06 February, 2012

ब्लगरले किन ढिला लेख्छन् ?

ब्लग लेख्न थालेको चार वर्ष पुरा भइसकेको छ र मेरो आफ्नो ब्लग पाँचौं वर्षमा हिँड्दै छ । यस बीचमा कहिले हप्तामा ३-४ वटा त कहिले ३-४ हप्तामा एउटा पोस्ट समेत लेखियो । लेख्न थाले पछि विषय वा सामाग्रीको अभाव भने प्राय: खट्किएको छैन । तर पनि विविध कारणवश बेला बेलामा ब्लग लेख्न ढिला हुने गर्छ ।

मेरो मात्रै हैन्, मैले देखेको नेपाली ब्लग जगतमा रहेका मेरा सहयात्री पुराना ब्लगरहरू र नयाँ ब्लगरहरूमा समेत यो ‘नियम’ लागु हुन्छ । नियमित लेख्ने ब्लगरहरू पनि कहिलेकाहीँ ‘अनियमित’ हुन्छन् र ढिला लेख्छन् । त्यसैले आज म ब्लगरहरू किन ढिला लेख्छन् भन्ने बारेमा नै ब्लग लेख्दैछु । केही आफ्नै अनुभव, केही सहयात्री ब्लगरहरूको सोच अनि केही ठट्टा ... मेरो विचारमा ब्लगरहरूले ढिला लेख्नुमा यीनै कारणहरू नै प्रमुख छन् । केही छुटेको वा नपुग भएको भए तपाइहरू पनि थप्नुस है !

यो लेखौं कि त्यो लेखौँ: कहिलेकाहीँ ब्लगरसँग यत्ति विषय वा सर्जाम हुन्छन् कि ऊ ‘यो लेखौं कि त्यो लेखौँ ‘ भन्नेमा नै निधो गर्न सक्दैन् । कम्प्युटरमा रहेका आधा-अधुरा गजल पुरा गर्ने कि, देशको जल्दो बल्दो विषयमा आलेख तयार गर्ने । आउँदै गरेको कुनै चाडको वारेमा लेख्ने कि दिमागमा रहेको नयाँ कथालाई उतार्ने । उ सोचमा नै व्यस्त हुन्छ र कुनै निधो गर्न सक्दैन् । त्यत्तिकैमा समय बित्छ यता उसको गजल पनि पुरा हुँदैन भने उता जल्दो बल्दो विषय पनि बासी भइसक्छ । सोच्दा सोच्दै आउँदै गरेको चाड बिति सक्छ र दिमागमा तयार कथाको प्लट पनि दिमागमै पुरानो हुन्छ । अनि ब्लगर ब्लग लेख्न ढिला हुन्छ ।

के लेखौँ, के लेखौँ : कहिलेकाहीँ स्थिति माथिको भन्दा बिलकुल विपरीत हुन्छ । काम, पढाइ वा अन्य विविध झमेलामा फसेको ब्लगर करिब करिब ‘दिमाग शुन्य’ स्थितिमा हुन्छ । यति बेला विषय व विचारको विविधताले ‘यो लेखौं कि त्यो लेखौँ ‘ हैन्, ब्लगरलाई ‘के लेखौँ के लेखौँ ‘ हुन्छ । यदाकदा आइपर्ने यस्तो व्यस्तताको स्थितिमा ब्लगर आफैँ ‘हैन, मैले पहिला पहिला कसरी दिनमा एउटा समेत ब्लग लेख्दो रहेछु’ भनेर गम खान्छ र फेरि पनि उ ब्लग लेख्नमा ढिला हुन्छ ।

