05 February, 2010

मैले नपढेको किताब

“यो संसार अनौठो छ”, “हाम्रो दुनियाँ आश्चर्यपूर्ण छ” यस्ता वाक्याशंहरु मैले सानैदेखि सुन्दै आएको हो । तर के कति कारणले यो संसार अनौठो छ भन्ने चाही मैले त्यो दिन मात्रै थाहा पाएँ जुन दिन अघिल्लो दिन मात्रै किनेर ल्याएको मेरो एउटा किताब कोठैबाट गाएब भयो ।

अघिल्लो दिन मात्रै लेराएको किताब गाएब हुनुलाई मैले लरतरो हिसाबले लिइँन र धूँईपत्ताल खोजी सुरु गरें । टेबुलमा, घर्रामा र अन्य सम्भाव्य स्थानमा पुस्तक नभेटेपछि मनमा शंका उठ्यो ‘कतै चोरी त भएन ...!’। तर हैन.. टेबुलमा रहेको टेलीभिजन, पर्सको पैसा र अन्य केही ‘टार्गेटेट आइटम’ जहाँका त्यहि थिए । समाजमा व्यवसायीक रुपमा किताब मात्रै चोर्ने चोर कुनै पनि छन भने भिन्दै कुरा, नत्र यो चोरको काम हुँदै होईन भन्नेमा पुगें म ।

चोरीएको हैन भने कहाँ गयो त? । म पून: आफ्नै घरको ‘गुगल सर्च’ मा लागें, घरका सबै दराज, पलंङका अन्तरकुन्तर र फ्रिज अनि पुरान कसौँडी र प्रेसरकुकर समेत खोलेर हेर्दा पनि किताब नभेटेपछि यसलाई एउटा आश्चर्यको रुपमा लिनु बाहेकको हर्को बिकल्प बचेन पनि ।

किताब मंहगो थिएन, तर मलाई एकदमै मनपर्ने लेखकद्वारा लेखिएको थियो, त्यसैले सय रुपैयाको एउटा किताबका कारण मेरो तीन दिनको निन्द्रा र चार दिनको भोक हरायो ।

पाँचौ दिन बिहान उठने बित्तीकै कसैले मेरो ढोका ढकढक्याएको सुनें, ढोका खोलेर हेर्दा एकजना परिचित मित्र ढोकामा उभिएका थिए। उनले भित्र छिर्दा छिर्दै भने “...सरी है! ... म शुक्रवार तिम्रोमा आएको थिएँ, तिमी रहेनछौ तर तिम्रो टेबुलमा ‘यो किताब’ देखेँ...” उसले अगाडि के के भन्यो मैले राम्ररी बुझीन... मेरो भोक निन्द्रा हरण गर्ने ‘त्यो किताब’ उस्ले टेबुलमा फ्याट्ट राख्ने बेलासम्ममा मैले करिब करिब उ मेरो साथी हो भन्ने समेत बिर्सन लागीसकेको थिएँ । कमसेकम किताब लगेपछि एकचोटी फोन गरेर ‘तिम्रो किताब मसंग छ है !’ मात्रै भनेक भएपनि त मैले पागलपन सवार भएजस्तो गरी घरका भाँडाकुँडा समेत खोतलेर खोज्नु त पर्दैन थियो नि ।

“तर साथी, यो किताब साँच्चै पठनीय र रोचक रहेछ ...” उ म तर्फ हेरेर --मेरो मनको भाव देखी अन्जान -- मुसुक्क मुस्कुरायो । “...साँच्चै तिमीलाई कस्तो लाग्यो यो किताब?, तिमीले त पढिसक्यौ होला नि ...” । उसको मुस्कानसंगै मेरो रिस सेलाईसकेको थियो र म बिचारशुन्य यन्त्रवत उसलाई हेर्दै थीएँ ।

