अघिल्लो पोस्टको बाँकी …
“…अनि.. एक्लै पो आउनु भएछ त ?...” कुराकानी मिलेको तेस्रो दिन केही सर्जाम जुटाएर घरबेटीकोमा छिर्दा-छिर्दे दुबै बुढा-बुढीले एकैमुख गरेर सोधे । उनीहरूको इशारा सिधै, मेरो हुँदै नभएको श्रीमतीतर्फ थियो । अगाडिका केही दिनका खुराफाती दिनचर्याका कारण केही तयारीका साथ प्रवेश गरेकोले मलाई मुख रातो गर्न वा उत्तर दिन सोच्नु परेन । “...अँ ! यता अलिकता तयारी गरेपछि मात्रै बोलाउँ भनेर ...” । मैले सोचेको थिएँ यत्ति बोलेपछि कमसेकम महिनादिनको लागि अर्को बहाना चाहिँदैन् । “...भर्खर- भर्खरै त बिहे ‘भा होला नि तपाईँको...” घरबेटीको अप्रत्याशित उत्तरले म झस्केँ “...कोठा भइ हाल्यो, सामान भइ हाल्यो ... अब भोलिपर्सि बोलाए भै’गो नि !” । “अँ ....! त्यसै गर्नुपर्ला ... अब ५-७ दिनमा बोलाउनु पर्ला ....” ढाँट्ने प्र्याक्टिस पुरा नभएको ज्ञात भयो, तैपनि घरबेटीको ‘भोलि-पर्सी’ लाई ५-७ दिनमा लम्ब्याउने कोसिस भने जारी राखेँ ।
कोठामा छिरेँ । सामान मिलाउने, अफिसमा सम्पर्क गर्ने र अफिसको गर्नुपर्ने काम निकै थियो । तर दिमागमा भने ‘अब हुँदै नभएको स्वास्नी कसरी यता ल्याउने’ भन्नेमा मात्रै दबाब बन्न थाल्यो ।
अर्को ३-४ दिन यसै बित्यो ...। एक हप्ता बित्न थालेपछि भने घरबाट बाहिर-भित्र गर्दा पनि घरबेटी बुढा-बुढी देखिएलान् भनेर ‘चोर पाइला’ चालेर हिँड्न थालेँ । बाहिर निस्कने बेलामा त ध्यानसँग वरिपरि कोही नभएको मेसो पाएपछि मात्रै ढोका खोल्थेँ । छिर्ने बेलामा भने सधैं ‘रिस्की’ प्रवेश हुन्थ्यो । ढोकामा, भरेङ्गमा वा घर बाहिर कतै तीनले देखेर “खै त?...” भने भने के भन्ने होला भनेर सयौँ जबाफहरू पनि तयारी गर्दै थिए म ।
एक दिन बाहिरबाट घर छिर्ने बेलामा घरबेटी ठ्याक्कै बाहिर निस्कन लागेका रहेछन् । ढोकामा टाउकै ठोक्किएला जस्तो गरेर भेट भयो ...। म सम्भावित खतरालाई मनन गरेर एकदमै हत्तारमा छिरे जस्तो गरि खिसिक्क हाँसेर हत्तपत्त आफ्नो कोठामा छिरेँ । ‘ए बाबा!, चोरकै जस्तो जिन्दगी भयो...’ भन्ने सोचेर खाटमा पल्टिएर अगाडिको लागि योजना बनाउन थालेँ ।
योजनमा तीनका अगाडि गएर सिधा-सिधा ‘मेरो बिहे भएको छैन्....कोठा लिन मात्रै यस्तो भनेको हो” भन्ने देखि लिएर हिन्दी फ्लिमी स्टाइलमा नाटक कम्पनीको मानिसलाई १-२ घण्टाको लागि भाडामा लगेर तुरुन्तै जरुरी परेको बहानामा फर्काएर दोस्रो बहाना खोज्ने समेतका ‘आइडिया’ जन्मे । ‘कोठा लिन मात्रै यसो भनेको ...” भन्ने बित्तिकै प्राय: बुढा बाहिर हिड्ने र बुढी र सानो छोरी मात्रै घरमा बस्ने ठाउँमा मैले अर्को २४ घण्टा टिक्न पनि मुस्किल देखेँ भने भाडामा कलाकार ल्याउने कुरा फिल्ममा मात्रै सम्भव भए पनि र वास्तविक जीवनमा त्यो पनि आफ्नो भन्दा अन्तको ठाउँमा कुनै हालतमा पनि सम्भव देखिएन ।
बीचमा एक पटक अफिसकै कामले घर जानु पर्यो। घर फर्कने रमाइलो भन्दा पनि घरबाट उता फर्कने बेलामा के बहाना बनाउने भन्ने मात्रै दिमागमा आउन थाल्यो । घर आइयो, काम पनि सकियो र फर्कने बेला भयो । बहानाहरू मध्येको २-४ वटा ‘धाँसू’ बहानालाई मनमनै गुन्दै बसमा फर्कदैँ थिएँ।
