21 August, 2013

यात्रा लुम्बिनीको !

म धेरै पटक पुगेको, तर जत्ति पटक पुगे पनि मलाई फेरि-फेरि जान मनलाग्ने नेपालको कुनै ठाउँ छ भने त्यो लुम्बिनी हो । सुरूमा भगवान बुद्धको जन्मस्थल अर्थात मायादेवी मन्दिर नै त्यस क्षेत्रको मुख्य आकर्षण हुन्थ्यो भने हाल भने करिब ६ किलोमिटर लम्बाइ र २ किलोमिटर चौडाइको विशाल क्षेत्रलाई छुट्याएर त्यहाँ विभिन्न देशले आ-आफ्नै शैलीमा मन्दिर, चैत्य आदि निर्माण गरेपछि लुम्बिनीको सुन्दरतामा नयाँ आयाम थपिएको छ।

कामको व्यस्तताको बीच अगिल्लो हप्ता फेरि मलाई सो पवित्र क्षेत्रको भ्रमण गर्ने मौका मिल्यो । सीमित समय भएकोले सोचे जत्ति मन्दिरहरू हेर्ने मौका मिलेन तर पनि आजको पोस्टमा दर्शन गरेका मध्येका केही मन्दिर र लुम्बिनीको तस्विरहरू बाँड्दै छु । (तस्विर ठूलो आकारमा हेर्न कुनै पनि तस्विरमा क्लिक गर्नुहोला । सो तस्विर आफैँ अर्को पेजमा ठूलो आकारमा खुल्ने छ )

Lumbini (20)

(मायादेवी मन्दिर—जहाँ भगवान बुद्धको जन्म भएको मानिन्छ)

18 July, 2013

प्यूठान—प्रकृतिको आँखीझ्याल !

गएको हप्ता नितान्त व्यस्तताको बीचमा बित्यो । कामको सिलसिलामा धुलो-धूवाँको काठमाण्डौ छाडेर हरियाली र स्वच्छताको गाउँमा पुगेको थिएँ । हो, म काठमाण्डौ देखि करिव चारसय किलोमिटर परको प्यूठान जिल्लाको गोठीबाङ्ग, भिङ्ग्री आदि गाउँमा थिएँ ।

हुन त तस्विर खिच्नको लागि कुनै स्थान विशेष वा ‘स्पट’ थिएन त्यहाँ, तर फोटोमा उतार्नको लागि सुन्दरताको कुनै कमी थिएन । वा भनौ करिब करिब जता फर्कियो उतै कैद गर्न लायक दृश्यहरू थिए त्यहाँ । आजको पोस्टमा त्यही गाउँको हरियाली र माटोको सुवास । तस्बिर ठूलो पारेर हेर्न सोही तस्बिरमा क्लिक गर्नु होला तस्बिर आफैँ अर्को पेजमा ठूलो आकारमा खुल्ने छ ।

Pyuthan (2)

(गाउँको एउटा कुना --  सायद प्रकृति-दर्शनको आँखीझ्याल)

06 July, 2013

कथाको ‘अन्धेर नगरी’, चोर र मेरो देश !

चोर

पुरानो कथा हो: उटा चोर चोरी गर्नको लागि झ्याल चढेर घर भित्र घुस्न लागेको हुन्छ । झ्यालको काठ भाँच्चिएर भूईमा थचारिन्छ । चोरको खुट्टा भाँचिन्छ र उ दोस्रो दिन सिधै अदालतमा घर मालिकलाई मुद्दा हाल्न जान्छ ।

अदालतले घर मालिकलाई तुरुन्तै बोलाउँछ र चोरको क्षतिपूर्तिको लागि आदेश दिन्छ । उल्टो चोरले मुद्दा हालेर फसेको घर मालिक कुनै उपाय न सुझेपछि यो व्यर्थको जिम्मेवारीबाट बच्न झ्याल बनाउने सिकर्मीमाथि दोष थोपर्छ । सिकर्मीलाई बोलाईन्छ, उ पनि आफुले चौकोस खापा सबै राम्रो बनाएको तर डकर्मीले जोडाइ गर्ने बेलामा गाह्रो नराम्रो लाएकोले झ्याल कमजोर भएको दलिल दिएर बच्छ ।