जे होस किताब भेटिएकोमा खुशी नै लाग्यो । मेरो मित्र एकैछिनको भला कुसारी पछि किताब मलाई फिर्ता गरेर फर्क्यो । उ फर्केको केही मिनेटमा नै फेरि ढोका ढकढक्याएको आबाजसंगै मेरो अर्को साथीको प्रवेश भयो ।“ ... ओहो !, तिमीसंग ‘यो किताब’ छ...?” कोठामा प्रवेश गर्ने बित्तीकै अभिवादन वा भलाकुसारीका दुई शब्द पनि नबोली उसले किताबतर्फ इशारा गर्‍यो, मानौं मेरो टेबुलमा किताब हैन हजार वाटको बत्ती छ ।

“..हेरन, मैले यो किताब खोजेको तीन महिना भयो..., “ उस्को कुरा मलाई किताब माग्न बनाईएको भूमिका हो भन्ने जान्न गाह्रो भएन । तर आफैले नपढेको आफ्नो किताब अरु कसैलाई दिने मुडमा नभएकोले उसले ‘यो किताब मलाई देउन’ भन्नुभन्दा पहिलै मैले बोलीहालेँ “हेर...यो किताब मैले नै पढ्न भ्याएको छैन..” “ठिकै छ नि, तिमी पछि हेरन, पहिला म पढ्छु...” उसले अप्रत्यासित उत्तर दिँदै भन्यो “...तिमी साह्रै ढिला पढ्छौ...तिमीलाई यो किताब पढि सक्काउन २ हप्ता लाग्छ.... बरु मलाई दियौ भने म ३ दिन मै पढेर फिर्ता गरिदिन्छु ...” । उसले कुराकानी यसरी बढायो, मानौ, उ मेरो हैन, म उसको किताब माग्दै छु । तर जे भएपनि आफुले किताब नपढि अरुलाई नदिने निर्णयलाई कार्यरुप दिँदै मैले उसलाई एक हप्ता पछी आउन भनें । म मनमनै सोच्दै थिएँ, साथी हिँड्ने बित्तीकै म त्यो किताब पढ्न सुरु गर्छु ।

साथी फर्क्यो, तर किताब हातमा आएपछि किताब हराउँदा आएको जस्तो पढ्ने ज्वारभाटा र जोश पनि शान्त भैसकेको थियो। मानिसको स्वभावै यस्तै त हो नि, नपाउन्जेल तिर्सना, पाएपछि बिर्सना भने जस्तै एक हप्तासम्म किताब मेरो टेबुलमै रह्‍यो भने आलस्यलाई समयाभावको नाम दिएर मैले भने किताबको एक पन्ना पनि पल्टाइँन । मैले साथीलाई दिएको एक हप्ते समयमा एक पन्ना पनि नपल्टाए पनि मेरो साथी भने एकहप्ता पुगेकै दिन ठिक समयमै मकहाँ आइपुग्यो । “ कस्तो रहेछ त किताब ...? ” , “हेरेको छैन...” मेरो उत्तरलाई बीचमै काटेर उस्ले सोध्यो “के रे..., हेरेकै छैन रे..?, बरु अस्ती नै मलाई दिएको भए म नै हेर्थेँ नि..” । “हैन... मेरो मतलब हेरी सकेको छैन...” मैले झूठको सहारा लिँदै आफूलाई सच्याएँ । “मैले पहिलै भनेको हो नि तिमीले यही गतिमा पढ्न थाल्यौ भने यो किताब सक्न ३ महिना लाग्छ... खै देउ, बरु म ३ दिनमै सक्काएर फिर्ता दिन्छु “ । यसपाला मैले पनि केही नभनी किताब उसको हातमा थमाईदिएँ ।

मेरो मित्र कुरा धेरै गर्ने भए पनि समयको मामलामा एकदमै विश्वासीलो थियो । उसले चौथों दिन बिहानै किताब फिर्ता गर्‍यो । “..साँच्चै नै ज्यादै राम्रो किताब रहेछ है...” “अँ ... हो...” अचानक मेरो मुखबाट निस्क्यो । “हैन तिमीले त पुरै पढी सकेका छैनौ हैन र ..” मित्र फेरि आफ्नो स्वभाव अनुसार धाराप्रवाह बोल्न थाल्यो “...पहिलो खण्डमा त ... मात्रै छ। दोस्रोमा ..., तेस्रोसम्म पुग्दा .....” । मैले याद गरीन उसले कति बेर बोल्यो, तर किताबको सम्पूर्ण बखान सक्काएर मात्रै उसले सास फेर्‍यो।

