26 February, 2025

जय भोले !

आज शिवरात्री। अचानक आजै मनमा एउटा शिव भजन लेख्ने रहर जाग्यो र लेखियो पनि। केही नयाँ प्रयोग गर्ने मुडमा हरेक पाउमा सकेसम्म एउटै वर्गका अक्षर-वर्ण प्रयोग गर्ने प्रयास गरिएको छ।

यस भजनमा रहेको हरेक पाउका पहिलो तीन शब्द शिवका नाम हुन् भने पहिलो पाउका दुबै हरफमा पनि सोही नामको प्रयोग गरिएको छ।

सबैमा महाशीवरात्रीको हा्र्दिक शुभकामना। सबैको दिन र जीवन शुभ, सहज र सरस बनोस्।

जय भोलेनाथ !

जय पशुपतिनाथ !!

10 February, 2025

खोज !


मैदान माथि पहाड
पहाड माथि हिमाल
हिमाल माथि बादल नै हुने रैछ
खै त ?
तिम्ले बताए जस्तो भगवान त
कतै नहुने रैछ ! ।

शास्त्र भनेको पुस्तक
पुस्तक भनेको दर्शन
दर्शन भनेको तथ्य मात्रै त रैछ ।
खै त?
वर्षौ रटाइए जस्तो सत्य त
कतै नहुने रैछ‌।

23 December, 2023

सिन्को उपलब्धि, क्विन्टलको माला !

कुनै व्यक्ति, दल वा गुट विशेषलाई लक्षित नगरीकनै हेर्ने हो भने पनि नेपाली समाजमा बारम्बार देखिने बढो विद्रुप दृश्य मध्यको एउटा विद्रुपतम् दृश्य हो नालायक, असक्षम र अमर्यादित पात्रको घाँटी र पूरै शरीरले थेग्नै नसक्ने भारका माला।    

कुनै अयोग्य र अनुपयुक्त पात्रको अनावश्यक र अतिरञ्जीत उपासनमा अर्पित यस्ता मालाहरू नेपाली समाजमा प्राय: विवादित मात्रै नभइ आलोचित नै हुने गरेका छन्। तर पनि आ-आफ्ना लहडी लम्फुलाई खुसी पार्न लालायित लम्पटहरूले किलो, मन र क्विन्टका माला बनाउने र देखाउने चलन झनै प्रतिस्पर्धाकै रूपमा चल्दैछ भने, देशको लागि सिन्को नभाँच्ने र नकारात्मक बाहेक सकारात्मक सन्देशसम्म दिन नसक्ने जोकर पात्र पनि यस्ता माला र मौकालाई लिन बढो उत्सुक, व्याकुल र प्रतिक्षारत देखिन्छन् ।

09 June, 2023

“ग्याब्रियले” पढेपछि

हेर्‍यो भने जिन्दगी त,

लेख्यो भने कथा हुन्छ।

कथै बन्छ जीवन सबको,

हर कथामा जीवन हुन्छ ।

मित्र हरिश ‘कल्पित’ को कथा सङ्ग्रह “ग्याब्रियले” घरको दराजमा सजिएर बसेको वा अझ भनौं सो पुस्तकले मलाई सिशाको दराजबाट गिज्याउन थालेको धेरै भइसकेको थियो । कुनै पुस्तक पढ्न बसेपछि पूरै नपढी ‘किस्ता’मा पढ्न थाल्यो भने त्यसको स्वाद आउँदैन् मलाई। अझ्, विगतको अनुभव सुनाउने हो भने, २-४ पन्ना पढेर छाडेपछि त्यो पुस्तक ‘फेरि’ पढ्न जाँगरै आउँदैन् र यसै कारण ‘नामी’ भनेर चर्चा कमाएका केही किताबहरू २-४ पन्ना पढेर छाडेपछि अल्छी लागेर पूरा नपढेका कारण त्यत्तिकै रहेका धेरै उदाहरणहरू छन् । यसै विषयमा आफैँले पनि मैले एउटा कथै समेत लेखीसकेँ ।

