिणति: सरकारी स्कूलमा पढ्नेलाई कसैले मानेनन् , बोर्डिङमा पढ्नेले आफ्‍नै भाषा पनि बोल्न जानेनन्। देशमा विदेशी छिर्न थाले, आर्थिक स्थिति गिर्न थाले । नेताहरु आ-आफैं लड्न थाले, भ्रष्टाचार दिनदिनै बढ्न थाले। धर्म र परम्परा मैलिन थाल्यो, देशमा विदेशी संस्कृति फैलिन थाल्यो । योजनाहरु सबै मन्द भए, बिकास निर्माण बन्द भए ।

समष्टि: संसारको कुनै कुनामा एउटा यस्तो देश थियो, अहिले पनि त्यस्तै छ पचास बर्ष अगाडि जस्तो थियो ।

(कान्तिपुर साप्ताहिक: ३०-०६-२०५५)

02 July, 2009

मन्त्रीज्यूको साप्ताहिकी (लघुकथा)

आईतवार:

बिहानको कार्यक्रम: शाकाहार र स्वस्थ जीवन बिषयक तीन दिने शिविरको उद्घाटन ।
अपरान्ह: मद्यपान विरुध्द सचेतना र्‍यालीमा सरिक हुने ।
साँझको कार्यक्रम: पाँच तारे होटेलमा ककटेल डिनर ।

सोमवार

बिहान: ‘भौगोलिक जटिलता र सीमा सुरक्षा’ बिषयक अन्तरक्रिया कार्यक्रममा प्रवचन ।
अपरान्ह: नेपाली भू-भागमा विदेशी हस्तक्षपको विरोधमा सडक नाटकको उद्घाटन ।
रातको कार्यक्रम: छिमेकी राजदूताबासमा जलपानमा सरिक ।

मंगलवार

बिहान: भ्रष्टाचार विरुद्ध युवा कार्यक्रममा आतित्थ ग्रहण ।
मध्यान्न: निष्पक्ष न्याय संपादन र घुस-विहीन समाज नामक अन्तरक्रियामा सहभागी हुने।
राती: बिदेशी ठेकेदार र व्यापारीसंग निजी भेट ।

बुधवार

बिहान: नागरिक अधिकार र सभ्य समाजको सृजना नामक बिचार गोष्ठिमा मन्तव्य ।
अपरान्ह: न्यायीक सर्बोच्चता र शान्ति बिषयमा नागरिक समजसंग छलफल।
साझ: दोश्रो दिन आयोजना गरीएको बन्द सफल पार्न रातमा मशाल जुलुश निकाल्न कार्यकर्तालाई निर्देशन ।

बिहीवार

बिहान: बुद्ध जयन्तीको उपलक्षमा भगवान बुद्धको मूर्तिमा माल्यार्पण ।
मध्यान्न: ७ दिने विश्वशान्ति महायज्ञको समापन समारोहमा सरीक ।
साँझ: द्वन्दात्मक भौतिकवाद र ईश्‍वरको अन्धविश्वास नामक बिचारगोष्ठीमा मन्तव्य ।

शुक्रवार

बिहान: ‘सुलभ चिकित्सा जनताको अधिकार’ बिषयक छलफल कार्यक्रममा सरकारी कार्यपत्र प्रस्तुत
मध्यान्न: महंगो उपचार खर्च घटाउने माग सहितका जन-प्रतिनिधिहरु संग बिचार विमर्श
अपरान्ह: निजी क्षेत्रबाट सञ्चालन हुने नव निर्मित नर्सीङ होमको रिबन काटेर उद्घाटन ।

शनिवार

बिहान: मितव्ययीता र खर्च कटौती सम्बन्धित गोष्ठीको पानस बालेर शुभारम्भ ।
अपराह्न: सादा जीवन उच्च बिचार बिषयक प्रवचन कार्यक्रममा मन्तव्य ।
राती: ७ दिने विदेश भ्रमणको सिलसिलामा सपरिवार विमानस्थल प्रस्थान ।

30 May, 2009

सफल लेखक (लघुकथा)

