10 December, 2012

पृथ्वीको अन्त्य, हल्लाको व्यापार र फेसबुकका त्रिशूलबाबाहरू !

End of the worldहल्लाको शुरुवात:

केही वर्ष अगाडि र त्यसमा पनि पश्चिममा २०१२ मा संसारमा भयानक प्रकोप घट्छ भन्ने एउटा चलचित्र बनेपछि २०१२ को डिसेम्बर २१ पछिका दिनमा संसारमा प्रलय नै मचिन्छ भन्ने हल्लाले आकाश छुन थाल्यो । रमाइलो कुरा, त्यहि चलचित्र बनाउनेले भने एउटा अन्तरवार्ताको क्रममा “के साँच्चै नै २०१२ मा संसार ध्वस्त हुन्छ त?” भन्ने प्रश्नको जवाफमा “गुगलमा खोज्नुस न...” भन्ने मात्रै जवाफ दिएका थिए ।

चलचित्र बन्यो, चल्यो र उत्र्यो पनि । अनि हल्लाको बजार पनि विस्तारै कम हुन थाल्यो । अहिले फेरि त्यो हौवाको मिति नजिकिदैं जाँदा डिसेम्बर २१ पछि पृथ्वी र पृथ्वी वासीले अभूतपूर्व दुर्घटनाको सामना गर्नुपर्ने हल्लाको बजार गर्माएको छ ।

कथित प्रलयको प्रकृति:

हल्लाको बजार गर्माउँदै जाँदा यसको भिन्न भिन्न भर्सन पनि सार्वजनिक भएका छन् । पृथ्वी नै ध्वस्त हुने, पृथ्वीमा अर्को कुनै ग्रह ठोक्किने, भयङ्कर सुनामी र भुइचालो आउने देखि लिएर हामी रहेको पुरै सौर्य मण्डल समेत नै हुर्रिएर अन्तै कतै पुग्ने समेतका चर्चाले अहिले सामाजिक सञ्जाल र पत्र पत्रिका समेत भरिएका छन् । त्यसमा पनि यही डिसेम्बर २२ देखि ३ दिनसम्म संसारभर घाम नलाग्ने र पृथ्वी आफ्नो अक्ष छाडेर अन्तै पुग्ने गँजडी गफले सामाजिक सञ्जाल भरिएका छन् ।

माया पात्रोको कुरा:

प्राचीन माया सभ्यताको भेटिएको पात्रोमा सन २०१२ को डिसेम्बर २१ पछिको मिति नभेटिएको कुरालाई एक थरी हल्लाबाजहरूले संसारको अन्त भएको उदघोष गर्दै हिँडेका छन् । माया पात्रोमा त्यसपछिको समय वा मिति किन राखिएन वा के कारणले भेटिएन त्यो भिन्दै अध्ययनको विषय हुनसक्छ। तर कुनै एउटा धर्म-संकृति वा सम्प्रदायको पात्रोमा त्यसपछिको मिति भेटिएन भनेर त्यसैलाई संसारको अन्त्य मान्ने उपबुज्रुकहरूलाई यो ज्ञात होस कि संसारमा २ सय थरी धर्म र ३००० भन्दा बढी सम्प्रदाय छन र ती मध्य कैयौँको आफ्नै पात्रो पनि । यस अवस्थामा कुनै एउटा पात्रोमा त्यसपछिको मिति भेटिएन भन्दैमा त्यसैलाई संसारको अन्त्य मान् हो भने अन्य संस्कृति स र शभ्यताको पात्रोलाई के भन्ने ?

हाम्रो आफ्नै कुरा गर्ने हो भने सनातन धर्मले परम्परागत रूपमा मान्दै र पच्छ्याउँदै आएको वैदिक पञ्चाङ्गमा कहिँ कुनै यस्तो सङ्केत भेटिन्न । सनातन मान्यता अनुसार एक कल्पमा सत्य त्रेता, द्वापर र कलि युग गरी चार युग हुन्छन् । तीनमा हरेक युगका आ-आप्नै समयावधि हुन्छन् । बि. सं २०६९ को क्यालेण्डरलाई आधार मानेर हेर्दा अहिले कलि युग शूरु भएको ५११३ वर्ष बितेको छ र यसको आयु अझै करिब ४ लाख २६ हजार ८ सय ८७ वर्ष बाँकी छ । यहाँनेर मैले यही नै प्रमाणिक समय भएको दाबी गर्न खोजेको भने हैन्, तर हरेक सभ्यताको आ-आफ्नै गणना र मानक भएकाले कुनलाई सहि र कुनलाई गलत मान्ने भन्ने तर्क मात्रै अघि सार्न खोजेको हो।

नासको हौवा:

