31 August, 2008

फङ स्वेई के हो ?

ज्योतिष, तन्त्र र योग जत्ति सुलभ नभए पनि करिव करिव संसारभरि नै र नेपालका सहरी क्षेत्रको लागी हाल "फङ स्वेई" (风水-- fēngshui )पनि एकदमै नयाँ कुरा भने रहेन । सहरी क्षेत्रमा "फङ स्वेई" मा बिश्वास गर्ने र यसबारे सल्लाह लिनेहरुको संख्या कम छैनन् भने यसका ज्ञाताहरु पनि भेटिन्छन् । तर यो "फङ स्वई" के हो त ?

"फङ स्वेई" को धारणा प्राचिन चिनबाट पार्दुभाव भएको हो । चिनिया भाषामा "फङ" को अर्थ हावा र "स्वेई" को अर्थ पानी हुन्छ, यसरी हेर्दा "फङ स्वेई" को अर्थ "हावा-पानी" हुन जान्छ । बास्तबमा हावा र बिशेष गरी पानी संग यसको गहिरो सम्बन्ध रहेपनि फङ स्वेई को बृहत अर्थ र अबधारणा लाई हावा र पानीमा मात्रै सिमीत गर्नु भने पक्कै पनि बुद्धिमानी हुदैंन ।

फङ स्वेई बास्तबमा चिनको आफ्नै बास्तुशास्त्र हो, तर बास्तुशास्त्र भए पनि यसको क्षेत्र भवन निर्माण र कुनै संरचनाको ढाँचासंग मात्रै सम्बन्धित नभएर मानव जिवनको सबै क्षेत्रमा बिस्तारित छ । जहाँ पूर्विय बास्तुशास्त्र करिब करिब भवनको संरचना र त्यस भित्रका बस्तुहरुको उचित स्थानान्तरमा केन्द्रित देखिन्छ भने चिनिया फङ फङ स्वेईले यी भौतिक संरचनाको ढाँचा र त्यसभित्रका सामानहरुको व्यबस्थापन बाहेक मानव जिवन र प्रकृति बिच तालमेल गर्ने सेतुको समेत गहिरो तलसम्मको सोध गरेको पाईन्छ ।

त्यसो त आजकल फङ स्वेइको नाम जताततै सुनिन्छ र यो पनि बिस्तारै ज्योतिषी र झारफूकको समेत पर्याय बन्दैछ । तर बास्तबमा फङ स्वेई कुनै भविश्यबाणि गर्ने बिद्या, ज्योतिष शास्त्र वा कोरा झारफूक र भूत भगाउने बिधि भने हुदैं होईन । यदाकदा यसलाई बुद्ध धर्म र ताओ धर्म संग जोडेर पनि हेर्ने गरिन्छ । तर चिनिया इतिहास र संस्कृतिमा फङ स्वेई कुनै धर्म संग सम्बन्धित बिधि नभई यौटा छुट्टै बिद्या र पृथक बिधान हो ।

प्राचिन चिनको इतिहासमार् इशा पूर्व ३००० भन्दा पनि निक्कै पहिले देखिनै फङ स्वेई को बारेमा केहि धूमिल तथ्यहरु भेटिएको र इशा पूर्व ११०० तीरको चिनिया चौ वंशको पालामा भने यसको प्रयोग भएको प्रष्टै प्रमाण भेटिएकोले यसलाई बुद्ध धर्म वा ताओ धर्म संग जोडेर धार्मिक रंग दिनु कुनै हालतमा पनि तर्क संगत देखिदैंन । त्यसो त प्राचिन कालमा यो यौटा गुह्य ज्ञान थियो र शासक बर्ग र उच्च बर्गको पहुँचमा मात्रै सिमीत थियो भने यो बिद्या व्यापारीक नभई सकेकोले हालको भन्दा सरल र सिमित क्षेत्रमा उपयोग हुन्थ्यो । समाजको बिकासको साथ साथै यो बिद्या सामान्य नागरिक सम्म पुग्नु यसको राम्रो पक्ष हो भने अत्यन्तै व्यापारीकरण भएर थरिथरिका फङ स्वेई सामाग्री बजारमा आउनुलाई सच्चा फङ स्वेइका ज्ञाता यसको बिकृति मान्छन ।

