22 December, 2012

ट्वीटरका #वरिष्ठ, #कनिष्ठ र #कर्तव्य निष्ठहरू !!!

केही दिन अगाडि एकजना ट्वीटरबाट परिचित भएका साथीले मलाई डि.एम. गरेर ‘वरिष्ठ’ भनेको के वा को हो?’ भनेर सोधे । हुन पनि नेपालीमा ट्वीटर चलाउनेहरूले प्राय: ट्वीटरमा ‘वरिष्ठ’ भन्ने शब्द देखि रहन्छन् । विषय र प्रसङ्गले अर्को अर्थ नलागेमा यि कुनै विषयका ज्ञाता वा विशेषज्ञ हैन, प्राय: ट्वीटरकै मात्रै ‘वरिष्ठ’ हुन्छन् । मैले मित्रलाई १४३ अक्षर नबढाइ वरिष्ठको मोटामोटी जानकारी त दिएँ । तर उनले फेरि वरिष्ठ कसरी चिन्ने भनेर सोधे। अत: आजको पोष्टमा वरिष्ठ मात्रै हैन, ट्वीटरका कनिष्ठ र कर्तव्यनिष्ठ समेत कसरी चिन्ने भन्ने बारेमा लेख्दैछु। यो पढे’छि पक्कै पनि सबैले वरिष्ठ, कनिष्ठ र कर्तव्यनिष्ठको भेद था’पाउने छन् भन्ने हाम्लाई लाइरा’ च Party smile

ल हेरौँ कसरी चिन्ने त यिनलाई:

#वरिष्ठ

यिनका फलोअर र यिनले फलो गरेकाका सङ्ख्यामा दोब्बर जत्तिको अन्तर हुन्छन् ।

यिनका ट्वीटहरू भुईमा खस्न नपाउँदै रिट्वीट हुन्छन् ।

यिनीहरू आफ्ना सबै ट्वीटहरू रिट्वीट होस भन्ने चाहन्छन्,

..तर आफूले अरूका ट्वीट रिट्वीट गर्नु भनेको चाहिँ मानहानि हुने जस्तो ठान्छन् ।

सुनिन्छ यिनका आफ्नो नामका एक र फेक नामका अनेक आइडि हुन्छन् ।

10 December, 2012

पृथ्वीको अन्त्य, हल्लाको व्यापार र फेसबुकका त्रिशूलबाबाहरू !

End of the worldहल्लाको शुरुवात:

केही वर्ष अगाडि र त्यसमा पनि पश्चिममा २०१२ मा संसारमा भयानक प्रकोप घट्छ भन्ने एउटा चलचित्र बनेपछि २०१२ को डिसेम्बर २१ पछिका दिनमा संसारमा प्रलय नै मचिन्छ भन्ने हल्लाले आकाश छुन थाल्यो । रमाइलो कुरा, त्यहि चलचित्र बनाउनेले भने एउटा अन्तरवार्ताको क्रममा “के साँच्चै नै २०१२ मा संसार ध्वस्त हुन्छ त?” भन्ने प्रश्नको जवाफमा “गुगलमा खोज्नुस न...” भन्ने मात्रै जवाफ दिएका थिए ।

चलचित्र बन्यो, चल्यो र उत्र्यो पनि । अनि हल्लाको बजार पनि विस्तारै कम हुन थाल्यो । अहिले फेरि त्यो हौवाको मिति नजिकिदैं जाँदा डिसेम्बर २१ पछि पृथ्वी र पृथ्वी वासीले अभूतपूर्व दुर्घटनाको सामना गर्नुपर्ने हल्लाको बजार गर्माएको छ ।

कथित प्रलयको प्रकृति:

हल्लाको बजार गर्माउँदै जाँदा यसको भिन्न भिन्न भर्सन पनि सार्वजनिक भएका छन् । पृथ्वी नै ध्वस्त हुने, पृथ्वीमा अर्को कुनै ग्रह ठोक्किने, भयङ्कर सुनामी र भुइचालो आउने देखि लिएर हामी रहेको पुरै सौर्य मण्डल समेत नै हुर्रिएर अन्तै कतै पुग्ने समेतका चर्चाले अहिले सामाजिक सञ्जाल र पत्र पत्रिका समेत भरिएका छन् । त्यसमा पनि यही डिसेम्बर २२ देखि ३ दिनसम्म संसारभर घाम नलाग्ने र पृथ्वी आफ्नो अक्ष छाडेर अन्तै पुग्ने गँजडी गफले सामाजिक सञ्जाल भरिएका छन् ।

01 December, 2012

पहिचान ! (लघुकथा)

उनको वर्षौको मेहनत सफल भए थियो । अपराध र आपराधिक कार्यमा संलग्न व्यक्तिहरूलाई पहिचान गर्ने यन्त्रको विकासमा उनले आफ्नो दशकौँको समय लगाएका थिए ।

लाई डिटेक्टरले पहिचान गर्न नसक्ने झूट र अपराधीलाई सजिलै पहिचान गर्ने उनको यो यन्त्रले विश्वकै अपराध नियन्त्रण र सामाजिक शान्तिमा ठूलो योगदान दिने निश्चित थियो । सबैभन्दा महत्वपूर्ण कुरा भनेको अपराध र झूट पहिचान गर्ने पुराना यन्त्र भन्दा गुणात्मक रूपमा भिन्न यो यन्त्रको प्रयोग गर्दा, भौतिक रूपमै कुनै संदिग्ध व्यक्तिलाई छुवाउनु, जोड्नु वा देखाउनु समेत नपर्ने थियो ।