गलत कुरा के छ भने, माथिका गँजडीगफ लाई ‘साँच्चिकै’ भनेर हल्ला फैलाउने सामाजिक सञ्जालका त्रिशूल बाबा हरूले यी सब हौवाहरू ‘नासाले भनेको’ र ‘नासाका अनुसार’ भनेर सामाजिक सञ्जाल भरेका छन् । जुन सरासर झूट र गलत हो । अमेरिकी अन्तरिक्ष विभाग नासाले कहिल्यै संसारमा यस्तो खाले विनाश आउँछ भनेर कतै भनेको छैन । बरू यसको ठ्याक्कै उल्टो, यस्ता हावादारी हल्ला धेरै चलेपछि नासाले आफ्नो साइटमा यी सबै कुराहरू भ्रामक र नितान्त गलत भएको कुरा राखेको छ । नासाको साइटमा प्रश्नोत्तरको रूपमा एकदमै सरल अँग्रेजी भाषामा यी भ्रामक तर्कहरूको खण्डन गरिएको छ र जो कसैले पनि यस्ता हल्लाको भ्रममा नपरी सीधै नासाको साइटबाट ति कुराहरूको यथार्थ जानकारी लीन सक्छन् ।

विज्ञान र धर्मको मेल:

के त्यसो हो भने ‘आइस एज’, ‘पोलार सिफ्टिङ्ग’, ‘एक्स प्लानेट’ जस्ता सबै कुरा नितान्त हल्ला मात्रै हुन् त ? । म, न वैज्ञानिक, न धर्मको ज्ञाता। तर मेरो सानो अध्ययनले के देखाउँछ भने सृष्टिको सुरुवात वा उत्पत्तिको बारेमा धर्म र विज्ञानमा मतभेद भए पनि एउटा कुरामा भने दुबैको मेल हुन्छ । धर्म र विज्ञानको मेल हुन्छ त कुनै पनि वस्तुको ‘अन्त’ मा । हो, धर्म र विज्ञान दुबैको एउटा विषयमा भने सधैं समान मत रहि आएको छ । त्यो हो जुन कुराको शुरुवात हुन्छ त्यसको अन्त पनि पक्कै हुन्छ । एउटा धुलोको कण होस वा विशाल पहाड र पुरै ब्रह्माण्ड सबैको अन्त निश्चित छ । समय सिमा वा आयुको बारेमा पनि यी दुबैको बीचमा मतभेद होलान, त जुन कुरा उत्पन्न हुन्छ त्यसको अन्त जरूर हुन्छ । यसमा कसैको दुबिधा छैन् ।

मलाई लाग्छ यो संसार, सौर्य मण्डल र पुरै सृष्टिको नाश एकदमै सम्भव कुरा हो किनकी एउटा धुलोको कण हावामा बहेर लुप्त हुन सक्छ भने पुरै पहाड धुलोमा परिणत हुनु र सिङ्गै पृथ्वी पनि अनन्त ब्रह्माण्डको विशलातमा विलुप्त हुनु वा शून्यमै विलीन हुनु पनि कुनै असम्भव घटना भने हैनन । तर यो सृष्टिको विनाश कुनै एउटा सम्प्रदाय, संस्कृति वा सभ्यताको पात्रो, वा कुनै सनकि दार्शनिक वा रोटि ज्योतिषको भविष्यवाणी सुनेर भने शत प्रतिशत हुँदैन् ।

रोटी ज्योतिष र खुर्सानी वैज्ञानिकका कुरा:

मलाई याद छ २००९ को जुलाईमा पनि भारतमा ३० दिन भित्र एउटा खग्रास सुर्य ग्रहण सहित ३ वटा ग्रहण लाग्ने भएको र महाभारत काल पछि त्यस बेला मात्रै यो संयोग परेकोले त्यति बेला भयङ्कर विपत्ति आउने कुराले आकाश छोएको थियो। त्यस्तै २२ जुलाई २००९ मा पनि एउटा सुनामी आउने कुरा पनि निकै चर्चामा रह्यो ।

इन्टरनेटमा खोज्ने हो भने यस्ता हावादारी र असफल भविष्यवाणीको फेहरिस्त तपाईले सोचे भन्दा लामो भेट्नुहुनेछ। विकीपेडियाको यो एउटै पेजमा पृथ्वीमा अनिष्ट छाउने भनेर गरिएका यस्ता सैयौं हावादारी भविष्यवाणीहरू सूचित गरेर राखिएको छ । इश्वी सम्बत ६३४ देखि हालसम्मका यस्ता गलत र हावादारी भविष्यवाणीले के सङ्केत गर्छ भने कुनै कुनै पनि दैवी विपत्ती ढोल बजाएर आउँदैन । वा अझ सरल शब्दमा भन्ने हो भने कुनै पनि आपत विपत र सङ्कट कुनै रोटि ज्योतिष, खुर्सानी वैज्ञानिक वा त्रिशूलबाबाका भविष्यवाणी सुनेर आउँदैनन् ।

