05 November, 2010

ब्लगर भेला- एक अनुभव

त्यसो त नेपाली ब्लगरहरुको भेला भएको यो पहिलो पटक थिएन । विगतका समयमा काठमाण्डौमै ४ पटक सम्म र अन्तरराष्ट्रिय स्तरमा दौँतरी द्वारा ३ पटक “अनलाईन ब्लगर भेला” को आयोजना भैसकेको छ । पहिलो र दोस्रो अनलाईन भेलामा ‘सहभागी’ हुने मौका मिले पनि पुराना तथा नयाँ ब्लगरहरुसँग प्रत्यक्ष भेट-घाट हुने यस पटकको भेलाको भने व्यग्रताका साथ प्रतिक्षा रहेको थियो मलाइ ।

फेसबुक, ईमेल ग्रुप र केही व्यक्तिगत इमेल समेतको सम्पर्क बाट सकेसम्म बढि संख्यामा ब्लगरहरु भेला गराउने चाहना भए पनि भेला आयोजना गरेको सूचना राखेको केही दिनसम्म भेलामा सहभागी हुनेको संख्या निक्कै कम देखिएको थियो । पछि विस्तारै यो ‘वेवलेन्थ’ ले काम गर्न थालेपछि करिव ४० जनासम्मको उत्साहजनक सहभागीता हुने देखियो ।

Nepali Bloggers

तर तिहारको सँगारमा परेको समय, सबैका आ-आफ्ना व्यस्तता र विविध कारणले गर्दा हिजोँ अर्थात ४ नोभेम्बर २०१० का दिन काठमाण्डौ बानेश्वरको थापा गाउँमा स्थित क्यापिटल एफ. एम. मा करिब २०-२२ जनाको उपस्थितिका बीच समापन भयो यो ब्लगर भेला ।

सुरुमै अनौपचारिक हुने भनिएकोले यो भेला कुनै एजेण्डा, ईश्यु वा विशेष समस्यामा केन्द्रित थिएन । तर विगतका ४ वटा यस्तै भेलामा सहभागी हुनु भएका उज्वल आचार्य देखि भर्खरै ब्गल सुरु गर्नु भएका नव प्रतिभाशाली ब्लगर साथीहरुसँगको यो भेटघाट एक-आपसमा विचार आदान-प्रदान गर्न र भविष्यका भेलाका लागि खाका तयार गर्न भने निक्कै उपलब्धि पूर्ण रह्‍यो । सहभागिताको गणितीय सूचक वा संख्यात्मक हिसाबले यो भेला ‘मेला’ बन्न सकेन। तर नेपाली, अंग्रेजी दुबै भाषामा साहित्य देखि, प्रविधि सम्म र फोटो देखि भिडियो ब्लगीङ अनि समाचार देखि सामाजिक विचारधारा लगायत आर्थिक,संगीत र सांस्कृतिक सबै पक्षमा कलम चलाउने ब्लगरहरुको उपस्थिति भएकोले यो भेला एक हिसाबले विविधता पूर्ण र ‘समावेशी’ भने रह्यो नै ।

सामान्य परिचय बाट सुरु गरेर अनौपचारिक रूपमै नेपाली ब्लग जगत र ब्लगरहरुका सामूहिक सरोकारका केही विषयमा सौहार्दपूर्ण वातावरणमा कुराकानी भए ।

