03 January, 2013

के तपाईँले Firefox मा Facebook मेसेन्जर जोडनु भयो ?

के तपाई फेसबुक प्रयोग गर्नुहुन्छ ? । सामाजिक सञ्जालको दह्रो पकड चलेको बेलामा यो प्रश्न नै बे-अर्थी हुनसक्छ । अनि के तपाई फायरफक्स वा मोजिला फायरफक्स चलाउनु हुन्छ ? । हालैका तथ्याङ्कहरू हेर्ने हो भने इन्टरनेटमा चलाउने विश्वका करिब एक तिहाइ मानिसले फायरफक्स चलाउँछन् । तब के त फायरफक्स चलाउने सबैले फेसबुकको अपडेट, फ्रेन्ड रिक्वेस्ट र मेसेजहरू हेर्न फेसबुकको पेजमै जानु पर्छ त ? । केही समय अगाडिसम्म यसको जवाफ ‘हो’ हुन सक्थ्यो ।

त्यसो त अनगिन्ती अनुप्रयोगहरु जोडन सकिने गरेर बनाइएको फायरफक्समा यो भन्दा पहिला पनि फेसबुकको लागि कुनै उपयोगी ‘एडअन’ नभएका हैनन् । तर केही समय अगाडि अर्थात फायरफक्सको १७ औँ संस्करण सार्वजनिक भएपछि भने फायरफक्स प्रयोगकर्ताहरुको लागि फेसबुकको आफ्नै अनुप्रयोग उपलब्ध भएको छ। जसको उपयोगबाट इन्टरनेट चलाउँदाको अवस्थामा कुनैपनि पेजमा रहँदा वा कुनैपनि साइटको भ्रमण गर्दा सो पेज नछाडि फेसबुकको सबै जानकारी र अपडेटहरू लीन सकिन्छ ।

22 December, 2012

ट्वीटरका #वरिष्ठ, #कनिष्ठ र #कर्तव्य निष्ठहरू !!!

केही दिन अगाडि एकजना ट्वीटरबाट परिचित भएका साथीले मलाई डि.एम. गरेर ‘वरिष्ठ’ भनेको के वा को हो?’ भनेर सोधे । हुन पनि नेपालीमा ट्वीटर चलाउनेहरूले प्राय: ट्वीटरमा ‘वरिष्ठ’ भन्ने शब्द देखि रहन्छन् । विषय र प्रसङ्गले अर्को अर्थ नलागेमा यि कुनै विषयका ज्ञाता वा विशेषज्ञ हैन, प्राय: ट्वीटरकै मात्रै ‘वरिष्ठ’ हुन्छन् । मैले मित्रलाई १४३ अक्षर नबढाइ वरिष्ठको मोटामोटी जानकारी त दिएँ । तर उनले फेरि वरिष्ठ कसरी चिन्ने भनेर सोधे। अत: आजको पोष्टमा वरिष्ठ मात्रै हैन, ट्वीटरका कनिष्ठ र कर्तव्यनिष्ठ समेत कसरी चिन्ने भन्ने बारेमा लेख्दैछु। यो पढे’छि पक्कै पनि सबैले वरिष्ठ, कनिष्ठ र कर्तव्यनिष्ठको भेद था’पाउने छन् भन्ने हाम्लाई लाइरा’ च Party smile

ल हेरौँ कसरी चिन्ने त यिनलाई:

#वरिष्ठ

यिनका फलोअर र यिनले फलो गरेकाका सङ्ख्यामा दोब्बर जत्तिको अन्तर हुन्छन् ।

यिनका ट्वीटहरू भुईमा खस्न नपाउँदै रिट्वीट हुन्छन् ।

यिनीहरू आफ्ना सबै ट्वीटहरू रिट्वीट होस भन्ने चाहन्छन्,

..तर आफूले अरूका ट्वीट रिट्वीट गर्नु भनेको चाहिँ मानहानि हुने जस्तो ठान्छन् ।

सुनिन्छ यिनका आफ्नो नामका एक र फेक नामका अनेक आइडि हुन्छन् ।

10 December, 2012

पृथ्वीको अन्त्य, हल्लाको व्यापार र फेसबुकका त्रिशूलबाबाहरू !

End of the worldहल्लाको शुरुवात:

केही वर्ष अगाडि र त्यसमा पनि पश्चिममा २०१२ मा संसारमा भयानक प्रकोप घट्छ भन्ने एउटा चलचित्र बनेपछि २०१२ को डिसेम्बर २१ पछिका दिनमा संसारमा प्रलय नै मचिन्छ भन्ने हल्लाले आकाश छुन थाल्यो । रमाइलो कुरा, त्यहि चलचित्र बनाउनेले भने एउटा अन्तरवार्ताको क्रममा “के साँच्चै नै २०१२ मा संसार ध्वस्त हुन्छ त?” भन्ने प्रश्नको जवाफमा “गुगलमा खोज्नुस न...” भन्ने मात्रै जवाफ दिएका थिए ।

चलचित्र बन्यो, चल्यो र उत्र्यो पनि । अनि हल्लाको बजार पनि विस्तारै कम हुन थाल्यो । अहिले फेरि त्यो हौवाको मिति नजिकिदैं जाँदा डिसेम्बर २१ पछि पृथ्वी र पृथ्वी वासीले अभूतपूर्व दुर्घटनाको सामना गर्नुपर्ने हल्लाको बजार गर्माएको छ ।

कथित प्रलयको प्रकृति:

हल्लाको बजार गर्माउँदै जाँदा यसको भिन्न भिन्न भर्सन पनि सार्वजनिक भएका छन् । पृथ्वी नै ध्वस्त हुने, पृथ्वीमा अर्को कुनै ग्रह ठोक्किने, भयङ्कर सुनामी र भुइचालो आउने देखि लिएर हामी रहेको पुरै सौर्य मण्डल समेत नै हुर्रिएर अन्तै कतै पुग्ने समेतका चर्चाले अहिले सामाजिक सञ्जाल र पत्र पत्रिका समेत भरिएका छन् । त्यसमा पनि यही डिसेम्बर २२ देखि ३ दिनसम्म संसारभर घाम नलाग्ने र पृथ्वी आफ्नो अक्ष छाडेर अन्तै पुग्ने गँजडी गफले सामाजिक सञ्जाल भरिएका छन् ।

01 December, 2012

पहिचान ! (लघुकथा)

उनको वर्षौको मेहनत सफल भए थियो । अपराध र आपराधिक कार्यमा संलग्न व्यक्तिहरूलाई पहिचान गर्ने यन्त्रको विकासमा उनले आफ्नो दशकौँको समय लगाएका थिए ।

लाई डिटेक्टरले पहिचान गर्न नसक्ने झूट र अपराधीलाई सजिलै पहिचान गर्ने उनको यो यन्त्रले विश्वकै अपराध नियन्त्रण र सामाजिक शान्तिमा ठूलो योगदान दिने निश्चित थियो । सबैभन्दा महत्वपूर्ण कुरा भनेको अपराध र झूट पहिचान गर्ने पुराना यन्त्र भन्दा गुणात्मक रूपमा भिन्न यो यन्त्रको प्रयोग गर्दा, भौतिक रूपमै कुनै संदिग्ध व्यक्तिलाई छुवाउनु, जोड्नु वा देखाउनु समेत नपर्ने थियो ।

प्राचीन अध्यात्ममा हरेक मानिसमा आफ्नो चरित्रको आधारमा एउटा आभा मण्डल हुने र त्यसैले सो व्यक्तिको चरित्र अभिव्यक्त गर्ने मान्यता छ । उनले सोही आभा मण्डलको तरङ्गलाई मापन गर्ने यन्त्रको विकास गरेका थिए । यन्त्र चालु हुने बित्तिकै त्यसले त्यसको वृत्तमा आउने व्यक्तिको आभा-मण्डलको मापन गर्थ्यो र तुरुन्तै त्यसको विश्लेषण गरी त्यसको नतिजालाई पूर्व संचित ध्वनिको प्रयोग द्वारा ‘चोर’, ‘साधु’, ‘ठग’, ‘सज्जन’, ‘सामान्य’,‘फटाहा’ आदि भन्ने परिणाम दिन्थ्यो।

24 November, 2012

फेरि केही रमाइला संस्मरणहरु !

मेरो विद्यार्थी कन्सेसन

कुरो करिब २ वर्ष अगाडिको हो । त्यति बेला म पब्लिक युथ क्याम्पसमा पढाउथें । प्राय: मोटरसाइकलमा जान्थे । तर एक दिन मोटरसाइकल बिग्रिएको ले बसमा फर्कदेँ थिएँ । बसको कण्डक्टरले पैसा उठाउँदै मेरो सिट सम्म आयो। मेरो सिटको साइडमा एकजना २४-२५ वर्षकी युवती बसेकी थिइन । तिनले आफ्नो विद्यार्थी परिचय पत्र र कन्सेसन काट्दा तिर्नुपर्ने न्यूनतम भाडा कण्डक्टरको हातमा थमाइन् । करिब २५-२६ कै केही शिक्षित जस्तो पनि देखिने कण्डक्टरले उनको त्यो परिचय पत्र हातमा लिएर निक्कै बेर त्यसमा दृष्टि गोचर गर्‍यो र तीनी सँग पुरै पैसा माग्यो । सायद त्यति बेला कन्सेसनमा जम्मा रू. १० मात्रै तिर्नु पर्थ्यो र तीनले त्यत्ति मात्रै दिएकी थिइन ।

उनीहरूको बीच निकै बेर विवाद भयो । ती युवती रू. १० भन्दा बढी तिर्न राजी थिइनन् भने कण्डक्टर पनि पुरै पैसा नलिई नछाड्ने सुरमा थियो । यता कण्डक्टर,“तपाईको यो कार्ड ठीक छैन पुरै पैसा दिनुस !...” कण्डक्टर भने जोड जोडले कराउँदै थियो । ती युवती पनि आफू विद्यार्थी नै भएको दलिल दिँदै थीइन् । सँगैको सिटमा बसेको भए पनि कुरो के थियो मैले चासो लिएको थिइँन। अन्तमा आफ्नो दलिल बलियो गर्न कण्डक्टरले ती युवतिको परिचयपत्र मेरो हातमा थमाउँदै भन्यो “ ल हेर्नुस त तपाईँ पनि ... यो डेट सबै केरमेट गरेको छ...” मैले झ्वाट्ट हेरेँ साँच्चै कार्डमा बहाल रहने मितिमा थाहा हुने गरी नै केरेमेट भएको थियो । “...यो आफैले सच्याएको हैन त ? ...” उसले मेरो समर्थन जुटाउन खोज्यो “अँ ...के हो..?...” फोक्कडको विवादमा किन अलमलिनु भनेर मैले समर्थन न विरोधको बीचको झारा टार्ने प्रतिक्रिया दिएँ ।