Lekhak 1

उसलाई सानै देखि साहित्यमा एकदमै रुचि थीयो। उमेर र अनुभवहरु बढ्ने क्रममा उसको पढ्ने रुचि बिस्तारै लेख्‍नेतर्फ पनि मोडियो ।

आफ्नो देश, भाषा र संस्कृति प्रति अगाध प्रेम र लगाव भएकोले उसको रचनाहरुमा पनि देश-प्रेम, सौन्दर्यचेत र सामाजिक भावहरु प्रष्ट भेटिन्थे । उ यस्तै सामजिक भावना र देशप्रेमको वारेमा कथा, कविताहरु लेख्थ्यो: “हिमाली छाया”, “नेपाली माया” “सुनौलो बिहानी” आदि आदि । तर सम्पादकहरु उसका रचना पढ्न अल्छी मान्थे, पत्रिकाहरुमा उसको कविताले ठाउँ पाउँदैनथे र उसका रचनाहरु आफ्नै डायरीमा मात्रै सीमित थिए ।

बिस्तारै उसले बजारमा चल्ने साहित्यमा कलम चलाउन थाल्यो र अधुरो बिषय, असम्भव शीर्षक र बेमेल कथनहरुलाई आफ्नो रचनामा उतार्न थाल्यो : “हिंसक बुद्ध”, “खुकुरी काट्ने अचानो”, “लंगडाको जुत्ता” आदि आदि। अब बिस्तारै प्रकाशन गृहहरुमा उ चिनिन थाल्यो, पत्र-पत्रिकामा फाट्ट-फुट्ट उसका रचनाहरु छापीन थाले र उ ‘राम्रो लेख्‍ने’मा गनिन थाल्यो ।

हिजोआज, उसको कविता भन्दा कविताको शीर्षक लामा हुन्छन। उसको कथाको पहिलो अनुच्छेद र दोश्रो अनुच्छेदमा कुनै तारतम्य भेटिन्नन। उ निबन्ध जस्तो कविता, कथा जस्तो गीत र सम्बाद जस्तो समिक्षा लेख्छ ।

आजकल उ अमूर्त सर्जक दर्शन-लेखकको नामले चिनिन्छ र सामान्य मानिसको दिमागबाट छिर्न हम्मे हुने शीर्षकमा रचनाहरु लेख्छ: “चीसो आगो”, “लाटोकसेरोको सपना”, “भिसेनको पाखुरा र जंगली च्याँखुरा” आदि आदि। उसका रचनाहरु सम्पादकहरु मागी मागी छाप्छन, प्रबुद्धवर्गहरु खोजी खोजी पढ्छन र उसले कैयौं प्रशंसापत्र र पुरस्कारहरु पनि पाई सकेको छ ।

08 May, 2009

स्याटेलाइट संस्कृति (लघुकथा)

Satellite Culture म नेपालको प्रतिनिधित्व गर्न विदेश जाने केहि विद्यार्थिहरुको चयन गर्ने काममा खटिएको थिएँ । मेरो अगाडि यौटा समृद्ध परिवारको जस्तो देखिने १४-१५ बर्षको केटा थियो ।

अन्तरवार्ताको क्रममा मैले उसलाई सोधें “ नेपालको राजधानी शहर कुन हो?”, “उडमाण्डु!” उसले पूर्ण आत्मविश्वाससाथ तर अति उदेक लाग्ने जवाफ दियो ।

“धत् , नेपालको राजधानी काठमाण्डौ पो हो त … ” मैले सम्झाउन खोजें “ खै, नेपालका केहि सञ्चार माध्यमले त त्यसै भन्छन त” उसले तर्क तेर्स्यायो ।

05 April, 2009

विडम्बना (लघुकथा)

bidambana

उसले निकै मेहनत गरेर मात्रै आफ्नो पढाइ पूरा गरेको थियो । घर-गाउँ छाडी काठमाण्डौमा बसी पढ्दा आर्थिक समस्याले पनि उसलाई सधैं सताउँथ्यो, जे होस् निकै संघर्षपूर्ण तरिकाले उलसे कानुनमा स्नातक गर्‍यो ।

पढाइ सक्काउन त गाह्रो छँदैथियो, काम पाउन उसले झनै मुश्किल महसुस गर्‍यो । महिनौंको शीष्टाचार र अनेकौं पत्राचारले पनि काम नपाएपछि उसले आफ्ना अरु दुईजना साथीसंग मिलेर ‘ल फर्म’ खोल्ने निधो गर्‍यो ।