24 May, 2023

जालो
The web of crime

एकादेशको एउटा गाउँमा समयको कुनै अन्तरालमा एउटा जघन्य अपराध घट्यो। गाउँको बिचमै दिउँसै कैयँन व्यक्तिको निर्मम हत्या भएको थियो। धेरैजनाको ज्यान गए पनि र निकैको सङ्ख्यामा घाइतेहरू भए पनि त्यत्रो ठुलो घटना विस्तारै सामसुम हुँदै थियो। कसले, किन र केका लागि निर्दोष व्यक्तिहरूको हत्या गर्‍यो भन्ने कुरा रहस्यको गर्भमै रह्यो।

समयको अन्तरालमा केही साहसी व्यक्तिहरू देखा परे, तिनले त्यो नृशंस काण्डको मुख्य दोषीहरुको विपक्षमा कारबाही गर्ने प्रण लिए। केही घाइतेहरू पनि तत्कालको घटनाको बारेमा बोल्न र प्रमाण दिन राजी भए।

31 March, 2023

“ती सबै चोर हुन !”

Netas

भाग्यले भनौं वा दुर्भाग्यले हो, गएको एक महिनाको अवधिमा काम, भेटघाट र अन्य कार्यक्रमहरूको सिलसिलामा देशका स्थानीय, प्रदेशस्तरीय र केन्द्रिय नेताहरूसँग भेट्ने तालमेल जुर्‍यो ।   

आम जनमानसले नेता भन्ने बित्तिकै कुन नजरले हेर्छन् भन्ने बारेमा मैले यहाँ चर्चा गरिरहनु परोइन। नेता याने फटाहा, नेता माने भ्रष्ट, नेता मतलब ....। समष्टिमा बदनाम राजनीतिमा सही व्यक्तित्व भेटिँदैन् भन्ने कुरामा नेपाली नजमानस करिब करिब निश्चित नै भइसकेको छ ।

19 August, 2022

दुई सुत्रकथा

१. ‘कमर्सियल’ बाबा

 
सहरमा एक जना प्रसिद्ध सन्त आएका थिए। “परमात्मा प्राप्ति नै जीवनको लक्ष हुनुपर्छ र पैसा भनेको केही पनि हैन” भन्ने नै उनको एक मात्र जीवन दर्शन थियो।

उनको आगमन अगाडि नै देशका नाम चलेका पत्रिकाहरूमा मुख्य पातामै ठुला-ठूला महँगा विज्ञापन छापियो। आयोजकले सहरकै एक महँगो होटेलमा उनको प्रवचनको आयोजना गरे। उनले प्रवचन दिने स्थलमा पानी जस्तै गरेर पैसा खर्च गरियो र स्टेजलाई फ्लिमी शैलीमा सिँगारियो। “पैसा केही पनि हैन” भन्ने विषयमा उनले दिने प्रवचन सुन्न हजार हजारको टिकट राखियो ।

15 July, 2022

चरैवेति ! चरैवेति !!

भन्नलाई पाठककोलागि लेख्ने भनिएपनि लेखन वास्तवमा प्रथमत: आफ्नै लागि नै हो । कुनै एउटा विषय वा प्रसङ्गको बारेमा मनमा उथुलपुथुल भएपछि यो लेखेको लेख फलाना फलाना पाठक वा ‘टार्गेटेड ग्रुप’ले पढलान वा नपढलान भन्दा पनि, पहिला त आफैं त्यो मनमा चलेका तरङ्ग र विचारको भारीलाई कतै सेफल्याण्डिङ गर्नको लागि लेखिन्छ । लेखक इमानदार छ भने, आफ्नो मनको भाव, विचार वा मानसपटलमा तयार कुनै बिम्बलाई लेखौटमा नउतारेसम्म उसलाई चित्त बुझ्दैन् र यो तरङ्ग एउटा बोझ बनेर मथिङ्गलमा बसीरहन्छ । भलै त्यो विचार कुनै विधामा प्रकट भएपछि त्यसका आफ्नै पाठक, प्रशंसक वा त्यसको समर्थन व विरोधमा छुट्टाछुट्टै जमात नै जम्मा हुन सक्छन्, तर त्यो भन्दा पहिला लेखक स्वयं नै सो विचारको एकल मालिक हुन्छ।

03 July, 2015

के भएको थियो ९० सालको भूकम्पमा ?