कथामा फेरि डकर्मीलाई पनि बोलाइन्छ । आफ्नो दोष स्वभावगत रूपमा अरूमा थोपर्ने क्रममा डकर्मीले पनि आफूले गाह्रो लगाउन लाग्दा बाटोमा एउटी सुन्दर स्त्री देखेको र त्यसैलाई हेर्दा ध्यान भङ्ग भएर गाह्रो बाङ्गीएको बखान दिन्छ । तुरुन्तै सो स्त्री लाई अदालतमा हाजिर गराइन्छ । चतुर स्त्रीले आफू सुन्दर नभएको तर त्यसदिन एउटा रङ्गीन ओढने ओढेर हिँडेकोले डकर्मीको ध्यान अकर्षण भएको हुनसक्ने बताएर अन्तिम दोष कपडा रङ्गाउने मा पुर्‍याउँछिन् ।

अन्धेर नगरीको राजमा अन्तमा सो कपडा रङ्गाउने को खोजी गरिन्छ बोलाइन्छ । कथाको अन्तमा गजब मोड आउँछ। त्यो कपडा रंगाउने अरू कोही नभएर चोर स्वयं नै हुन्छ ।

10 June, 2013

साँच्चै स्वर्गजस्तै स्वर्गद्वारी !

कामको सिलसिलामा धेरै पटक करिब २ घण्टा जत्तिको बाटोबाट ओहोर-दोहर गरे पनि म स्वर्गद्वारीको यो पवित्र तिर्थस्थलमा पुग्न भ्याएको थिइन् । भालुवाङबाट करिव ५५ किलोमिटर जत्ति प्यूठानतर्फ लागेपछि प्यूठानकै भीङ्गृ बजार पुगिन्छ । भिंगृसम्म पिच बाटो नै छ भने त्यहाँबाट भने कच्ची बाटोबाट करिब १३ किलोमिटरको बाटो कच्ची तर गाडि चल्ने छ । त्यसपछि भने केही सिँढी फेरि केही कच्ची बाटोबाट उकालो लागेपछि करिब आधा घन्टको हिँडाइमा यो पवित्र मन्दिरको द्वारमा पुगिन्छ ।

तिहारको औँसी, वैशाख पुर्णिमा आदिमा यहाँ विशेष मेला लागे पनि सामान्य यात्रु र धर्माबलम्बीहरूको भीड भने सधैं नै हुने रहेछ यहाँ ।

किम्बदन्ती र पौराणिक आख्यानलाई मान्ने हो पाँच पाण्डवहरूले सीधै स्वर्ग प्रस्थान गरेको मानिन्छ । यसरी सिधै स्वर्गको यात्रा गर्न सकिने यस ‘द्वार’ मा रोल्पा रुम्टीका १०८ महाप्रभु बालतपस्वी नारायण गौतमले १९५१ मा वेदमन्त्रद्वारा अग्नि प्रज्वलित गरी १९५२ वैशाख पूणिर्मादेखि अखण्ड महायज्ञ सुरु गरेको इतिहास छ । त्यसैले यस स्थानको धार्मिक, समाजिक र गहन आध्यात्मिक महत्व रही आएको छ ।