मेरो मित्र मलाइ किताबको पुरै आख्यान सुनाएर फर्कने बित्तिकै अर्का एकजना सहकर्मी मेरो कोठामा छिरे । “तिमीसंग ‘त्यो किताब’ छ रे हैन?” सहकर्मीको प्रश्नको उत्तर नै नदिई किताब नै उसलाई थमाएँ मैले।

केही दिन पछि ति सहकर्मीले पनि किताब फर्काए र किताब फर्काउन आउँदा किताबका बारेमा चर्चा गर्दै आफ्नो धारणा पनि सुनाए। समय यसरी बित्दै जाँदा मेरा साथीहरु र साथीहरुका साथीहरु समेत सबैले सो किताब पढि सिध्याए र हरेक पाठकले पढीसकेपछी सो किताबको बारेमा आ-आफ्ना दृष्टीकोण र बिचारहरु मलाई सुनाए । यसरी मेरो पन्ध्रौं साथीले किताब हेरेर फर्ता गर्ने बेलासम्ममा मलाई किताबको बारेमा पर्याप्त जानकारी भैसकेको थियो । हरेक साथीले किताब फर्काउँदा किताबप्रति राख्‍ने आफ्नो धारणा र बिचारका कारण मलाई किताबको बारेमा जानकारी मात्रै भएन, सो बारेमा भिन्न भिन्न दृष्टीकोण र मत मतान्तर बारेमा समेत यथेस्ट ज्ञान भैसकेको थियो ।

दिन बित्दै जाँदा, एक पन्ना नै नपढि किताबको हरेक खण्डका बारेमा म धुरन्धर ज्ञाता मात्रै बनिन, किताब किनेको चौथो महिना पुग्दा मेरो किताबको रुप नवयौवना बाट बृध्दाको जस्तो हालतमा पुगि सकेको पनि थियो । म आफू किताबलाई माया गरेर किताबमा नाम समेत नलेख्‍ने मान्छे भए पनि मेरो किताबका प्राय: प्रत्येक पन्नामा मेरा कुनै न कुनै मित्रको नाम लेखिएको थीयो। किताबमा भएका कतिपए नाम त मैले कहिल्यै नचिनेका मानिसका समेत थिए। किताबका कैयौं पन्ना च्यात्तीएका टेपले टालिएका थिए भने कुनै पन्नामा कसैको फोन नम्बर त कुनैमा केही नोट अनि कतै चिया, कफिको दाग त कही कही तेलको धब्बा समेत थिए।

पहिला त साथीहरुको बखानबाटै किताब पढेभन्दा बढि जानकारी भएको त्यसमा पनि किताबको यो हालत देखेपछि मलाई झनै त्यो किताब “फेरि पढ्ने” जाँगर नै चलेन । किताब पल्टाएरै नपढे पनि मेरो कोठामा मित्रहरु आउँदा सो किताबको चर्चा चल्ने क्रम भने अझै जारी नै छ । कहीलेकाही सो किताबको बारेमा मैले गरेको बिश्लेषण र परिचर्चा सुनेर मेरा केही साथीहरु मलाई सो किताबको बारेमा समिक्षा लेख्न समेत उक्साउँछन । म मनमनै उनिहरुको कुरा सुनेर हाँस्छु (पढदै नपढेको किताबको बारेमा कसरी समीक्षा लेख्ने Open-mouthed)

अहिले पनि सो किताब मेरो कोठाको टेबुलमै छ। यदि तपाईले पनि पढ्नु भएको छैन भने तपाई पनि पढन सक्नुहुन्छ । तपाई आउँदा म भेटीईन भने तपाई पनि किताब बिना सूचना लिएर जानसक्नु हुन्छ, फिर्ता गर्ने बेलामा एक पटक सरि भन्नुस , बस ।

18 comments:

  1. रमाइलो लाग्यो लेख । कुन किताब परेछ त्यस्तो कसौंडी र प्रेसरकुकर भित्र पनि खोज्नु पर्ने :D