Nepal-temple-1934-BLOGयही वैशाख १२, १३ र २९ का ठूला भूकम्प र त्यस बीचमा गएका सयौं का परकम्प र ‘धक्का’ सँगै नेपालमा घटेका विगतका ठूला भूकम्पको बारेका खोज र कौतूहल पनि बढेको छ । भूकम्प मूलतः प्राकृतिक घटना भएपनि ठूला भूकम्पहरू एउटा “अविस्मरणीय खाटा”का रूपमा देशको इतिहासमा रहन्छन् । अहिलेको विनाशकारी भूकम्पभन्दा अगाडिको कुरा गर्ने हो भने ९० साल अर्थात् सन १९३४ को भूकम्प नै नेपालको लागि सबैभन्दा दु:खद घटना थियो ।

अनि ९० सालको भूकम्पमा के भएको थियो त ? , भूकम्प पछि तत्कालीन शासक-प्रशासक, सेना र प्रहरीको भूमिका के कस्तो रहेको थियो त ? । भूकम्पको क्षति र त्यसपछिको जीर्णदारको कामको कस्तो योजना भनेको थियो त ? । कौतूहल हुनु स्वाभाविक हो ।

यसै प्रसङ्गमा केही समय अगाडि आफ्नै दिदीको घरमा एउटा हस्त लिखित पुरानो लेखोट भेटियो । त्यो कुनै किताबको अंश, कुनै पत्रिकामा छापिएको खबर वा कसैले सङ्ग्रह गरेको सूचना जे पनि हुनसक्छ । लेखोट धेरै पुरानो भएको र कति ठाउँमा अक्षर पनि बुझ्न मुस्किल भएकोले सो कुराको निर्क्योल गर्न सकिएन । तर ठूलो भूकम्पपछि आउने परकम्पहरू ‘सामान्य’ भएको कुरा सो लेखौटबाट पनि थाहा हुन्छ। त्यति बेला नेपाली सेना र प्रहरीले बहादुरी र इमानदारीका साथ गरेको सराहनीय कामको वर्णनले नेपाली सेना र प्रहरी ऐतिहासिक कालदेखि नै नेपाली जनताका दु:ख सुखका साथी रहेको गौरवशाली इतिहासको पनि ज्ञात हुन्छ । अत: सबैको जानकारीमा आओस् भनेर सो लिखतलाई यहाँ जस्ताको त्यस्तै प्रस्तुत गरिएको छ । :

21 August, 2013

यात्रा लुम्बिनीको !

म धेरै पटक पुगेको, तर जत्ति पटक पुगे पनि मलाई फेरि-फेरि जान मनलाग्ने नेपालको कुनै ठाउँ छ भने त्यो लुम्बिनी हो । सुरूमा भगवान बुद्धको जन्मस्थल अर्थात मायादेवी मन्दिर नै त्यस क्षेत्रको मुख्य आकर्षण हुन्थ्यो भने हाल भने करिब ६ किलोमिटर लम्बाइ र २ किलोमिटर चौडाइको विशाल क्षेत्रलाई छुट्याएर त्यहाँ विभिन्न देशले आ-आफ्नै शैलीमा मन्दिर, चैत्य आदि निर्माण गरेपछि लुम्बिनीको सुन्दरतामा नयाँ आयाम थपिएको छ।

कामको व्यस्तताको बीच अगिल्लो हप्ता फेरि मलाई सो पवित्र क्षेत्रको भ्रमण गर्ने मौका मिल्यो । सीमित समय भएकोले सोचे जत्ति मन्दिरहरू हेर्ने मौका मिलेन तर पनि आजको पोस्टमा दर्शन गरेका मध्येका केही मन्दिर र लुम्बिनीको तस्विरहरू बाँड्दै छु । (तस्विर ठूलो आकारमा हेर्न कुनै पनि तस्विरमा क्लिक गर्नुहोला । सो तस्विर आफैँ अर्को पेजमा ठूलो आकारमा खुल्ने छ )

Lumbini (20)

(मायादेवी मन्दिर—जहाँ भगवान बुद्धको जन्म भएको मानिन्छ)

18 July, 2013

प्यूठान—प्रकृतिको आँखीझ्याल !