वास्तवमा यस पवित्र तिर्थस्थलको विहानी पूजा, हवन र साझको आरति सहित महाप्रभुले तपस्या गरेको गुफा लगायतका सम्पूर्ण क्षेत्रको अवलोकन गर्ने हो भने पुरै दिनको समय लिएर जानु पर्ने रहेछ । मन्दिरमै रहने, वस्ने उचित व्यवस्था रहेछ तर समयाभावको कारण अर्कोपाला फेरि जाने अभिलाषा सहित यसपाला भने केही तस्विरहरू लिएर फर्कियौँ । आजको पोस्टमा यही पवित्र तिर्थस्थलका केही तस्विरहरू : (तस्बिरलाई ठूलो पारेर हेर्न सोही तस्बिरमा क्लिक गर्नुहोस्, तस्बिरआफैँ ठूलो आकारमा अर्को पेजमा खुल्ने छ )

20 May, 2013

के चिकित्सकहरू कमिसनकै लागि यस्तो गर्छन् त ?

पहिलो घटना: करिब १५ वर्ष जत्ति भयो होला । केही दिनदेखि पेट दुखेकोले म त्यति बेला रामशाह पथ नेर रहेको मेडिकेयर हस्पिटलमा गएँ । समस्या ठूलो थिएन तर ४-५ दिन देखि असजिलो भएकोले सिधै त्यहाका एकजना यादव थर भएका gastroenterologist लाई भेटें । उनले मसँग सामान्य सोधपुछ गरेपछि सिधै भिडियो एक्सरे, स्टुल र अन्य २-३ थरी टेस्ट गर्नु पर्ने पर्चा थमाइ दिए ।

ती टेस्टहरू सबै गर्नुपर्ने झमेला एकातीर थपियो भने अर्कोतर्फ ती सबै टेस्ट नसक्केसम्म कुनै ठूलै रोग लाग्यो कि भन्ने शङ्का पनि मनमा गडी रहयो । ३-४ दिनमा सबै प्याथोलोजीको रिपोर्ट आयो । हालजस्तो इन्टरनेट र गुगल बाबाको ज्ञान दृष्टि सुलभ भइसकेको थिएन तर रिफरेन्स रेन्जमा झ्वाट्ट नजर पार्दा कुनै हाइलाइट गरिएको प्यारामिटर थिएनन् । रिपोर्ट लिएर म फेरि तीनै स्पेसलिष्टकहाँ पुगेँ । उनले सर्रर रिपोर्ट हेरे अनि “खासै केही समस्या देखिएन ...’यो’, ‘यो’ र ‘यो’ औषधी ५ दिन खानुस..” भनेर हातमा पर्चा थमाइदिए ।

फोक्कडमा ३-४ दिन टेस्ट गराउने हैरानी, र २-४ हजारको खर्च पछि ‘केही पो भएछ कि ?’ भन्ने गहन चिन्ता बोक्नु परेको थियो । अब त्यो रहेन तर पनि तिनले दिएका ती ‘यो’, ‘यो’ र ‘यो’ औषधिले मलाई केही फाइदा भएन । फाइदा नभएपछि फेरि घरेलु र अन्य वैकल्पिक उपचार विधि भने जारी राखियो । त्यस्तैमा एकदिन मेरै घरमा बस्ने एकजना डक्टरसँग कुरै कुरामा आफ्नो समस्या बताएँ (स्मरण रहोस ती gastroenterologist वा पेट सम्बन्धी रोगका विशेषज्ञ भने थिएनन्, त्यसैले आफ्नै घरमा बसेपनि मैले उनीसँग सल्लाह लिएको थिइन) । उनले आफ्नो हातले मेरो कम्मर र पेटको बिचको भागमा पर्ने गरी बिस्तारै दबाए र भने “भाइ!, तपाईलाई त अमिबाले दु:ख दिएको रहेछ ... ल यो औषधी ५ दिन खानुस्, ठीक हुन्छ ....” । तुरुन्तै उनले दिएको औषधी किनेर खान शुरु गरेँ ....दोस्रो दिन देखी नै मेरो पेट दुख्न कम भयो र तेस्रो दिन साँझ सम्ममा मलाई पेट दुखेको थियो भन्ने समेत याद रहेन् ।