समष्टि:

अनन्त रहश्यले भरिएको विशाल ब्रह्माण्डको बारेमा अहिलेसम्म कुनै पनि धर्म, सभ्यता वा वैज्ञानिक अध्ययनले पूर्णता पाउन सकेको छैन् । त्यसो त संसारमा यो भन्दा पहिला पनि केही विनाशकारी प्रकोप नभएका हैनन् र भविष्यमा पनि त्यस्ता प्रकोप नहोलान भन्न सकिन्न । तर आधारहिन तथ्य, शोध विहीन निर्क्योल र अगणीतीय तथ्याङ्कको भ्रममा परेर संसारको विनाश यही समयमै हुन्छ भन्नु पागलपन मात्रै हो ।

मलाई लाग्छ, माया पात्रोमा २१ डिसेम्बर पछिको मिति नहुँदैमा त्यस भन्दा पछाडि संसार नै रहँदैन भन्नु त्यत्ति नै हास्यास्पद हुन्छ जसरी पारिवारिक पुस्ताको बखान गर्दा बाबु, बाजे, बराजु आदि पूर्वजको शब्दावली कुनै ठाउँमा गएर अडकदैँमा हाम्रो पूर्वजहरू त्यो भन्दा पहिला थिएनन् भन्नु ।

बाँकी आइस एज, पोलार सिफ्टीङ्ग आदि सबै नियमित घटना हुनसक्छन् जसको समय आएको छैन् र सो घटना एकै दिनमा अचानक घट्ने घटना पनि हैनन् । तिनका आफ्नै गणितीय आधार र आफ्नै समय अन्तराल छन् र ति घटना वर्षौ वा सयौँ वर्षको समयावधिमा विस्तारै घटित हुन्छन् । सौर्य आँधी वा सोलार स्ट्रम पनि निश्चित समयको अन्तरालमा सूर्यको भौतिक तलमा घट्ने एउटा नियमित प्रक्रिया हो र त्यसलाई कुनै प्रकोपको रूपमा लिनु पर्दैन् । नासाकै अनुसार २०१२ मा कुनै सौर्य आधीँ छैन र अर्को नजिकको सौर्य आधीँ सन २०१३ को मे महिनामा मात्रै आउने छ ( माथि नै लेखिसकिएको छ जुन कुनै दैवी प्रकोप हैन र सौर्य पीण्डमा घट्ने एकदमै नियमित घटना हो) ।

अन्तमा केही समय अगाडि आफ्नै ५ कक्षामा पढ्ने छोरीले मलाई सोधेकी थीई “बाबा...डिसेम्बर २१ पछि के हुन्छ?” मैले उसलाई दिएको उत्तर नै यहाँ राख्दैछु । मैले भनेको थिएँ “डिसेम्बर २१ पछी डिसेम्बर २२ हुनेछ Open-mouthed smile


डिसेम्बर २१ मा पृथ्वीको अन्त हुँदैन र यस्ता कुनै प्राकृतिक विपदा आउँदैनन भन्ने NASA को अध्ययन र टिपोर्टहरू तलका पेजमा हेर्न सक्नुहुन्छ :

Beyond 2012: Why the World Won't End

12-21-2012 Just Another Day

8 comments:

  1. नासाले भनेको, यो साइट र उ साइटले भनेको भन्छन्, तर भन्या कुरा खोजेर फेसबुकमा सेयर गर्या भए, मार्दिनु ।
    समसामयिक विषयवस्तुको जानकारी दिने लेख ।

    ReplyDelete
  2. एउटा पेजमा नासाको लिंक हालिएको थियो तर नासाको त्यो पेजमा अर्कै कुरा थियो | अर्थात तथ्यलाई पुरै बंगाएर लेखिएको थियो

    ReplyDelete
  3. सामयिक विषयको लेख राम्रो लाग्यो सबैले एक पटक पढ्दा राम्रै होला भनेर मैले पनि लिंक सेयर गरिदिएको छु । फेसबुकमा आफ्नो पोष्ट मार्फत । मन पर्‍यो लेख ।

    ReplyDelete
  4. धेरै नै समसामयिक लेख | हल्ला को पछाडी कुद्ने हरु ले एकचोटी पढ्नै पर्ने लेख |

    ReplyDelete
  5. सटिक बिष्लेसण; समय सान्दर्भिक

    ReplyDelete
  6. These all are the publicity stunt by the failures!!!!

    ReplyDelete
  7. As i think no nothing gonna happen like this...

    ReplyDelete