गएको हप्ता नितान्त व्यस्तताको बीचमा बित्यो । कामको सिलसिलामा धुलो-धूवाँको काठमाण्डौ छाडेर हरियाली र स्वच्छताको गाउँमा पुगेको थिएँ । हो, म काठमाण्डौ देखि करिव चारसय किलोमिटर परको प्यूठान जिल्लाको गोठीबाङ्ग, भिङ्ग्री आदि गाउँमा थिएँ ।

हुन त तस्विर खिच्नको लागि कुनै स्थान विशेष वा ‘स्पट’ थिएन त्यहाँ, तर फोटोमा उतार्नको लागि सुन्दरताको कुनै कमी थिएन । वा भनौ करिब करिब जता फर्कियो उतै कैद गर्न लायक दृश्यहरू थिए त्यहाँ । आजको पोस्टमा त्यही गाउँको हरियाली र माटोको सुवास । तस्बिर ठूलो पारेर हेर्न सोही तस्बिरमा क्लिक गर्नु होला तस्बिर आफैँ अर्को पेजमा ठूलो आकारमा खुल्ने छ ।

Pyuthan (2)

(गाउँको एउटा कुना --  सायद प्रकृति-दर्शनको आँखीझ्याल)

06 July, 2013

कथाको ‘अन्धेर नगरी’, चोर र मेरो देश !

चोर

पुरानो कथा हो: उटा चोर चोरी गर्नको लागि झ्याल चढेर घर भित्र घुस्न लागेको हुन्छ । झ्यालको काठ भाँच्चिएर भूईमा थचारिन्छ । चोरको खुट्टा भाँचिन्छ र उ दोस्रो दिन सिधै अदालतमा घर मालिकलाई मुद्दा हाल्न जान्छ ।

अदालतले घर मालिकलाई तुरुन्तै बोलाउँछ र चोरको क्षतिपूर्तिको लागि आदेश दिन्छ । उल्टो चोरले मुद्दा हालेर फसेको घर मालिक कुनै उपाय न सुझेपछि यो व्यर्थको जिम्मेवारीबाट बच्न झ्याल बनाउने सिकर्मीमाथि दोष थोपर्छ । सिकर्मीलाई बोलाईन्छ, उ पनि आफुले चौकोस खापा सबै राम्रो बनाएको तर डकर्मीले जोडाइ गर्ने बेलामा गाह्रो नराम्रो लाएकोले झ्याल कमजोर भएको दलिल दिएर बच्छ ।

कथामा फेरि डकर्मीलाई पनि बोलाइन्छ । आफ्नो दोष स्वभावगत रूपमा अरूमा थोपर्ने क्रममा डकर्मीले पनि आफूले गाह्रो लगाउन लाग्दा बाटोमा एउटी सुन्दर स्त्री देखेको र त्यसैलाई हेर्दा ध्यान भङ्ग भएर गाह्रो बाङ्गीएको बखान दिन्छ । तुरुन्तै सो स्त्री लाई अदालतमा हाजिर गराइन्छ । चतुर स्त्रीले आफू सुन्दर नभएको तर त्यसदिन एउटा रङ्गीन ओढने ओढेर हिँडेकोले डकर्मीको ध्यान अकर्षण भएको हुनसक्ने बताएर अन्तिम दोष कपडा रङ्गाउने मा पुर्‍याउँछिन् ।

अन्धेर नगरीको राजमा अन्तमा सो कपडा रङ्गाउने को खोजी गरिन्छ बोलाइन्छ । कथाको अन्तमा गजब मोड आउँछ। त्यो कपडा रंगाउने अरू कोही नभएर चोर स्वयं नै हुन्छ ।

10 June, 2013

साँच्चै स्वर्गजस्तै स्वर्गद्वारी !