म चढेको बसमा आधाभन्दा बढी तिर्थालुहरू थिए । पुरूषोत्तम महिना परेकोले उनिहरू भारतको कुनै तीर्थयात्रामा निस्केका रहेछन् , बाटो भर, तीनका कीर्तन र भजनले कान टट्टायो ....। भजन कीर्तनको कोलाहालमा डेरा पुग्दा “खै त ! ?” भने भने कुन जबाफ दिने भनेर पनि सोच्न सकिएन । बस ठ्याक्कै धम्बोजीमा पुगेर रोकियो । “जय पुरुसोत्तम.....!” भनेर एकै स्वरमा सबै तिर्थालुहरू बसबाट ओर्लिए । “बल्ल कान सञ्चो भयो...” भन्ने सोच्दै म पनि डेरातर्फ लागेँ ।
दिनभरको अखण्ड कीर्तनले गर्दा टाउकै भारी भा’थ्यो त्यसमा झन् बहाना सोच्न समेत कीर्तनले ‘डिस्टर्व’ गरेकोले तीर्थयात्रीहरू देखेर समेत रीस उठेको थियो...तर डेरामा छिर्दा-छिर्दै अचानक दिमागमा बिजुली झैं तरङ्ग छिर्यो । म तिर्थालुलाई मनमनै साधुवाद दिँदै शानसँग डेरामा छिरेँ ।
भोलिपल्ट बिहान घरबेटी बुढाबुढीले “यसपाला नि एक्लै आउनु भो कि क्या हो ?” भनेर सोधे । त्यसो त तिनको प्रश्नमा दबाब हैन् मेरो नभएको स्वास्नी भेट्ने इच्छा बढी थियो । “...अँ के गर्ने.. यो महिनामा मिल्दैन भनेर घरबाट सँगै पठाएनन्..” मैले बेतोड जबाफ दिएँ “...हेर्नुस न बिहेको पहिलो वर्ष पुरुषोत्तम महिनामा सँगै बस्न हुन्न रे... घरमै भए त सँगै बस्न मिल्दैन...बाहिर कहाँ लिएर जाने भनेर कसैले मानेनन् ...” । जबाफ यस्तो ‘सेन्टिमेन्टल’ थियो कि कसैले केही भन्ने आँटै गरेनन् । “हो त... परम्परा त मान्नै पर्यो...अब अर्कोपाला ल्याउनु होला...” घरबेटीको यो जबाफ मेरो लागि करिब एक महिनाको शान्ति दिन काफी थियो ।
यो एक महिना एकदम छिटो बित्यो । मलाई फेरि छटपटि हुन थाल्यो । बीचमा अर्कै घर खोजेर डेरा नै सर्ने आइडिया पनि नआएको हैन् तर नत भनेजस्तो घर भेटिन्थ्यो न त उनीहरू जस्ता आफन्त जस्तै घरबेटी नै । त्यसैले शान्दार र दमदार बहाना खोज्दै त्यही नै बस्ने हिसाबमा थिएँ म पनि । त्यसै पनि अफिसबाट त्यहाँ गए देखिनै अफिसियल र घरायसी दुबै कारणले ६ महिना भन्दा बढी त्यहा बस्नु नपर्ला जस्तो लागेको थियो मलाई । त्यसैले यो झूठको रबर जत्ति तन्काए पनि ६ महिनैमा चाहीँ छिन्दैन होला जस्तो लागेको थियो मलाई । त्यसो त कहीलेकाही फुर्सदमा एक्लै बस्दा ६ महिना हैन् ६ वर्षसम्मै ढाँटन सक्छु जस्तो पनि लाग्थ्यो ....सरिफ अनुहार हुने बदमासलाई केही कुराको फाइदा पनि हुने रै’छ ।
एकदिन कुरै कुरामा घरबेटी भाउजूले “बहिनी के गर्छिन्?” भनेर सोधि दिइन । झ्वाट्ट उत्तर दिन एकैछिन अलि अलमल भयो । स्वास्नी भा’भे पो यसो गर्छिन् भन्नु....हुँदै न’भा स्वास्नीले के गर्छै भन्नु । दिमागमा झट्ट के आयो कुनि मैले सोच्दै नसोची “बि.बी.ए. गरेर काम खोज्दै छिन...” भन्दिएँ । झूठको खेति गर्न निकै दख्खल भइ सकेकोले हो कि एउटा झूठ लुकाउन सय वटा झूठ बोल्नुपर्छ भन्ने वाक्य चरितार्थ भएर हो, यो प्रश्न सोध्ने बित्तिकै मेरो मनमा अर्को १ महिनाको लागि वजनदार बहाना तयार भयो ।