बास्तबमा फङ स्वेई को प्राचिन मान्यता एकदम सरल छ । जहाँ जहाँ परस्पर विरोध, खिचातानी र वैमनस्यता हुन्छ त्यहाँ त्यहाँ द्वन्द, तनाव र असहज स्थितिको सृजना हुन्छ भने जहाँ जहाँ सदभाव,सदाचार र आत्मियता हुन्छ त्यहाँ त्यहाँ प्रेम, एकता र सहिष्णुता पैदा हुन्छ । चिनिया प्राचिन रहश्यदर्शीहरुका अनुशार मानिस समाजमा केवल अर्को मानिससंग मात्रै बसेको हुदैंन उ सबैभन्दा पहिला प्रकृतिसंग रहेको हुन्छ । समाजको अर्को व्यक्ति नभएपनि मानव जिवन सम्भब हुन सक्छ तर प्रकृतिसंगको द्वन्दात्मक परिवेशमा मान्छे रहन सक्दैन वा रहेपनि जिवन्त, उर्जामय र रचनात्मक हुन सक्दैन । त्यसैले फङ स्वेई बास्तबमा पूर्वीय बास्तु शास्त्र भन्दा बैदिक दर्शन संग बढि मिल्न सक्छ ।

ऋग्वेद मा यौटा बाक्य छ "ऋतस्य यथा प्रेत:" अर्थात प्राकृत नियम वा स्वभाविक नियम अनुशार जिउनु । छोटकरीमा भन्ने हो भने फङ स्वेई मानव जिवन प्रतिको बोध पनि यहि हो । माथी बताईए झै जहाँ जहाँ मानिस प्रकृतिको बिपरित हुन्छ त्यहाँ त्यहाँ मानव जिवनले द्वन्द, तनाव र असहज स्थितिको सामना गर्नु पर्ने हुन्छ भने प्राकृतिक नियम वा बिधानलाई आत्मसात गरेर हिडेमा त्यसले मानव जिवनलाई स्वस्थता, सृजनशिलता र जिवन्तता प्रदान गर्दछ, यहि नै बास्तबमा फङ स्वेइको जिवन दर्शन हो ।

यसरि फङ स्वेई सम्पूर्ण प्रयास प्रकृतिसंग लयात्मक हुने रहेको छ । तर भौतिक शरिरधारी मानिसले कसरि प्रकृतिसंग एकात्मकता कायम गर्ने त - यसकालागी पनि चिनिया रहश्यदर्शिहरुले उपाए निकालेका छन । भौतिक शरिरधारी मानिसले सोझै प्रकृतिसंग आमना सामना गर्न नसकेपनि प्राकृतिक उर्जा, जसलाई चिनिया भाषामा "छि" भनिन्छ लाई आफू अनुकूल बनाउन प्रकृतिका पञ्चतत्वलाई सन्तुलन गर्न सकिने उनिहरुको सोध छ । अनि फङ स्वेई खोजहरु मध्य यो पञ्चतत्वलाई सन्तुलन गर्ने सोध एकदमै चाखलाग्दो, रहश्यमय र वैज्ञानिक पनि छ ।

त्यसो त यहाँनेर "चिनिया पञ्चतत्व" र "पुर्वीय पञ्चतत्व" को अवधारणामा केहि भिन्नता पनि छन । वैदिक दर्शन र पुर्वीय तन्त्र शास्त्रमा जहाँ पृथ्वि, जल, तेज, वायु र आकाश लाई पञ्चतत्वको रुपमा लिईन्छ भने चिनिया फङ स्वेईमा भने पृथ्वि , जल, अग्नि, धातु र काठ यसमा पर्दछन ।

फेरि यो पञ्चतत्वको अबधारणा यौटा सामान्य मानिसले बुझ्ने गरी चेतना जगतका सुक्ष्मतम तत्वलाई दिईएको प्रतिकात्मक नाम भएकाले यीनलाई भौतिक जगतका पृथ्वि , जल, अग्नि, धातु र काठ कै रुपमा भने बुझ्नु यौटा गल्ती हुनेछ । चिनिया फङ स्वेई दर्शन अनुशार यि पाँच तत्वले परिमाण, स्थिति र सामानजस्यका आधारमा एक अर्काको पोषण, शोषण र नियन्त्रण समेत गर्दछन । यी तत्वहरु पनि कहिले "यिन" र कहिले "याङ्ग" को रुपमा बस्छन । यो सानो लेखमा यी सम्पूर्ण प्रक्रिया राख्न नसकिए पनि यो अबधारणलाई यौटा सजिलो सूत्रको रुपमा प्रष्ट्याईने प्रयास गरिनेछ ।

