Showing posts with label विचार. Show all posts
Showing posts with label विचार. Show all posts

31 October, 2010

कथाको राजा, अचेतन निर्णय र पुड्को व्यक्तिको खोज !

Freedom of speech in nepalसानैमा सायद पञ्चतन्त्र हो कि कुनै कमिकमा एउटा कथा पढेको थिएँ । कुनै देशमा एकजना ‘महामूर्ख’ राजा हुन्छन् ( राजा र राजनेताको पछाडि यो ‘अलङ्कार’ सायद प्राकृतिक रूपमै युग पर्यन्त स्वतः विभूषित हुन्छन् ) । अँ त, कथाको लम्बाइलाई घटाएर मुख्य अंशमा आउँदा, एकदिन राज्यमा कुनै अपराधी समातिन्छ र उसलाई फाँसीको सजाय सुनाइन्छ ।

अपराधीलाई फाँसी दिन तयार गरिएको ‘मचान’ मा लगिन्छ । तर अपराधी अग्लो भएकोले फाँसी दिने डोरी घाँटीमा हाल्दा पनि उसको खुट्टाले भुइँमा छुन्छ र उसलाई झुन्ड्याउन मिल्दैन । उसै त स्वभावै ले सन्की राजा, त्यसमा पनि महामूर्ख। अपराधी अग्लो भएकोले झुन्ड्याउन नमिलेको कुरा जाहेर नगरी अरू कुनै सजाय दिँदा पछि ‘राज कोप’ सहनु पर्ने गाम्भीर्यलाई मध्यनजर राखेर तीनका भारदार तुरुन्तै राजा कहाँ पुग्छन् । “...महाराज!, अपराधी साह्रै अग्लो भएकोले त्यसलाई फाँसीको ‘तख्त’ मा झुन्ड्याउन सकिएन” । तीनका दिग्गज भारदारले महाराजमा बिन्ती चढाउँछन् । “...अपराधी अग्लो भएर के भो त...”, सिंहासनमा गद्दीसीन महाराज फरमान जारी गरे “... कुनै एउटा होचो मान्छे खोजेर झुन्ड्याउन सक्दैनौ तिमीहरु...जाओ कुनै एकजना होचो मान्छे खोजेर झुन्ड्याओ ...” ।

सायद पाँच वा छ कक्षामा पढने बेलामा यो कथा पढेको थिएँ मैले । समाज, राजनीति र सासक भनेका कस्ता हुन्छन् भन्ने नबुझीसकेकोले त्यतीबेला यो कथा पढ्दा शासन पक्षमा बसेका मानिस यत्तिसम्म मूर्ख हुनै सक्दैनन् र यो नितान्त हास्य कथा मात्रै होला भनेर धेरै दिनसम्म हाँसेको थिएँ ।

02 August, 2010

संसारको पुरानो पेशा, रोनाल्ड रेगन र नेपाली राजनीति ।

Dilip QuotePolitics is supposed to be the second oldest profession. I have come to realize that it bears a very close resemblance to the first.”: Ronald Reagan

“राजनीति दोस्रो सबैभन्दा पुरानो पेशा मानिन्छ । मलाई अनुभव भएको छ कि यसको पहिलो पेशासँग एकदमै नजिकको समानता छ” : रोनाल्ड रेगन

नेपाल एउटा यस्तो देश हो जहाँ बितेका ५ वर्षको समयमा राजनीति परिवर्तन भयो, संविधान फेरिए अनि अन्तरिम संविधानमै समेत अनगिन्ती पटक संशोधन थप-घट र हेरफेर भए । नामैले ‘अन्तरिम’ रहेको संविधान, जुन केवल निश्चित र सीमित समयको लागि बनेका छन् त्यसलाई बारम्बार संशोधन गरियो । यतिसम्म कि जनताले दुई वर्षको लागि दिएको जनादेशलाई समेत ‘जनताद्वारा छानिएकाले’ आफ्नै बपौती भएको ठहर गरेर तीन वर्षे बनाए । तर आफैँले तोकेको दुई वर्षे समयमा के गर्नु पर्थ्यो र के के गरेर सो समय दुरुपयोग गरियो भन्ने कुराको जिम्मेवारी कसैले पनि लिएनन् ।

कुरालाई प्रस्ट राख्ने हो भने, न त तोकिएको समयमा संविधान बन्यो, र यस्तै ताल हो भने न थपिएको समयमै बन्ने छ । माधव कुमार नेपालले राजीनामा दिएर कामचलाउ सरकारको विश्व रेकर्ड पार गरी ३२ औं दिनमा ‘काम चलाई रहँदा’ पनि देशमा बलियो हैन, वैधानिक सरकार बन्ने स्थितिको झल्को समेत देखिएको छैन् ।

05 July, 2010

शास्त्रभित्रका विज्ञान र शास्त्रको वैज्ञानिक अध्ययन !

Dilip's Quoteवेद, शास्त्र वा पुराणको चर्चा हुने बित्तिकै प्राय: दुई खाले विचारहरू प्रष्ट रूपमा देखिन्छन् । एक खाले मानिसहरू त्यसलाई ईश्वरीय वचन भएकोले त्यसको प्रतिकार गर्नै नहुने र त्यसमा जेसुकै लेखिएको भए पनि त्यो सही नै हुन्छ भन्ने मान्यता राख्छन् भने अर्काथरी भने यो सब हावा गफ वा कथा मात्रै भएकोले यसको कुनैपनि महत्व नभएको बताउने गर्छन् ।

वास्तवमा माथिका दुवै विचारधाराहरू गलत छन् र सामान्य अवस्थामा यसको समर्थन र विरोध गर्ने दुवै पक्ष एक दृष्टिबाट हेर्दा सरल मार्गको चयन गरेर अध्ययन बाट बच्ने वा विवाद गरेर रमाउने मात्रै देखिन्छन् ।