जसो-तसो २-३ महिनाको बहाल जम्मा गरी उसले पाएक पर्ने ठाउँमा यौटा अफिस खोल्यो । अनी कार्यालयको बाहिर यौटा बोर्ड झुण्यायो: “यहाँ कानुनी सल्लाह दिईन्छ”, कार्यालय भर्खरै खोलेको र कोठामा भएको फोनको पनि अधिकतम उपयोगिता लिन साईनबोर्ड मुनि सानो अक्षरमा थपियो “साथै टेलीफोन सेवा पनि उपलब्ध छ”

05 March, 2009

‘साईड ईफेक्ट’

यौटा गैह्र सरकारी संस्थानको आयोजन, स्वदेशी बिद्धानहरुको संयोजन र बिदेशी दाताको प्रायोजनमा त्यो गाँउमा बालश्रमको बिषय लाई लिएर यौटा बिचार गोष्ठि भयो ।

बालहितको नारा, अविभावकले लिनु पर्ने अविभारा र अन्तराष्ट्रिय बिचारधारालाई दृष्टिगत गर्दा बालबालीकालाई श्रममा लगाउन नमिल्ने देखिएकोले गोष्ठिको अन्तिम दिन अब उप्रान्त त्यस गाँउमा बालबालीकाहरुलाई कुनैपनि किसीमको श्रममा नलगाउने र लाग्न नदिने निर्णय भयो ।

खर्च जुर्टाईदिने दाता, समाज सुधारक भनेर चिनीएका नेता र आयोजक कार्यकर्ताले करतल ध्वनीका साथ सो निर्णयको स्वागत गरे ।

भारी बोकेर गुजारा गर्ने हर्के, गिट्टी कुटेर जिबन धान्ने बिर्खे र उन कातेर हातमुख जोर्ने जितेका परिबार यो निर्णय सुनेर अकमक्क परे ।

उक्त कार्यको 'सफलता' पछि शहर फर्केका संयोजकहरु प्रायोजकको गुण गाउन थाले, प्रायोजकहरुले समाजसेवीको दर्जा पाउन थाले भने आयोजकहरु त्यो भन्न्दा पनि शसक्त अर्को योजना बनाउन थाले ।

उता गाँउमा, दिनभरि गिट्टी कुटेर रातीको पाठशालामा पढने बिर्खेको छोरा बालश्रम उन्मुलन भई काम खोसीएकोले पैसा तिर्न नसक्दा कक्षाबाट निकालीयो । गलैंचाको धागो कातेर बाबुआमा पाल्ने जितेकी छोरी बेकम्मा भई बरालीएर हिडन थाली भने बिरामी आमाको उपचार खर्च जुटाउन अरु कुनै श्रोत नभए पछि हर्केको छोराले पाकेट मार्ने पेशा अपनाउन थाल्यो ।

यता आयोजकहरुले दातालाई दिएको प्रतिबेदनले गाँउमा बालश्रमको अन्त्य भएको देखाँउदै थियो । उता गाँउमा रोजगार खोसीएकोले बाल अपराध मौलांउदै थियो ।

13 February, 2009

चुरोट, चिया र खाजा !

ज पनि ऊ १० बज्नु अगाडि नै कार्यालयमा उपस्थित भैसकेको थियो। आफ्नो सानो कामकोलागी उसले यो कार्यालय धाउन थालेको करीब हप्तादिन नाघिसकेको छ। तर उसको सम्बन्धित फाइल भने अझै ‘खर्साब’ को टेबुलबाट पास हुन सकेको छैन ।

