25 March, 2013

होली मुक्तक !!!

Fagu

-१-

एकोहोरो हेरीरहेँ,
उनको मुहार लाल भयो ।
बिना लोला, बिना अबिर
मेरो होली कमाल भयो ! ।

-२-

उनी भन्छिन्, उनको प्रेममा
धेरै कवि पागल भए ।
म त सोच्छु, ती कवि भए,
पागल त ती पहिल्यै थिए ।

15 March, 2013

ट्वीटरका #अर्ध वरिष्ठ, #भु्क्का टुरिष्ट र #अति विशिष्टहरू

केही समय अगाडि यही ब्लगमा मैले ट्वीटेहरूको पहिचान कसरी गर्ने भन्ने बारेमा एउटा पोस्ट लेखेको थिएँ । नेपाली ट्वीटर टाइमलाईनमा बराबर प्रयुक्त हुने वरिष्ठ र कनिष्ठ आदिलाई कसरी चिन्ने भनेर लेखिएको सो पोस्ट पछि मलाई अनलाईन र अफलाईनमा धेरै कमेन्टहरू आए । यसका अरूपनि क्याटागोरी थप्दै जान धेरैले कमेन्ट गरे।

अत: आजको पोस्टमा फेरि अरू केही ट्वीटेलाई चिन्ने शङ्केतहरू राख्दैछु । ल हेर्नुस त उनीहरूको ट्वीटको आधारमा कसरी चिन्ने त उनीहरूलाई :

#अर्ध वरिष्ठ

यिनीहरू कहिले जत्ति धेरै ट्वीट उत्ति धेरै वरिष्ठ भनेर दिनमै कैयौँ ट्वीट गर्छन् ।

तर फलोअर नबढेपछि जति कम ट्वीट्यो उत्ति वरिष्ठ भइन्छ भनेर कैयौँ दिनमा एउटा ट्वीट गर्छन् ।

आफ्नो ट्वीट कसैले फेव गरेन भने आतिन्छन् भने १० पटक जत्ति रिट्वीट भयो भने मात्तिन्छन् ।

धेरेलाई फलो गर्दा राम्रो कि कमलाई गर्दा राम्रो भन्ने छुट्याउन सक्दैनन् र एउटै मान्छैलाई ५ चोटि फलो र ६ चोटी अनफलो गर्छन् ।

यिनलाई कुनै गीत, गजल वा कविताको टुक्रा ट्वीट गर्दा अपार आनन्द महशुस हुन्छ ।

यिनलाई कसैले ‘वरिष्ठ’ भन्यो भने उडायो भन्ठान्छन् बने ‘कनिष्ठ’ भन्दा हेपिएको ठान्छन् ।

हरेक १० जना नयाँ फलोअर बढ्दा यिनलाई बाघ मारेको अनुभूति हुन्छ र सो कुरा ट्वीट्टी हाल्छन् ।

01 March, 2013

म जनता हुँ…

म वृक्ष हुँ
रोपे उम्रन्छु, उम्रे फल्दिन्छु
गोडे सप्रन्छु, तोडे ढल्दिन्छु
चलाए चल्दिन्छु, जलाए जल्दिन्छु

म विचार हुँ
मायामा पग्लन्छु, छायाँमा अल्झन्छु
अभावमा सम्झन्छु, स्वभावमा बल्झन्छु
उच्चतामा टल्कन्छु, चेतनामा सल्कन्छु

म इमान् हुँ
अह्राएको गर्दिन्छु, परे’मा मर्दिन्छु
सत्यमा सर्दिन्छु, असत्य हर्दिन्छु
चेतना छर्दिन्छु, विवेकलाई भर्दिन्छु

16 February, 2013

साढे चार मुक्तक !