केही समय अगाडि घरमा रहेका केही पुराना किताबहरू फेरि दोहर्‍याएर पढ्ने क्रममा एउटा रमाइलो तर उदेक लाग्दो तथ्य भेटें । वेद, शास्त्र वा पुराण वास्तवमै अझैसम्म पनि केवल अन्ध समर्थन वा अन्ध विरोधको ‘सामान’ मात्रै रहेका छन् । जुन तटस्थ वा सम्यक् अध्ययनको तुलनामा सर्वाधिक सरल छ । कारण कसैको कुरामा ‘हो मा हो’ मिलाएर त्यसको समर्थन गर्नु भनेको अध्ययन र जिम्मेवारीको जोखिमबाट बच्ने सबैभन्दा सरल उपाय हो ।

‘हैन’ भन्नलाई ‘हो’ भन्नभन्दा केही साहसको जरुरत त पर्छ । तर प्रामाणिक आधार वा स्वार्जित ज्ञान बिना अरू कसैको मत वा तर्कलाई आधार मानेर ‘हैन” भन्नु शाब्दिक रूपमा ‘हो’ भन्दा केही भिन्न देखिए वा सुनिए पनि यस्ता ‘हैन’ ले गुणात्मक रूपमा भने खासै फरक वजन राख्दैनन्। मेरो दृष्टिमा वेद, शास्त्र वा पुराणमा वर्णित भनेर कुनै कुराको अन्ध समर्थन गर्नु र मार्कस, नित्से वा माओको विचारसँग मेल नखाने भनेर सोही कुराको विरोध गर्नु एउटै कुराहरू हुन । यी दुबैमा कुनै विद्वता, बोध वा प्रज्ञाको किञ्चित् मात्र पनि उपस्थिति भेट्दिनँ म । अझ सिधा कुरा गर्ने हो भने माथि भने जस्तै यी सबै ‘सरलमार्गीहरु’ मात्रै हुन, जुन मार्गमा मानव चेतना, विवेक वा ज्ञानको कुनै जरुरत नै हुँदैन। जहाँ हरके वाद, मार्ग वा सोचको समर्थन वा विरोध दुवै कसैको उधारो ज्ञानमा आधारित हुन्छन् । मनुस्मृतिमा लेखिएको छ त्यसैले सही हो, शास्त्रमा उल्लेख छ त्यसैले अकाट्य छ भन्नु र मार्कसको ‘क्यापिटल’ मा लेखिएकोले ठीक छ वा फ्रायडको सिद्धान्तमा भएकोले वैज्ञानिक छ भन्नु एउटै कुरा हुन् । कारण बदलिँदो समाजिक परिस्थितिमा जसरी मनुस्मृतिका सबै श्लोक र नियमहरु सान्दर्भीक रहेनन् त्यसैगरी विज्ञानको विकाससँगै मार्कसका वैज्ञानिक भनिएका सिद्धान्तहरु समेत गलत प्रमाणित भैसकेका छन् ।

17 May, 2010

पानस, रिबन र नेताको ‘चार चाँद’

"हामी खुवाउँछौं त्यसैले उनीहरु खान्छन !", भारतीय टेलिभिजनमा आउने एउटा चियाको विज्ञापनको नारा र वास्तबमा धेरै हदसम्म साँचो कुरा हो यो । राजनैतिक नेता वा कर्मचारीतन्त्र भ्रष्ट हुनुमा तिनलाई भ्रष्टहुन सहयोग गर्ने हामी जनताको पनि ठूलो हात छ । वास्तवमा त्यस्तै अर्को एउटा सत्यको आभास बितेका करिब तीन महिनाको अबधिमा मलाई पनि भयो ।

प्रसंग हो मन्त्री वा राजनैतीक वृत्तका नेता नबोलाई कुनै पनि कार्यक्रम नगर्ने हामीजस्तै मन्त्रिभक्त वा नेता-आसक्त जनताको ।

कुरोको चुरोतर्फ जान केही कुरा आफ्नै गरौं । नेपाल फर्केको करिब तीन महिनको अवधिमा म आफू संलग्न रहेका केही संस्था र केही सामाजिक र सामुदायीक निकाएको करिब आधा दर्जन सभा, सम्मेलन र भेटघाटमा म सम्मीलीत भएँ । प्रसंगबस यहाँ उल्लेख गरौं; न त ति कुनै संस्था वा समुदाय नै राजनितीसंग सम्बन्धीत थिए, न त तिनका राजनैतिक नेतासंग गोरु बेचेकोसम्मका साईनो नै थियो। तर हरेक पटक सभा, सम्मेलन, गोष्ठी र यहाँसम्म कि कुनै संस्थाको नितान्त आन्तरिक 'ए.जि.एम.' गर्दा समेत देशका प्रधानन्त्रि, मन्त्री र सभासद आदिलाई ननिम्त्याई कुनै पनि कार्यक्रम पुरा भएनन् ।

अनि मन्त्रि, प्रधानमन्त्रि वा यस्तै कुनै वादका समर्थक वा दासलाई बोलाएपछि हरेक जमघटमा नचाहिँदो राजनैतिक गन्ध पनि फैलियो । हामी आफैं भन्छौ- देशमा संवैधानिक रिक्तता आउनै लागेको छ, देशका डाडु-पन्यौ सम्हालेर हिँडनेहरु आफ्नो जिम्मेवारीप्रति उत्तरदायी हुन सकेका छैनन् र हाम्रा नेताहरु अनुत्पादक काममा मात्रै बढी व्यस्त हुन्छन् । तर हामी आफैं नै आफ्ना निहित र तुच्छ स्वार्थ पूर्ती गर्नको लागि, आवश्यक नै नभएको बेलामा पनि राष्ट्रिय स्तरका नेता, सभासद र मन्त्री बोलाउछौं, उनका समयको चरम दुरुपयोग गर्छौं ।

06 April, 2010

सुन्दर स्त्री, फूल र नयाँ नेपालका जोकरहरु !