वास्तबमा उसको काम एकदमै साधारण र नियम कानुनको दायरा भित्रै पर्ने कुरा हो, तर पनि किन हो उसको काम हुन सकेको छैन । आज त जुनसुकै हालतमा आफ्नो काम पूरा गराएर मात्रै छाड्ने निश्‍चय लिएर ऊ फेरी खर्साबको कोठामा पस्यो:“मेरो काम भयो होला ?”, “अँ …… ” खर्साब कुनै साप्ताहिक पत्रिकाको राजनैतिक परिचर्चा पढ्नमा व्यस्त थिए । “…… अँ, तपाईको काम भैहाल्छ नि …… ” हप्तौसम्म आफ्नो कोठामा धाईरहेका ती आगन्तुकको आवाजसंगै उनी परिचित भैसकेका थिए त्यसैले खर्साबले आगन्तुकतर्फ हेर्नु जरुरी सम्झेनन र पत्रिकाको त्यो महत्वपूर्ण खबरबाट आफ्नो टाउको नउठाईकनै जबाफ दिए ।

“तपाईको काम भैहाल्छ नि” – हो, उसले सधैं यस्तै खाले जबाफ पाउने गरेको छ। तर काम भने कहिल्यै भएको छैन । दिन दिनैको एउटै जबाफबाट वाक्क भएको उसको मुखबाट निस्कीयो “हैन, सधैं त्यसै भन्नुहुन्छ, सात–सात दिन भैसक्यो आखिर मेरो काम किन हुँदैन त?” यस पटक उसको आबाजमा अलिकता आक्रोश पनि थियो । “…… यसो चुरोट-सुरोट ख्वाउने व्यबस्था गर्नुस न, काम गर्ने त म छदैंछु नि …… ” आज भने खर्साब अलि खुलेर बेग्लै जबाफ दिए ।

18 January, 2009

अहंकारको मन्दिर (लघुकथा)

Mandirत्यहाँ यौटा मन्दिर बन्दै थियो। गाँउमै धार्मिक र समाजसेवी भनेर चिनीएका एकजना भलादमीले आफ्नै निजि खर्चमा सो मन्दिरको निर्माण गर्न लागेकाले ति भलादमी निकै व्यस्त देखिन्थे र निर्माण स्थलमा बसेर सबैलाई छिटो छिटो काम गर्न हौस्याई रहन्थे ।

एक दिन यस्तै छिटो काम गर्ने हतारोमा यौटा डकर्मीले मन्दिरको सीढीं नै अलिकता बाङ्गो बनायो । डकर्मीले डराई डराई सो कुरा ति धार्मिक व्यक्तिलाई बतायो । “सीढीं अलिकता बाङ्गो भएर के भो र?, तल माथी गर्न मिले त भै गो नी … ” उसले निक्कै सरलताका साथ डकर्मीको गल्तिलाई पन्छायो ।

03 January, 2009

बिबाह (लघुकथा)

आमाले खोजेको पहिलो कन्या गृहकार्यमा निपुर्ण थीईन, अशीक्षित भनी बाबुले फर्काईदिए। दोस्री कन्या शिक्षित र सुशिल थिईन तर नराम्री भनी छोराले ईन्कार गरिदियो । त्यसपछिको केटी बाबुले खोजे, शिक्षित र शुन्दर पनि, तर घर-धन्दामा अदक्ष भनी आमाले मनीनन्।

चौथी कन्या लमीले मिलाए, जो प्रशस्त दाईजो ल्याउनेवाली थीईन। अचानक उनका सबै ‘खोट’ हरु ‘गुण’ मा परिवर्तन हुन थाले।

“नपढेर के भो’ त?, …… हामि बुहारिलाई जागिर खान पठाउने पनि हैनौं नी!” बाबुले बक्तव्य निकाले। “स्वास्नी धेरै राम्री भए सबैको आँखा लाग्छ …… ” छोराले तर्क तेर्स्यायो। “घर धन्दा गर्न त ‘कान्छा’ छँदै छ नी!” आमाले विचार बदलिन।

यसरी तुरुन्तै सर्बसम्मतिमा बिबाह पारित भयो ।

20 December, 2008

अव्यक्त भावना (कथा)

प्रिय राजिव,

दैनिक संझना !

