17 May, 2012

मेरा ‘बन्द’ अनुभवहरु !

नेपाल बन्द हुनु अब कुनै ठुलो घटना रहेन, न त यसमा कुनै ठूलो दलको समर्थन हुनु नै जरूरी रह्‍यो अब । आफू सत्तामा बस्दा मात्रै यसको विरोध गर्ने र सत्ताबाट सडकमा पुग्ने बित्तिकै यसैको सहारा लिएर फेरि सत्ता हत्याउने खेलमा लाग्ने हाम्रा महान नेताहरूका गौरवमय परम्पराका कारण हुनै नहुने बन्द हाम्रो राजनैतिक कुसंस्कारको एउटा अभिन्न पाटो वा महानतम नेतहाहरूका माग पुरा गराउन गरिने पहिलो हथकण्डाको रूपमा स्थापित भइसकेको छ ।

कुर्सी हत्याउन बन्द, कुर्सी जोगाउन बन्द, हाकिमलाई निकाल्न बन्द, जागिर जोगाउन बन्द। हुँदा-हुँदा चौकी सारिँदा र कुखुरा मारिँदा सम्म बन्द । अनि कमजोर प्रशासन र गतिछाडा सरकारको छत्रछायाँमा बन्दमा मर्का पर्नेलाई भन्दा बन्द गराउनेलाई संरक्षण दिने परम्पराले गर्दा यो बन्दको हथकण्डा झन् झन् मजबूत हुँदै गएको छ । आज पनि यस्तै कुनै तथाकथित माग वा योजना अन्तर्गत कसैले बन्दको आयोजना गरेको रहेछ ( आजकल साँच्चै किन र कसले बन्द गरेछ भने र पनि बुझ्न छाडिएको छ:)।

आजको बन्दमा मैले बिगतमा भोगेका केही बन्द अनुभव लेख्दैछु ।

बन्दकर्तालाई संरक्षण, जनतालाई मार !

तिथिमिति लेखेर राखेको छैन ...तर कुरा केही वर्ष अगाडिको हो । त्यति बेला सायद कुनै नेताको गार्डसँग झडप गर्दा एकजना मार्सल आर्टसका खेलाडी गोलीको शीकार भएको कारणले तनाव बनेको थियो । म काम विशेषले अफिसको गाडीमा कालोपुल तर्फबाट चाबहिल जान लागेको थिएँ । कालोपुल पुग्नु भन्दा करिव २००-३०० मिटर परैबाट मैले देखेँ , केही १५-१६ का अल्लारे केटाहरू सडक छेउका ईँटा र ढुङ्गाका टुक्राहरू बोकेर बाटोको बीचमा ल्याइ बाटो बन्द गर्ने तयारी गर्दै थिए । अगाडि ३-४ जना मात्रै ‘फुच्चे’हरू रहेकोले मैले कुने ठूलो समस्या देखिन र गाडी अगाडि बढाउन भने । त्यत्तिकैमा झन अगाडि ५-७ जना पुलिसहरू झुल्किए । मैले झन निश्चिन्त हुँदै अगाडि बढ्ने उपक्रम गरेँ ।