कमेन्ट नै पुगेको छैन्: कुनै बेला ब्लगरले निकै मेहनत गरेर एउटा पोस्ट तयार गर्छ । मानवीय सोचको परिधि वा करिब करिब दार्शनिक कोटीको ‘लेख’ तयार भएको अनुभव गर्छ । कहिले विज्ञानको नविनतम विषय वा कहिले भने राजनैतिक वृत्तको विचारोत्तेजक पोस्ट तयार भएको उसलाई लाग्छ । तर ३-४ दिनसम्म पनि पोस्टमा न त एउटा कमेन्ट आउँछ, न त कसैले ‘लाइक’ गर्ने वा सामाजिक सञ्जालमा सेयर नै गर्छन् । आफ्नो त्यस्तो उत्कृष्ट पोस्टमा प्रतिक्रिया नदेख्दा उ सोच्छ “सायद पाठकहरूले यही पोस्ट नै पढ्न भ्याएका छैनन्” । उ पाठकहरूलाई आफ्नो सानदार पोस्ट पढ्ने समय दिन्छ र अर्को पोस्ट लेख्दैन (यही बीचमा उसका नियमीत पाठकहरूले समेत त्यो पोस्ट आधा भन्दा बढि पढ्न अल्छी मानेको कुरा भने उसले थाहा नै पाउँदैन्)

कमेन्टको ओइरोको पिर: हो, कहिलेकाहीँ प्रतिक्रिया नआएर समस्या त कहिले भने कमेन्ट धेरै भएर पनि ‘टेन्सन’ हुन्छ । कुनै पोस्टमा कहिलेकाहीँ ब्लगरले सोचे भन्दा बढि चर्चा पाउँछ । अनि अर्को पोस्ट लेख्ने बेलामा ब्लगर त्यसलाई पनि अघिल्लो पोस्ट जस्तै ‘स्तरिय’ बनाउने तर्फ सोच्छ । लेखि सकेको पोस्टमा शब्दालङ्कार, दर्शन वा आयतन र ओज थप्ने काममा लाग्छ । गर्दा गर्दै उसको पोस्ट फेरि ढिला हुन्छ ( अनि जबरजस्ती थोपरिएका शब्दालङ्कार, दर्शन वा आयतन र ओजनले पनि ब्लगलाई झन हल्का र फितलो बनाएको कुरा पनि उसलाई धेरै पछि मात्रै थाहा हुन्छ)

ह्या..लेखेर के नै हुन्छ र?: कुनै कुनै बेला बल्लगर लेख्दा लेख्दै थाक्छ। लगातारका ३-४ वटा पोस्ट ‘फ्लप’ भएपछी उसको दिमागमा ‘आ...... लेखेर के हुन्छ र?’ भन्ने विचार पलाउँछ । न म पत्रकार, न यो मेरो पेशा....किन लेख्ने त? भन्ने भाव मनमा दह्रो हुन्छ । हुँदा हुँदा उ बित्थामा ब्लग लेख्ने धुनमा यत्तिका समय खेर फालिएछ भनेर समेत सोच्छ । एकदिन अचानक कुनै जमघट वा भेटघाटमा उसलाई, उसले सोच्दै नसोचेको कुनै व्यक्तिले ‘ओहो... तपाईँको अस्तिको पोस्ट त साह्रै घतलाग्दो थियो नि !” भनिदिन्छ । उसमा फेरि ब्लग लेख्नको उर्जा लबालब भरिन्छ । तर यति बेलासम्म उ फेरि ब्लग लेख्न ढिला भइसकेको हुन्छ ।

अरूले नि त लेख्या छैनन् नि त: ब्लगरको दिमागमा कहिलेकाहीँ वर्षातको च्याउ भन्द पनि बढि सर्जाम भरिन्छन् । उ फेरि ‘यो लेखौँ कि त्यो लेखौँ ‘ को स्थितिमा हुन्छ । तर आफ्नो ब्लगमा भएको सहयात्री ब्लगरको फिडमा यसो नजर दौडाउँछ । करिब हप्ता दिन बित्न लागि सक्दा पनि सहयात्री ब्लगरहरू पनि कसैले केही लेखेका छैनन् । ‘हैन अरुले नि त लेख्या छैनन् नि ‘ ऊ मनमनै सोच्छ । ‘ मैले मात्रै किन लेख्ने’ ....’दिन दिनै लेख्यो भने अझ पाठक र साथीहरूले समेत आफूलाई ब्लग लेख्ने बाहेक केही काम नभएको ‘बेकारी’ सम्झन्छन् कि भन्ने डर समेत मनमा पैदा हुन्छ र उ जुटी सकेको सर्जामलाई पनि पन्छाउँछ । उ फेरि पनि ब्लग लेख्न ढिला हुन्छ ।

