01 December, 2012

पहिचान ! (लघुकथा)

उनको वर्षौको मेहनत सफल भए थियो । अपराध र आपराधिक कार्यमा संलग्न व्यक्तिहरूलाई पहिचान गर्ने यन्त्रको विकासमा उनले आफ्नो दशकौँको समय लगाएका थिए ।

लाई डिटेक्टरले पहिचान गर्न नसक्ने झूट र अपराधीलाई सजिलै पहिचान गर्ने उनको यो यन्त्रले विश्वकै अपराध नियन्त्रण र सामाजिक शान्तिमा ठूलो योगदान दिने निश्चित थियो । सबैभन्दा महत्वपूर्ण कुरा भनेको अपराध र झूट पहिचान गर्ने पुराना यन्त्र भन्दा गुणात्मक रूपमा भिन्न यो यन्त्रको प्रयोग गर्दा, भौतिक रूपमै कुनै संदिग्ध व्यक्तिलाई छुवाउनु, जोड्नु वा देखाउनु समेत नपर्ने थियो ।

प्राचीन अध्यात्ममा हरेक मानिसमा आफ्नो चरित्रको आधारमा एउटा आभा मण्डल हुने र त्यसैले सो व्यक्तिको चरित्र अभिव्यक्त गर्ने मान्यता छ । उनले सोही आभा मण्डलको तरङ्गलाई मापन गर्ने यन्त्रको विकास गरेका थिए । यन्त्र चालु हुने बित्तिकै त्यसले त्यसको वृत्तमा आउने व्यक्तिको आभा-मण्डलको मापन गर्थ्यो र तुरुन्तै त्यसको विश्लेषण गरी त्यसको नतिजालाई पूर्व संचित ध्वनिको प्रयोग द्वारा ‘चोर’, ‘साधु’, ‘ठग’, ‘सज्जन’, ‘सामान्य’,‘फटाहा’ आदि भन्ने परिणाम दिन्थ्यो।

24 November, 2012

फेरि केही रमाइला संस्मरणहरु !

मेरो विद्यार्थी कन्सेसन

कुरो करिब २ वर्ष अगाडिको हो । त्यति बेला म पब्लिक युथ क्याम्पसमा पढाउथें । प्राय: मोटरसाइकलमा जान्थे । तर एक दिन मोटरसाइकल बिग्रिएको ले बसमा फर्कदेँ थिएँ । बसको कण्डक्टरले पैसा उठाउँदै मेरो सिट सम्म आयो। मेरो सिटको साइडमा एकजना २४-२५ वर्षकी युवती बसेकी थिइन । तिनले आफ्नो विद्यार्थी परिचय पत्र र कन्सेसन काट्दा तिर्नुपर्ने न्यूनतम भाडा कण्डक्टरको हातमा थमाइन् । करिब २५-२६ कै केही शिक्षित जस्तो पनि देखिने कण्डक्टरले उनको त्यो परिचय पत्र हातमा लिएर निक्कै बेर त्यसमा दृष्टि गोचर गर्‍यो र तीनी सँग पुरै पैसा माग्यो । सायद त्यति बेला कन्सेसनमा जम्मा रू. १० मात्रै तिर्नु पर्थ्यो र तीनले त्यत्ति मात्रै दिएकी थिइन ।

उनीहरूको बीच निकै बेर विवाद भयो । ती युवती रू. १० भन्दा बढी तिर्न राजी थिइनन् भने कण्डक्टर पनि पुरै पैसा नलिई नछाड्ने सुरमा थियो । यता कण्डक्टर,“तपाईको यो कार्ड ठीक छैन पुरै पैसा दिनुस !...” कण्डक्टर भने जोड जोडले कराउँदै थियो । ती युवती पनि आफू विद्यार्थी नै भएको दलिल दिँदै थीइन् । सँगैको सिटमा बसेको भए पनि कुरो के थियो मैले चासो लिएको थिइँन। अन्तमा आफ्नो दलिल बलियो गर्न कण्डक्टरले ती युवतिको परिचयपत्र मेरो हातमा थमाउँदै भन्यो “ ल हेर्नुस त तपाईँ पनि ... यो डेट सबै केरमेट गरेको छ...” मैले झ्वाट्ट हेरेँ साँच्चै कार्डमा बहाल रहने मितिमा थाहा हुने गरी नै केरेमेट भएको थियो । “...यो आफैले सच्याएको हैन त ? ...” उसले मेरो समर्थन जुटाउन खोज्यो “अँ ...के हो..?...” फोक्कडको विवादमा किन अलमलिनु भनेर मैले समर्थन न विरोधको बीचको झारा टार्ने प्रतिक्रिया दिएँ ।

14 November, 2012

भोदीप बह्मरूप….! - - तिहारको दीपको कुरा !!

