14 April, 2011

आमाको पुकार, देशको अस्मिता र तुच्छ चियाको अनुराग !

Mother Nepalयो सत्य घटना हो । सायद पाँच कक्षा पढने बेलातिर होला, म पशुपति पुगेको थिएँ । आर्यघाटबाट माथि उक्लने बेलामा अचानक मेरो नजर घाटमा भएको बिरामी राखिने एउटा सत्तलमा पर्‍यो । "...जा न बाबु, एकचोटी घाटे बैद्य लाइ बोलाएर लेरा..." एकजना करिब ६०-६५ वर्ष जत्ति देखिने बुढी आमा करिब २०-२२ को एउटा लाठे (सायद छोरा होला) लाई भन्दै थिइन "...हिजो भन्दा चापेको जस्तो छ..." । म सानै थिएँ तर त्यो ठाउँमा अन्तिम अवस्थामा पुगेका बिरामीहरूलाई राखिन्छ भन्ने ज्ञान भने थियो मलाई । "ह्या ! के कराइ रा..." मेरो अनुमानको विपरीत सो जवान व्यक्तिले ती बुढी आमालाई अटेरी र करिब करिब हप्काउने शैलीमा भन्यो "...एकैछिन पर्खनुस न ...चिया नै खाएको छैन" ।

जीवनको आरोह-अवरोह वा परिवार र सामाजिक जटिलताको भेउ नपाएको भए पनि मलाई सो लक्का जवान छोरोको जबाफ सुनेर ज्यादै उदेक लाग्यो । सो परिवार को थिए, कहाँबाट आएका थिए केही थाहा थिएन र बिरामीको हाल के कस्तो थियो भन्ने बारे पनि बाटो काट्दा एकचोटी दुई जनाको संवाद सुनेर थाहा हुने कुरा थिएन । आफ्नो कतैबाट कुनै पनि साइनो नभए पनि तिनको अति गैह्र जिम्मेवार र कृतघ्न व्यवहार देखेर मलाई साह्रै रिस पनि उठ्यो । सायद दीर्घ रोग वा दैनिक समवस्थका कारण ती जवान व्यक्तिको व्यवहारमा त्यस्तो रूखोपन रहेको पनि होला । तर हालत जे जस्तो भए पनि ती जवान व्यक्तिको उदासीनता र बुढो बाऊको अन्तिम अवस्थाको चिन्ता भन्दा तुच्छ चियामाथिको अनुराग देखेर धेरै दिनसम्म मेरो बाल मस्तिष्कमा एकदमै नरमाइलो भावहरू आइ रहे । 

करिब २६-२७ वर्ष अगाडि घटेको सो घटना, त्यति बेला धेरै दिनसम्म मेरो मानस पटलमा रहेपनि समयको अन्तरालमा मैले सो कुरा बिर्सी सकेको थिएँ ।

केही दिन अगाडि देखि देशको राजनैतिक अवस्था र नेताहरूको पतनतिरको यात्राका कारण मलाई आजकल सो घटना फेरि फेरि याद आउन थालेको छ ।

देश करिब करिब संविधान विहिन अवस्थामा रहेको ४-५ वर्ष भइसकेको छ र आफैँले तोकेको पहिलो २ दुई वर्ष सक्की, जवरजस्ती थपेको अर्को १ वर्षको म्याद सक्किन पनि अब डेढ महिनाको समय पनि छैन । तर यो जिम्मेवारी लिएर र आफूलाई आफैंले 'योग्यतम' घोषणा गरेर मैदानमा उत्रेका नेताहरू मैले बाल्य कालमै देखेको ती बुढी आमाका छोरा जस्तै आफ्नो कर्तव्य प्रति अत्यन्त उदासीन र गैह्र जिम्मेवार देखिएका छन् ।

अचेल मेरो स्मृतिमा ती बुढी आमा छिनछिनमा पुनर्जीवित हुन थालेकी छीन र मेरो मानसपटलमा तीनको अस्तित्व झन् झन् घनीभूत हुन थालेको छ । म देख्छु; ती बुढी आमा बिस्तारै भौतिक शरीर भन्दा माथि उठेर नेपाल आमाको बिम्बमा परिणत भएकी छीन । संविधान विहीन अवस्था, सन्ततिका झै-झगडा अनि छिमेकको मिचाइमा परेर तीनि झनै जीर्ण देखिएकी छीन। आफ्नो सौभाग्य नै खतरामा परेको, सार्वभौमिकतामा प्रहार हुन थालेको र अस्मितामा नै आँच आएकोले उनी आफ्ना छोराहरूलाई पुकार्दै छीन । उनका वरिपरि उनका लक्का जवान ६०१ जना छोराछोरीहरु बसेका छन् । म झस्कन्छु त्यत्तीका लायक छोराछोरीको आमाको यो हालत  हुनु नपर्ने । किन यी आमा अहिले झन् झन् कमजोर, जीर्ण र आफ्नैको बीचमा असहाय जस्तो बनेकी छीन ।

चेतन मन र अवचेतन मनको स्मृति एकै पटक घनीभूत हुँदा मेरो कानमा वाल्यकालको ती शब्दहरू पुनः गुञ्जायमान हुन्छन् :" जा न बाबु...हिजो भन्दा चापेको जस्तो छ..." । वरिपरि बसेका सबैजना पुरानै अनुत्तरदायी, निर्मम र उदासीन पारामा एकै स्वरमा कराउँछन् :" "ह्या ! के कराइ रा'...एकैछिन पर्खनुस न ... ... छैन" ।