कामको सिलसिलामा धेरै पटक करिब २ घण्टा जत्तिको बाटोबाट ओहोर-दोहर गरे पनि म स्वर्गद्वारीको यो पवित्र तिर्थस्थलमा पुग्न भ्याएको थिइन् । भालुवाङबाट करिव ५५ किलोमिटर जत्ति प्यूठानतर्फ लागेपछि प्यूठानकै भीङ्गृ बजार पुगिन्छ । भिंगृसम्म पिच बाटो नै छ भने त्यहाँबाट भने कच्ची बाटोबाट करिब १३ किलोमिटरको बाटो कच्ची तर गाडि चल्ने छ । त्यसपछि भने केही सिँढी फेरि केही कच्ची बाटोबाट उकालो लागेपछि करिब आधा घन्टको हिँडाइमा यो पवित्र मन्दिरको द्वारमा पुगिन्छ ।

तिहारको औँसी, वैशाख पुर्णिमा आदिमा यहाँ विशेष मेला लागे पनि सामान्य यात्रु र धर्माबलम्बीहरूको भीड भने सधैं नै हुने रहेछ यहाँ ।

किम्बदन्ती र पौराणिक आख्यानलाई मान्ने हो पाँच पाण्डवहरूले सीधै स्वर्ग प्रस्थान गरेको मानिन्छ । यसरी सिधै स्वर्गको यात्रा गर्न सकिने यस ‘द्वार’ मा रोल्पा रुम्टीका १०८ महाप्रभु बालतपस्वी नारायण गौतमले १९५१ मा वेदमन्त्रद्वारा अग्नि प्रज्वलित गरी १९५२ वैशाख पूणिर्मादेखि अखण्ड महायज्ञ सुरु गरेको इतिहास छ । त्यसैले यस स्थानको धार्मिक, समाजिक र गहन आध्यात्मिक महत्व रही आएको छ ।

वास्तवमा यस पवित्र तिर्थस्थलको विहानी पूजा, हवन र साझको आरति सहित महाप्रभुले तपस्या गरेको गुफा लगायतका सम्पूर्ण क्षेत्रको अवलोकन गर्ने हो भने पुरै दिनको समय लिएर जानु पर्ने रहेछ । मन्दिरमै रहने, वस्ने उचित व्यवस्था रहेछ तर समयाभावको कारण अर्कोपाला फेरि जाने अभिलाषा सहित यसपाला भने केही तस्विरहरू लिएर फर्कियौँ । आजको पोस्टमा यही पवित्र तिर्थस्थलका केही तस्विरहरू : (तस्बिरलाई ठूलो पारेर हेर्न सोही तस्बिरमा क्लिक गर्नुहोस्, तस्बिरआफैँ ठूलो आकारमा अर्को पेजमा खुल्ने छ )

20 May, 2013

के चिकित्सकहरू कमिसनकै लागि यस्तो गर्छन् त ?

पहिलो घटना: करिब १५ वर्ष जत्ति भयो होला । केही दिनदेखि पेट दुखेकोले म त्यति बेला रामशाह पथ नेर रहेको मेडिकेयर हस्पिटलमा गएँ । समस्या ठूलो थिएन तर ४-५ दिन देखि असजिलो भएकोले सिधै त्यहाका एकजना यादव थर भएका gastroenterologist लाई भेटें । उनले मसँग सामान्य सोधपुछ गरेपछि सिधै भिडियो एक्सरे, स्टुल र अन्य २-३ थरी टेस्ट गर्नु पर्ने पर्चा थमाइ दिए ।