चिनिया फङ स्वेई दर्शन अनुशार:

अग्निले धातुलाई पगाल्छ धातुले काठलाई काट्छ काठ (रुख) ले माटोलाई समात्छ माटोले पानिलाई सोस्छ र पानीले अग्निको समन गर्छ । त्यस्तै आगो बलेर बाकि रहेको खरानीले पृथ्वि बन्छ पृथ्विले आफ्नो गर्भबाट धातु पैदा गर्दछ धातु तताएपछि पानी जस्तै बग्छ पानीले काठ (रुख) लाई पोषण गर्छ र काठले फेरि अग्निको पोषणको लागी इन्धनको काम गर्दछ । यसरी यी पाँच तत्वले परिमाण, स्थिति र सामानजस्यका आधारमा एक अर्काको पोषण, शोषण र नियन्त्रण गर्छन र यी पाँच तत्वको सहि सन्तुलन भएमा मात्रै "छि" अर्थात प्राकृतिक उर्जाको सहि बहाव र प्रचुर उपलव्धता हुने र यसले मानव जिवनको प्रकृतिसंग अनुकूल आत्मियता र लयात्मक स्थिति पैदा गर्छ । प्रकृतिसंग यहि अनुकूलता, आत्मियता र लयात्मक स्थिति पैदा गर्नु नै फङ स्वेईको सोध हो ।

सभ्यताको बिकासको क्रममा चिनिया सोधकर्ताहरुले यस बिधाको निक्कै गहिरो र वैज्ञानिक अध्ययन गरेका छन । प्रकृतिसंग लयात्मक भएमा असल र प्रतिकार गरेमा खराव हुनेमा मात्रै चिनिया सोध रोकिएन र त्यसपछिका सोधहरु खराव भई सकेका अबस्थाको उपचार र सन्तुलनको खोजमा लाग्यो र यहि खोजले नै चिनिया फङ स्वेई बिभिन्न "फङ स्वेई सामाग्री" को पहिचान गरायो र बिभिन्न "सन्तुलन औजार" को प्रचलन भयो । बस्तुत प्राचिन कालमा यौटा चुम्बकिय कम्पास र अन्य केहि सिमित सामान मात्रै फङ स्वेईका ज्ञाताले प्रयोग गर्नेमा हाल आएर यस बिद्याले व्यापारीक रुप लिएको र यसमा केहि धार्मिक रंग पनि चढेकोले ऐना, मूर्ती, घण्टि, बिभिन्न प्रकारका बत्ति आदि अनेकौं सामाग्रीहरु यसको प्रयोगमा आउँछन ।

वास्तबमा फङ स्वेई विज्ञान भौतिक विज्ञान भन्दा पृथक हुनाले यसका कतिपय मूल्य र मान्यताहरु भौतिक विज्ञानका सिद्धान्त र बिचारसंग ठ्याक्कै मेल खाँदैनन् तर यो बिधा आफैमा यौटा "परा -भौतिक-बिज्ञान" भएकोले यसका सिद्धान्त र मान्यतालाई भौतिक विज्ञानको कशिमा मात्रै दाँजेर हेर्न पनि मिल्दैन ।

उदाहरणको लागी अन्रिन्द्राको समस्याले ग्रस्त कुनै मानिस फङ स्वेई ज्ञाता कहाँ निदान गर्न गएमा फङ स्वेईका जानिफकारले उक्त व्यक्तिको रक्तचाप, मुटुको चाल अदिको बारेमा नसोधिकन ति व्यक्तिको कोठमा लगाईइको रंग, पलङको स्थिति वा घर बारीमा लगाईएको रुख बिरुवाको बारेमा समेत सोध्न सक्छन । औषधि विज्ञानको दृष्टिबाट यो एकदमै वाहियात लाग्न सक्छ तर भित्ताको रंगको सामान्य बदलाव, खाट पलङ आदिको स्थान परिवर्तन वा भित्तामा झुण्ड्याईएका तस्विर वा पेण्टिङ्गको हेरफेरले कैयौंको समस्या हल भएका प्रमाणहरु पनि भेटिएका छन ।