पुरुषोत्तम महिना सक्केपछि फेरि एक पटक घर जानु थियो । त्यसको केही दिन अगाडि फेरि एकदिन कुरै कुरामा घरबेटी भाउजूले “घरतिर सञ्चै छ?” भनेर सोधेकी थिइन । हरेक पल्ट उनीहरूले सोधेपछि मात्रै बहाना बनाउनु भन्दा उनीहरूले न सोध्दै ‘ठाँटसँग ढाँट’ को प्रयोग गर्ने हो भने झूठो पनि साँचो हुन्छ भन्ने मलाई ज्ञात भइ सकेको थियो । त्यसैले यो सुनौला मौकाको फाइदा उठाउँदै मैले पनि “अँ सबै ठीक छ ...मेरो बुढीले पनि एउटा फाइनान्समा जागिर पाईछन्” भनिदिएँ । क्या मस्त झूठ थियो त्यो ! । “ ए!... राम्रै हो ...तर तपाईँ त झन् एक्लै पर्नुहुने भो त ...?” उनीबाट मैले ठ्याक्कै यस्तै प्रतिक्रियाको अपेक्षा गरेको थिएँ र त्यसको लागि जबाफ पनि तयार गरेर राखेको थिएँ “..अ, अब बिदा-बिदामा बोलाउनु पर्ला...” । (लामो बिदामा त आफैँ त्यहाँ बसे पो बोलाउनु त )
बसाइकै क्रममा एक पटक ४-५ दिनको बिदा पर्दा घरबेटीका बुढा-बूढी नै सपरिवार लखनउ घुम्न गएका थिए । उनीहरू पाँचौं दिनमा फर्कदा मैले “ हेत् ....यसपाला बूढी आएकी थिई... आजबाट अफिस पुग्नु पर्ने भएकोले हिँजै फर्किई ..” समेत भन्न भ्याएँ । दुबै मेरो नभएको श्रीमती भेट्न नपाएकोमा थकथकाए पनि ।
त्यसको केही समयपछि त्यो भन्दा राम्रो अर्को काम पाएकोले म त्यहाँको काम छोडी फर्केँ । काम छोड्ने बेलामा भैरहवाका अर्का अविवाहित नै साथी त्यहाँ मेरो चार्ज लीन पुगे। भलै सुरुमा केही समस्या भा’थ्यो तर पछि मोर्चा सम्हालेपछि त मैले पेसेवर ढँटुवाले भन्दा’नि सानदार झूठ बोलेँ ।
यो पुरै घटना एकदमै सत्य र वास्तविक हुन् । बिदा हुने बेलामा पनि मैले घरबेटीहरूसँग आफू अविवाहित भएको कुरा भने बताइन (ढाँटनका लागि हैन्, हिँडने बेलामा किन ‘फटाहा’ हुनु भनेर मात्रै) । अहिले मेरै घरमा विवाहित-अविवाहित सबै डेरा गरेर बस्छन् । म अरू जे सोधे पनि कहिल्यै कसैलाई विहे गरेको र नगरेकोमा क्याटागोरी छुट्याएर राख्दिन् । किनकी विवाह नगर्दैमा कोही वदमाश हुँदैननन् र विहे गर्ने सबै सरिफ हुन्छन् भन्ने ग्यारेन्टी पनि केहि छैन् । फेरि कोहि म जस्तै महारथी पर्यो भने त झन के कुरा गर्नु ।
हा हा हा!
ReplyDeleteहा हा हा! कहिलेकाँही झुटो बोल्नुपर्ने नि बाध्यता आइलाग्छ ! झन् यो "डेरा" को समस्या त सबैको समस्या हो । सबैले तपाईले पाएजस्तो घरबेटी वा तपाईजस्तो घरबेटी पाउँदैनन् ।
ReplyDeleteha ha ha ha ....
ReplyDelete"झुटको खेति टिक्दैन" भन्थे तपाइको टिकेछ, आइपरेको खण्डमा हाम्ले नि यो फर्मुला अपनाए केही राहत मिल्ला भन्ने ज्ञान मिल्यो यो मनुवालाई । :)
ReplyDelete@ Aakar Anil, हो है ! मेरो मामलामा मैले एकदमै राम्रो घरबेटी पाएको हो ! ।
ReplyDelete@ Bishnu Subedi, नेपाली उखान छ नि 'ढाँटेको कुरा काटे पनि मिल्दैन' भन्ने । तर काटे पनि नमिल्ने कुरा, ढाँटे पछि भने मिल्ने रहेछ । त्यसैले ढाँटेको कुरा मिलाउनु छ भने ढाँटेको ढाँटै गर्नु पर्छ :)
Interesting!!!
ReplyDeleteफेरि कोहि म जस्तै महारथी पर्यो भने त झन के कुरा गर्नु । हाहाहाहाहाहाहाह
ReplyDeleteबेस्मारी हँसाउने सत्यकथा ! यसको मर्म भने अति गहिरो लाग्यो !बेजोड प्रस्तुती !
ReplyDeleteकहिलेकाँही झुटो बोल्नुपर्ने नि बाध्यता आइलाग्छ ।
ReplyDeleteekdam ramro satyakatha Dilip-daa..... khai mero chai dera khojnai parena tesaile hajurko lekhbatai dukha-pida kasto hudoraicha dera khojai ko thahapaye hai.....
ReplyDelete