पीठो भनि बिकेको चोकर निक्लियो ।
हिरो हुँ भनि चम्केको जोकर निक्लियो ।
भन्न त भन्थ्यो सधैं, सबलाई मालिक बनाउँछु,
रहँदै गर्दा उ स्वयं पल्ला घरको नोकर निक्लियो ।

जो आदर्श नि छाँटछ, कुरा पनि ढाँट्छ, त्यो नेपाली नेता हुन्छ ।
जो सपना पनि बाँड्छ, नैतिकता नि छाड्छ, त्यो नेपाली नेता हुन्छ।
तीनका कुरा चमत्कारी, गौरवशाली हुन्छन् तर,
जो सम्मान पनि माग्छ, रछान पनि चाट्छ, त्यो नेपाली नेता हुन्छ ।

आफ्नै छानो डडाएर, आगो ताप्छौ तिमी ।
मुखले मात्रै हुने भए, आकाश पाताल नाप्छौ तिमी
नगर देशभक्तिका कुरा, नदेखाउ ढोगं इमानको,
देशै बेचेर नै सही, नोटै नोट छाप्छौ तिमी ।

29 January, 2013

खोक्रो आदर्श, हावा छेकुवा गफ र @brb_laaldhwoj का ट्वीटहरू

सन १९९९ मा 'टलिउड' को नामले प्रसिद्ध दक्षिण भारतको तामिलनाडुमा Mudhalvan (முதல்வன்) अर्थात् 'मुख्य मन्त्री' नामक एउटा चलचित्र बन्यो र सुपर हिट पनि भयो । एकजना हक्की र जवान पत्रकारलाई मुख्य पात्र बनाएर साँच्चै नै देश सुधार्ने हो भने एकै दिनमा पनि धेरै काम गर्न सकिन्छ भन्ने सन्देश प्रवाह गर्ने सो चलचित्रको २००१ मा हिन्दी भर्सन पनि सार्वजनिक भयो । कथावस्तु, भेषभूषा र सम्बाद समेत दुरुस्तै उस्तै राखेर बनाएको सो चलचित्रको हिन्दी संस्करण पनि सुपर-डुपर हिट भयो र त्यसले पनि अत्यन्त सफल व्यापार गर्‍यो ।

आम जनतासँग प्रतक्ष अन्तरक्रिया गरेर भ्रष्टाचार, कालो बजारी र समाजमा व्याप्त अन्य समस्याको हल गर्न सकिने सङ्केत गर्ने सो चलचित्र बनेको करिब १२ वर्षपछि नेपालमा पनि ठ्याक्कै त्यस्तै कार्यशैली अपनाएर 'नायक' बन्न खोज्ने एउटा चरित्र देखिए । उनले पनि आफू शक्तिमा आउने बित्तिकै न्युरोडको गुदपाक देखि राममार्गका भाते-होटलको अनुगमन गरेर कालो बजारी हटाउने नाटकीय अध्याय शुरू गरे । उनको यो कार्यलाई गलत भन्न मिल्दैन तर ठ्याक्कै 'नायक' शैलीको 'हेल्लो सरकार' र 'रेडियोमा प्रधानमन्त्री' विस्तारै सस्तो लोकप्रियता कमाउने भाँडोमा मात्रै परिणत भयो ।

उता उनले नाङ्लो ठटाएर हात्ती तर्साउने शैलीमा 'कालो बजारी' हटाउने नाटक मञ्चन गरिरहँदा यता मिडियामा भने देशका खुँखार अपराधी छुटाउन, ज्यानमारालाई आममाफी दिन मन्त्रि परिषदबाट निर्णय गराउन उनि लागि परेका समाचारहरू आइ नै रहे । हुँदा हुँदा अपराधीले आफैँ अपराध कबोल गरेर सजायको माध्यमबाट पश्चाताप खोज्दा समेत यस्ता कार्यहरूबाट शान्ति प्रक्रियामा खलल पुग्ने सन्देश दिन पनि चुकेनन् यी रियल लाईफका नायक। रियल लाइफका नायक 'फ्लप' भए त यहीँनेर । जहाँ, 'नायक' मा नायकका हरेक प्रयास बोल्नमा भन्दा गर्नमा बढी लाग्थे, त्यहीँ हाम्रा नायक भने उपलब्ध मिडियाका हरेक श्रोतबाट जनतालाई खोक्रो आदर्श छाँटन, मनोरञ्जक सपना देखाउन र बुद्धि विलास गरेर रमाउनमै मात्रै लागे ।