आज बिहानै देखी बादल लागी रहेछ, शायद मन बोझीलो भएकोले होला झ्याल बाहिरबाट आएको चराको चीरबिरले पनि मेरो मानशिक शान्तिलाई बीथोली रहेको छ । यस्तो बेलामा केवल तिमीलाई पत्र लेखेर मात्रै मैले मेरो मनको बोझ हल्का गर्न सक्छु , किनकी मेरो जिन्दगीमा घटने हरेक घटनासंग तिमी प्रतक्ष र परोक्ष दुबै रुपले सम्बद्ध छौ, जुन कुरा म प्रष्टै भन्दैछु भने तिमी भने अझै आफ्नै अर्न्तर्द्वन्दमा हराएका छौ । त्यसैले सवै कुरा खुलस्त हुदां हुदैं पनि मैले बिगतका घटनाक्रमहरुलाई एकचोटी पूनः जिवित गर्नुनै म र तिमी दुबैकोलागी राम्रो होला ।

तिमीलाई थाहा छदैंछ, हाम्रो पहिलो भेट आफ्नै कलेजमा भएको थियो । शुरुका दिनहरुमा मेरो अवेर गरेर कलेज जाने बानी थियो भने तिमी चाहीं कक्षा शुरु हुनु भन्दा धेरै अगाडी नै कक्षामा उपस्थित भै सकेका हुन्थ्यौ ।  साँच्चै भन्दा, शुरुका दिनहरुमा म पढन भन्दा पनि रमाईलोको लागी कलेजमा जाने गर्दथें । तिमीलाई त यादै होला त्यतिबेला हल्ला गर्ने र अरुलाई जिस्काउने काममा नै मेरा दिनहरु बित्ने गर्थे ।

09 December, 2008

अघटित यथार्थ (लघुकथा)

Aghatit Yathartha यौटा लामो दूरीमा चल्ने बस सडकबाट निकै तल खोलामा खसेर दूर्घटनाग्रस्त भयो । बसका सबै यात्रीहरुको मृत्यु भएको खबर फैलियो । टिकट काट्नेहरुको नाम जाँचेर हेर्दा देशका एकजना लगनशील लेखक पनि त्यो दूर्घटनामा परेको खबर खुल्यो ।

तुरुन्तै सबैतिर सोकसभाहरु आयोजना भए । पत्र-पत्रिकामा उनका बारेमा प्रशंसाले भरिएका लेखहरु छापिए । उनले गर्दै रहेको साहित्य सेवाको सबैतिरबाट प्रशंसा गरियो र साहित्यको क्षेत्रमा अपूरणीय क्षति भएको घोषणा गरियो ।

यौटा सामाजिक संस्थाले स्वर्गीय लेखकको सम्मानको लागी उनको यौटा सालिक बनाउने कुरा उठायो । अर्को यौटा निर्णायक मण्डलले उनलाई मृत्युपर्यन्त विशेष पुरस्कार दिने निर्णय सुनायो । विभिन्न पत्र पत्रिकाहरुमा पहिले पन्छाईएका उनका लेख रचनाहरु नामको अगाडि 'स्व' लेखेर धमाधम छापिन थाले ।

29 October, 2008

खैरो चरित्र (लघुकथा)

संसारको कुनै कुनामा यौटा अनौठो गाँउ थियो । त्यस ठाँउका मानिसहरु शारीरीक रुपमा अन्य स्थानका भन्दा केहि फरक नदेखीए पनि यौटा अनौठो प्राकृतिक चिन्हका कारण उनिहरु अन्य स्थानका मानिसहरु भन्दा भिन्न थिए ।

त्यहाँ जन्मने हरेक व्यक्तिको निधारमा जन्मजात नै यौटा गोलो टिका जस्तै खत हुन्थ्यो र त्यो नै त्यहाँको बिशेषता थियो । असल चरित्रका व्यक्तिको निधारमा सेतो खत हुन्थ्यो भने खराब चरित्रको व्यक्तिहरुमा त्यो खत कालो हुन्थ्यो । यसरी प्रकृतिले नै असल र खराब व्यक्तिको पहिचान गर्राई दिएकोले खराब चरित्रका व्यक्तिहरु समाजमा खुल्ला निक्लेर गलत कार्य गर्न हच्कीन्थे भने असल चरित्रका व्यक्तिहरु आफ्नो सदगुणका कारण शान्त र स्वतन्त्र हिँड्थे ।

