10 June, 2013

साँच्चै स्वर्गजस्तै स्वर्गद्वारी !

कामको सिलसिलामा धेरै पटक करिब २ घण्टा जत्तिको बाटोबाट ओहोर-दोहर गरे पनि म स्वर्गद्वारीको यो पवित्र तिर्थस्थलमा पुग्न भ्याएको थिइन् । भालुवाङबाट करिव ५५ किलोमिटर जत्ति प्यूठानतर्फ लागेपछि प्यूठानकै भीङ्गृ बजार पुगिन्छ । भिंगृसम्म पिच बाटो नै छ भने त्यहाँबाट भने कच्ची बाटोबाट करिब १३ किलोमिटरको बाटो कच्ची तर गाडि चल्ने छ । त्यसपछि भने केही सिँढी फेरि केही कच्ची बाटोबाट उकालो लागेपछि करिब आधा घन्टको हिँडाइमा यो पवित्र मन्दिरको द्वारमा पुगिन्छ ।

तिहारको औँसी, वैशाख पुर्णिमा आदिमा यहाँ विशेष मेला लागे पनि सामान्य यात्रु र धर्माबलम्बीहरूको भीड भने सधैं नै हुने रहेछ यहाँ ।

किम्बदन्ती र पौराणिक आख्यानलाई मान्ने हो पाँच पाण्डवहरूले सीधै स्वर्ग प्रस्थान गरेको मानिन्छ । यसरी सिधै स्वर्गको यात्रा गर्न सकिने यस ‘द्वार’ मा रोल्पा रुम्टीका १०८ महाप्रभु बालतपस्वी नारायण गौतमले १९५१ मा वेदमन्त्रद्वारा अग्नि प्रज्वलित गरी १९५२ वैशाख पूणिर्मादेखि अखण्ड महायज्ञ सुरु गरेको इतिहास छ । त्यसैले यस स्थानको धार्मिक, समाजिक र गहन आध्यात्मिक महत्व रही आएको छ ।

वास्तवमा यस पवित्र तिर्थस्थलको विहानी पूजा, हवन र साझको आरति सहित महाप्रभुले तपस्या गरेको गुफा लगायतका सम्पूर्ण क्षेत्रको अवलोकन गर्ने हो भने पुरै दिनको समय लिएर जानु पर्ने रहेछ । मन्दिरमै रहने, वस्ने उचित व्यवस्था रहेछ तर समयाभावको कारण अर्कोपाला फेरि जाने अभिलाषा सहित यसपाला भने केही तस्विरहरू लिएर फर्कियौँ । आजको पोस्टमा यही पवित्र तिर्थस्थलका केही तस्विरहरू : (तस्बिरलाई ठूलो पारेर हेर्न सोही तस्बिरमा क्लिक गर्नुहोस्, तस्बिरआफैँ ठूलो आकारमा अर्को पेजमा खुल्ने छ )

20 May, 2013

के चिकित्सकहरू कमिसनकै लागि यस्तो गर्छन् त ?

पहिलो घटना: करिब १५ वर्ष जत्ति भयो होला । केही दिनदेखि पेट दुखेकोले म त्यति बेला रामशाह पथ नेर रहेको मेडिकेयर हस्पिटलमा गएँ । समस्या ठूलो थिएन तर ४-५ दिन देखि असजिलो भएकोले सिधै त्यहाका एकजना यादव थर भएका gastroenterologist लाई भेटें । उनले मसँग सामान्य सोधपुछ गरेपछि सिधै भिडियो एक्सरे, स्टुल र अन्य २-३ थरी टेस्ट गर्नु पर्ने पर्चा थमाइ दिए ।

ती टेस्टहरू सबै गर्नुपर्ने झमेला एकातीर थपियो भने अर्कोतर्फ ती सबै टेस्ट नसक्केसम्म कुनै ठूलै रोग लाग्यो कि भन्ने शङ्का पनि मनमा गडी रहयो । ३-४ दिनमा सबै प्याथोलोजीको रिपोर्ट आयो । हालजस्तो इन्टरनेट र गुगल बाबाको ज्ञान दृष्टि सुलभ भइसकेको थिएन तर रिफरेन्स रेन्जमा झ्वाट्ट नजर पार्दा कुनै हाइलाइट गरिएको प्यारामिटर थिएनन् । रिपोर्ट लिएर म फेरि तीनै स्पेसलिष्टकहाँ पुगेँ । उनले सर्रर रिपोर्ट हेरे अनि “खासै केही समस्या देखिएन ...’यो’, ‘यो’ र ‘यो’ औषधी ५ दिन खानुस..” भनेर हातमा पर्चा थमाइदिए ।

फोक्कडमा ३-४ दिन टेस्ट गराउने हैरानी, र २-४ हजारको खर्च पछि ‘केही पो भएछ कि ?’ भन्ने गहन चिन्ता बोक्नु परेको थियो । अब त्यो रहेन तर पनि तिनले दिएका ती ‘यो’, ‘यो’ र ‘यो’ औषधिले मलाई केही फाइदा भएन । फाइदा नभएपछि फेरि घरेलु र अन्य वैकल्पिक उपचार विधि भने जारी राखियो । त्यस्तैमा एकदिन मेरै घरमा बस्ने एकजना डक्टरसँग कुरै कुरामा आफ्नो समस्या बताएँ (स्मरण रहोस ती gastroenterologist वा पेट सम्बन्धी रोगका विशेषज्ञ भने थिएनन्, त्यसैले आफ्नै घरमा बसेपनि मैले उनीसँग सल्लाह लिएको थिइन) । उनले आफ्नो हातले मेरो कम्मर र पेटको बिचको भागमा पर्ने गरी बिस्तारै दबाए र भने “भाइ!, तपाईलाई त अमिबाले दु:ख दिएको रहेछ ... ल यो औषधी ५ दिन खानुस्, ठीक हुन्छ ....” । तुरुन्तै उनले दिएको औषधी किनेर खान शुरु गरेँ ....दोस्रो दिन देखी नै मेरो पेट दुख्न कम भयो र तेस्रो दिन साँझ सम्ममा मलाई पेट दुखेको थियो भन्ने समेत याद रहेन् ।

09 May, 2013

के तपाईलाई मोबाइलमा देखिने G, E, 3G र H आदिको अर्थ थाहा छ ?