नेपालको परिवेशमा ब्लगहरु प्रतिदिन बढ्दै जानु शुभ सूचक भएपनि ब्लगरहरुले निरन्तरता दिएर स्तर वृद्धिमा लाग्नु पर्ने र ब्लगको छुट्टै पहिचान बनाउनको लागि अझै निकै कामहरु गर्न बाँकी रहेको कुरा भेलामा एउटा छलफलको मुख्य विषय बन्यो । लक्षित पाठकहरू सम्म नेपाली ब्लगको पहुँचको लागि ब्लगरहरुले गर्नुपर्ने प्रचार-प्रसार वा ब्लगको छुट्टै पहिचानको लागि गर्नु पर्ने वा गर्न सकिने विषयका वारेमा पनि सामन्य चर्चा चल्यो भेलामा । अनि ब्लग बारे पाठक मात्रै हैन्, मूल धारका मिडियाहरूका दृष्टिकोण समेत प्रस्ट नभएका र ब्लगको छुट्टै पहिचानको लागि ब्लगरहरुले निभाउन सक्ने वा निभाउन पर्ने भूमिकाका बरेमा पनि केही साथीहरूले विचारहरू राख्नु भयो ।

करिव २ घण्टा जत्ती चलेको भेलामा ब्लगरहरुको संगठन बनाउनु उपयुक्त हुने वा नहुने भन्ने बारेमा पनि सामान्य विचार आदान-प्रदान भए । ब्लगरहरु स्वभावैले स्वतन्त्र हुने भएकाले कुनै पनि संगठनको गठनले ब्गगको त्यो सुन्दरता वा स्वतन्त्रतामा प्रभाव पार्न सक्ने कुरा एउटा तर्कको रुपमा निस्केको थियो भने छलफलको अर्को पाटोमा हालै सरकारको निर्देशनमा विभिन्न आइ.एस. पी. ले ब्लगमाथि लगाएका प्रतिबन्ध वा भविष्यमा कुनै ब्लग वा ब्लगर माथि हुनसक्ने यस्तै रोक, नियन्त्रण वा अतिक्रमणका विरुध्द लडन ब्लगरहरू एकजुट हुनु पर्ने कुरामा पनि सबैको समान सोच रहेको थियो ।

समष्टिमा कुनै गुट नबनाउने तर यस्तै किसिमका भेटघाट वा सामाजिक सञ्जालको माध्यमले एक-आपसमा निकट रहने अनि ‘अदृष्य कडी’ बाट जोडिएर परि आएको बेलामा समूहगत रूपमा प्रस्तुत हुनेमा प्राय: सबै ब्लगरहरुको सहमति देखियो ।

भेला चलिरहँदा बेला-बेलामा कहिले यस अघी ३-४ वर्ष अगाडि भएका यस्तै भेलाहरुका त कहिले दौँतरीमा हुने गरेका अनलाइन भेलाका केही ‘रोचक-घोचक’ रोचक पक्षहरुका कुराहरु पनि उठिरहे ।

सुरुमै परिचयात्मक कार्यक्रम र दीपावलीको शुभकामना आदान-प्रदान गर्ने मात्र उद्देश्य राखेर गरेको यो भेला यति सम्मका विषयमा विचार आदान प्रदान गरेर अर्को भेला यही २०६७ साल पुष ३ गते अर्थात् 18 December 2010 गर्ने भन्ने सामुहिक निर्णय लिएर टुंगीनुलाई पक्कै पनि शुभ सूचक र उपलब्धि पूर्ण प्रस्थान बिन्दुको रुपमा लिनुपर्छ जस्तो लाग्छ मलाई ।

अर्को पटकको भेला अझ अविस्मरणीय र यो भन्दा बढि उपलब्धि मूलक हुनेछ भन्ने आशा गर्न यो भेलाले प्रशस्त सम्भावना छाडेको छ । अन्तमा आ-आफ्ना अध्ययन, परिवार अनि हजार कार्य व्यस्ताका बाबजूद भेलामा सहभागी भइ दिनु हुने सम्पूर्ण ब्लगर मित्रहरु र भेलामा उपस्थित हुन नसके पनि फेसबुक, ईमेल अनि अन्य माध्यमबाट शुभकामना र सन्देश पठाउनु हुने सबै शुभचिन्तक साथीहरुमा म हार्दिक कृतज्ञता ज्ञापन गर्न चाहन्छु ।

भेला आयोजनार्थ हल उपलब्ध गराउने क्यापिटल एफ.एम., रुपेश श्रेष्ठ अनि अन्य जोरजाम समेतकालागि जोतारे धाइबा विशेष धन्यवादका पात्रहरु हुनुहुन्छ ।

जय ब्लग !, Happy Blogging!!

