सन १९९९ मा 'टलिउड' को नामले प्रसिद्ध दक्षिण भारतको तामिलनाडुमा Mudhalvan (முதல்வன்) अर्थात् 'मुख्य मन्त्री' नामक एउटा चलचित्र बन्यो र सुपर हिट पनि भयो । एकजना हक्की र जवान पत्रकारलाई मुख्य पात्र बनाएर साँच्चै नै देश सुधार्ने हो भने एकै दिनमा पनि धेरै काम गर्न सकिन्छ भन्ने सन्देश प्रवाह गर्ने सो चलचित्रको २००१ मा हिन्दी भर्सन पनि सार्वजनिक भयो । कथावस्तु, भेषभूषा र सम्बाद समेत दुरुस्तै उस्तै राखेर बनाएको सो चलचित्रको हिन्दी संस्करण पनि सुपर-डुपर हिट भयो र त्यसले पनि अत्यन्त सफल व्यापार गर्यो ।
आम जनतासँग प्रतक्ष अन्तरक्रिया गरेर भ्रष्टाचार, कालो बजारी र समाजमा व्याप्त अन्य समस्याको हल गर्न सकिने सङ्केत गर्ने सो चलचित्र बनेको करिब १२ वर्षपछि नेपालमा पनि ठ्याक्कै त्यस्तै कार्यशैली अपनाएर 'नायक' बन्न खोज्ने एउटा चरित्र देखिए । उनले पनि आफू शक्तिमा आउने बित्तिकै न्युरोडको गुदपाक देखि राममार्गका भाते-होटलको अनुगमन गरेर कालो बजारी हटाउने नाटकीय अध्याय शुरू गरे । उनको यो कार्यलाई गलत भन्न मिल्दैन तर ठ्याक्कै 'नायक' शैलीको 'हेल्लो सरकार' र 'रेडियोमा प्रधानमन्त्री' विस्तारै सस्तो लोकप्रियता कमाउने भाँडोमा मात्रै परिणत भयो ।
उता उनले नाङ्लो ठटाएर हात्ती तर्साउने शैलीमा 'कालो बजारी' हटाउने नाटक मञ्चन गरिरहँदा यता मिडियामा भने देशका खुँखार अपराधी छुटाउन, ज्यानमारालाई आममाफी दिन मन्त्रि परिषदबाट निर्णय गराउन उनि लागि परेका समाचारहरू आइ नै रहे । हुँदा हुँदा अपराधीले आफैँ अपराध कबोल गरेर सजायको माध्यमबाट पश्चाताप खोज्दा समेत यस्ता कार्यहरूबाट शान्ति प्रक्रियामा खलल पुग्ने सन्देश दिन पनि चुकेनन् यी रियल लाईफका नायक। रियल लाइफका नायक 'फ्लप' भए त यहीँनेर । जहाँ, 'नायक' मा नायकका हरेक प्रयास बोल्नमा भन्दा गर्नमा बढी लाग्थे, त्यहीँ हाम्रा नायक भने उपलब्ध मिडियाका हरेक श्रोतबाट जनतालाई खोक्रो आदर्श छाँटन, मनोरञ्जक सपना देखाउन र बुद्धि विलास गरेर रमाउनमै मात्रै लागे ।