चिनमा अध्ययनरत रहँदा, चिनीयाँ दर्शनका एकजना प्राध्यापकले भन्नुभएको एउटा कुरा मलाई बराबर याद आउँछ । दर्शन र साहित्यमा बिम्ब र प्रतिकका कुरा चल्दा उहाँले भन्नु हुन्थ्यो “जुन मानिसले पहिलो पटक कुनै सुन्दर स्त्री लाई फूलसंग तुलना गर्‍यो उ देवदूत हो, जसले दोस्रो पटक आफ्नो रचना वा काव्यमा स्त्री लाइ फेरि फूलसंगै दाँज्छ, उ सामान्य मानिस हो। अनि जसले तेस्रो पटक पनि कुनै नव यौवनलाई गुलाव वा अन्य कुनै फूलजस्तो भएको परिभाषीत गर्छ उ दास हो” ।

कुरा सिधा छ, सुन्दर स्त्री ‘सुन्दर स्त्री’ मात्रै हुन र फूल पनि केवल ‘फूल’ नै हो। प्रतिक, तुलना वा भावमय बिम्बमा जेसुकै भनिएपनि यि दुई बिच हजार भिन्नता छन र आकार, स्वभाव र प्रकृतिका असंख्य भिन्नताका कारण भौतिकलतमा सोच्दा स्त्री र फूलमा कुनै पनि समानता पाईन्न । तर भावप्रधान कुनै कविले स्त्रीको सुन्दरताको वयान गर्न आफूलाई असमर्थ पाएपछि फूलसंग तुलना गर्छ । पहिलो चोटी यो तुलनासंगै उसका सौन्दर्यचेत र सौन्दर्यवोध चुलिन्छन । पाठक पनि काव्यात्मक उत्कर्षमा पुग्दा यो भौतिकतलमा हुनैनसक्ने बेमेल तुलना उलसाइ सजीव लाग्छ, उ यो कल्पनातित परिभाषाबाट रोमाञ्चित र मुग्ध हुन्छ ।

दोस्रो पटक त्यही पाठकले पनि अन्त कतै यस्तै परिभाषा भेटेमा उ रोमाञ्चित हुँदैन, उसका भावनात्मक गहिराईसम्म पुग्नै सक्दैन त्यो बिम्ब, अनि उसको सौन्दर्यचेतलाइ पनि झकझक्याउन असमर्थ हुन्छन त्यही शब्द

14 February, 2010

फूलेको कपाल, लोडसेडिङ र इन्भर्टर !

“मानिसको कपाल नफूल्ने एउटै उपाए भनेको सधैं कपाल खौरेर बस्नु नै हो” भनेर कसैले भन्यो भने तपाइ त्यो मानिसलाई के भन्नुहुन्छ ? । वुद्धिमान कि वुद्धु ?? । हो, मान्छेले सधैं कपाल खौरेपछि उसको टाउकोमा सेतो कपाल देखिन्न पनि, तर तर यो विधिले कसैको कपाल सेतोबाट कालो भने हुँदैं हुँदैन । जबसम्म सेतो कपाललाई कालो बनाउने सार्थक र विधायक उपाए खोजिन्न तबसम्म कपाल खौरेर बस्नु भनेको समस्याबाट भाग्नु बाहेक कुनै तर्क सम्मत बुध्दिमानी होइन ।

प्रसंग नेपालको लोडसेडिङको हो । केही दिन पहिले नेपालका एकजना विद्वान मन्त्रिले माथीको दृष्टान्तमा जस्तै भारीभरकम उपाए निकालेका थीए नेपालको हाल कायम लोडसेडीङ घटाउने वा बढ्न नदिने बारेमा । उनले देशमा भित्रिएका इन्भर्टरले गर्ने बिद्युत खपतका कारण लोड सेडीङको समस्या झन् झन बढेको भन्दै बाहिरबाट इन्भर्टर ल्याउनै रोक लगाउने गज्जबको उपाए सुनाए । सायद आजको दिनसम्म आईपुग्दा, मन्त्रालयबाट यस किसिमको व्यबस्थाको लागि सम्बन्धित भन्सारहरुमा पत्राचार समेत भैसकेको होला इन्भर्टर आयात रोक लगाउन।

त्यसो त, हाम्रोजस्तो फितलो प्रशासन यन्त्र रहेको ठाउँमा यस्ता पत्र, परिपत्र वा आदेशले इन्भर्टरको आयात रोकिदाँ पनि रोकिने छैन (रोक लगाएर भित्राउन गाह्रो भएको नाममा जनताले इन्भर्टर किन्दा पहिला भन्दा अलि बढि मूल्य चुकाउनु पर्ला, त्यत्ती हो), । तैपनि यो लोडसेडीङ घटाउने अचूक उपाएको अबलम्बन गरेर हाम्रा मन्त्रीले नेपाली जनताहरुले उनिहरुलाई जस्तो ठान्छन, उनिहरु वास्तबमै त्यस्तैछन भन्ने कुराको फेरि दह्रो प्रमाण जुटाईदिएका छन ।

10 November, 2009

भारतमै विवादित ‘हिन्दी सपथ’

Slaping केही दिन अघि नेपालका छापाहरुमा हाम्रा वैधानिक वा अवैधानिक उपराष्ट्रपतिका महानवाणीहरु छापिएका थिए । उनले आफ्नो मालिकप्रतिको बफादारीता वर्करार राख्दै अब ठाउँ-ठाउँमा गएर आफ्नो समर्थन जुटाउने आशय व्यक्त गरेका थिए ।