म देख्छु आमा उही छन्, स्थिति उही छ, खाली नालायक छोराहरूको बहाना र माग मात्रै केही फेरिएको छ । आमाको पुकारमा यस पटक छोराहरू भन्दैनन् "ह्या ! के कराइ रा'...एकैछिन पर्खनुस न ... प्रधानमन्त्री बन्न दिनुस न", "...मलाई गृहमन्त्री बन्न दिनुस..." "पद,पैसा र पहिचान बनाउन दिनुस न ..." ।

म झसङ्ग हुन्छु, साँच्चै मैले वाल्यकालमा देखेको ती दु:खी आमा र कुलाङ्गार छोराको स्थिति र अहिलेको देश र नेताहरूको अवस्थामा कुनै अन्तर छैन् । ती छोरा एक कप तुच्छ चियाको लागि मृत्यु शय्यामा भएका बाबुको समेत परवाह नगरी बसेका थिए भने अहिले कुर्सीको लागि नेताहरू देशको सार्वभौमता लाई समेत थाँती राखेर प्रधानमन्त्री, गृहमन्त्री वा पद-पैसाको पछाडि लागेका छन् ।

दरिद्र सोच, निकम्मा मानसिकता र कंगाल विचारका नेताहरूलाई मन्त्री व प्रधानमन्त्रीको कुर्सी ठूलो लाग्ला, तर मेरो नजरमा राष्ट्रको अस्मिताको अगाडि मन्त्री, गृहमन्त्री वा प्रधानमन्त्री कै कुर्सी पनि एक कप तुच्छ चिया भन्दा ठूलो कुरा हैन् ।

त्यति बेला म सानै थिएँ त्यसैले ती कृतघ्न छोरालाई केही भन्ने आँट वा साहस गर्न सकिँन । तर आज म देशको एक आम नागरिक र नेपाल आमाको एउटा छोराको हैसियतले सबै नेताहरूलाई फटकार्न चाहन्छु :" नेपाल तिम्रा पद-पैसा र पहिचानको पृष्ठपोषण गर्ने साधन वा मागी वा ठगी खाने भाँडा हैन, ३ करोड जनताकी आमा हुन। यी आमाको सम्मानको अगाडि तिम्रा पद एक कप तुच्छ चिया भन्दा कुनै बढी भाऊको छैन् ।  समयमै सच्चीउ र पुत्र धर्मको अनुसरण गर्न थाल ।

आमाको ममता, महत्ता, र महानता को बारेमा धेरै लेखिइसकेका छन् र मेरो औकातले आमाको महत्ताको वर्णन असम्भव छ । तर आज आमाको महत्ता हैन् कूपुत्रको कूपात्रताको वारेमा चार लाइन लेख्दै छु:

कि त देश बनाउन केही गरेर देखाऊ तिमी ।
कि त आफ्नो जात जनाउन घाँस चरेर देखाऊ तिमी ।
तिम्रो मृत्युमा पनि बसौँला मौन एक मिनेटको,
कि त एक डाडु पानी मै डुबी मरेर देखाऊ तिमी ।

4 comments:

  1. प्रसंग समय सान्दर्भिक छ। साथै कविता सटिक छ। देशको अस्तित्व नै संकटमा परेको छ, तर स्वार्थमा अन्धा भएका नेताहरु लाई केही फरक परेको छैन। सबै लाई मन्त्रीको कुर्सी चाहिएको छ। देशको अस्तित्व नै रहेन भने कुन देशको मन्त्री बन्ने हुन् यिनीहरु? बाँदरले न आफु काम गर्छ, न अरु लाई काम गर्न दिन्छ।

    ReplyDelete
  2. "आमा उही छन्, स्थिति उही छ, खाली नालायक छोराहरूको बहाना र माग मात्रै केही फेरिएको छ "
    सटीक छ बाल्यकालको स्मरण र अहिलेको हाम्रो राजनीतिक कुपात्रहरूको लीला । चियाको ठाउँ कुर्सीले लिएको छ, बदलामा झन् झन् मोह र निर्लज्जताकै बढोत्तरी भएको छ । अब त यो कुराले पनि एलर्जी मात्र पो हुन्छ !

    ReplyDelete
  3. "कि त देश बनाउन केही गरेर देखाऊ तिमी ।
    कि त आफ्नो जात जनाउन घाँस चरेर देखाऊ तिमी ।
    तिम्रो मृत्युमा पनि बसौँला मौन एक मिनेटको,
    कि त एक डाडु पानी मै मरेर देखाऊ तिमी । "
    सटिक शब्दबाँण, बुझ्नेले बुझे भनिनु पर्ने सम्पूर्ण कुरा यी चार लाइनमा अटाएका छन्। तर गैंडाहरुलाई ......................... ।

    ReplyDelete
  4. वेसर्मिंदाहरुको समाज हो यो - दिलिप दाइ !
    अनि मिल्दो उदाहारण प्रस्तुत गर्नु भएको रहेछ .... पख्नुस न त प्रधान मन्त्रि हुनै / बनाउन नै पाएका छैनौ हामीले ........!!! अब यस्तै यस्तै भन्न लागेका छन् .....

    ReplyDelete