19 August, 2022

दुई सुत्रकथा

१. ‘कमर्सियल’ बाबा

 
सहरमा एक जना प्रसिद्ध सन्त आएका थिए। “परमात्मा प्राप्ति नै जीवनको लक्ष हुनुपर्छ र पैसा भनेको केही पनि हैन” भन्ने नै उनको एक मात्र जीवन दर्शन थियो।

उनको आगमन अगाडि नै देशका नाम चलेका पत्रिकाहरूमा मुख्य पातामै ठुला-ठूला महँगा विज्ञापन छापियो। आयोजकले सहरकै एक महँगो होटेलमा उनको प्रवचनको आयोजना गरे। उनले प्रवचन दिने स्थलमा पानी जस्तै गरेर पैसा खर्च गरियो र स्टेजलाई फ्लिमी शैलीमा सिँगारियो। “पैसा केही पनि हैन” भन्ने विषयमा उनले दिने प्रवचन सुन्न हजार हजारको टिकट राखियो ।

धान्न नसकिने भिडको बिचमा उनले मानिसले आफ्नो अमूल्य जिन्दगी पैसाको पछि लागेर खेर फाल्नु हुँदैन र परमात्मा प्राप्ति बाहेक जीवनमा अर्को लक्ष बनाउन नहुने बारेमा धुवाँदार र गहकिलो प्रवचन दिए। प्रवचनपछि पहिला तय भए बमोजिमको मोटो रकम पारिश्रमिक नपाएकोमा साधु अत्यन्त रुष्ट भए र प्रवचन स्थलमै साधु र आयोजकबिच तथानाम भएको दृश्य साँझको टिभी समाचारमा देखाइयो । 

२. चटकी नेता

 
युवाहरूको जोस, वातावरणप्रतिको चेत र पेट्रोलियम पदार्थप्रतिको निर्भरता घटाउने विषयलाई सम्बोधन गर्न देशका प्रसिद्ध नेता ‘स्वास्थ्य, साइकल र स्वावलम्बन’ भन्ने कार्यशालामा सरिक भए। पेट्रोलियम पदार्थकोलागि विदेशीने रकमको बचत गर्न, वातावरण स्वच्छ राख्न र तन्दुरुस्त रहनको लागि साइकल चढ्नु एकदम आवश्यक भएकोले सबैले साइकल चढ्ने बानी बसाल्नु पर्ने विषयमा उनले जोडदार कार्यपत्र प्रस्तुत गरे। युवाहरू उनको विचार र आह्वानप्रति ओतप्रोत भए, दर्शक दिर्घाबाट करतल ध्वनिका साथ तिनको प्रशंसा र स्वागत गरियो। आयोजकले कार्यक्रम अत्यन्त सफल रहेको घोषणा गरे र नेता स्वयं आफ्नो महँगो चिल्लो कारमा चढेर निवासतर्फ लागे ।

2 comments:

  1. पहिलो कथामा भने जस्तितो अचेल हाम्रो घर गाउँमा पुराण भन्ने पुरोहित हरुको हालत ठ्याकै मिल्दो छ र दोस्रो कताको कुरामा भने ति नेता लाल बाबु पण्डित परेकी क्या हो सर ???

    ReplyDelete
    Replies
    1. सम्पूर्णमा समाजको चित्रण गरेको मात्रै हो , कुनै व्यक्ति लाई नै विषय बनाएर लेखेको भने हैन् है ! ।

      Delete