शुभ दीपावली !!!

सहभागी ब्लगरहरु:(अंग्रेजी वर्णानुक्रमको आधारमा)

नाम

ब्लग ठेगाना

Aakar Anil www.aakarpost.com
Alankar Aryal http://gharaagan.blogspot.com
Basanta Gautam www.basantagautam.com
Bhoj Raj Dahal www.nepaldiary.wordpress.com
Dilip Acharya http://dacharya.blogspot.com
Jotare Dhaiba http://dhaiba.blogspot.com/
Kailash Rai http://kailashkokuti.blogspot.com
Kamal Kumar www.kamalkumar.com.np
Manoj K.C www.blogsamaya.wordpress.com
Prabesh Poudel www.gufgaf.com
Pradeep Bashyal www.pradeepbasyal.com.np
Pushpa Raj Acharya http://pushparajacharya.blogspot.com
Rupesh Shrestha www.blogstreet.wordpress.com
Sabin Gyanwali www.nepaliblogger.com
Saroj Koirala www.sarojkoirala.com.np
Saurav Dhakal www.storycycle.com
Sujan Sharma http://sujanacharya.blogspot.com
Surath Giri www.surathgiri.com
Sweta Baniya www.swetabaniya.wordpress.com
Ujjwal Acharya www.nepalivoices.com

(कुनै  ब्लग ठेगाना गलत छापिएको वा छुटेको भएमा कृपया खवर गर्नुहोला)

12 comments:

  1. रमाईलो र उपलब्धिं मुलकनै भएछ हाम्रो बल्ग भेला। समयले साथ दिएन र भेलामा सहभागी हुन सकेन। यसलाई अझै राम्रो गरि अर्को भेलालाई मेला बनाउने गरि, एउटा कार्य समिती गठन गरेरै भए पनि भब्य र सबैको नजर तानिने गरि गर्ने प्रायास गरौला। जे होस भेलाको सफलताको बारेमा सुनेर निकै खुसी लाग्यो। जय बल्गिंङ।

    ReplyDelete
  2. हामी सहभागी हुन नसके पनि समाचार पढेर साह्रै खुसी लाग्यो । साथीहरूले गर्नु भएको छलफल र निर्णयमा हाम्रो सहमति छ ।

    ReplyDelete
  3. भेला स्वागतयोग्य र उपलब्धिमुलक लाग्यो । हजुरहरुका यि सरसल्लाहहरुमा हाम्रो पूर्ण सहमति छ । मौका मिले अर्को पल्ट भेटौला ।

    ReplyDelete
  4. भेला अनौपचारिक भए पनि निकै स्वागतयोग्य रहेको ठाने मैले पनि !
    दूर्जेय जी , रमेश मोहन जी र सुर्य जी ले भन्नु भए जस्तै मेरो पनि साथीहरूले गर्नु भएको छलफल र निर्णयमा सहमति छ ।

    ReplyDelete
  5. निकै रमाइलो र उपलब्धिमुलक भएछ भेला । खुशी लाग्यो । अाउँदा दिनहरूमा पनि यस्तै यस्तै भेला गरिरहनुहोला ।
    यो "कुनै गुट नबनाउने तर यस्तै किसिमका भेटघाट वा सामाजिक सञ्जालको माध्यमले एक-आपसमा निकट रहने अनि ‘अदृष्य कडी’ बाट जोडिएर परि आएको बेलामा समूहगत रूपमा प्रस्तुत हुनेमा प्राय: सबै ब्लगरहरुको सहमति " निकै मन पर्यो ।