ढिलै होस यसपाला ‘धाँसू’ ब्लग लेख्छु : कुनै बेला ब्लगर अब चानचुने विषयमा कलम नचलाउने विचारमा पुग्छ । छिटो छिटो धेरै लेख्नु भन्दा एउटै तर दह्रो पोस्ट तयार गर्ने विचार गर्छ । दिनदिनै टाँसिएका सबै ब्लगरहरूको पोस्ट पढ्छ र यी सब भन्दा गहिरो र वजनदार विषय तयार गरेर मात्रै ब्लगमा पोस्ट गर्ने सोचमा पुग्छ । यही ‘धाँसू’ लेख्ने कल्पना गर्दा गर्दै उसको ‘सामान्य’ ब्लग पनि तयार हुँदैन् । ‘होस् स्तरीय ब्लग समय समयमा लेख्दै गरौंला...अहिलेलाई नियमित हुन एउटा ब्लग ‘पेल्दिउँ’ भनेर उ फेरि स्थीतिको धरातलमा फर्केर एउटा ‘एभरेज’ पोस्ट तयार गर्छ । तर फेरि पनि उ ब्लग लेख्न ढिला भइसकेको हुन्छ ।

अरू पनि कारण छन् कि... लेख्नुस् है त Laughing out loud

Happy Blogging!

15 comments:

  1. khasai chainan yastai yastai ho....malai pani yehi karan haru le blog lekhna dhila hunchha !!!! nice blog keep it up!!!

    ReplyDelete
  2. यो बिध्यार्थी भन्ने पेशामा चाहिँ असाईन्मेण्टको पीर हुन्छ सधैँ...पढिने, लेखिने खासै केहि हैन आखिर, व्लग लेख्न बस्यो भने चैँ छट्पटी हुन थालिहाल्छ... हत्तेरी!!यतिन्जेलमा त असाईन्मेण्ट कति धेरै गरिसक्थेँ मैले!!!!:P

    ReplyDelete
  3. खासै ढिलो हुनुको कारण चाही छैन सर
    मेरो ब्लग त साधरण अनि मेरो परिवारमा तथा मलाइ चिन्ने केही साथी हरुमा समर्पित छ।
    तर यो लेख पढे पछि केही कुरा चाही मेल खान गयो। धेरै धेरै धन्यवाद दिलिप सर!

    ReplyDelete
  4. हा हा हा! कुरा यस्तै-यस्तै हुन् मेरा पनि। दाइका कारणहरुको सूचिमा थप्नुपर्ने एउटा चाहिँ "भनेको बेला ईण्टरनेट नपाऊँदा" पनि ब्लगरहरु ढिला हुन्छन्, खासगरी नेपालमा:)

    ReplyDelete
  5. हो, यो लेखौं कि त्यो लेखौं वर्गमा पर्छु क्यार म पनि । आफुसँग हर्दम भरमार र एक से एक सर्जामहरु नभएपनि त्यतै परेजस्तो महसुस भयो ।

    ब्लगरहरुको मनोविज्ञान बुझेर तयार पारेको जस्तो पोष्ट रहेछ दिलीपजी । रमाईलो !

    ReplyDelete
  6. रमाइलो लेख.................