फुच्चेहरू भएको भन्दा करिव ५० मिटर नेर पुग्दा २ जना प्रहरीहरू हाम्रो गाडीको नजिक आए । मैले सोचेँ अब यीनले मलाई बाटो खुलेकोले विना अवरोध अगाडि जान भन्ने छन् । तर मेरो अनुमानको ठिक उल्टो, हाम्रो गाडि रोक्न लगाईयो र ती मध्यका एकजना प्रहरीले भने “...सर अगाडि केटाहरू रोषमा छन्, तपाईँहरू कृपया फर्कनुहोला...” । पछि धेरै पटक यस्तै खाले अनुभव व्यहोरेकोले अहिले भने बन्दकर्ताको वरिपरि प्रहरी देख्दा तिनिहरू त्यही ‘तोडफोड गुट’लाई सघाउन बसेका हुन भन्ने सुरुमै थाहा हुन्छ । तर त्यतिबेला यो पहिलो अनुभव थियो । त्यसैले मैले ती प्रहरीलाई “...हैन्...के को बन्द हो ... ३-४ जनाले गरेर किन पछाडिको सबै गाडी रोक्ने...” भन्दैथिएँ । सुरुमै प्रहरीको कुरा सुनि सकेका मुन्द्रे-कुण्डलेहरूले यति बेला झन् ऊर्जावान भइ सकेका थिए र उनिहरू ‘...ल गाडि फर्काउने..’ भन्ने आदेशात्मक हैकमका साथ अगाडि आए । ती आलाकाँचालाई मात्रै भए झेल्छु भनेर अगाडि बढेको म, प्रहरी पनि उतै मिले पछि अल्पमतमा परि सकेको थिएँ । त्यसैले चुपचाप उल्टोबाटो फर्कनुको विकल्प नरहेकोले काम छाडि फर्केँ ।

दुईतिर आगो बीचमा बटुवा ।

अर्को पटक अफिस सात दोवाटोमा थियो, म आफ्नो भटभटे लिएर बागमती पुलबाट पाटन छिर्दै थिएँ । केका लागि, किन र कसले बन्द गरेका थिएँ अहिले याद छैन् । बागमती पुल तर्ने बित्तिकै अगाडिको बाटोमा लहरै ३-४ वटा टाएर बालिएको थियो । सडक छेउमा मुस्किलले ७-८ जना मुन्द्रे-कुण्डलेहरू त्यो टायर-दहनको कार्यलाई फत्ते गर्न हातमा लट्ठी लिएर बसेका थिए । आफ्नो त्यस दिन अत्यन्तै जरूरी काम भएकोले कुनै पनि हालतमा अफिस नपुगी नहुने थियो ।

बाटो छेउमा सायद दुई भ्यान प्रहरी थिए (बन्द कर्ता र प्रहरीको मात्रा हेर्ने हो भने एकजना बन्द कर्तालाई ३ जना पुलिस सजिलै पुग्थे) । तर माथिको अनुभव पहिलै भइ सकेकोले ती प्रहरीबाट कुनै सुरक्षा पाउँला भन्ने आश भने यसपाला थिएन र जे गरेपनि आफैँ गर्नु पर्छ भन्ने सोच थियो । पुलपारी १५-२० वटा मोटरसाइकल जम्मा भइसकेको थिए (चापाङ्ग्रे भने चलेका थिएनन्) र आपसमा कसरी अगाडि जाने भन्ने छलफल हुँदै थियो । कसैले जे पर्ला पर्ला सबैजना एकैपटक अगाडि बढौँ भने त कसैले दायाँ-वायाँका मसिना गल्लीबाट अगाडि बढ्ने बाटो भएकोले गल्लीबाट लाग्ने कुरा सुझाए । केही व्यक्तिहरू फर्के भने हामी ५-७ जना दायाँतिरको एउटा गल्लीबाट छिर्यौँ । सबैजना सो स्थानको नभएकोले बाटोमा छल्लीदै र हल्लिदैँ गर्दा ५-७ मिनेट पछी फेरि मूल सडकमै निस्कियौं । अपरिचित गल्लीबाट हिँडे पनि धन्न आगो बालिएको ठाउँभन्दा अगाडि नै पुगिएछ । उता अफिसबाट भने विहानको काम हुन्छ कि हुँदैन भनेर फोन आएको आयै थियो । मूल सडकमा निस्केर हेर्दा आगो बालिएको ठाउँभन्दा आफू अगाडि पुगेको देखेपछी मैले अफिसमा फोन गरेर समयमै काम हुन्छ भनेँ ।

अगाडि पछाडि कुनै गाडी नभएको खुल्ला बाटोमा मोटरसाइकल हुईक्याउँदै अलिक अगाडि पुगेपछि पो थाह भो त अगाडि पनि एक हुल टाएरका किरियापुत्रीहरू बीच सडकमा टायर दहन गरेर बाँसका भाटाले टायरका अस्थिपञ्जरहरू पल्टाउँदै थिए ।