हिन्दी भाषामा सपथ लिएका कारण विवादित र तिरस्कृत समेत बन्न पुगेका निजले, भारतमै ६०% भन्दा बढिले नबुझ्ने र नबोल्ने भाषाको महत्ता र गुणगान दर्शाई रहँदा यता भारतमा भने त्यसको ठिक विपरित घटना घटेको छ ।

घटना हो महाराष्ट्रको । महाराष्ट्र, याने भारतको त्यो राज्य, जुन राज्यबाट बर्षमा सयौंको संख्याका हिन्दी चलचित्रको निर्माण हुन्छ र हामी सामान्य नेपालीहरु प्राय: तीनै चलचित्रका कारणबाट पनि हिन्दी बोल्न र बुझ्न सुरु गर्छौं ।

21 October, 2009

बाँदरको खोजी !

Leader धेरै पहिले भारतीय टेलिभिजनमा एउटा हास्य कार्यक्रम हेरेथें । एकजना कविले सुरुमा निक्कै रंगीन कविता पाठ गरेपछि अन्तमा एउटा मन छुने कविता पाठ गरे।

बाँदर नचाएर गुजारा गर्ने एकजना 'मदारी' पात्रको जीवन र चरित्रलाई कविले आफ्नो कवितामा व्यक्त गरेका थिए । कविताको पुरै अंश मलाई याद रहेन, (नेटमा सामान्य खोजी गर्दा पनि भेटिएन), तर उनको सुरुका दुई लाईन कहिल्यै नभुल्ने गरी मेरो मनमा बस्यो ।

मेरा एक बन्दर जैसा बेटा
और एक बेटा जैसा बन्दर है !

मदारीको एम. ए. पास बेरोजगार छोरा दिनभर बाँदर जस्तो यता-उता गरेर समय बिताउने, तर उसैको बाँदरले दिनभर शहर- बजारमा खेल देखाएर र नाचेर पैसा कमाएर पुरै परिवारको पेट पाल्ने कुरा उनले जादूमय शब्दद्वारा कवितामा उतारेका थिए । स्टेजका दर्शक सब उनको कवितामा स्तब्ध भए भने उनको शब्दले सबैलाई भावुक बनायो ।

कवितामा मदारी पात्रको घरमा, छोरा बेकम्मा बाँदर जस्तो र बाँदर भने जिम्मेवार छोराको रुपमा देखीन्थ्यो ।

केही दिन देखी म पनि यो यो बाँदरको खोजमा लागेको थिएँ -- देश चलाउने बाँदर-- किनकी दलहरुले भनेजस्तै व्यबस्था र संबिधान सभाको चुनाव पछि पनि देश स्थायीत्व, शान्ति र समुन्नतीको दिशामा नगाएर झन् झन् नयाँ नयाँ विवाद, समस्या र आपसी खिचातानीमा बल्झीदैँ गएपछि नेताहरु बाँदर भएकोमा शंका गर्नु पर्ने त कुनै स्थान रहेन । सायद यस्तै बाँदरहरुबाट देशको संबिधान नबन्ने देखेर होला नेपाली जनताले केही समय अगाडि समयमै संविधान बनोस भने र देवी देवतालाई पनि पुकार्नु पर्‍यो

05 September, 2009

अमर आत्मा र जिउँदो लासहरु !

दक्षीण भारतीयहरुको आफ्‍ना नेता र अभिनेताको प्रतिको सम्मान र ‘क्रेज’ को बारेमा धेरै कुराहरु सुनेको थिएँ। करिव तीन बर्ष देखि दक्षीण भारतमै भएर पनि सिनेमा हेर्ने खासै सौख नभएको र राजनीतिमा त झन आफ्नै देशको गाईजात्रे तालका कारण अलिकता पनि चाख नरहेकोले सो कुराहरु बुझ्न कहिल्यै लागीनँ ।

यदा-कदा पत्र-पत्रिका र टेलिभिजनको माध्यमबाट भने यहाँका आम जनताले आफ्ना नेता र अभिनेतामा दर्शाउने अपार श्रद्धा र आस्थाको भने मलाई झलक मिलिनै रहेको थियो । कुनै पनि लोकप्रिय नायक-नायीकाको मन्दिर बन्नु यहाँ सामान्य कुरा नै हुन भने राजनैतीक नेताकोलागि ‘जे पनि गर्न तयार रहने’ यहाँका मानिसहरुको केही झलक भने अघिल्लो चुनावताका मिलेको थियो । ति हाम्रा लागि विल्कुलै नौलो र “अचम्म लाग्ने” घटना समेत हुँदा हुँदै पनि आफ्‍नो देशको घटना नभएका कारण त्यस बारेमा लेख्‍न जाँगर चलेको थिएन ।

तर यस पटक भने मेरो सामान्य सोच भन्दा बाहिरको घटनाहरु घटेकाले यहाँ लेख्दैछु ।

21 August, 2009

के नेपालमा साहित्यको बजार छैन ?