    ReplyDelete
  6. चाडवाडको चपेटाले गर्दा आफू त्यो भेलामा उपस्थित हुन नसेकेकोमा क्षमा माग्छु । आउँदा दिनहरुमा हुने यस्ता भेलामा भने पक्कै पनि उपस्थित हुनेछु । तपाईले भनेजस्तै ब्लगरहरु स्वतन्त्र हुन् कुनै गुटको आवश्यकता पर्दैन । भेलामा साथिहरुले गरेका निर्णयहरुमा मेरो पुरै सहमति छ । जय बलगिङ

    ReplyDelete
  7. नेपाली ब्लगरहरुको भेलाको पत्तो नै भएन । शायद नयाँ ब्लगर भएकोले पनि होला जानकारीको सुत्र भेटिएनछ । आगामी भेलामा सहभागी हुने सोचाइ छ ।

    ReplyDelete
  8. ब्लगर भेला भएछ। फिजीकल लोकेसनमा भएको ले जनाउ गर्न सक्ने त कुरै भएन। एकै महिना पछी नै अर्को भेला गर्ने भनेको सुन्दा खुशी त लाग्यो तर यसरी असार साउन झैं भेला गर्दै जांदा पहिले कै जस्तै भेलबाढी पछी हिउंदमा सुके जस्तै ब्लगरको जोश सुक्न जाला। ब्लगर भेलाको ब्यख्या सुन्दा भेला निकै रमाइलो भएछ। ब्लग बिचको संबन्ध गाढा बढ्दै जाओस। साथै भेलमा उठेका कुरा सहि लाग्यो। लेख मा क्वालीटी र पाठकको संख्यामा ब्रिद्दी त्यसमा संधै म जोड दिन पर्छ भन्छु।

    भेलामा दौंतरीका ब्लगर पनि सामेल हुनुभएको रहेछ। त्यसमा खुसी लाग्यो। दौंतरीले गरेको अन्तराष्ट्रीय भेलाको पनि कुरा उठेको रहेछ। रोचक घोचक के कती भयो तर सम्झनु भएकोमा धन्यबाद। दौंतरीको अनलाईन भेला जारी नै रहनेछ। हरेको बर्षको अगष्ट र फेब्ररीमा हुने अन्तराष्ट्रीय भेला अब फेब्ररी २०११ मा दौंतरीमा हुने जानकारी गराउन चाहान्छू।

    नेपालियन
    हेप्पी ब्लगिगं
    दौंतरीबाट

    ReplyDelete
  9. झुलुक्क ब्लगर भेलाको सूचना कतै देखेको थिएँ । मिति याद भयो । तर समय र ठाउँ याद भएन । पछि जति खोज्दा पनि त्यो सूचना फेलै परेन र गयल भइयो । तैपनि भेलाको बारेमा पढ्न पाउँदा खुसी लाग्यो । December को भेलामा भने जसरी पनि गयल नहुने विचार छ ।

    ReplyDelete
  10. शेखर10/11/10 1:43 PM

    दिलिप जि नमस्कार, ब्लगमा धेरै उपयोगी टाँसोहरु राख्नु भएको रहेछ। साथै अन्य साथीहरुको ब्लगबाट पनि धेरै कुराहरु सिक्न पाइयो। त्यसैको फलस्वरुप यो नेपाली युनिकोड टाइपिङ्ग बाट यो तिप्पणी लेख्दैछु। यस्तै ज्ञानवर्धक टाँसोहरुले निरन्तरता पाइरहोस भन्दै शुभ कामना ब्यक्त गर्दछु।

    ReplyDelete
  11. भेला रमाईलो भएछ | बेला बेला भै राखे कुनै दिन हाम्रो नि मेलो मिल्ला |

    अदृश्य कडीले भने कता कता सिरीङ्ग बनायो |

    ReplyDelete
  12. dami bhayachha tara ma ta yasto bujhdina

    ReplyDelete