यस पोष्टको माध्यमबाट औषधि विज्ञानलाई चुनौति र अन्ध विश्वास वा रुढिबादलाई बढावा दिनु मेरो उद्देश्य हैन तर घरको छतमा एक किसीमको घण्टि झुण्ड्याएर तनाव कम भएका, यौटा पानीको घढा राखेर स्वास्थ्य लाभ भएका र कुनै कोठमा भएको ऐनाको स्थानान्तरण गरेर समस्या सुल्झेको बताउनेहरुको पनि समाजमा हजारौंको सख्यामा उपलब्ध छन ।

जहाँ भौतिक विज्ञानको अन्त्य हुन्छ त्यहिबाट फङ स्वेई बिज्ञानको शुरुवात हुन्छ र यो भौतिक विज्ञान भन्दा पृथक बिधा हो । त्यसैले यसलाई अन्ध र्समर्थन गर्नु र बुझ्दै नबुझि नकार्नु दुबै गलत हुन सक्छन ।

प्रकृतिको गर्भमा अनेकौं रहश्य लुकेका छन र आँखाले देखेको मात्रै साँचो भन्ने धारण सधैं सत्य हुदैंन । इन्द्रेणी आँखाले देखिए पनि प्रकाश, हेरिने कोण अदिको संयोजन मात्रै भएकोले मित्थ्या हुन्छ भने शरिरका सबै अवयवहरु जस्ताकौ तस्तै रहेपनि अदृश्य आत्माले छाडेर गए पछि प्राणिको मृत्यु हुने हुनाले आत्मा यौटा अकाट्य सत्य हो ।

त्यसैले फङ स्वेई आफैमा यौटा अति गहन, रहश्यपूर्ण र अत्यन्तै जिवनोपयोगि साधन हन सक्छ । जसलाई केवल अन्ध बिश्वासको संज्ञा दिएर छाडनु भौतिक बिज्ञानकै अर्को अन्ध विश्वास हुन सक्छ ।

(म फङ स्वेईको ज्ञाता होईन, तर यो विद्यालाई झाँक्रि विद्याजस्तो गरि जथाभावि ठग्ने कार्यमा लगाएको देखेपछि चीनिया संस्कृतिको विद्यार्थि भएको नाताले आफूले बुझेको कुरा यहा राखेको मात्रै हो)

7 comments:

  1. ओहो, यस्तो पो रहेछ फङ स्वेई, जानकारीका लागि धन्यबाद । एउटा कुरा सार्वजनिक रुपमा सोधिहालौँ है, तपाई र वसन्त जी साथी, अनि सँगै पढ्नुभयो चाइनामा । तर अहिले वसन्त जी जापान मा अनि तपाई भारत मा । साँच्चै अहिले भारत मा तपाई कुन प्रोफेसन मा हुनुहुन्छ ?

    ReplyDelete
  2. ओहो, यस्तो पो रहेछ फङ स्वेई, जानकारीका लागि धन्यबाद । एउटा कुरा सार्वजनिक रुपमा सोधिहालौँ है, तपाई र वसन्त जी साथी, अनि सँगै पढ्नुभयो चाइनामा । तर अहिले वसन्त जी जापान मा अनि तपाई भारत मा । साँच्चै अहिले भारत मा तपाई कुन प्रोफेसन मा हुनुहुन्छ ?

    ReplyDelete
  3. नयाँ ठाउँको बारेमा जान्न पाइयो । रमाइलो लाग्यो ।

    ReplyDelete
  4. साह्रै गजबको लेख पस्किनुभएछ । पञ्चतत्वलाई चिनियाहरुले कसरी परिभाषित गरेका छन र चिनिया दर्शन अनुशार पञ्चतत्वको तारतम्यता के हो त भन्ने जानकारी पाईयो । यो फङ स्वेई भन्ने शब्द मैले चैं सुनेकै थिएन है कहिले पनि , खुशी लाग्यो नयाँ कुरा जान्न पाएर ।