नेपाली साहित्यका माहिर हस्तीहरु वा ‘लेखेर खाने’ कसैसंग पनि मेरो सामान्य चिनजान समेत छैन । तर बेला-बखतमा पत्र-पत्रिका र अन्य माध्यमबाट केही चर्चित साहित्यकार वा लेखेर खाने अनि केही भने ‘खाएर लेख्‍ने’ हरुको पनि सामूहिक गुनासो भने सुन्ने गरेको छु । शब्द वा वाक्यमा केही हेरफेर भएपनि मूल चुरो एउटै हुन्छ “नेपालमा साहित्यको बजार छैन”

म साहित्यकार हैन, तर एकजना पाठकको दृष्टिले हेर्दा मलाई यो कुरा कहील्यै पनि चित्त बुझ्दैन । हुन त, नेपालमा साहित्यको बजार छ वा छैन भन्ने गहनतम बिषय प्रवेश गर्न मेरो सामान्य सुझ-बुझ वा अध्ययन काफी छैन भन्नेकुराको हेक्का मलाई छ तैपनि मेरो सामन्य सोच भने यहाँ राख्दै छु ।

कुरोको चुरोमा पुग्नु पहिले एउटा घटना:

केही साल अगाडि, एकजना साथीको स्कूलमा एउटा जादूगर जादू देखाउन आएको थियो। उसको कार्यक्रम सक्केपछि, साथीले यत्तीकै उसलाई ‘कमाई कति हुन्छ?’ भनेर सोध्दा जादूगरले भनेको थियो “हजुर !, ...आजकल जादू कौन देखता है ...” ।

जादूगर, एफ.एम., टि.भी र विद्युतीय मनोरञ्जनका साधनले गर्दा आफ्नो ‘मार्केट’ घटेकोमा चिन्तित थियो । मलाई पनि लाग्यो, सायद अबका दिनमा यस्ता चटक देखाएर गुजारा गर्न सजिलो छैन ।

तर त्यसको करिब एक महिना पछि काठमाण्डौंमा कुनै एकजना ‘सरकार’ नामधारी जादूगरको आगमन भयो। उनले राजधानीको एउटै हलमा महिनादिन भन्दा पनि बढी समय, दिनको २ शोका दरले जादू देखाए । उनका शोको टिकट साधारण नेपालीको ‘औकात’ भन्दा माथीको थियो । तर यो पनि उनको जादू नै थियो सायद, तिनै साधारण नेपालीको भीडले उनको शो सधैं हाउसफूलका साथ चल्यो ।

16 July, 2009

संविधान बनाउने भगवान, भत्ता खाने सभासद !

अंग्रेजीमा एउटा भनाई छ “Too many chefs spoil the broth” । यसरी धेरैजना जान्ने मिलेर पाकाईएको सुप त कस्तो हुन्छ थाहा भएन, तर यस्तै माहिर-माहिर जान्नेहरु मीलेर हाम्रो देशको संविधान बनाउन लागीएको छ भन्ने खबरसम्म भने पाएको हुँ । यहाँनेर खबर-सम्म-पाएको कुरामा जोड दिनु पर्ने कारण भने संविधान सभाको चुनाव पछि यो सभा संविधान बनाउन भन्दा सरकार बनाउने र बिगार्ने कार्यमा बढि प्रयोग भएकोले नै हो ।

दुई वर्षभित्र बनाइने भनिएको नयाँ संविधानको कार्यतालिका एक वर्षमै पाँचौं पटक पर सरेको समाचार पढिरहँदा मलाई बारम्बार माथीको अंग्रेजी भनाई याद आईरहेको छ । बेहोस आशाबादको कुरा नगर्ने हो भने, अब यो ‘दुई बर्ष’ को बाँकी रहेको केहि महिनामा संविधान बन्ने कुरा गाह्रो मात्रै हैन असम्भव नै छ ।

जव, संविधान निर्माणकोलागि बनाईएका ११ समितिहरुमा आधाले पनि आफ्नो बिषयमा छलफल समेत सकेका छैनन भने अब आउने केहि महिनामा ‘संविधान बन्छ’ भन्नु माओवादीका चमत्कारका कुरा जस्तै मात्रै हुन । मतलब, एकै वाक्यमा कुरा सक्दा यो दुईबर्षे म्याद भित्र कुनै चमत्कार घटेनन् भने ‘नयाँ नेपाल’को संविधान नबन्ने र हामीहरु यो अलौकिक नयाँ नेपालमा प्रवेश गरी सकेर पनि उही पुरानो नेपालको संविधानमै भर पर्नु पर्ने निश्‍चित छ।

11 June, 2009

तेन त्यक्तेन भुञ्जीथा !

ओशोको कुनै किताबमा पढेको एउटा वाक्यले मलाई सधैं झकझ्कयाई रहन्छ । ओशोले कुनै प्रवचनको क्रममा भन्नु भएको छ कि: मानिसमा कुनै पनि स्थान, वातावरण वा परिस्थितिसंग अनुकूल भएर बस्ने गज्जबको शक्ति र लचकता हुन्छ । नर्कमा पनि मानिसलाई २-४ दिन मात्रै पीडा हु्न्छ … केहि दिन पछि त मानिसलाई त्यो वातावरणमा पनि बानी पर्छ र त्यसमै समन्वय गरेर बस्न समर्थ हुन्छ ।

पहिलो पटक यो वाक्यहरु पढ्दा म हाँसेको थिएँ। तर, विस्तारै परिस्थिति र जिवनका आरोह-अबरोहसंग ढल्दै जाँदा मलाई अनूभव भयो, यो कुनै ठट्टा थिएन। मलाई यस वाक्यको व्यावहारिक यथार्थको जानकारी हुँदै गए पछि मैले यो वाक्यमा झनै सत्यता देखें र कोटेशन बनाएर भित्तैमा टाँसेर राखें ।

केहि दिन यता यो वाक्यले फेरी मेरो पहिलो हसाँईलाई गलत सावित गर्दै मलाई खिज्याईरहेको जस्तो महशुस भैरहेको छ ।

हुनत ओशो जस्तै, म पनि नर्कको भौगोलीक अस्तित्वलाई कहिल्यै मान्दिन, तर जिन्दगीका सबै आयामहरुलाई केलाएर हेर्दा धेरै चोटी नर्कको झलक भने समाजमा बस्ने सबैलाई मिलेकै हुनुपर्छ । नर्क मतलब, पिडा, नर्क मतलब अभाव, नर्क मतलव विछोड, नर्क माने रोग र असुरक्षा वा समग्रमा नर्क मतलव प्रतिकूल अबस्था ।