ती टेस्टहरू सबै गर्नुपर्ने झमेला एकातीर थपियो भने अर्कोतर्फ ती सबै टेस्ट नसक्केसम्म कुनै ठूलै रोग लाग्यो कि भन्ने शङ्का पनि मनमा गडी रहयो । ३-४ दिनमा सबै प्याथोलोजीको रिपोर्ट आयो । हालजस्तो इन्टरनेट र गुगल बाबाको ज्ञान दृष्टि सुलभ भइसकेको थिएन तर रिफरेन्स रेन्जमा झ्वाट्ट नजर पार्दा कुनै हाइलाइट गरिएको प्यारामिटर थिएनन् । रिपोर्ट लिएर म फेरि तीनै स्पेसलिष्टकहाँ पुगेँ । उनले सर्रर रिपोर्ट हेरे अनि “खासै केही समस्या देखिएन ...’यो’, ‘यो’ र ‘यो’ औषधी ५ दिन खानुस..” भनेर हातमा पर्चा थमाइदिए ।

फोक्कडमा ३-४ दिन टेस्ट गराउने हैरानी, र २-४ हजारको खर्च पछि ‘केही पो भएछ कि ?’ भन्ने गहन चिन्ता बोक्नु परेको थियो । अब त्यो रहेन तर पनि तिनले दिएका ती ‘यो’, ‘यो’ र ‘यो’ औषधिले मलाई केही फाइदा भएन । फाइदा नभएपछि फेरि घरेलु र अन्य वैकल्पिक उपचार विधि भने जारी राखियो । त्यस्तैमा एकदिन मेरै घरमा बस्ने एकजना डक्टरसँग कुरै कुरामा आफ्नो समस्या बताएँ (स्मरण रहोस ती gastroenterologist वा पेट सम्बन्धी रोगका विशेषज्ञ भने थिएनन्, त्यसैले आफ्नै घरमा बसेपनि मैले उनीसँग सल्लाह लिएको थिइन) । उनले आफ्नो हातले मेरो कम्मर र पेटको बिचको भागमा पर्ने गरी बिस्तारै दबाए र भने “भाइ!, तपाईलाई त अमिबाले दु:ख दिएको रहेछ ... ल यो औषधी ५ दिन खानुस्, ठीक हुन्छ ....” । तुरुन्तै उनले दिएको औषधी किनेर खान शुरु गरेँ ....दोस्रो दिन देखी नै मेरो पेट दुख्न कम भयो र तेस्रो दिन साँझ सम्ममा मलाई पेट दुखेको थियो भन्ने समेत याद रहेन् ।

09 May, 2013

के तपाईलाई मोबाइलमा देखिने G, E, 3G र H आदिको अर्थ थाहा छ ?

मोबाइल फोन वा मोबाइल डिभाइसमा इन्टरनेट चलाउने प्राय: हामी सबैले याद गरेको हुनुपर्छ। हाम्रो सेट इन्टरनेटमा जोडिएपछि प्रायजसो सेटको माथिल्लो देब्रे भागमा (सेट अनुसार फरक पनि हुनसक्छ) तपाइको सेट इन्टरनेटमा जोडिएको जनाउ दिने G, E, 3G वा H आदि जस्ता सङ्केत चिन्हहरू देखिन्छन् । तलको चित्र हेर्नुस (चित्रलाई ठूलो पारेर हेर्न सोही चित्रमा क्लिक गर्नुहोस्, चित्र आफैँ ठूलो आकारमा अर्को पेजमा खुल्ने छ )

E,G, 3G and H

यी चिन्हहरू तपाइले लिनु भएको सेटको हार्डवेयर क्षमता वा तपाइले सेवा प्रदायकबाट लिनु भएको सुविधा अनुसार फरक हुन्छन् । तर कहिलेकाहीँ भने तपाई रहेको स्थान विशेषमा उपलब्ध सेवा प्रदायकको सिग्नलको आधारमा पनि एउटै सुविधा लिएको सेटमा पनि माथि उल्लिखित कुनैपनि सङ्केत चिन्ह देखिन सक्छ वा छिनछिनमा सो सङ्केत चिन्ह परिवर्तन हुनसक्छ ।

29 April, 2013

के तपाईको उमेर ढल्किदैं छ ?