    -Prajwol-

    ReplyDelete
  2. किताब जस्तो होला कथा चाहिँ सारै राम्रो छ | एकै सासमा पढी भ्याएँ | दाइको राम्रो कथा मध्येको एक | क्या मज्जाले लेख्नु भा |

    ReplyDelete
  3. ''फ्रिज अनि पुरान कसौँडी र प्रेसरकुकर समेत खोलेर हेर्दा पनि किताब नभेटेपछि यसलाई एउटा आश्चर्यको रुपमा लिनु बाहेकको हर्को बिकल्प बचेन पनि ।''---अनि किताब पनि भात पकाउने भाडोमा राख्नु हुन्छ !! रमाइलो लाग्यो कथा ---कथा नै त हो नि हैन र? :)

    ReplyDelete
  4. किताब किन्ने भन्दा मागेर पढ्ने बानिले गर्दा दु:ख पाउनु भएछ । साह्रै रमाईलो लाग्यो । .....त्यो किताबको नाम चैँ के थियो नि ?

    ReplyDelete
  5. afusanga nabhayeko bhaye baru magerai pani padhinthiyo hola- bibhinna dristikon harusanga parichit hunu bhayo kitab ko barema , napadherai bhaye pani! kitab sarai ramro rahecha- ma pani dai sanga magerai padhnu paryo aba! :)

    ReplyDelete
  6. दिलिप जी ! नडराउनुस म देखि ! म तपाइको बुकको जतन गर्ने छु अनि तपाईले नसोधी पुस्तकको बारेमा हाउभाउ बढाई बखान गरेर तपाईलाई सताउने पनि छैन है !
    मलाइ पनि पुस्तकको जतन नगर्ने देखि - रिस उठ्छ ! म संग - Leaving microsoft to change the world - JOHN WOOD को खग्रेन्द्र संग्रौला द्रारा अनुबाद गरिएको नेपाली पुस्तक "माइक्रोसफ्ट देखि बाहुनडाडा सम्म" नाम को पुस्तक हुदा एउटै मित्रले धोजा धोजा जस्तो पारिदिनु भएको थियो पछी - त्यस्तो स्वरुपमा फिर्ता पाउदा नमज्जा लाग्यो !

    ReplyDelete
  7. शायद यस्तै हालतमा केहि पुस्तकहरु मसंग पनि हुनुपर्छ दराजको कतै कुनामा अल्झिएको । पहिले पहिले समयलाई खुब दोष दिईन्थ्यो, अहिले मानवीय स्वभाव रहेछ भन्ने लाग्न थाल्या छ ।

    ReplyDelete
  8. दिलीपजी, लौ म आईपुग्न बेर छैन है किताब खोज्दै । बरु कथामा किताबहरु पाईने त्यस्तो कोठाको ठेगाना पनि राखिदिए हुने हो ।

    कथा रमाईलो मात्र हैन किताबहरुको प्रयोगबारे संदेशमुलक पनि लाग्यो ।

    ReplyDelete
  9. कथा असाध्यै रमाइलो लाग्यो, त्यो किताब यति रमाइलो छैन होला | (एकथरी साथीहरु किताब लगिसकेपछि फिर्ता गर्नुभन्दा पनि त्यो फलानोले मागेर लाग्यो र हराइदियो भन्ने पनि गर्छन, त्यस्ताको फेला चाहिं पर्नुभएको रहेनछ, खुसि लाग्यो |)

    ReplyDelete
  10. साह्रै मज्जाको कथा दाजू । हा हा हा प्रिज र प्रेसरकुकरमा चैँ किन खोज्नुभएको हो त्यो किताव ? हुन त म पनि प्रेसर कुकर हराउँदा कहिलेकाहिँ टेवलको ड्रयरमा पनि खोजिसक्न भ्याउँछु!!!सायद यस्तै भएको होला कि...अनि चैतन्यसरले भनेको कुरो पनि चित्त वुझ्यो मलाई त । चोर त चोर भै हाले, कोहि कोहि त झन् मागेरै लागेको पनि पचाईदिन्छन् । किताव किनेर पढ्ने वानी कहिले वस्नेहो हामीमा खै??