23 May, 2009

तानसेन, हरिदास र ब्लगरहरु

मलाई प्राय: साथीहरु सोध्ने गर्छन; “ब्लग किन लेखीन्छ ?”, अनी म पनि सायद भिन्न भिन्न प्रश्‍नकर्ताहरुलाई मौका, स्थिति र प्रश्‍नकर्ता र आफू बिचको सम्बन्धको आधारमा फरक-फरक जबाफ दिन्छु होला, किनकि यस्को कुनै निश्चित र बनिबनाउ जबाफ मसंगै पनि छैन । कहिलेकाहि आफैं सोच्छु साँच्चै ब्लग किन लेखिन्छ त !। हिजो फेरी एकजना सहकर्मीले यहि प्रश्न गरे, ‘पत्रकारहरु पत्रिकाको लागि लेख्छन, तर ब्लगरहरु केका लागि लेख्छन ?”

हुन पनि हो, न त हामी पत्रकार, न साहित्यकार नै, तैपनि हामीहरु निरन्तर लेखीरहेका छौं। कसैले पढेपनि लेख्छौं, कसैले नपढेपनि लेख्छौं । यो नशा हो, तर नशा भन्दा बाहेक पनि अरु केहि छ। सोच्दा सोच्दै मलाई अचानक ओशोको कुनै किताबमा पढेको एउटा रोचक ऐतिहासिक घटना याद आयो :

तानसेन, बादशाह अकबरको दरबारमा संगीत सुनाउँथे। उनी अकबरका ‘नव रत्न’ हरु मध्यका एक थिए र ऐतिहासिक संगीत सम्राटको रुपमा हालसम्म पनि उनको प्रसिद्धिमा कमि आएको छैन।

अकबर आफैं पनि संगीतको गहिरो पहिचान भएका व्यक्तिको रुपमा गनिन्थे र उनी तानसेनका ठूला प्रशंसक थिए । उनी सधैं खुल्ला दिलले तानसेनलाई ‘संगीतको जादूगर’ र ‘दुनियाँको सर्बश्रेष्ट संगितकार’ को रुपमा प्रशंसा गर्थे । तानसेन भने सधैं भन्ने गर्थे “म त मेरो गुरुको चरणको धूलो बराबर पनि छैन … ” हरेक पटक आफ्नो प्रिय संगीतकारबाट यस्तै बचन सुनेपछि अकबरलाई तानसेनको गुरुको संगीत सुन्ने तिव्र ईच्छा पैदा भयो र उनले तानसेनलाई आफ्नो गुरुलाई ससम्मान दरबारमा बोलाउने आग्रह गरे ।

23 April, 2009

कटुवाल, नेता र बाँदरको कथा

“A long dispute means that both parties are wrong” -Voltaire

साधारणतया कुनै झगडा वा बिबाद भयो भने, कुनै एक पक्षलाई सहि र अर्को पक्षलाई गलत मानिन्छ। सिद्धांतगत रुपमा हेर्दा यो ठिक देखिए पनि व्यबहारमा भने यो गलत पनि हुन सक्छ । कमसेकम मैले भने धेरै पटक यस्तो अनुभव गरेको छु ।

सन्दर्भ प्रधान सेनापति रुक्माङ्गत कटुवाललाई सरकारले मागेको स्पष्टीकरण र त्यसपछिको राजनैतीक सरगर्मिको हो । अब यो बिबाद हटाउन खोज्ने र हटाउन लागीएको व्यक्तिमा मात्र सिमित रहेन, हुत्तिहारा नेतृत्व, नालायक नेता, र  ससमर्थन र बिरोधमा बुझ्दै नबुझी हामफालि हाल्ने भिडको मानसिकताका कारण यो बिबाद अब देशको सिमारेखा समेत नाघेर विदेशिको पोल्टामा पुगी सकेको छ ।

यहाँ, म कटुवालको पक्षमा उनको बहाली कायमै रहनु पर्छ भनेर हैन, सरकारको पक्षमा कटुवलाई हटाउनै पर्छ भनेर पनि होईन, केवल एकजना साधारण नेपाली भएको नाताले लेख्दैछु । कानूनका जानकार नभएको नाताले यो प्रकरणको कानूनि जटिलता र यथार्थ नबुझी, कुनै भातमारा नेताले के भन्यो वा ५ रुपैयाको पत्रिकाले के लेख्यो भनेर त्यसको बिरोध वा समर्थनमा उत्रनु पक्कै पनि ठीक होईन र मैले यहाँ उठाउन खोजेको मुख्य मुद्दा पनि त्यो होईन ।

08 January, 2009

अब क्यालेण्डरको पनि क्रमभंग !

जकल मलाई हामी नेपालीहरु राजनैतीक रुपमा मात्रै हैन, धार्मिक, सांस्कृतिक वा वौद्धिकरुपले पनि चाहिने भन्दा बढि ज्ञानी, बढि जानकार र बढि विज्ञ भएको जस्तो लाग्न थालेको छ । अनी त्यहि जानकारै जानकार मिलेर देश चलाउन लागेकाले देश पनि “Too many chefs spoil the broth” भने जस्तै सबैको आ-आफ्नै अद्वितिय सोच लादने चाहनाका कारण ‘ऊँट’ बन्ने बाटोमा छ ।

पशुपतिलाई समेत गणतान्त्रीक बनाउन खोज्ने महा अभियान करिव करिव असफल हुन लागेको समाचार संगै, यो हप्ता फेरी अर्को यौटा युगान्तकारी परिवर्तनको लागी मन्त्री परिषदले स्वीकृति दिएको समाचार पनि छापामा छाएका छन ।

