“Politics is supposed to be the second oldest profession. I have come to realize that it bears a very close resemblance to the first.”: Ronald Reagan
“राजनीति दोस्रो सबैभन्दा पुरानो पेशा मानिन्छ । मलाई अनुभव भएको छ कि यसको पहिलो पेशासँग एकदमै नजिकको समानता छ” : रोनाल्ड रेगन
नेपाल एउटा यस्तो देश हो जहाँ बितेका ५ वर्षको समयमा राजनीति परिवर्तन भयो, संविधान फेरिए अनि अन्तरिम संविधानमै समेत अनगिन्ती पटक संशोधन थप-घट र हेरफेर भए । नामैले ‘अन्तरिम’ रहेको संविधान, जुन केवल निश्चित र सीमित समयको लागि बनेका छन् त्यसलाई बारम्बार संशोधन गरियो । यतिसम्म कि जनताले दुई वर्षको लागि दिएको जनादेशलाई समेत ‘जनताद्वारा छानिएकाले’ आफ्नै बपौती भएको ठहर गरेर तीन वर्षे बनाए । तर आफैँले तोकेको दुई वर्षे समयमा के गर्नु पर्थ्यो र के के गरेर सो समय दुरुपयोग गरियो भन्ने कुराको जिम्मेवारी कसैले पनि लिएनन् ।
कुरालाई प्रस्ट राख्ने हो भने, न त तोकिएको समयमा संविधान बन्यो, र यस्तै ताल हो भने न थपिएको समयमै बन्ने छ । माधव कुमार नेपालले राजीनामा दिएर कामचलाउ सरकारको विश्व रेकर्ड पार गरी ३२ औं दिनमा ‘काम चलाई रहँदा’ पनि देशमा बलियो हैन, वैधानिक सरकार बन्ने स्थितिको झल्को समेत देखिएको छैन् ।