मानिस प्रौढ हुँदै गएको वा कसैको उमेर ढल्कँदै गएको कसरी थाहा पाउने? । हुनसक्छ तपाइलाई यो प्रश्न बेतुक लाग्न सक्छ । उमेर ढल्कँदै गएको वा बुढा-बुढी हुँदै गएको कुरा अनुहारमा देखिने चाउरी, फुलेको कपाल, कमजोर आँखा, फुस्केको दाँतले इङ्गित गर्छ भन्ने तपाई सोच्दै हुनुहुन्छ भने त्यो गलत हुनसक्छ । भनिन्छ नि, तन बूढो भएपनि मन कहिल्यै बूढो हुँदैन....त्यसैले शरीरमा आएका परिवर्तनका कुराहरू शरीरी स्वयंलाई भने कहिल्यै पत्ता हुँदैन । हो .... त्यसैले मानिसले आफू प्रौढ हुँदै गएको कुरा आफैलाई हेरेर भन्दा पनि अरूले आफूलाई कसरी हेर्छन् भन्नेबाट पहिला थाहा पाउँछन् रे ।

पत्याउनुहुन्न ? । अझ सिधै भन्ने हो भने तपाई प्रौढ हुनु भयो कि भएन भन्ने कसरी थाहा पाउने त ? । यो थाहा पाउने विभिन्न तरिकाहरू छन् । अझ तिनमा पनि चरण बद्ध भेदहरू छन् । नपत्याए हेर्नुस, कोही मानिसले आफ्नो उमेर ढल्कदैँ गएको कुरा कसरी अनुभूति वा वोध गर्छ त :

पहिलो चरण: उमेर ढल्कदै गएको कुराको पहिलो बोध यसरी हुनसक्छ:

  • धेरैपछि तपाईको पुरानो साथीसँग जम्काभेट हुन्छ, साथी तपाईको बारेमा हैन, सिधै तपाईको छोरा-छोरीको बारेमा सोध्न थाल्छ ।
  • तपाई कुनै अनलाईन आइडि बनाउँदै हुनुहुन्छ जन्म मितिको ठाउँमा आएपछि तपाईलाई धेरैबेर माउस स्क्रोल गर्नु पर्छ ।
  • छोराले तपाईलाई एउटा ल्यापटप किन्दिन भन्छ,...तपाई छोरालाई हाम्रा पालामा घराँ’ टाइप राइटर पनि थे’न भनेर हप्काउनु हुन्छ ।
  • तपाईलाई तपाईको मनपर्ने हिरोको नाम सोधिन्छ तपाईँ भुवन के.सी, शिव श्रेष्ठ, आमोल पालेकर र शत्रुहन सिन्हाको नाम लिन थाल्नुहुन्छ Party smile
  • तपाइको कपाल प्राकृतिक रूपमै कालो छ । तर तपाईका आफ्नै नातेदार समेत तपाईँलाई ‘हैन कुन चाहिँ कालो हाल्छौ हो कपालमा...?" भनेर सोध्छन् ।

25 March, 2013

होली मुक्तक !!!

Fagu

-१-

एकोहोरो हेरीरहेँ,
उनको मुहार लाल भयो ।
बिना लोला, बिना अबिर
मेरो होली कमाल भयो ! ।

-२-

उनी भन्छिन्, उनको प्रेममा
धेरै कवि पागल भए ।
म त सोच्छु, ती कवि भए,
पागल त ती पहिल्यै थिए ।

15 March, 2013

ट्वीटरका #अर्ध वरिष्ठ, #भु्क्का टुरिष्ट र #अति विशिष्टहरू

केही समय अगाडि यही ब्लगमा मैले ट्वीटेहरूको पहिचान कसरी गर्ने भन्ने बारेमा एउटा पोस्ट लेखेको थिएँ । नेपाली ट्वीटर टाइमलाईनमा बराबर प्रयुक्त हुने वरिष्ठ र कनिष्ठ आदिलाई कसरी चिन्ने भनेर लेखिएको सो पोस्ट पछि मलाई अनलाईन र अफलाईनमा धेरै कमेन्टहरू आए । यसका अरूपनि क्याटागोरी थप्दै जान धेरैले कमेन्ट गरे।