कुरा हो ऋतुसँग तालमेल मिलाउन अर्को बर्षलाई ११ महिने गर्न लागीएको बारे । हुन त म खगोल विज्ञान, पञ्चाङ्ग वा ज्योतिष विद्याको जानकार होईन, तैपनि यस बिषयमा ‘ले-म्यान’को धारणा भने राख्दैछु ।

कुरा अब शोध, अध्ययन वा छलफलको रहेन, ज्ञाताहरुले आफ्ना ज्ञानका भारी बिसाईसके र स्विकृतिकर्ताहरुले पनि लालमोहर लगाईसके, अब जनता जनार्दनले केवल आदेश पालना मात्रै गर्न बाँकि छ । तपाईहरु कसैले यदि थाहा पाउनु भएको छैन भने सुन्नुहोस २०६६ सालमा जम्मा ११ महिना मात्रै हुनेछ अनी २०६६ सालको चैत्रलाई रद्द गरेर त्यसलाई २०६७ को बैशाख बनाईएको छ।

यो अत्यन्त जरुरी र अहिल्यै नगरी नहुने अत्यावश्यक महत्वको बिषय भएकोले यसबारेमा न कुनै बहस गराईयो, न कसैको मत बुझियो, न कसैलाई आफनो कुरा राख्ने मौका नै दिईयो, बस ‘चट सुझाव पट स्वीकृति’ ।

29 November, 2008

मुम्बई आक्रमण,

अमिताभ बच्चनको रिवाल्वर र चुनाव प्रचार ।

भारतको आर्थिक नगरी मुम्बईमा यो हप्ता गम्भिर आतंककारी हमला भयो ।भारतको ईतिहासमै यो भन्दा खतरनाक आक्रमण कहिल्यै भएको थिएन, जुन हमलाको क्षतिको लेखा-जोखा मात्रै राख्‍न पनि अझै केहिदिनहरु लाग्न सक्नेछन।
कुनै यौटा सीङगै शत्रु देश भन्दा देश भित्र घुसेका केहि आतंककारी झन खतरनाक हुन सक्छन भन्ने कुराको एकदमै दु:खद तरिकाले प्रमाण मिल्यो भारतलाई यो हमलाले ।
मैले यो पोष्ट लेख्दाको समयमा यो आतंकमाथि करिव करिव नियन्त्रण कायम भैसकेको छ तर यसले ल्याएको क्षति पुर्ती गर्न भने भारतलाई लामो समय लाग्न सक्ने छ। कमाण्डो, पुलिस र सुरक्षा नीकायका अनी आम नागरिक गरी करिव १५० को मृत्यु, सैयौं घाईते र करोडौंको क्षति मात्रै हैन संसारकै नजरमा निरिह बनेको भारतिय खुफीया निकायको छविलाई उठाउन पनि भारतलाई निक्कै समय लाग्ने छ ।
त्यसो त आतंककारीहरुले प्राय: सूचना दिएर हमला गर्दैनन् तर यौटा होटेल भित्र ३ दिन सम्म पडकाउँदा पनि नसक्कीने हतियार र बन्दोबस्तको सामान विदेशबाट दर्जनौं हतियारधारिहरु पुग्दा पनि सुरक्षा निकायलाई त्यसको भनक पनि नहुनुलाई भने भारतका धेरै बुद्दीजिवि, पत्रकार र व्यापारिहरुले पनि नकारात्मक दृष्टिले हेरेका छन । विशेष गरि भारतजस्तो आतंककारीको निशानामा रहेको र समय समयमा साना-ठुला घटनाहरु घटिरहने देशका सुरक्षा निकायहरु यस बिषयमा चनाखो नहुनुलाई केहि प्रसिध्द पत्रकारहरुले त खुलेरै बिरोध पनि गरे ।

11 November, 2008

काग! काग! –- शुभ बोल! शुभ बोल!

'तोकीएको मितिमा चुनाव नगरे दूर्घटना हुने', 'हाम्रो माग पुरा नगरे दूर्घटना हुने', 'राजा राखे दूर्घटना हुने', 'राजा नफाले दूर्घटना हुने' यि सबै हाम्रा महान नेताहरुको मुखारविन्दवाट निक्लने भविश्यवाणिहरु हुन । नीति, राजनैतिक सोच वा वैचारिक मतभेद रहे पनि यौटा कुरामा भने हाम्रा सबै दलका नेताहरुको समानता छ।  त्यो हो: समय समयमा यस्तै प्रकारका दूर्घटना- मूलक- भविश्यवाणी गर्ने ।

बोलीदिए पुग्ने, जिम्मेबारि लिनु नपर्ने सुबिधा भएको र खाली हल्लामै रमाउने परिपाटि बसेकोले एक पटक त कुरा यत्ति सम्म पुग्यो की एक्कै पटक पूर्ण विपरित र अति भिन्न भविश्यवाणी पनि आए । यो कुनै मनगढन्ते कुरा होईन। संबिधान सभा चुनाव अगाडिका हाम्रा विभिन्न दलका नेताका उदघोषहरु हुन, त्यतिबेला फरक-फरक दल र ति दलका नेता मध्य  कसैले 'संबिधान सभाको चुनाव भए दूर्घटना हुने', त कसैले  'संबिधान सभाको चुनाव नभएमा दूर्घटना हुने' , अनी कुनै दलले 'संबिधान सभा चुनावको मिति सारे दूर्घटना हुने’ त कुनै दलले भने 'संबिधान सभाको चुनाव नसारे दूर्घटना हुने' सम्मका वक्तव्य दिए ।