तिहार, अर्थात उज्यालो चाड, फूलको चाड र दीपको चाड। हिन्दूहरूको प्राचीनतम र सनातन यस चाडमा दीप वा उज्यालोको विशेष महत्व छ । यम पञ्चकका पाँचै दिन र त्यसमा पनि लक्ष्मी पूजाको रातमा घर-घर दीप प्रज्वलित गरेर माता लक्ष्मीको आह्वान गरिन्छ ।

वैदिक वाङ्मयको एउटा मान्यता अनुसार कार्तिक अमावस्याको दिन समुद्र-मंथन बाट भगवती लक्ष्मी प्रकटहुनु भएको थियो र यो तिथि लक्ष्मी-पूजा को पर्व बन्यो । मान्यता अनुसार यस पर्वमा नित्य दीप दान गर्नेको घरलाई माता लक्ष्मीले कहिल्यै नत्याग्ने र यसरी दीप दान गर्नेलाई अकाल मृत्युको डर पनि नहुने उल्लेख छ ।

शास्त्रमा दीप दान गर्दा पढिने विभिन्न मन्त्रहरूको उल्लेख छ । भिन्न भिन्न अभिप्राय र उपलब्धिको लागि भिन्दा भिन्दै मन्त्र पढिए पनि दीपको महत्व भने सबै अवस्थामा समान छ । मलाई मन पर्ने श्लोक भने यस्तो छ :

भोदीप बह्मरूपस्त्वंह्यन्धकारविनाशक:।
गृहाणमयाकृतांपूजांओजस्तेज:प्रवर्धय॥

अर्थात:

हे दीप! तपाई अन्धकार लाई नाश गरने ब्रह्मस्वरूप हुनुहुन्छ। कृपया मेरो पूजा ग्रहण गर्नुस र मेरो ओज एवं तेज वृद्धि गर्नुस।

यस पटकको तिहार घरमा यसै अनुरूप सामान्य रुपमा मनाईयो। आजको पोस्टमा यसै तिहारका केही दीप र ज्योति :

26 October, 2012

दसैँ ‘ह्याङगओभर’ - - केही गफ केही मुक्तक - -

दसैँ आयो र गयो पनि (करिब करिब गयो नै) । विस्तारै नेपालीहरूका जन जीवन पुन: सामान्य अवस्थामा फर्कदैँ छ। वर्ष दिनको धर्म यही केही दिनमा गर्नु पर्ने, वर्ष दिनको मस्ती पनि यही एक हप्तामै सक्नु पर्ने र वर्ष दिनका प्रेम-सदभाव र भाइचारा पनि यही केही निश्चित समय सीमामै प्रस्तुत र प्रदर्शन गर्नु पर्ने गज्जवको अन्तर अवस्थाका कारण हाम्रो समाज यो केही दिनमा एकै चोटि मस्त, अस्तव्यस्त र र अलमस्त हुने गर्छ ।

जानु पर्ने ठाउँमा जसरी नि जानै पर्ने, लानु पर्ने कुरा ऋणै गरेर भए पनि लानै पर्ने अनि खानु पर्ने कुरा कोचेरै भए पनि खानै पर्ने अनौठो स्थिति पनि यसैसँग पैदा हुने गर्छ । यसरी कहिले व्यस्त, कहिले अस्त अनि कहिले अस्तव्यस्त मात्रै हैन्, कहिले हर्षोल्लासमै कष्ट त कहिले परम्परामै धर्म नष्ट समेत हुन्छ यो चाडमा । वैदिक मान्यता र परम्परा भन्दा थपिएर आएका ‘लहै लहै’ र आडम्बरले यो चाडलाई रमाउने बाट थकाउने पनि बनाउँदै छ ।