अब परेन आपत ! । अगाडि नि आगो पछाडि नि आगो !! । न अफिस हानिन्न मिल्ने न त घरै फर्कन मिल्ने । बाटो छेउमा म र अरू केही अपरिचित मोटरसाइकल वाहकहरू निकै बेर दुइतर्फको मशानका अग्नी समन नहुन्जेलसम्म कुर्न नसकिने भएकोले फेरि अर्को एकजना मोटरसाइकल वाहकको नेत्त्वमा कता-कता गल्ली र छेडोबाट बागमतीको किनारै किनार भएर बाहिर निस्कियौं । अफिसको काम त त्यस्तै हो त्यस दिन ज्यान जोपगाउन सफल भएको र नयाँ गल्ली पहिचान भएकोमा भने खुसी नै लाग्यो ।

ज्यान जोगाउ जिनिस बचाउ !

एकदिन फेरि कुनाचाँहि गणतान्त्रिक महाराजालाई कुन्नि के कुरामा चित्त नबुझेर बन्द गरेका रहेछन् । बिहानै अफिस जाने बाटो वरिपरिका चिनजानका २-३ जनालाई फोन गरियो । सबैले चार पाङ्ग्रे त छैन तर २ पाङ्ग्रेको पातलो आवागमन छ” भन्ने जानकारी प्राप्त भयो ।

“ध्यान दिएर चलाउँला जहाँनेर भिड देखिन्छ त्यहीबाट फर्केर घरा आउँला” भन्ने मन्त्रलाई आत्मसात् गरेर आफ्नो दुइ पाङ्ग्रे लिएर निक्ले । अगाडि पछाडि पनि म जस्तै केही दुई पाङ्ग्रे सवारहरू थिए । बाटो छेउमा कतै ३-४ जना एकत्रित भएर बसेको देख्यो कि राम्ररी हेरेर मात्रै विस्तारै अगाडि बढ्दै थिएँ ।

अचानक पुतलीसडक, डिल्लीवजार र बागबजारको मोड नाघेपछि ह्वात्तै ५-७ जना नातो बानेकाहरूको दलबल सडकमा छिरे। म भन्दा अगाडिको मोटरसाइकललाई घेरियो । ‘किन बाइक चला’को? ‘ ती पुलिस संरक्षण प्राप्त गुण्डाले अगाडिको बाइकको साँचो निकाले । ‘सधैँ बन्द हुन्छ ....हाम्ले खानु पर्दैन?’ ती यवक पनि जङ्गिए । ‘हाम्ले कसको लागि बन्द गरेको था’छैन ?....’ । एकजनाले हातमा रहेको ईँटाको टुक्राले हेडलाइट फुटाले । स्थिति अचानक तनावपूर्ण भयो ।

‘हराम देखेर राम डराउँछ’ भन्ने उखान सम्झेर म झट्ट डिल्लीवजारको उकालो तर्फ लागेँ । त्यतापट्टिको बाटो ‘एकतर्फी’ थियो । तर ज्यान र जिनिस दुबै जोखिममा परेकोले अर्को उपाय पनि थिएन । ट्राफिक नियमको उल्लङ्घन गरियो तर ज्यान र जिनिस दुबै बचे ।

बन्दका यस्ता रोमाञ्चक कथाहरू अरूपनि छन् । बाँकी अर्को बन्दको दिनमा Hot smile

4 comments:

  1. हा हा हा! यो नेपालको 'बन्द' नियति देखेर रुनु कि हाँस्नु?

    ReplyDelete
  2. तपाईको अर्को कथा सुन्न कै लागि भएपनि अर्को बन्दको आयोजना गर्नुपर्ला जस्तो छ
    :P

    ReplyDelete
  3. बन्दले बिजोक बनायो भापामा,

    ReplyDelete