स्मरण रहोस करिव १ बर्ष अघि नेपालमा नेपालमा एकजना त्रिशुल वावा नामधारिले पनि यस्तै खाले भयानक दूर्घटना हुने भविश्‍यवाणि गरेका थिए । र हालै आएर हाम्रा बयोबृद्ध नेता गिरिजा कोईरालाले पनि यस्तै दूर्घटनाको भविश्‍यवाणी गरेका छन :- "समयमा संबीधान नबने दूर्घटना" । अनि त्यस बीचमा 'सेना समायोजन गरे दूर्घटना' देखी लिएर 'सेना समायोजन नगरे दूर्घटना' जस्ता अन्य कैयौ दूर्घटनाका भविश्‍यवाणी भैसकेका छन । म कहिले काहि सोच्ने गर्छु किन हाम्रा नेताहरु खाली दूर्घटनाका मात्रै भविश्‍यवाणी गर्छन?, 'सु-घटनका' भविश्‍यवाणी किन कोहि पनि गर्दैनन?, लाग्छ ति भविश्‍यवक्ताहरु स्वयं आफ्ना भविश्‍यवाणी सहि साबित गर्न दिलो ज्यानले लाग्छन अनि देसमा दूर्घटना नभएकोमा भन्दा आफ्नो भविश्‍यवाणी गलत साबित भएकोमा दु:ख मान्छन् ।

19 August, 2008

मन्त्री ‘खाने’ नेता र मन्त्रालय बाँडफाँड।

शाहि शासनकालमा एकजना खुक्खार कांग्रेसी भनेर चिनिएका अनि बि. पि. कोईरालाकै परिबारका सदश्य समेत रेहेका व्यक्ति सरकारमा सामेल भएका थिए । सोहि बिषयमा कुराकानि हुंदा मेरो क्षेत्रका एकजना नेताले भनेका थिए “मन्त्री खान पाए कसले छाड्छ?”

समय र परिस्थिति केहि परिवर्तन भए पनि मलाई लाग्छ हाम्रा नेताहरुको सोच र मानसिकतामा अझै कुनै फरक आएको छैन । हाम्रा नेताहरुको नजरमा मन्त्री भनेको अहिले पनि कुनै यौटा पदिय दाईत्व भएको र कार्यभार बहन गरि जिम्मेबारि लिनु पर्ने ओहदा होईन ‘खाने’ कुरा हो ।

त्यसैले त करिव एक हप्ता देखी दैनिक, साप्ताहिक र अनलाईन खबरमा यो मन्त्रालय बाँड-फाँडको बिषय ‘हट केक’ बनेको छ। पत्र पत्रीकाहरुमा कहिले मन्त्रालय बाँड्न बैठक, कहिले मन्त्रालय बाँडफाँटमा छलफल हुँदै, कुनै पत्रिकामा मन्त्रालय बाँडफाँट मिलेन त कुनै खबरमा मन्त्रालय नपाए दल बाहिरिने आदि समाचारहरु आईरहेका छन। अझ धम्कि र घुर्किले भरिएका फलानो दलले फलानो मन्त्रालय नपाए सरकारमा नजाने फलानो दललाई फलानो मन्त्रालय नदिए बाँडफाँड भाडँने जस्ता खबरहरु पनि पढन र सुन्नमा आएको छ

यि खबरहरु पढदा र सुन्दा यस्तो लाग्छ, मानौं नेपालका मन्त्रालयहरु कसैको सम्पति थियो र अब यसको बास्तबिक हकवाला वा अपुताली खानेहरु स्वयं उपस्थित भएका कारण यसको अंशबण्डा हुदैंछ । अनि अंशबण्डामा हुने नियमित खिचलो र मनमुटाब यहाँ पनि प्रदर्शन भैरहेको छ ।

08 August, 2008

अपराध गर्नु र सहनु दुबै गलत हो।

लाई लाग्छ, हाम्रा नेताहरुको मात्रै हैन हामी नेपाली जनताको स्मरण शक्ति पनि कमजोर छ र हामिहरु कुनै पनि कुरा छिट्टै बिर्सन ‘माहिर’ छौं।

एउटा समुन्द्रको छाल सरी हाम्रो मनमा भावहरु उठछन, चारैतिर फैलिन्छन अनि किनारा लागेपछि फेरि त्यो जोश, जाँगर र हाम्रो देशभक्ति समेत बिलाउँछ ।

‍प्रसंग फेरी चरेषानन्द कै, केहि समय अगाडि निजले बिदेशी भाषामा सपथ लिएर श्‍वदेसको सम्मानित पदमा आसिन हुने दुस्साहस गरे। नेपालमा मात्रै होईन संसारभरि छरिएर रहेका नेपालिहरु भएको स्थानको राजनैतीक तापक्रम एक्कैचोटि ह्वात्त बढ्यो । पत्र-पत्रीका, वेबपेज, ब्लगहरु सबै तिनका बिरोधले भरीए, टाएर जलाईयो, बन्दको आह्वान गरियो र राष्ट्रियताको लहर सर्बत्र फैलीयो । यि सबका बाबजुद न त ती ‘ठीस’ले गल्ती स्विकारे, न माफी मागे, न त तिनलाई राष्ट्र भाषा र मातृभाषाको अपमान गरेकोमा कुनै लज्जा नै महशुस भयो ।

बिरोधमा जारि आन्दोलनलाई अन्य दलका स्वामिभक्तहरुले बिभिन्न तर्क र बहानमा मत्थर पारे । संसारभरिका नेपालिहरु पून एक्कैचोटि शान्ति मार्गमा हिडें। बन्द- हडताल, बिरोध- चक्काजाम सबै बन्द भयो । जे होस अदालतमा मुद्दा बिचाराधिन रहेकोले सबैको ध्यान त्यतै तर्फ गयो।