    ReplyDelete
  7. हा हा हा खासम्खासा कुरा यी र यस्तै हुन् तर ब्लग भनेको बिहानै बेलुकै नियमित लेखिरहनु पर्छ भन्ने पनि छैन र सम्भव पनि हुदैन जस्तो लाग्छ। ब्लग दैनिक लेख्‍न खोजियो भने उही नेताले यस्तो भने उस्तो भने भन्ने समाचार पत्र जस्तो बन्ने सम्भावना रहने छ। बिचार उत्तेजक, तार्किक र मर्मस्पर्शी लेखहरु समय अन्तरालमै, धेरै घटनाक्रमलाई निहालेरै निस्कन्छ र ढिलै भए पनि धेरै समय अन्तरालका घटना क्रमलाई समेट्ने खालका हुन्छन्। म पनि तपाइले भने जस्तै कहिलेकाहीँ हराउँछु। कहिले कामले गर्दा व्यस्त भइन्छ त कहिले के। तर मेरो चाहिँ लेख्ने सुरु गरे पछि एकै दिनमा सकि हाल्ने बानी छैन वा लेख्‍न थाल्यो एउटा न एउटा कुराले डिस्टर्ब गर्छ हेहे। छोटै भए पनि केही दिन लाग्ने अनि भाषा कमजोर भएकोले सके सम्मको साफी र रुजू गर्न खोज्दा खोज्दै ढिला हुन्छ क्यार्ने.। आज दिलिप सरलाई पनि के लेखु के लेखु भए जस्तो छ .. हाहाहाहह

    ReplyDelete
  8. हा हा हा, यदाकदा आइपर्ने यस्तो व्यस्तताको स्थितिमा ब्लगर आफैँ ‘हैन, मैले पहिला पहिला कसरी दिनमा एउटा समेत ब्लग लेख्दो रहेछु’ भनेर गम खान्छ र फेरि पनि उ ब्लग लेख्नमा ढिला हुन्छ । यो चैँ मलाई नै भन्या हो भन्ने हाम्लाई लाइरा'छ !
    हिजोआज त्यस्तै नै भइरहेको छ, फेरि लेख्छु भन्या बेला बत्ति हुँदैन, कहिले के हुँदैन अनि दिनमा कसरी एउटा ब्लग लेख्दु रहेछु भनेर जिल खाइन्छ !
    :)

    ReplyDelete
  9. ब्लग पढेर रमाइलो लाग्यो। बढ्दो लोडशेडिङको समय, ल्यापटप बिग्रेर डेस्क्टपमा काम गर्नुपर्ने कारणले पनि लेख्ने मुड भ'को बेलामा बिजुली हुँदैन, बिजुली आ'को बेलामा फेसबुक र अरु साइट हेरदैमा समय जान्छ। त्यसैले पनि ब्लग ढिलो हुनजान्छ, कहिलेकाही।

    ReplyDelete
  10. padhn chakhlagdo article ... dai ..
    \daile mulaai nai po ...lekhnu bhae jasto laagyo ....
    yo lekh ko title dekhne bittikai ..mero last update ko date here ...october 24, 2011... ... tyo upload dhila hunu t je pani karan dekhaun sakin6. tar ....yo patak mero sabai bhanda laamo gab rahyo ....

    ReplyDelete
  11. दिलिप सर हजुरको कुरा सोह्रै अना ठिक हो|म नया ब्लगर त होइन पुरानै हजुर हरुको जस्तै समय व्यतित गरियो राम्रो लेख्न नसक्दा पनि आफ्नो कुरा राख्न पाउने मंच पाउदा किन आफ्नो कुरा नराख्ने भनेर सुरु गरेको थिय तर अहिले किन किन तेती जागर चल्दैन कहिले कहिँ मनोरंजन तथा गित संगित तर्फ लागेको छु यस्तै हो जागिर होइन यसैले प्राथमिकता पहिला हात मुख जोर्न लग्नु पर्यो यसैले समय पाउन गारो हुदो रहेछ |यो सबै समस्या गरिबीको हो यसैले पहिलो प्राथमिकता तेती गयो हजुर मेरो त !!!
    धन्यवाद पुन सस्मरंको लागि |

    ReplyDelete
  12. करण ब्यस्तता,

    ReplyDelete
  13. यी कारण हरु पनि अक्सर हुने गर्छन तर धेरै जसो को ढिला हुने कारण भने व्यस्तता हुन्छ सर

    ReplyDelete
  14. मैले लेख्न छोडे, कारण नै यही हो ...............

    ReplyDelete