मोबाइल फोन वा मोबाइल डिभाइसमा इन्टरनेट चलाउने प्राय: हामी सबैले याद गरेको हुनुपर्छ। हाम्रो सेट इन्टरनेटमा जोडिएपछि प्रायजसो सेटको माथिल्लो देब्रे भागमा (सेट अनुसार फरक पनि हुनसक्छ) तपाइको सेट इन्टरनेटमा जोडिएको जनाउ दिने G, E, 3G वा H आदि जस्ता सङ्केत चिन्हहरू देखिन्छन् । तलको चित्र हेर्नुस (चित्रलाई ठूलो पारेर हेर्न सोही चित्रमा क्लिक गर्नुहोस्, चित्र आफैँ ठूलो आकारमा अर्को पेजमा खुल्ने छ )

E,G, 3G and H

यी चिन्हहरू तपाइले लिनु भएको सेटको हार्डवेयर क्षमता वा तपाइले सेवा प्रदायकबाट लिनु भएको सुविधा अनुसार फरक हुन्छन् । तर कहिलेकाहीँ भने तपाई रहेको स्थान विशेषमा उपलब्ध सेवा प्रदायकको सिग्नलको आधारमा पनि एउटै सुविधा लिएको सेटमा पनि माथि उल्लिखित कुनैपनि सङ्केत चिन्ह देखिन सक्छ वा छिनछिनमा सो सङ्केत चिन्ह परिवर्तन हुनसक्छ ।

29 April, 2013

के तपाईको उमेर ढल्किदैं छ ?

मानिस प्रौढ हुँदै गएको वा कसैको उमेर ढल्कँदै गएको कसरी थाहा पाउने? । हुनसक्छ तपाइलाई यो प्रश्न बेतुक लाग्न सक्छ । उमेर ढल्कँदै गएको वा बुढा-बुढी हुँदै गएको कुरा अनुहारमा देखिने चाउरी, फुलेको कपाल, कमजोर आँखा, फुस्केको दाँतले इङ्गित गर्छ भन्ने तपाई सोच्दै हुनुहुन्छ भने त्यो गलत हुनसक्छ । भनिन्छ नि, तन बूढो भएपनि मन कहिल्यै बूढो हुँदैन....त्यसैले शरीरमा आएका परिवर्तनका कुराहरू शरीरी स्वयंलाई भने कहिल्यै पत्ता हुँदैन । हो .... त्यसैले मानिसले आफू प्रौढ हुँदै गएको कुरा आफैलाई हेरेर भन्दा पनि अरूले आफूलाई कसरी हेर्छन् भन्नेबाट पहिला थाहा पाउँछन् रे ।

पत्याउनुहुन्न ? । अझ सिधै भन्ने हो भने तपाई प्रौढ हुनु भयो कि भएन भन्ने कसरी थाहा पाउने त ? । यो थाहा पाउने विभिन्न तरिकाहरू छन् । अझ तिनमा पनि चरण बद्ध भेदहरू छन् । नपत्याए हेर्नुस, कोही मानिसले आफ्नो उमेर ढल्कदैँ गएको कुरा कसरी अनुभूति वा वोध गर्छ त :

पहिलो चरण: उमेर ढल्कदै गएको कुराको पहिलो बोध यसरी हुनसक्छ:

  • धेरैपछि तपाईको पुरानो साथीसँग जम्काभेट हुन्छ, साथी तपाईको बारेमा हैन, सिधै तपाईको छोरा-छोरीको बारेमा सोध्न थाल्छ ।
  • तपाई कुनै अनलाईन आइडि बनाउँदै हुनुहुन्छ जन्म मितिको ठाउँमा आएपछि तपाईलाई धेरैबेर माउस स्क्रोल गर्नु पर्छ ।
  • छोराले तपाईलाई एउटा ल्यापटप किन्दिन भन्छ,...तपाई छोरालाई हाम्रा पालामा घराँ’ टाइप राइटर पनि थे’न भनेर हप्काउनु हुन्छ ।
  • तपाईलाई तपाईको मनपर्ने हिरोको नाम सोधिन्छ तपाईँ भुवन के.सी, शिव श्रेष्ठ, आमोल पालेकर र शत्रुहन सिन्हाको नाम लिन थाल्नुहुन्छ Party smile
  • तपाइको कपाल प्राकृतिक रूपमै कालो छ । तर तपाईका आफ्नै नातेदार समेत तपाईँलाई ‘हैन कुन चाहिँ कालो हाल्छौ हो कपालमा...?" भनेर सोध्छन् ।

25 March, 2013

होली मुक्तक !!!

Fagu

-१-

एकोहोरो हेरीरहेँ,
उनको मुहार लाल भयो ।
बिना लोला, बिना अबिर
मेरो होली कमाल भयो ! ।

-२-

उनी भन्छिन्, उनको प्रेममा
धेरै कवि पागल भए ।
म त सोच्छु, ती कवि भए,
पागल त ती पहिल्यै थिए ।