प्राचीन अध्यात्ममा हरेक मानिसमा आफ्नो चरित्रको आधारमा एउटा आभा मण्डल हुने र त्यसैले सो व्यक्तिको चरित्र अभिव्यक्त गर्ने मान्यता छ । उनले सोही आभा मण्डलको तरङ्गलाई मापन गर्ने यन्त्रको विकास गरेका थिए । यन्त्र चालु हुने बित्तिकै त्यसले त्यसको वृत्तमा आउने व्यक्तिको आभा-मण्डलको मापन गर्थ्यो र तुरुन्तै त्यसको विश्लेषण गरी त्यसको नतिजालाई पूर्व संचित ध्वनिको प्रयोग द्वारा ‘चोर’, ‘साधु’, ‘ठग’, ‘सज्जन’, ‘सामान्य’,‘फटाहा’ आदि भन्ने परिणाम दिन्थ्यो।

24 November, 2012

फेरि केही रमाइला संस्मरणहरु !

मेरो विद्यार्थी कन्सेसन

कुरो करिब २ वर्ष अगाडिको हो । त्यति बेला म पब्लिक युथ क्याम्पसमा पढाउथें । प्राय: मोटरसाइकलमा जान्थे । तर एक दिन मोटरसाइकल बिग्रिएको ले बसमा फर्कदेँ थिएँ । बसको कण्डक्टरले पैसा उठाउँदै मेरो सिट सम्म आयो। मेरो सिटको साइडमा एकजना २४-२५ वर्षकी युवती बसेकी थिइन । तिनले आफ्नो विद्यार्थी परिचय पत्र र कन्सेसन काट्दा तिर्नुपर्ने न्यूनतम भाडा कण्डक्टरको हातमा थमाइन् । करिब २५-२६ कै केही शिक्षित जस्तो पनि देखिने कण्डक्टरले उनको त्यो परिचय पत्र हातमा लिएर निक्कै बेर त्यसमा दृष्टि गोचर गर्‍यो र तीनी सँग पुरै पैसा माग्यो । सायद त्यति बेला कन्सेसनमा जम्मा रू. १० मात्रै तिर्नु पर्थ्यो र तीनले त्यत्ति मात्रै दिएकी थिइन ।

उनीहरूको बीच निकै बेर विवाद भयो । ती युवती रू. १० भन्दा बढी तिर्न राजी थिइनन् भने कण्डक्टर पनि पुरै पैसा नलिई नछाड्ने सुरमा थियो । यता कण्डक्टर,“तपाईको यो कार्ड ठीक छैन पुरै पैसा दिनुस !...” कण्डक्टर भने जोड जोडले कराउँदै थियो । ती युवती पनि आफू विद्यार्थी नै भएको दलिल दिँदै थीइन् । सँगैको सिटमा बसेको भए पनि कुरो के थियो मैले चासो लिएको थिइँन। अन्तमा आफ्नो दलिल बलियो गर्न कण्डक्टरले ती युवतिको परिचयपत्र मेरो हातमा थमाउँदै भन्यो “ ल हेर्नुस त तपाईँ पनि ... यो डेट सबै केरमेट गरेको छ...” मैले झ्वाट्ट हेरेँ साँच्चै कार्डमा बहाल रहने मितिमा थाहा हुने गरी नै केरेमेट भएको थियो । “...यो आफैले सच्याएको हैन त ? ...” उसले मेरो समर्थन जुटाउन खोज्यो “अँ ...के हो..?...” फोक्कडको विवादमा किन अलमलिनु भनेर मैले समर्थन न विरोधको बीचको झारा टार्ने प्रतिक्रिया दिएँ ।

14 November, 2012

भोदीप बह्मरूप….! - - तिहारको दीपको कुरा !!

तिहार, अर्थात उज्यालो चाड, फूलको चाड र दीपको चाड। हिन्दूहरूको प्राचीनतम र सनातन यस चाडमा दीप वा उज्यालोको विशेष महत्व छ । यम पञ्चकका पाँचै दिन र त्यसमा पनि लक्ष्मी पूजाको रातमा घर-घर दीप प्रज्वलित गरेर माता लक्ष्मीको आह्वान गरिन्छ ।

वैदिक वाङ्मयको एउटा मान्यता अनुसार कार्तिक अमावस्याको दिन समुद्र-मंथन बाट भगवती लक्ष्मी प्रकटहुनु भएको थियो र यो तिथि लक्ष्मी-पूजा को पर्व बन्यो । मान्यता अनुसार यस पर्वमा नित्य दीप दान गर्नेको घरलाई माता लक्ष्मीले कहिल्यै नत्याग्ने र यसरी दीप दान गर्नेलाई अकाल मृत्युको डर पनि नहुने उल्लेख छ ।

शास्त्रमा दीप दान गर्दा पढिने विभिन्न मन्त्रहरूको उल्लेख छ । भिन्न भिन्न अभिप्राय र उपलब्धिको लागि भिन्दा भिन्दै मन्त्र पढिए पनि दीपको महत्व भने सबै अवस्थामा समान छ । मलाई मन पर्ने श्लोक भने यस्तो छ :

भोदीप बह्मरूपस्त्वंह्यन्धकारविनाशक:।
गृहाणमयाकृतांपूजांओजस्तेज:प्रवर्धय॥

अर्थात:

हे दीप! तपाई अन्धकार लाई नाश गरने ब्रह्मस्वरूप हुनुहुन्छ। कृपया मेरो पूजा ग्रहण गर्नुस र मेरो ओज एवं तेज वृद्धि गर्नुस।

यस पटकको तिहार घरमा यसै अनुरूप सामान्य रुपमा मनाईयो। आजको पोस्टमा यसै तिहारका केही दीप र ज्योति :