समष्टिमा त्यो गाँउ अन्य स्थानको तुलनामा निकै शान्त , शुरक्षित र शुन्दर थियो ।

केहि समय यता त्यहाँ केहि फरक व्यक्तिहरुको प्रबेश भयो , उनिहरुको निधारमा कालो वा सेतो नभई खैरो-खैरो खत देखिन्थ्यो ।

04 October, 2008

विज्ञापन (लघुकथा)

त्यो पसल उसको बाजेको पालामा खुलेको थियो । त्यहाँ खाद्यवस्तुहरु बेचिन्थे र सबै चिजहरु शुद्ध र मिसावटरहित हुन्थे । त्यतिबेला न त पसलको कुनै साईनबोर्ड थियो, न त शुद्धताको कुनै विज्ञापन ।

उसको बाजे पछि उसको बाबुले पसल चलाउन थाले । बाबुको पालासम्ममा समाज निकै परिवर्तन भैसकेको थियो, त्यसैले छिट्टै धनि बन्ने उपाएहरु अपनाएर उसको बाबुले दूधमा पानी, बेसारमा पीठो, महँगो चामलमा सस्तो चामल आदि मिसाएर व्यापार गर्न थाले । ग्राहकहरुको विश्‍वास यथाबत राख्‍नका लागी भने पसल बाहिर एउटा बोर्ड झुण्ड्याईयो :- यहाँ शुद्ध र असली खाद्यबस्तुहरु पाईन्छन्

बाबुको शेषपछि आजकल ऊ आफैं पसल चलाउँछ । उसको हातमा पसल आएपछि पसलको आकार र स्वरुप नै परिवर्तन भईसकेको छ । आजकल त्यो पसलमा गाईको घ्युको त कुरै छाडौं, शुद्ध वनसपति घ्यू पनि पाइँदैन । दूधमा पानी हैन पानीमा दूध मिलाएर बेचिन्छ र पसलमा कुनै चीज शुद्ध पाइँदैन । तर पसल बाहिरको बोर्डमा भने अझै गहकिलो र आकर्षक विज्ञापन राखीएको छ:- यहाँ अति शुद्ध र पूर्ण असली खाद्यबस्तुहरु मात्रै बेचिन्छ मिसावट भएको प्रमाणित गर्नेलाई रु‍ १ हजार रुपैया पुरस्कार

(१९-१२-२०५५, साप्ताहिक)

12 September, 2008

कागजी खेल (लघुकथा)

Kagaji khel त्यो कार्यालयको कम्पाउण्ड भित्र निक्कै जमिन खाली थियो । एक दिन खाली जमिनको उपयोग गर्न सकिने देखेर कार्यालय प्रमुखले केन्द्रलाई यौटा पत्र लेखे :-“यस कार्यालय कम्पाउण्डमा खालि रहेको जमिनमा पोखरि खनी माछा पालन गरी अर्थ आर्जन गर्न सकिने राम्रो सम्भाव्यता देखिएकोले सो को लागी रु दुई लाख निकासा गराई पाउँ … ”

केन्द्रबाट तुरुन्तै माग बमोजिमको निकासा भयो । तर रकम प्राप्त भए पछि न त पोखरी खनियो न त माछा नै पालीयो, तर पोखरि तयार भएको कागजी प्रतिवेदन भने एक महिनामा केन्द्रमा पुग्यो ।

प्रतिवेदन पुगेको दुई महिना पछि केन्द्रबाट प्रतिवेदन अनुशार काम भए नभएको हेर्न एकजना अधिकृत जिल्लास्थित सो कार्यालयमा आए । त्यो दिन केन्द्रका अधिकृत र कार्यलय प्रमुखबिच पहिला निक्कै बेर वादविबाद अनि छलफल र सल्लाह भयो र केन्द्रका हाकिम भोलिपल्टै राजधानि फर्के ।

01 August, 2008

एकता (लघुकथा)

त्यो गाउँ सानो भएपनि त्यहाँका महिलाहरु निक्कै जागरुक देखिन्थे। अन्तराष्ट्रिय नारी दिवस मनाउन त्यो सानो ठाउँमा थुप्रै महिलाहरुको उपस्थिति थियो ।

स्वागत भाषण पछि बोल्ने क्रम शुरु भयो । एक जना वक्ताले महिलाहरु शोषित भएको कुरा उठाइन् र प्राय: महिलाद्वारा नै महिलाहरुको शोषण हुने गरेको बताइन् ।