    ReplyDelete
  11. ''फ्रिज अनि पुरान कसौँडी र प्रेसरकुकर समेत खोलेर हेर्दा पनि किताब नभेटेपछि यसलाई एउटा आश्चर्यको रुपमा लिनु बाहेकको हर्को बिकल्प बचेन पनि ।''

    ReplyDelete
  12. दिलीप दाई, गजबको टाँसो रह्यो यो । अन्तिमसम्म पनि दोहोयाएर पढ्दा सो किताबको उत्सुकताले न्याकी रह्यो । मेरो बानी चाहीँ किताब मागेर पढ्ने छैन । धेरै परिचर्चा भएका किताबहरु जति पैसा परे पनि किन्ने गर्छु । किनेर पढेको किताबमा अनौठो प्रकारको संन्तुष्टी पाउँछु । आफुले पढेका किताबहरु साथीहरुलाई पढ्न उक्साउँछु तर साथीहरु किताब पढ्नमा चासो दिँदैनन्, सो किताबको पाठक पनि आफैँ हुन्छु अनि समिक्षक पनि आफैँ।

    ReplyDelete
  13. यो पोष्ट पढ्दा त्यो किताब पो एक पटक पढ्न मन लाग्यो , के हो सर किताबको नाँउ ???
    यो पोष्ट चही गजबको लाग्यो,

    ReplyDelete
  14. साह्रै रमाईलो लाग्यो! मेरो बानीपनि लगभग त्यस्तै छ:) अब भेट हुँदा त्यो किताबचाहिँ सोध्दै-नसोधी उठाउने सूरमा पुगेको छु, हुलिया जो 'क्लियर' भईसक्या' छ दाइको लेखबाट:)
    किताबको नाम पनि लेख्द्या भे' हुन्थ्यो दाइले भन्नेचाहिँ मनमा लागिराख्या' छ!

    ReplyDelete
  15. दिलिपजी किताव कस्तेा के हेा मलार्इ थाहा छैन । कथा भने राम्रै सललल वगेकेा छ । पढ्दै जांदा त्येा किताव कुन हेला कैातुहलमै कथा समाप्त हुंदेा रहेछ । तपाइकेा कथाकेा पात्र भने म पनि एउटा हुं है । मलार्इ पनि किताव किनेपछि गांता राख्नै पर्छ, त्यसमा एक अक्षर नलेखी जस्ताकेा तस्तै राख्न पर्छ । म वडेा माया गर्छु पुस्तककेा । अनि पाएसम्म अरूका किताव उसले नमागी फर्कउन्न पनि , मेरेामा भए यस्केा जतन हुन्छ भनेर । किताव किनेरै थुप्रै सांचेकेा छु । तपार्इकै जस्तै रेाग लाग्ला भन्ने डर लागेकेा छ अव भने ती पुराना किताव क्रमस पढ्न थाल्छु । मैले पनि तपाइजस्ता मित्रहरूकेा संगत पाएर संगत गुना फल भने झै अचेल वल्गक्षेत्रमा प्रवेश गरेकेा छु । कनिकुथी केही राख्नदै छु ।यसेा फुर्सत मिल्दा भने हेरी केही सुझाउ दिन नभुल्नु हेला है । gckarki.wordpress.com

    ReplyDelete
  16. मिठो कथा, गहिरो सन्देश !! तर किताब लगेर बेपत्तै पार्नेहरुलाई चाहिँ अझै पनि 'डोज' पुगेन कि?

    ReplyDelete
  17. पढ्दै किताबको खोजिमा लागें, म पनि । सकिन फेला पार्न । कस्तो गज्जबले लेख्नुभएको रहेछ, एउटा किताबको कथा !

    ReplyDelete
  18. साँच्चै किताबको कथा सुन्दर छ नढाटी भन्दा मेरो चाँही किताब कमै पढ्ने बानी छ उपन्यास र कथा सम्बन्धी किताब छ भने चाँही पढ्छु तर यो कथा पढी सकेपछी भने खुल्दुली जागेको छ मनभित्र जसरी नी पढ्छु भनेर। किताबको जतन भने अती नै गर्छु यति सममा की मेरो किताबमा कसैले अलिकती केर्यो भने पनि मलाई मेरो किताब रेप भयो जस्तो लाग्छ

    ReplyDelete