अत: आजको पोस्टमा फेरि अरू केही ट्वीटेलाई चिन्ने शङ्केतहरू राख्दैछु । ल हेर्नुस त उनीहरूको ट्वीटको आधारमा कसरी चिन्ने त उनीहरूलाई :

#अर्ध वरिष्ठ

यिनीहरू कहिले जत्ति धेरै ट्वीट उत्ति धेरै वरिष्ठ भनेर दिनमै कैयौँ ट्वीट गर्छन् ।

तर फलोअर नबढेपछि जति कम ट्वीट्यो उत्ति वरिष्ठ भइन्छ भनेर कैयौँ दिनमा एउटा ट्वीट गर्छन् ।

आफ्नो ट्वीट कसैले फेव गरेन भने आतिन्छन् भने १० पटक जत्ति रिट्वीट भयो भने मात्तिन्छन् ।

धेरेलाई फलो गर्दा राम्रो कि कमलाई गर्दा राम्रो भन्ने छुट्याउन सक्दैनन् र एउटै मान्छैलाई ५ चोटि फलो र ६ चोटी अनफलो गर्छन् ।

यिनलाई कुनै गीत, गजल वा कविताको टुक्रा ट्वीट गर्दा अपार आनन्द महशुस हुन्छ ।

यिनलाई कसैले ‘वरिष्ठ’ भन्यो भने उडायो भन्ठान्छन् बने ‘कनिष्ठ’ भन्दा हेपिएको ठान्छन् ।

हरेक १० जना नयाँ फलोअर बढ्दा यिनलाई बाघ मारेको अनुभूति हुन्छ र सो कुरा ट्वीट्टी हाल्छन् ।

01 March, 2013

म जनता हुँ…

म वृक्ष हुँ
रोपे उम्रन्छु, उम्रे फल्दिन्छु
गोडे सप्रन्छु, तोडे ढल्दिन्छु
चलाए चल्दिन्छु, जलाए जल्दिन्छु

म विचार हुँ
मायामा पग्लन्छु, छायाँमा अल्झन्छु
अभावमा सम्झन्छु, स्वभावमा बल्झन्छु
उच्चतामा टल्कन्छु, चेतनामा सल्कन्छु

म इमान् हुँ
अह्राएको गर्दिन्छु, परे’मा मर्दिन्छु
सत्यमा सर्दिन्छु, असत्य हर्दिन्छु
चेतना छर्दिन्छु, विवेकलाई भर्दिन्छु

16 February, 2013

साढे चार मुक्तक !

पीठो भनि बिकेको चोकर निक्लियो ।
हिरो हुँ भनि चम्केको जोकर निक्लियो ।
भन्न त भन्थ्यो सधैं, सबलाई मालिक बनाउँछु,
रहँदै गर्दा उ स्वयं पल्ला घरको नोकर निक्लियो ।

जो आदर्श नि छाँटछ, कुरा पनि ढाँट्छ, त्यो नेपाली नेता हुन्छ ।
जो सपना पनि बाँड्छ, नैतिकता नि छाड्छ, त्यो नेपाली नेता हुन्छ।
तीनका कुरा चमत्कारी, गौरवशाली हुन्छन् तर,
जो सम्मान पनि माग्छ, रछान पनि चाट्छ, त्यो नेपाली नेता हुन्छ ।

आफ्नै छानो डडाएर, आगो ताप्छौ तिमी ।
मुखले मात्रै हुने भए, आकाश पाताल नाप्छौ तिमी
नगर देशभक्तिका कुरा, नदेखाउ ढोगं इमानको,
देशै बेचेर नै सही, नोटै नोट छाप्छौ तिमी ।