    ReplyDelete
  5. आकार जी, उजेली जी र दिपक जी कमेण्टको लागि धन्यावाद्

    मेरो प्रोफेशनको सम्बन्धमा हाल म दक्षीण भारतमा छु । साधारण रुपमा भन्दा यौटा सानो तिनो मल्टिनेशनल कम्पनि र भारतिय प्रान्तिय सरकारको सहभागितामा चलेको यौटा हस्तकला उद्योगसंग सम्बद्ध छु ।

    अनि तपाईको सम्पर्क फोन नं यसो मलाई ई-मेल गरिदिनुस न है दशैं ताका आईयो भने भला-कुसारि गरौंला। (साँच्चै! वसन्त जी र मेरो सम्बन्ध अनि म भारतमा रहेको कसरि थाहा भयो हो ... (आई पि ट्र्याक गर्नु भयो कि कसो ... हाहहाहाहा)

    ReplyDelete
  6. धेरै जानकारी मिल्यो फङ स्वेइको बारेमा दाइको यो लेख पढेर। पाँच वर्ष चीन बस्दा चाहिने-नचाहिने कति थरी कुरा पढियो होला तर यति महत्वपूर्ण कुराको बारेमा भने गम्भिर भइएनछ कहिल्यै, आफैंलाई 'थुक्क--' भन्न मन लागेर आउँछ कहिलेकाहीँ (भनिहाल्याचैं छैन!)

    भारतवर्षको वास्तुशास्त्रको दार्शनिक आधारका बारेमा पनि दाइबाट केहि जाला भन्ने आश गरेको छु।

    अन्त्यमा, यो 'पूर्वीय' भन्ने शब्दको प्रयोगको बारेमा। कुहिरेहरु सामान्यतया अफगानिस्तान यताका लागि, विशेष गरी चीन र जापानका लागि 'पूर्वीय' भन्ने शब्द प्रयोग गर्छन् जस्तो लाग्छ। मध्यपूर्व, निकट पूर्व (near east)पनि प्रयोग नगर्ने हैनन्, तर पूर्वमात्रै भन्दा सुदूर पूर्वनै इंगित हुन्छ। भारतवर्षका हकमा पूर्वभन्दा 'भारतीय'नै बढी प्रयोग गर्छन् जस्तो लाग्छ। कि कसो हो? म गलत पनि हुन सक्छु।

    अब हामीले कसरी प्रयोग गर्ने भन्ने कुरा। भूगोलका हिसाबले जापान र चीनको धेरैजसो भाग हामीभन्दा पूर्वनै छन्। यसैले हाम्रो सन्दर्भमा पूर्वीयले चीन-जापान जनाउन सक्छ। त्यसकारण, 'चिनियाँ' र 'भारतीय' संस्कृति-परम्परा भनेर प्रयोग गर्दा, छुट्याउँदा कसो होला? एउटा प्रस्तावनामात्रै। चीन, जापान, कोरीया आदि चिनियाँ साँस्कृतिक परम्पराका अंग भए, हामी लगायत दक्षिण एशियाका अरु मुलुक भारतीय सांस्कृतिक परम्परका। (वर्तमान विश्वको भारत नाम भएको एउटा देश र भारतीय अथवा भारतवर्षीय संस्कृति-परम्परा अलग‍-अलग कुरा हुन् भन्ने मान्यता छ है मेरो।)

    ReplyDelete
  7. वसन्त जी !
    कमेण्ट र यो 'पूर्विय' भन्ने शब्दको बारेमा दिनु भएको जानकारिको लागि पनि धन्यवाद् ।

    वास्तबमा मेरो यो टाँसोमा उल्लेख भएको 'पूर्विय' भन्ने शब्दले 'भारतवर्षीय'लाई नै ईगित गर्छ । तपाईले भने जस्तै वर्तमान विश्वको भारत नाम भएको एउटा देश र भारतीय अथवा भारतवर्षीय संस्कृति-परम्परा अलग‍-अलग कुरा हुन् । त्यो थाहा हुंदा हुंदै पनि मलाई त्यो 'भारतिय' र'भारतवर्षीय'दुबै शब्द पटक्कै मन नपर्ने भएकोले मात्रै यो 'पूर्विय' भन्ने शब्द प्रयोग गरेको हुं।
    यसलाई सिधैं 'चिनियाँ' र 'भारतीय' संस्कृति-परम्परा भनेर प्रयोग गर्दा, छुट्याउँदा पक्कै पनि हुन्छ।

    ReplyDelete