24 March, 2010

संस्कृति प्रेम

लोकगीत प्रतियोगिताको समापन समारोहमा गएर मन्त्रीज्यूले निकै सान्दर्भिक र सागर्भित भाषण दिए : “संस्कृति नै हाम्रो पहिचान हो...हाम्रो संस्कृति रहेसम्म मात्रै हामी रहन्छौं, संस्कृति नै रहेन भने हाम्रो अस्तित्व नै रहँदैन । त्यसैले हामीले हाम्रो संस्कृतिको सम्मान र संरक्षण गर्नु पर्छ ..., ...”

तालीको गडगडाहटद्वारा मन्त्रीज्यूको भाषणको स्वागत गरीयो । गन्यमान्य व्यक्ति र अन्य विद्वान वक्ताले उहाँको संस्कृति प्रेमको उच्च मूल्याकंन गरे । आफ्नो भाषा र संस्कृतिप्रति मन्त्रीज्यूको सदभाव र झुकाव देखेर उपस्थीत जनसमुदाय गद्गद् भयो ।

कार्यक्रम समापनपश्चात् मन्त्रीज्यू हतार हतार आफ्नो चिल्लो आरामदायी गाडीमा पसे । गाडीका ढोकाहरु ढाकढुक बन्द भए । मन्त्रीज्यूलाई बिदाइ गर्न आउनेहरु गाडी बाहिरबाटै हात जोडेर अभिवादन गर्दै थिए ।

गाडीभित्रको रेडीयोमा मधुरो स्वरमा यौटा पुरानो नेपाली गीत बजिरहेको थियो । चालकले गाडी स्टार्ट गर्नै लागेको थिए, मन्त्रीज्यूको आवाज आयो : “ खै, रामबहादुर, पहिले त्यो गीत बन्द गर त ...!...यहाँपनि दुई घण्टासम्म पट्यार लाग्ने लोकगीत सुन्दा-सुन्दा दिक्क लागेको छ ... बरु एफ. एम. लगाऊन, त्यहाँ नयाँ-नयाँ हिन्दी र अंग्रेजी गीतहरु बज्दै होलान ।”

(साप्ताहिक—२१-१०-२०५७)

12 comments:

  1. फेरि जोडदार गयो है कथा ।सुन्दैमा के होला त भन्ने सोच पनि आउन सक्छ । जान्नु र बुझ्नु त सबै कुरा राम्रो भन्ने कुरा नि ।तर संस्कृति प्रतिनै बेवास्ता गर्ने परिपाटी भने छ है तपाईंकै कथा जस्तो ।

    ReplyDelete
  2. कुरा एकदमै सहि हो ! हामी प्राय: यसै गर्छौँ । :P

    ReplyDelete
  3. दमदार लाग्यो लेखाई दाजू । यो तितो यथार्थ हो । हात्तीको देखाउने दाँत अर्कै र चपाउने दाँत अर्कै भनेजस्तो ।

    ReplyDelete
  4. सत प्रतिशत सहमति ।

    ReplyDelete
  5. (ढोका बन्द गरेर चाहिं आदि इत्यादि सुन्न हुने आशय पो थियो कि मन्त्रीज्यूको ?) प्रतियोगितामै गएर सुनिसकेपछि फेरि कति सुनिरहनु त दिनभरि ? बरु भोलि के गर्छन, त्यो चाहिं लेख्नुहोला है |

    ReplyDelete
  6. यस्तै छ हाम्रो संस्कृति प्रेम...

    ReplyDelete
  7. हो त। हामी आडम्बरमा जीवन बाच्छौ। सधै सधै यस्तै छ। मलाई एउटा धटनाको याद आयो। युद्द चलिरहेको थियो नेपालमा। मेरो क्षेत्रका एकजना नेतालाई माओवादीहरुले बेस्करी कुटे र मर्‍यो भनिकन बासधारीमा फालेर हिडे... पछि अस्पताल काठ्मान्डू पुर्‍याईयो। मेरो ब्यत्तीगत चिनजानका मान्छे भएकाले फलफूल बोकेर बीर अस्पताल पुगे। म सगं राम्रै बोले उनी र वेटमा बसेरै कुरा गरे। निकै सन्चो भईसके छ भन्ने लागिरहेको थियो।
    लौ लौ सान्ती मन्त्री आउदै हुनु हुन्छ तपाईलाई भेट्न भनेर एक जना उनका चम्चेले के भनेका थिए।। नेता ज्यू त बेडमा पल्टेर, मुख छोपेर ऐया र आथ्था गरेर , हूहू.. हूहू... गर्न पो थाले त। हत्तेरीका त्यो १०० रुपैयाको फलफूल पनि फिर्ता लैजाउ जस्तो भएको थियो।।। तपाईको कथा सग यो धटनाको मुल मर्म ठ्याक्कै मिलेको ले निकै रमाईलो र चित्त बुझ्यो मेरो...

    ReplyDelete
  8. एउटा पण्डितले सप्ताहमा माछा माछु खान हुन्न,यि शरिरलाइ फाइदा गर्दैनन,यि अशुद्द हुन यस्तै यस्तै भनेछन।
    घर फर्केपछी ' ल बुढी आज माछाको तराकरी पका त ' भनेछन। बुढी पनि के कम,भनिहालिछन,'अघी माछा मासु खान हुन्न भन्ने अहिले माछा खान्छु भन्ने?'। पण्डित पनि के कम,तुरन्त भनिहाले 'किताबको माछा पो
    खान हुन्न,खोलाको माछा त खान के भो रे?'
    अब के कुरा गराइ भो र कसो?
    दुर्जेय जी त्यो फलफुल त फिर्तै लानुपर्नेरहेछ।

    ReplyDelete
  9. रमेशमोहन अधिकारी27/3/10 7:34 PM

    राम्रो लघुकथा ! हाम्रा सामु यस्ता पर्याप्त विडम्बनाहरू छन् ,तिनलाई यसै गरी उदङ्ग्याउनुपर्छ ।

    ReplyDelete
  10. अपरम्पार ओठे लीला र थोत्रो व्यावहारिक जीवनले यहाँ पनि मज्जाले काम गरेछ ।

    आफ्नो ताल पुरानै हिसाबमा हुने, तर बोल्न र केही लोलोपोतो पेस गर्न किन बाँकी राखौँ भन्ने नवउदारवादी सोचको नतिजा होला यो चाहिँ । संस्कृति होस् या विकृति, पर्‍या बेलामा तिनले सबैमा वाणी दिन्छन् । नीतिनिर्माताको हकमा अझ निकै नजिक लाग्यो यो अवस्था ।

    धेरैपछि कथा पढ्न पाइयो दाइ ।

    ReplyDelete
  11. हामी पनी यस्तै भनिन्छ होला "बरु एफ. एम. लगाऊन, त्यहाँ नयाँ-नयाँ हिन्दी र अंग्रेजी गीतहरु बज्दै होलान ।” -यथार्थ रहेको छ दिलीप जी !

    ReplyDelete
  12. यथार्थको सटीक चित्रण!

    ReplyDelete