कुराको प्रसंगमा अर्कि वक्ताले महिला विकासको लागि गा.वि.स. मा आएको रकम अर्कै शिर्षकमा खर्च भएको तितो सत्य वताइन् र महिलाकै सकृयतामा सो भएको आरोप लगाइन ।

गा.वि.स.की अर्की महिलाले त्यो रकम वाल स्वास्थको लागि खर्च गरेको जानकारी दिदै सो निर्णयलाई जायज ठहर्‍याइन ।

विरोधी पक्षले वाल स्वास्थ र महिला विकास भनेको भिन्दा भिन्दै कुरा भएकोले त्यसमा हिनामिना भएको आशंका उठाए । खर्च गर्ने पक्षले त्यति वेला महिला विकास भन्दा वाल स्वास्थको स्थिति जटील भएकोले सो विनियोजन नगरी नभएको स्पष्टिकरण दिदै रकम हिनामिना नभएको प्रष्ट्याय ।

त्यस पछि सोहि विषयलाई लिएर प्रश्न, प्रति-प्रश्न , घोच पेच, आरोप प्रत्यारोप र व्यंग्यको वर्षा शुरु भयो र निकै वेर सम्म सभा विथोलियो त्यतिकै हो-हल्लामै साँझ परेकोले आयोजकले सभा विर्सजन भएको घोषणा गरे । अन्तमा तीन चोटी "नारी एकता जिन्दावाद" भन्ने नारा घन्काएर सबै आ-आफ्नो घर तिर लागे ।

05 July, 2008

परिवर्तन (लघुकथा)

हिजो: धर्म र परम्पराप्रति मानिसहरु निक्कै विश्‍वास गर्थे र परम्परागत आधारमा मात्रै विवाह तय गरिन्थ्यो । सबै जातमा सजातीय विवाह मात्रै प्रचलित थियो अनि सजातीय विवाह मात्रै हुनुपर्छ भन्ने समाजको बलियो धारणा थियो ।

आज: धर्मप्रतिको आस्था घट्दैछ, परम्परामा विश्‍वास हट्दैछ । प्रेम विवाहको प्रचलन अलि बढेकोले अन्तर्जातीय विवाह पनि हुदैंछ । बिस्तारै, विवाह सजातीयमा मात्रै हैन अन्तर्जातीय पनि हुन सक्छ भन्ने सामाजिक मान्यता तयार हुदैंछ ।

भोली: शायद सजातीय विवाहको लोपसंगै अन्तर्जातीय विवाह यत्ती बढ्ने छ कि, कतै कतै कसैले सजातीय विवाह गरेमा पनि त्यो अनौठो समाचार बन्ने छ। अहीले फाट्ट फुट्ट अन्तर्जातीय विवाह भए जस्तै त्यति बेला कतै सजातीय विवाह भएमा मानिसहरु यसरी हाँस्नेछन् :- “… हेर न ! पल्लो गाउँमा त बाहुनको छोरी बाहुनलाई नै दिएछन … ।”

19 June, 2008

सम्मोहन (लघुकथा)

हिलो पटक चुनावमा उसले जोडदार भाषण दियो " मैले जितेँ भने बाटो बनाईदिन्छु, ढल खनाईदिन्छु… … । काम नहुनेहरुलाई जागिर हालिदिन्छु, बिजुली नपुगेको ठाँउमा बत्ती बालिदिन्छु‍‍… …" । उसले जनतालाई लोभ्यायो, सबैले उसलाई भोट हाले। उसले चुनाव जित्यो तर केहि काम भएन ।

दोस्रो पटक चुनावमा उसले वक्तव्य फेर्‍यो " …अघिल्लो पटक योजना बनाउँदा र आर्थीक स्रोत जुटाउँदैमा समय बित्यो,… … काम गर्नै भ्याईएन… तर यसपालि जरुर केहि गरेर देखाउनेछु । यौटा मौका फेरि दिनुहोस… …" उसले मतदातालाई फकायो, सबैले उसलाई भोट हाले । उसले फेरी चुनाव जित्यो र फेरी केहि पनि काम गरेन ।