जे होस यसपाला पनि आयो र गयो । जाँदा जाँदै सबैलाई एक प्रकारको आलस्य, प्रमाद र सुस्तता दिएर गएको छ यसले। जसलाई आजकलको भाषामा ‘ह्याङ्गओभर’ भन्दा बढि प्रष्ट हुन्छ सायद । सबैलाई लागेको यो ह्याङ्गओभरले मलाई पनि छाडेको छैन् । कार्यालयको काममा व्यस्त हुनुपर्ने दिन आइसक्दा पनि अझै २—३ दिन छुट्टि भए’नि हुन्थ्यो भन्ने भाव मनमा आइरहेको छ त्यसैले आजको पोस्टमा यही ह्याङ्गओभरका केही मुक्तहरू राख्दैछु:

आखाँ चिम्लदा पनि पञ्जा, सत्ता एक्का देख्दैछु म।
सुकेको खल्तीलाई ऋण सापटले थेग्दैछु म ।
छोडेको छैन, दसैँको ह्याङ्गओभरले अझै,
अफिसको पत्रमा नि ‘आयु द्रोणसुते...’ लेख्दैछु म ।

16 October, 2012

ढाँटेको कुरा ढाँटेपछि मिल्छ !! (मैले ढाँटेको कथा)

अघिल्लो पोस्टको बाँकी

“…अनि.. एक्लै पो आउनु भएछ त ?...” कुराकानी मिलेको तेस्रो दिन केही सर्जाम जुटाएर घरबेटीकोमा छिर्दा-छिर्दे दुबै बुढा-बुढीले एकैमुख गरेर सोधे । उनीहरूको इशारा सिधै, मेरो हुँदै नभएको श्रीमतीतर्फ थियो । अगाडिका केही दिनका खुराफाती दिनचर्याका कारण केही तयारीका साथ प्रवेश गरेकोले मलाई मुख रातो गर्न वा उत्तर दिन सोच्नु परेन । “...अँ ! यता अलिकता तयारी गरेपछि मात्रै बोलाउँ भनेर ...” । मैले सोचेको थिएँ यत्ति बोलेपछि कमसेकम महिनादिनको लागि अर्को बहाना चाहिँदैन् । “...भर्खर- भर्खरै त बिहे ‘भा होला नि तपाईँको...” घरबेटीको अप्रत्याशित उत्तरले म झस्केँ “...कोठा भइ हाल्यो, सामान भइ हाल्यो ... अब भोलिपर्सि बोलाए भै’गो नि !” । “अँ ....! त्यसै गर्नुपर्ला ... अब ५-७ दिनमा बोलाउनु पर्ला ....” ढाँट्ने प्र्याक्टिस पुरा नभएको ज्ञात भयो, तैपनि घरबेटीको ‘भोलि-पर्सी’ लाई ५-७ दिनमा लम्ब्याउने कोसिस भने जारी राखेँ ।

कोठामा छिरेँ । सामान मिलाउने, अफिसमा सम्पर्क गर्ने र अफिसको गर्नुपर्ने काम निकै थियो । तर दिमागमा भने ‘अब हुँदै नभएको स्वास्नी कसरी यता ल्याउने’ भन्नेमा मात्रै दबाब बन्न थाल्यो ।

अर्को ३-४ दिन यसै बित्यो ...। एक हप्ता बित्न थालेपछि भने घरबाट बाहिर-भित्र गर्दा पनि घरबेटी बुढा-बुढी देखिएलान् भनेर ‘चोर पाइला’ चालेर हिँड्न थालेँ । बाहिर निस्कने बेलामा त ध्यानसँग वरिपरि कोही नभएको मेसो पाएपछि मात्रै ढोका खोल्थेँ । छिर्ने बेलामा भने सधैं ‘रिस्की’ प्रवेश हुन्थ्यो । ढोकामा, भरेङ्गमा वा घर बाहिर कतै तीनले देखेर “खै त?...” भने भने के भन्ने होला भनेर सयौँ जबाफहरू पनि तयारी गर्दै थिए म ।

एक दिन बाहिरबाट घर छिर्ने बेलामा घरबेटी ठ्याक्कै बाहिर निस्कन लागेका रहेछन् । ढोकामा टाउकै ठोक्किएला जस्तो गरेर भेट भयो ...। म सम्भावित खतरालाई मनन गरेर एकदमै हत्तारमा छिरे जस्तो गरि खिसिक्क हाँसेर हत्तपत्त आफ्नो कोठामा छिरेँ । ‘ए बाबा!, चोरकै जस्तो जिन्दगी भयो...’ भन्ने सोचेर खाटमा पल्टिएर अगाडिको लागि योजना बनाउन थालेँ ।